प्रदिप्नराज पन्त
धेरै अघिदेखि नै दर्शनशास्त्र अस्तित्वमा आए पनि अहिले दर्शनलाई निष्प्राण भन्ने पनि गरिएको छ । यसको वकालत गर्नेमा अग्रणी नाम स्टेफन हकिङको छ । गणितको प्रयोग नहुने विषयलाई हकिङले विज्ञान नै होइन भनेका छन् । यहाँसम्मकी चिकित्सा विज्ञानलाई पनि हकिङ विज्ञान ठान्दैनथे । हुन पनि २६ वर्षको उमेरमा उनलाई ‘एमाइलोट्रोफिक ल्याटरल स्केलेरोसिस’ अर्को शब्दमा ‘मोटर न्युरोन’ जस्तो डरलाग्दो रोग लागेको थियो । दि मोटर न्युरोन डिजिज एसोसिएसनका अनुसार यस्तो रोग लागेको १४ महिनापछि मानिसहरू मर्छन् तर हकिङ ७६ वर्षसम्म बाँचे । यो घटनाले चिकित्सा विज्ञानका सबै भविष्यवाणी असफल भए । हुन पनि गणित जस्तो २ र २ जोड्दा ४ नै निश्चित हुन्छ भन्ने अपरिवर्तनीय सत्य अन्य कुनै विधामा हुँदोरहेनछ । यसैले गणितको प्रयोग नहुने शास्त्रलाई हकिङले मृत भनेका होलान् । जे होस् हकिङले गणितको प्रयोग गरेर ब्रह्माण्डको थुप्रै रहस्य सुल्झाएका छन् । त्यसैले लोकले उनलाई एक महान् भौतिकशास्त्रीको दर्जा दिएर सम्मान गरेको छ ।
ब्रह्माण्डको रहस्य
कहिले र कसरी यो ब्रह्माण्डको सुरुवात भयो, हामी किन यहाँ छौँ र यो प्रकृतिको वास्तविकता के हो ? स्पष्ट रूपमा यो ब्रह्माण्डको संरचनालाई हेर्दा के साँच्चै ईश्वरले गतिशीलता प्रदान गरेका हुन् या विज्ञानसँग ब्रह्माण्ड संरचनाको बारेमा छुट्टै (व्याख्या गर्न सकिने ) धारणा छ । स्टेफन हकिङ र लियोनार्ड म्लोडिनाउको ब्रह्माण्डको रहस्यको बारेमा लेखिएको ‘दि ग्रान्ड डिजाइन एन्ड माइ ब्रिफ हिस्ट्री’ भन्ने पुस्तकमा गणितको प्रयोग गरेर यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरिएको छ ।
आफ्नो भविष्य, ब्रह्माण्डको संरचना र रहस्यको बारेमा मानिसहरूसँग अहिले पनि कम जानकारी छ भन्नेमा धेरै मानिस विश्वास गर्छन् । ‘मान्छे जादू’ निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानव जीवन सञ्चालन कसरी भएको छ र यसको अन्त्य कसरी हुन्छ भन्ने कुराको जवाफ विज्ञानसँग नभएको भनेर किटान गरेका छन् । हुन त त्रिकालदर्शी युग पुरुषहरूको वर्णन हाम्रो आधार ग्रन्थमा उल्लेख भएको पाइन्छ र त्रिकालदर्शी मानिसहरू अहिले पनि छन् भन्ने बारेमा विभिन्न अनुमान गर्ने गरिन्छ । तर आधिकारिक रूपमा त्यस्ता मानिसहरू देख्न पाइएको छैन । यसैले विकास क्रममा मानव अहिले पनि पछाडि छ र स्वयं आफ्नो नियतिको निर्धारणमा हस्तक्षेप गर्ने योग्यता राख्दैन भन्ने दार्शनिकहरूमा देवकोटा, प्लेटो मात्र नभई अहिले पनि छन् । तर सृष्टिको उषाकालदेखि नै मानिसले आफ्नो भविष्य जान्ने प्रयास साथसाथै साधना