यमबहादुर दुरा
मानव जातिले सबैभन्दा पहिले बोल्न सिकेको हो । लेखनकलाको विकास त धेरै पछि भएको हो । ‘लिङ्गुइस्टिक सोसाइटी अफ अमेरिका’को वेबसाइटमा प्रकाशित एक लेखका अनुसार मानव जातिमा बोलीको विकास सम्भवतः लाखौँ वर्षपहिले भएको हो भने लेखाइको विकासचाहिँ सुमेरियनहरूले मेसोपोटामिया (अहिलेको दक्षिणी इराक)मा इसापूर्व ३२०० तिरमात्र विकास गरेका हुन् ।
ऐतिहासिक तथ्यले प्रस्ट पार्छ– लेख्य परम्परा कान्छो विधा हो, जसको तुलनामा मौखिक परम्परा कैयौँ गुणा पाको छ र व्यावहारिक पनि । हामीले एकपटक आफ्नै जीवनलाई नै नियालौँ । हामीले जीवन र जगत्सम्बन्धी पहिलो जानकारी लेख्य परम्पराबाट नभई बोलीबाटै पायौँ । बाल्यकालमा अभिभावकबाट पाउनुपर्ने माया–ममताको तमाम वर्षा पनि बोलीबाटै भयो । हाम्रा विश्वास प्रणाली, तमाम मूल्य–मान्यता र सामाजिक सम्बन्धका आधार स्तम्भ पनि बोलीबाटै खडा भए ।
हामीले आफूवरिपरि र दुनियाँका नवीनतम् घटनाक्रमबारे पनि मौखिक रूपमै जानकारी पाउन थाल्यौँ । कालान्तरमा छापाखाना र पत्रकारिताको विकास भएपछि देश र दुनियाँका ती ताजा घटनाक्रमसम्बन्धी सूचना (जानकारी) समाचारपत्रमा पनि आउन थाले ।
त्यसमा पनि मानव विकासक्रमको लाखौँ वर्षको इतिहासलाई विश्लेषण गर्र्नेे हो भने समाचारपत्रको युग त हिजो भर्खरै सुरु भएको हो । ईसाको सत्रौँ शताब्दीमा युरोपमा समाचारपत्रको प्रकाशन सुरु भयो भने नेपालमा बीसौँ शताब्दीमा गोरखापत्रको प्रकाशनबाट श्रीगणेश भएको हो । आज पनि लाखौँ मानिस समाचारपत्रको परम्परासँग अभ्यस्त भइसकेका छैनन् ।
समाचारपत्रको आगमनभन्दा धेरै समय अघि, सम्भवतः सभ्यताको सुरुवातको घडीदेखि नै मानव समाजले मौखिक माध्यमबाट सूचना तथा ज्ञान प्राप्त गर्न थाल्यो भन्ने आसय माथिल्ला हरफमा व्यक्त भइसकेको छ । वास्तवमा श्रुतिपरम्परा र मानवजीवनको नाता ज्यादै घनिष्ठ छ । श्रुतिपरम्परा र नेपाली जनजीवनको साइनो खोज्दै जाने हो भने यसको जरा जनजीवनको भित्री तहसम्म पुगेको देखिन्छ । नेपाली समाजले समाचार पनि मौखिक माध्यमबाटै सुन्यो, त्यो पनि समाचारपत्रको युग प्रारम्भ हुनुभन्दा धेरै समय अघिदेखि नै । त्यस्ता मौखिक समाचार अवश्य पनि अहिलेका समाचारको ढाँचामा थिएनन् । ती त लोकपद्य तथा लोकलयमा उनिएका सूक्तियुक्त, गेयात्मक र अनुप्रासयुक्त जानकारीहरू थिए ।
