लयमा अमेरिकी जीवन
चन्द्रकान्त आचार्य
जीवन आफ्नो गतिमा चलिरहेको हुन्छ । विश्वमा जे–जस्ता परिस्थिति देखिए पनि समय निरन्तर आफ्नो गतिमा चलेको हुन्छ । त्यसैअनुरूप जीवन पनि सुख–दुःख, अप्ठेरा, सजिला सबै परिस्थिति झेल्दै समयको गतिसँगै चलिरहेको हुन्छ । तर, यस जीवनलाई सबैले आ–आफ्नै किसिमका लयमा बिताइरहेका हुन्छन् र त्यही लयको चालमा जीवन गतिशील भइरहेको हुन्छ । यसै लयलाई जीवन जिउने कला पनि भनिन्छ र यसका बारेमा धेरै दर्शन, इतिहास र आख्यान लेखिएका छन् । विश्वमा विभिन्न संस्थाबाट यसमा व्यावहारिक पक्ष प्रदर्शित भइरहेका पनि छन् । यस विषयको गहन विवेचनातिर नलागेर कोभिडको महामारीले बढी थलिएको संयुक्त राज्य अमेरिकामा यस वर्ष (सन् २०२१) को गर्मीयाममा जीवनको लय कस्तो छ भन्ने विषयमा केही प्रत्यक्ष देखिएका र अनुभव गरिएका उदाहरण प्रस्तुत गर्न सान्दर्भिक ठानेको छु ।
वासिङ्टन डीसी, भर्जिनिया र मेरिल्यान्ड राज्यहरू हाम्रा काठमाडौँ, पाटन र भक्तपुरजस्तै एउटै क्षेत्रमा आबद्ध छन् र समग्रमा यस क्षेत्रका मुख्य सहर वासिङ्टन डीसी मेट्रोपोलिटियनभित्र पर्छन् । यसको मूल बिन्दु वासिङ्टन मनुमेन्ट क्षेत्र र जर्ज टाउनदेखि नजिकैको भर्जिनियाको रोजलिन होस् या उता मेरिल्यान्डको अति जनघनत्व भएको प्रसिद्ध बेथेस्डा बजार क्षेत्र होस्, जताततै गत वर्ष गर्मीको समयमा सुनसान वातावरण बनेको रहेछ । बेथेस्डाको रमाइलो बजारक्षेत्र मानिसविना निर्जीवजस्तो लाग्थ्यो भनेर प्रत्यक्षदर्शी भन्छन् । यो सन् २०२० को कुरा हो, जब विश्वमा सबैभन्दा बढी सङ्क्रमित र सबैभन्दा बढी मृत्युदर कायम भएको देश भनेर अमेरिकाको नाम लिइन्थ्यो, तब न्युयोर्कको प्रसिद्ध मेनहाटनमा पहिलेजस्ता रमाइलो चहलपहलको सट्टा मानिसका शव जम्मा गर्ने गाडीले भरिएका हृदयविदारक दृश्य देखिन्थे । जीवन जसरी पनि चलिरहेको थियो । तर, यसको लय ठप्प थियो ।
सन् २०२१ को जुन महिनामा बेथेस्डाका सडकमा हिँड्दा रेष्टुराँमा भित्र ठाउँ नपुगेर बाहिरतिर नै पाल हालेर धेरै मानिसका लागि खाने–पिउने व्यवस्था मिलाइएको थियो । जर्ज टाउनको हार्वर क्षेत्रमा त समुद्रको पानी पुगेको छेउमै कुर्सी, टेबुलको व्यवस्था मिलाएको थियो । भीडभाड धेरै थियो । रसिला र राम्रा वेशभूषामा सजिएका युवामात्र हैनन्, वृद्धवृद्धासमेत देखिए । यो दृश्यले बेलुकीको समयमा मानिस कोही पनि आफ्नो घरमा बस्तैनन्जस्तो लाग्थ्यो । यस्तोमा मास्क लगाउनुपर्ने भन्ने विचार भर्खर कोभिडको डेल्टा भेरिएन्टको मारमा परेर आएका हामीजस्ता नवआगन्तुकका मनमा मात्र रहेको भान हुन्थ्यो । एक वर्षदेखि लगातार प्रत्येक सोमबार पीसीआर परीक्षण गराउने छोरी डा. मोनिका आचार्यले भनेअनुसार गत वर्षको यसै समयमा यी ठाउँहरू सुनसान थिए र कतै चराचुरुङ्गीमात्र उड्ने र जनावर हिँडेकामात्र देखिन्थ्यो । यहाँको