गरेको वर्णन पूर्वीय दर्शनमा त छदैछ, यसको साथै केही मानिस अहिले पनि भविष्यको बारेमा जान्न अहोरात्र खटेका छन् । यस्तैमध्ये हकिङ एक थिए । उनको अन्तर्दृष्टि पूर्ण खुलेको थियो । हकिङका लागि ‘नियमले नै ब्रह्माण्डको सञ्चालन हुने’ कुरा सर्वोपरि हो । उनले ‘ब्रह्माण्डलाई एउटा ऊर्जा शक्ति’ भनेका छन् । ‘जीव विज्ञानलाई मात्र विकासको क्रम’ र गणितको प्रयोग नहुने शिक्षालाई शिक्षा मान्न तयार नहुने हकिङले ‘दर्शनलाई निष्प्राण’ भनेका छन् (ग्रान्ड डिजाइनबाट साभार गरिएको) । कारण दर्शनमा गणितको प्रयोग हुँदैन । तर गणितको विकास जीनो र टारस्कीले गरेका हुन्, जो दर्शनशास्त्रीहरू थिए ।
हकिङले ग्रान्ड डिजाइनमा ‘ऊर्जा शक्तिलाई सम्पूर्ण ब्रह्माण्ड’ भनेका छन् । उनी ईश्वर या अन्य कसैको चाहनाबाट ब्रह्माण्डको सृष्टि र सञ्चालन भएको कुरालाई ठाडै नकार्छन् र ब्रह्माण्डको सञ्चालन प्रकृतिको अपरिवर्तनीय नियमहरूको आधारमा हुने कुरा स्वीकार गर्छन् । त्यो नियम बनाउने या सञ्चालन गर्ने कोही छ कि भन्ने प्रश्नको उत्तरमा ‘ब्रह्माण्डको सृष्टि र सञ्चालनको बारेमा ईश्वर या सहृदयी सिर्जनाकारको भूमिका आवश्यक नभएको र ईश्वरको प्रसङ्ग अप्रासङ्गिक’ हुने उनको निष्कर्ष छ । ब्रह्माण्डको बारेमा जान्नका लागि हकिङ संँगसँगै आइन्सटाइनलाई समेत जान्नुपर्ने हुन्छ । आइन्सटाइन सापेक्षवाद सिद्धान्तका प्रतिपादक हुन् । सन् १९०५ मा नै भौतिक शास्त्रका उनले विकास गरेका नियमहरू अपरिवर्तनीय छन् भन्ने गरिएको थियो ।
आइन्सटाइनको अनुसार ब्ल्याकहोल अर्थात् साइगन्स एक्स–१ मा सबै वस्तुहरू सङ्ग्रहित हुन्छन् र एकचोटि प्रवेश भइसकेपछि त्यो बाहिरिँदैन बरु यसले आफ्नो द्र्रव्यमान बढाउँछ र वृद्धि भइरहन्छ भन्ने थियो भने हकिङ सन् १९९० भन्दा अगाडि यो कुरा मान्न तयार थिएनन् । कहाँसम्म भने ब्ल्याकहोलबाट तरङ्ग आउने कुरालाई समेत उनले नकारेका थिए । तर सन् १९९० मा उनले नै तरङ्ग आउने कुरा जानकारी गराए र पछि आफूले आइन्सटाइनलाई आलोचना गरेको नभई आइन्सटाइनको सिद्धान्त अगाडि बढाएको प्रतिक्रिया दिएका थिए । ब्ल्याकहोलबाट आउने तरङ्गलाई संसार अहिले ‘हकिङ इमिट’ भनेर जान्दछ । यसलाई ब्रह्माण्डको रहस्यको रूपमा लिइएको छ । उनको यो खोजलाई सर्वथा नौलो समेत भन्ने गरिएको छ । तर पूर्वीय दर्शनमा पनि ब्रह्माण्डको बारेमा केही आलेख छन् ।
विज्ञान र दर्शन