तत्कालीन अपठित समाजमा प्रविधि र पठन–क्षमता दुवै दृष्टिले लिखित समाचारको कुनै गुञ्जायस थिएन । तर पनि मानिस सूचनाजीवी र सूचनाभोगी प्राणी हो । बाँच्नका लागि उसलाई नयाँ र जीवनोपयोगी सूचना अपरिहार्य छ । तत्कालीन समाजले छन्दोबद्ध लोकपद्य तथा लोकलयमा रहेका मौखिक ज्ञान–भण्डारबाट तन्त्रमन्त्रदेखि लोकव्यवहारसम्मका ज्ञान लिएर खाँचो पूरा ग¥यो ।
नेपाली समाजले युगौँदेखि मौखिक रूपमै ज्ञान र सूचना प्राप्त गर्दै आयो । नयाँ घटनाप्रति मानिसलाई चासो हुन्छ, जुन उसको युगीन स्वभाव पनि हो । विगत दुई÷तीन सय वर्षको इतिहास हेर्दा नेपाली समाजले खाँडो, सवाई, कर्खा आदिको माध्यमबाट सामाजिक तथा राजनीतिक घटनासम्बन्धी नयाँ सूचनाको भोक मेटाएको देखिन्छ ।
नेपाली समाजको त कुरै छाडौँ, हामीभन्दा धेरै विकसित मानिएको बेलायती समाजले पनि समाचारपत्रको युग सुरु हुनुभन्दा अघि ब्यालड, टाउन क्रायर, ब्रोडसाइडजस्ता मौखिक विधिबाट सूचना र समाचार प्राप्त गर्थे भन्ने तथ्य अनलाइन विश्वकोश ‘ब्रिटानिका’मा उल्लिखित छ ।
द्रुत प्रकृतिका आधुनिक आमसञ्चारमाध्यमको अभावमा तिनै खाँडो, सवाई, कर्खा आदिले समाचारपत्रको काम गरेका थिए । अरू विकल्प नभएको त्यस समयमा ती छन्दोबद्ध तथा लयबद्ध काव्यात्मक अभिव्यक्ति नै समाचारका स्रोत थिए । काव्यात्मक अभिव्यक्तिको ढाँचा आधुनिक समाचारपत्रको जस्तो हुने कुरै थिएन ।
ती आफ्नै शैली र ढाँचाका थिए । यद्यपि, तत्कालीन समयमा ती ढाँचा सुरुचिपूर्ण थिए । नेपाली साहित्य र संस्कृतिका अध्येता कृष्णप्रसाद पराजुली (वि.सं. १९९२–२०७०) ले नेपाल–अङ्ग्रेज लडाइँताका चलेको खाँडोको एउटा रोचक दृष्टान्त दिएका छन् ः
गोर्खे खाँडो जाग्दै जा
कुइरे लग्तै भाग्दै जा
कुइरेका मुडमा खुकुरी
जक्ख्याइदिम्ला दुगुरी ।
(नेपाली लोकगीतको आलोक, २०५७, पृ. ३६४)
नेपाली लोकपद्यमा प्रचलित अर्को विधा हो– सवाई । यसले पनि लडाइँ र युद्धभूमिका प्रसङ्गलाई काव्यात्मक तथा गेयात्मक तरिकाले प्रस्तुत गर्छ । यो लोककाव्यधाराको सुरुवात फौजमा पुगेर लडाइँमा होम्मिएका लाहुरे समुदायबाट भएको तर्क निबन्धकार कृष्णचन्द्रसिंह प्रधान (विसं. १९८२–२०६७)को (साझा समालोचना, २०२५, पृ. १६१) छ ।
सुवानन्ददासले पृथ्वीनाराण शाहको विजय अभियान, ओलाङचुङगोलाका लालबहादुरले भोट लडाइँ र नरबहादुर रानाले जङ्गबहादुर राणाबारे सवाई रचेको साहित्यकार तारानाथ शर्माले चर्चा गरेका छन् (नेपाली साहित्यको ऐतिहासिक परिचय, २०६३, पृ. २६) । शर्माले विसंं १९९० माघ २ गते आएको विनाशकारी भूकम्पबारे सवाई प्रचलित रहेको उल्लेख गरेका छन् ।