जनजीवनले अहिले पहिलेजस्तै आफ्नो लय समातेको छ । बाहिर खानमा मात्र रमाउने हैनन्, सप्ताहान्तमा होस् या लामो छुट्टी मिलाएर होस् घुम्न जान र रमाइलो गर्न धेरैजसो मानिसको आदत यहाँ बसिसकेको छ । एट्लान्टिक महासागर किनाराका न्यु जर्सी राज्यको एट्लान्टिक सिटी र मेरिल्यान्डको ओसिन सिटी, पश्चिम भर्जिनिया र पेन्सिल्भेनियाका पहाडी क्षेत्रमा रहेका गर्मीमा रमाउने ठाउँमात्र होइनन्, हिउँमा रमाउने विभिन्न आराम गृह पनि यहाँका लोकप्रिय छन् । सनातन हिन्दु धर्मावलम्बीका लागि रमाइलो मनाउन वासिङ्टन डीसीबाट छ घण्टा गाडीमा गुडेर पुगिने पश्चिम भर्जिनियाको पहाडी क्षेत्रमा रहेको वृन्दावन पनि विशेष महŒवको मानिन्छ ।
अलि लामो समय अर्थात् साता–दस दिनमात्र भए पनि छुट्टी लिएर नेपालको रमणीय पहाडी क्षेत्र सम्झाउने ठाउँ खोज्दै जाने हो भने पश्चिम उत्तरतिरका राज्यमा विशेष सुन्दर वातावरण भेटिने रहेछ । वासिङ्टन डीसीबाट चार घण्टा हवाईजहाजमा उडेर पुगिने पश्चिमको राज्य कोलोराडोको राजधानी सहर डेनभर यसको पहिलो बिन्दु मानौँ । पहाडी भू–भागको फेदी अर्थात् उपत्यकामा रहेको डेनभरबाट लगत्तै पहाड सुरु हुन्छ । मानौँ बुटवलबाट तानसेनतिर या धरानबाट धनकुटातिर लाग्दै छौँ । कोलोराडो डाउनटाउनबाट ६६ माइल अर्थात् मोटामोटी १०० किलोमिटरको दूरीमा माथितिर रक्की माउन्टेन नेसनल पार्क रहेको छ । जहाँ आना नामको तलाउवरिपरि पार्कमा घुम्दै हरिया पहाडमात्र होइन, सेता हिमशृङ्खला राम्ररी देख्न सकिन्छ । बोल्डर थिएटर र रक्की माउन्टेन स्टोन चर्चमा पनि विशेष रमाइलो देखिन्छ । कोलोराडो राज्यको यस पहाडी क्षेत्रबाट अझै माथि र उत्तर पश्चिम दिशामा पर्ने वायोमी राज्यको यलो स्टोन नेसनल पार्क अझ बढी महŒवको र अझ बढी नेपाल सम्झाउने ठाउँ पर्छ । रक्की माउन्टेन क्षेत्रबाट नौ घण्टा गाडीमा गुडेर पुगिने सानो सहरी क्षेत्र ज्याक्सन होलमा एभरेष्ट मःमः नेपाली रेष्टुराँ भेटिन्छ । काठमाडौँबाट वाइल्ड लाइफ रिसोर्स युनिभर्सिटीमा विद्यार्थीलाई खाना पकाउने काम लिएर आएका एकजना शेर्पाको परिवारले चलाएको यस रेष्टुराँमा विशेष रूपले नेपाल सम्झिने वातावरण छ र यहाँबाट अलिकति माथि भुल्कानोहरूका छाँगोहरू माथि–माथि उठेको हेर्न घण्टौँदेखि मानिस कुरेर बसिरहेका हुन्छन् । ती भुल्काना माथि–माथि उठ्दा विशेष रमाइलो वातावरण सिर्जना हुन्छ र भुल्कानो माथि उठ्ने लयसँगै मानिसका जीवनका लय पनि माथि–माथि उठ्न खोजेको प्रतीत हुन्छ ।