हकिङले महाविस्फोट (विग व्याङ) अगाडिको काल (समय)कोे अस्तित्वलाई स्वीकार गरेका छैनन् र कालभन्दा अघि ब्रह्माण्ड थियो भन्ने कुरा पनि मानेको देखिँदैन । हकिङले ब्ल्याक होलको अक्षुण्णतालाई मात्र स्वीकार गरेका छन् । त्यसबाट समय समयमा निक्लने ऊर्जाको प्रभावले पृथ्वीलगायत केही अन्य ग्रह पनि प्रभावित हुने र यहाँ गरिने तथा हुने क्रियाकलापले ब्रह्माण्ड पनि प्रभावित हुने कुरा उनले बताएका छन् । तर आइन्सटाइनले ब्ल्याक होलमा वस्तुको प्रवेशपछि ब्ल्याक होलबाट कुनै पनि वस्तु, ऊर्जासमेत निकास (बाहिरिने) नहुने र शून्यमा विलय हुने जनाएका थिए । तर हकिङले ऊर्जा शक्ति स्थिर नरहने र अर्को अवस्थामा परिवर्तन हुने कुरा बताएका छन् ।
ऊर्जालाई पूर्वीय दर्शनमा आत्माको स्वरूप भन्ने पनि गरिएको छ । आत्मालाई ‘निलिमा युक्त प्रकाश, गरिमामयी, अपूर्व आभा’ (ब्रह्मवैवर्त पुराण) अर्थात् शक्ति र मानिसको अन्तर्निहित ज्ञानलाई स्वचालित गर्ने र अज्ञानलाई हटाउने, ‘अजर अमर अविनाशी, न उत्पन्न गर्न सकिने, न विनास, न सङ्ग्रहित गर्न सकिने’ (गीता) असीमित ऊर्जा शक्तिको स्रोत भनिएको छ । जुन भौतिक शास्त्रको उष्मप्रवैगिकी (थर्मो डाइनामिक्स) को पहिलो नियम जस्तै नै छ । उष्मप्रवैगिकीको पहिलो नियमअनुसार ‘ऊर्जालाई न त निर्माण गर्न सकिन्छ न त नष्ट या खण्डित गर्न सकिन्छ तर ऊर्जा शक्तिको रूपलाई परिवर्तन गर्न सकिन्छ, एक रूपबाट अर्को रूपमा ।’ उदाहरणका लागि स्वीच अन गरेर बिजुली बत्ती बाल्दा शक्तिजस्तो देखिए पनि यो असलमा ऊर्जाको परिवर्तित रूप हो र बत्ती बलेको चाहिँ विद्युतीय शक्ति हो । भगवान् श्रीकृष्णले पनि आत्मा न त उत्पन्न हुन्छ न त विनाश नै हुन्छ भनेर दर्शाउनु भएको छ । अर्थात् आत्मा ऊर्जा शक्ति ब्रह्माण्डमा मिलन भइसकेपछि पनि अर्को परिवर्तित रूपमा फेरि आउँछ । हकिङको ग्रान्ड डिजाइनको सार पनि यही हो । अर्थात् ऊर्जा शक्ति नष्ट गर्न सकिन्न र कुनै परिवर्तित रूपमा ओहोरदोहोर गरिरहन्छ । यसैले पूर्वीय दर्शनमा आत्मा परमात्मामा मिलन नहुन्जेल ओहोरदोहोर गरिरहन्छ भन्ने भनाइ यहाँ मिल्न जान्छ र यसैले गर्दा अहिले पुनर्जन्मको सम्भावनालाई समेत विज्ञानले स्वीकार गरेको कुरा केही विद्धान्ले उठाएका छन् ।
नासाको हालैको अनुसन्धान अनुसार १३.७ अर्ब वर्षअघि महाविस्फोटपश्चात् ब्रह्माण्डको सुरुवात भएको हो । उनीहरूले ब्रह्माण्डमा तारा, नक्षत्र र ग्रहहरू कसरी विकसित भए र पृथ्वी कसरी मानव बस्तीका लागि उपयुक्त भयो भन्ने कुरा विस्तृतमा वर्णन गरेका छन् । तर करिब पाँच हजार वर्षअघि नै ब्रह्माण्डको विस्तृत वर्णन गरिएको अभिलेख हाम्रै अगाडि छ ।