कृष्णप्रसाद पराजुलीले लालबहादुरले भोट लडाइँबारे रचेको सवाईको उदाहरण पेस गरेका छन् । भोट लडाइँको चित्रमय प्रस्तुतिमा ‘पत्थरकला’ शब्द पनि प्रयोग भएको छ । लडाइँमा सिपाहीले चलाउने मुख्य हतियार ‘पत्थरकला’ थियो । उक्त सवाईको सानो अंश ः
सुन सुन पाँच म केही भन्छु
भोटका लडाइँको सवाई कहन्छु
आन्द्रा लागे छुत्ती खेल्न तिघ्रा लागे काम्न
सकिनँ महाराज पत्थरकला थाम्न
(नेपाली लोकगीतको आलोक, २०५७, पृ. ३६९)
नेपालको सामाजिक परिवेशमा मौखिक समाचारको निर्वाह गर्दै आएको अर्को लोकपद्य हो– कर्खा । मूलतः गन्धर्व समुदायले सारङ्गी रेट्दै आएको कर्खामा खाँडो र सवाईमा भन्दा बढी साङ्गीतिकता भेटिन्छ । लय हालेर गाइने यस लोकपद्य परम्पराले अझ व्यापक सामाजिक तथा राजनीतिक दायरालाई समेटेको पाइन्छ ।
लोकसाहित्यका अध्येता चूडामणि बन्धुले कर्खामा द्रव्य शाहदेखि राजा वीरेन्द्रसम्म, जङ्गबहादुरदेखि चन्द्रशमशेरसम्म तथा सुगौली–सन्धिदेखि नवीनतम् सामाजिक घटनाक्रमसम्म समेटिएको चर्चा गरेका छन् (आस्पेक्ट्स अफ् नेप्लिज् फोकलोर, २०७३, पृ. ४८–४९) ।
कर्खामा लडाइँ र राजामहाराजाका बखानमात्र होइन, जनस्तरका नागरिकका सुख–दुःख पनि समेटिन्छन् । हत्या, आगलागी, बाढीपहिरो, खडेरीजस्ता लोकजिन्दगीसँग गाँसिएका पक्षहरू पनि समाविष्ट हुन्छन् ।
झलकमान गन्धर्व (विसं १९९२–२०६०)को ‘सिग्नेचर’ मानिएको ‘हे बरै, आमाले सोध्लिन् नि, खै छोरो भन्लिन्...’ लाई लोकजिन्दगीसँग गाँसिएको कर्खाको उत्कृष्ट नमुना मान्न सकिन्छ । यो कर्खामा (गीत) युद्धभूमिमा मृत्युवरण गरेका लाहुरेको कारुणिक वर्णन छ ।
चालीसको दशकअघिसम्म गन्धर्वहरू कर्खामार्पmत यस्तै विरह–व्यथाका समाचार सुनाउँदै गाउँ–गाउँ डुल्थे । समाचारपत्रको संवाददाताले कुनै घटनाको वर्णन गरेभैmँ गन्धर्व दाजुभाइले सम्बन्धित घटनाको वर्णन गर्थे, जसबाट प्रत्येक श्रोताको हृदयमा लडाइँको कहानी छापिन्थ्यो ।
मौखिक रूपमा प्रवाह गरिएका यस्ता समाचार नेपाली समाजमा बहुधा प्यारो र ग्राह्य छ । वास्तवमा नेपाली समाज मौखिक परम्परामा आधारित समाज हो । नेपाली समाज श्रुतिपरम्परामा आधारित समाज हो, जहाँ वंशावली, छोराछोरीको उमेर, युगान्तकारी सामाजिक वा राजनीतिक घटनाक्रमको नालीबेली, आर्थिक लेनदेनको हिसाब–किताबलगायत सबै विवरण मुखैमा रहन्छ ।