कोलोराडो हुँदै माथितिर वायोमी र अझ उत्तर क्यानाडाको सिमानासम्म रहेको मोन्टाना राज्यका पहाडी भू–भागमा गाडीमा आएर रमाउनेमात्र हैन, पैदल यात्रा गर्ने विभिन्न रुट पनि प्रशस्त रहेछन् । ती रुटमा पदयात्रा गर्दा भालु, ब्वाँसोजस्ता जङ्गली जनावरसँग जम्काभेट हुने अवसर पनि हुने रहेछन् । त्यसैले भालु भेटिएमा आँखामा छर्दिएर उसलाई भगाउने बियर रिपिलेन्टजस्ता चीज पनि पैदलयात्रीले लिएर हिँड््दारहेछन् । गाडीमा हिँड्ने यात्रीलाई पनि यस्ता जानवरका साथै वनभैँसी (बाइसन) प्रशस्त मात्रामा देख्ने अवसर मिल्दोरहेछ । ग्य्रान्ड क्यानियन अफ यलो स्टोन नेसनल पार्क (माथिबाट पानीको छाँगो खसेर बनेको खाडी) समेत अति महŒवका ताल, छहरा, भुल्कानोका दृश्यावलोकनका साथै यसै पार्कको ताल लेविसबाट देखिने नजिकैका हिमचुचुरा असाध्यै रमणीय रहेछन् ।
यात्रीका गाडी अब माथिको टोपोग्राफीबाट तलतिर पश्चिम दिशामा झर्दै आइडाहो, युटाह हुँदै रमाइलो सहर लसभेगास पुगेर रोकिन्छन्, मानौँ ताप्लेजुङ, पाँचथर, इलाम हुँदै तराईको गर्मी खान झापातिर झरिँदै छ । तर त्यहाँ गर्मी होइन, प्रकृतिले हेपेको रुखो बलौटे जमिनमा पनि मानिसको मिहिनेतले अलकापुरी सिर्जना गरिएको छ । क्यासिनोको साम्राज्य रहेको त्यस अलकापुरीमा धनाढ्य मानिस जुवामा रमाउने ठुल्ठूला होटल र ती होटलपरिसरमा रहेका सुन्दर पार्कमा रमणीय दृश्यावली सजिसजाउ भेटिन्छन् । ठूला होटलमध्ये भेनिसियन प्लाजो भन्ने इटालीको भेनिस सहरलाई सम्झाउने दृश्यावलीसहितको भव्य होटल छ भने अर्को बेलाजियन रिसोर्ट सुन्दर पार्क र त्यहाँभित्र रहेका पानीका उड्ने फोहोराले सजिसजाउ विशेषकिसिमको होटल रहेछ । त्यहाँ छिनछिनमा उठ्नेमात्र हैनन्, धेरै माथि उठ्ने सयौँ पानीका फोहरा हेर्दा आँखा नै तिर्मिराउँछन् र तिनका माथि–माथि उठेका रङ्गीविरङ्गी तालमा दर्शक आफ्ना जीवनका लय माथि–माथि उठाउँदै रमाउन खोज्छन् । तर, जीवन कहाँ माथि–माथि उठिरहन सक्छ र ? ती फोहराका पानी सुस्ताएजस्तै गरी जीवन पनि सुस्ताउँछ र डेनभरदेखि गरिएको पन्ध्र सय माइलको गाडीको यात्रा त्यही विश्राम गराउँदै भाडामा लिएका गाडीलाई लसभेगासमा सम्बन्धित कम्पनीमा बुझाएर यात्री त्यहाँबाट प्लेन चढेर वासिङ्टन डीसीको बाटो सोझ्याउँछन् ।
राम्रोसँग काम गर, खाऊ, पिऊ र छुट्टीमा घुम्दै रमाइलो गर । यस्तै देखिएको छ– यहाँको जीवन लय । अहिले यस समयमा यस्तो लय किन देखिएको छ भने एक डेढ वर्षदेखि यहाँ कोरोनाको त्रास थियो तर अहिले साठी÷सत्तरी प्रतिशत जनतालाई खोप उपलब्ध गराएर र अझै अरूलाई खोप दिलाउन विभिन्न आकर्षण उपलब्ध गराउने भन्दै संसारमा कोरोनाग्रस्त पहिलो देश अब कोरोनामुक्तका रूपमा पहिलो हुन लागेकाले हो जस्तो लाग्छ । तर पनि जीवन लयमा गति कम गराउने विभिन्न प्राकृतिक र मानवनिर्मित व्यवधान भइरहन्छन् र मानिसका जीवनमा उतारचढावका थिति सदैव आइरहन्छन् । रातपछिको दिन भनेजस्तै दुःखपछिको सुख भनेर संयुक्त राज्य अमेरिकामा मानिसका रमाइला गतिविधिको सानो झझल्को प्रस्तुत गर्ने प्रयास गरियो । यसै उदाहरणले कोरोनापीडित हाम्रो सुन्दर संसारका सम्पूर्ण मानव जातिलाई यसबाट छिट्टै मुक्ति मिल्न सक्ला कि भन्ने आशा गरौँ ।