वेदअनुसार अर्बाैं वर्ष पहिले ब्रह्माण्ड थिएन, मात्र अन्धकार थियो (कालको अस्तित्व नहुँदासम्म ब्रह्माण्ड नभएको हकिङले स्वीकार गरेका छन्) । अनुमान गर्न नसकिने समयपछि त्यो अन्धकारमा एउटा आगोको फिलिङ्गो देखियो, त्यो आगो फैलियो र भयानक विस्फोट हुन थाल्यो (विज्ञानले धेरै पछि बिग ब्याङ (महाविस्फोट) सिद्धान्त ल्याएको हो) अनि ‘नाद र बिन्दुको मिलनबाट ब्रह्माण्डको उत्पत्ति भयो’ (शिव पुराण) ।
नाद भनेको ध्वनि र बिन्दु भनेको प्रकाश हो । यही ध्वनि हिन्दुहरूले ॐ को रूपमा व्यक्त गरेका छन् । ब्रह्म शब्द ‘ब्रह’ धातुबाट बनेको हो । जसको अर्थ बढ्नु र विस्फोट हुन्छ ।
‘विश्वको उत्पत्ति, स्थिति र विनाशको कारण ब्रह्म हो’ (उपनिषद) । विज्ञानले न्युट्रन (अणुको विद्युतरहित कण), इलेक्ट्रोन (अणुको विद्युतीय कण) र प्रोटोन (अणुको घनात्मक आवेश)बाट प्रकृतिको निर्माण भएको देखाएको छ । हिन्दुहरूले आठ तŒव पृथ्वी, जल, वायु, अग्नि, आकाशको साथसाथै मन, बुद्धि र अहंकारलाई प्रकृति भनेर परिभाषित गरेका छन् र यिनीहरूको सम्बन्ध सत्य, रज र तम गुणसँग हुने र यही गुणको आधारमा नै प्रकृतिको विकास र विनाश हुने दर्शाएका छन् । विज्ञान इलेक्ट्रोन, प्रोटोन न्युट्रनलाई नै प्रकृति मान्दछ । यसैको असन्तुलन र सन्तुलनमा नै प्रकृतिको विनाश र विकास हुने कुरा प्रमाणित भएको छ । प्रकृतिको हरेक कणमा यही तीन गुण रहन्छ । हिन्दुहरूले पनि सत्य, रज र तमलाई नै प्रकृतिको त्रिगुण मानेका छन् ।
सात्विक अहङ्कार अथवा विकार जो विज्ञानको भाषामा न्युट्रन भनिन्छ, जसबाट जीवहरूको जन्मको आधार भयो । जीवहरू विद्युतरहित न्युट्रन हुन् । दोस्रो बल अथवा तेज ऊर्जा, विद्युतीय कण अर्थात् इलेक्ट्रोन जसबाट पञ्चमहाभूत सिर्जना भयो । तम अथवा तेस्रो पदार्थको रूप पृथ्वी, जल, वायु, अग्नि, आकाश अथवा प्रोटोन जसमा रासायनिक तŒवको अणु भार न्यून हन्छ नै प्रकृतिको आधार हो र यिनीहरूको असन्तुलन र सन्तुलनमै प्रकृति विनाश र विकास हुन्छ ।
हकिङले न्युट्रन, इलेक्ट्रोन र प्रोटोनमा भएको क्षति र असन्तुलनले गर्दा नै मानिसहरूले छिट्टै अर्को बासस्थानको खोजी गर्नुपर्ने कुरा औँल्याएका हुन् । वातावरणीय विनाश तथा प्रकृतिको अव्यावहारिक दोहनले न्युट्रन, इलेक्ट्रोन र प्रोटोनको असन्तुलन हुने गर्छ जुन हकिङले ३० वर्षअघि मात्र औँल्याएका हुन । सत्य, रज र तमको सन्तुलनबाट नै प्रकृतिको विनाश वा विकास हुने कुरा धेरै पहिले पूर्वीय दर्शनमा उल्लेख गरिएको पाइन्छ ।
पृथ्वी मात्रै होइन, ब्रह्माण्डको अस्तित्व नै सङ्कटमा पर्ने कुरा र फेरि अर्को महाविस्फोटको आशङ्का आइन्सटाइन, हकिङ र अन्य वैज्ञानिकहरूले पनि गरेका छन् । तर त्यो कहिले हुन्छ विज्ञानले अझै खोज गर्दैछ । तर महाविस्फोट अथवा प्रलय हुने कुरा पूर्वीय दर्शनमा धेरै पहिले उद्धृत गरिएको थियो । पुराणमा महाप्रलयको वर्णन छ । ‘जब ब्रह्माको दिनको सुरुवात हुन्छ, सबै कुरा अव्यक्तबाट व्यक्त हुन्छ । जब ब्रह्माको रात सुरु हुन्छ फेरि सबै अव्यक्तमा लीन हुन्छ’ (श्री मद्भगवत् गीता) अथवा महाप्रलय हुन्छ ।
हकिङ प्रकृतिको विनाश हुँदा मानिसहरूले अन्य बासस्थान खोज्नुपर्ने कुरा बताउँछन् र त्यस्तो बासस्थान अर्को ग्रह या नक्षत्र हुनसक्ने सम्भावना दर्शाउँछन् । यस सन्दर्भमा ग्रहहरूको खोज पनि व्यापक रूपमा भइरहेको छ । पुराणले पृथ्वी, आकाश र स्वर्गलोकलाई मृत्यलोक भनेको छ । जहाँ प्रलयको प्रभाव पर्छ तर पुराणले अकृतक अथवा जन, तप र सत्य लोकको वर्णन पनि गरेको छ, जहाँ प्रलयको प्रभाव पर्दैन र जुन लोकमा असीमित र अपरिमेय आनन्द प्राप्त हुन्छ तर यसका लागि अहंकाररहित हुनुपर्छ भनिएको छ ।
हकिङ एलिएन्स (अलौकिक, वायुमण्डल भन्दा बाहिरको प्राणी) को अस्तित्व स्वीकार गर्छन् । उनीहरूको खोजी गर्न नहुने र उनीहरू अत्यन्त विद्वता, गुण र अलौकिक शक्तिले भरिएका हुँदा मानिसहरूका लागि खतरा हुनसक्ने सङ्केत उनले दिएका छन् । पूर्वीय दर्शनशास्त्रमा पौराणिक कालमा मानिसहरूले अन्य लोकमा बलपूर्वक कब्जा गर्न खोजेको र सुख आर्जन गर्न खोजेको उपाख्यान पाइन्छ । हकिङले पनि बलपूर्वक ती एलिएन्स र ग्रहहरूको खोजी गर्न नहुने भन्ने कुरा गरेका छन् र पूर्वीय दर्शनअनुसार पनि बलपूर्वक या अहंकारलाई त्याग गरेपछि प्रलय या महाविस्फोटले समेत प्रभाव नपर्ने लोकहरूमा विचरण गर्ने र अपरिमेय आनन्द अनुभूति गर्न पाउने वर्णन छ ।
हकिङले ऊर्जा शक्तिलाई सङ्ग्रहित गर्न सकिन्न र यसको स्वरूप परिवर्तन हुन्छ भनेर विश्वलाई आश्वस्त बनाउन चाहेका छन् । आत्मालाई ऊर्जाकै रूपमा पूर्वीय दर्शनमा वर्णन गरिएको छ र यसले फरक फरक स्वरूप बदल्ने कुरा किटान साथ भनेको छ । गणितको सूत्र प्रयोग नगरिए पनि पूर्वीय दर्शनले भौतिक शास्त्रमा भएका सबै कुराको वर्णन युगौँदेखि गर्दै आएका छन् ।
मानवीय सभ्यताको सुरुवातदेखि नै आत्मा, परमात्मा र ब्रह्माण्डको बारेमा अनुसन्धान, खोज भएका थिए र अहिले पनि कायमै छन् । दर्शन, विज्ञानभन्दा अघि नै प्रतिपादन गरिएको कहिले पुरानो नहुने शास्त्र हो । आध्यात्मिकताको सम्मिश्रण भएर मात्रै होइन, पूर्वीय दर्शनमा श्रेष्ठ चरित्र निर्माण गर्ने र विज्ञानको सारतŒव पनि छ । यसको जीवन्त प्रभावले नै होला नेपालीहरू अभावमा, दुःखमा, पीडामा पनि हास्न सक्छन् र नकारात्मकलाई पनि सकारात्मक बनाएको देख्न पाइन्छ । ब्रह्माण्डको रहस्यको बारेमा पूर्वीय दर्शन अध्ययन गर्ने हो भने अत्यन्त समृद्ध छ भन्ने कुरामा विश्वास गर्नु नपर्ने कारण देखिँदैन ।