नेपाली समाज लिखित सामग्रीलाई पनि बोलीमै ग्रहण गर्न रुचाउँछ । भानुभक्तकृत रामायण मौनवाचनमा भन्दा सस्वर वाचनमा बढी जीवन्त ठहरियो । कसैले वाचन गरेको सुनेको आधारमा अपठित ग्रामीणजनले वनपात–मेलापातमा भाका हालेर गाउन थालेपछि भानुभक्तीय रामायण झन् बढी कान्तिमय र लोकप्रिय हुन थाल्यो । चिठीको कुरा पनि उही हो । विगतमा लाहुरबाट लाहुरेको चिठी आउँथ्यो । चिठी आपैmँ बोल्दैनथ्यो । कुनै साक्षर व्यक्तिले वाचन नगर्दासम्म त्यो चिठी कागजको खोस्टोभन्दा बढी केही हुँदैनथ्यो । वाचनकलामा सिपालु कुनै व्यक्तिले त्यही चिठी वाचन गरेपछि त्यसमा प्राण भरिएर आउँथ्यो । अनि मात्र, चिठीमा सवार लाहुरेको आत्मा भरर बोल्न थाल्थ्यो । लाहुरेले घरपरिवारलगायत छरछिमेकलाई ‘बहुतै सम्झेको छ’ भन्ने सुनेपछि धेरैका आँखा रसाउँथे ।
गाउँघरमा प्रचलित कटुवालप्रथा सामाजिक सञ्चारको एउटा महŒवपूर्ण कोशेढुङ्गा हो । हाम्रा लागि कटुवालप्रथा मौखिक सूचनापाटी (नोटिस बोर्ड) हो । गाउँको अग्लो ठाउँमा उभिएर कटुवालले भाका हाल्दै सूचना फलाकेपछि व्यहोरा छर्लङ्ग हुन्छ । यो गुनी परम्परा कतिपय गाउँबस्तीमा आजपर्यन्त कायमै छ ।
श्रुतिपरम्परामा सबै कुरा मौखिक रूपमै सम्झिनुपर्ने भएकाले सबैजसो सूचना छन्दोबद्ध, गेयात्मक र अनुप्रासयुक्त हुन्थे । नेपाली समाजमा छन्दोबद्ध कविता तथा अन्य अभिव्यक्ति आजपर्यन्त लोकप्रिय छ । यही मान्यतामा अभ्यस्त भएर नै होला, कसैको छन्दहीन र लालित्यहीन अभिव्यक्तिलाई ‘छन्द न बन्द’ भनेर टिप्पणी गर्ने चलन छ ।
गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटाजस्ता उम्दा साहित्यिक व्यक्तित्वले गद्यमा कविता लेखेर काव्यिक क्रमभङ्गता सुरु गरेपछि छन्दोबद्ध काव्यपरम्परामा अभ्यस्त तत्कालीन साहित्यिक जमात नराम्ररी झस्किएकोमात्र होइन, राम्रैसँग तिल्मिलाएको थियो भन्ने प्रसङ्ग साहित्यिक इतिहासमा पढ्न पाइन्छ ।
गद्य कविता होस् वा छन्दोबद्ध नै किन नहोस्, त्यसलाई व्यक्त गर्न भाषा चाहिन्छ । विश्वमा हजारौँ भाषा छन् तर तुलनात्मक रूपमा थोरैको मात्र लिपि छ । मौखिक परम्पराका अध्येता वाल्टर ज्याक्सन अङ (सन् १९१२–२००३) ले विश्वमा १०६ भाषाको मात्र साहित्य लेख्न सकिनेगरी लिपि विकास भएको र बाँकी मौखिक रूपमै रहेको चर्चा गरेका छन्
(ओरलिटी एन्ड लिटरेसी, सन् २००२, पृ.७) ।
अहिले विश्व समाज क्रमिक रूपमा लेख्य परम्परातर्पm उन्मुख हुँदै गइरहेको छ । यसले प्रगतिको शिखर आरोहण गरिरहेको बेला यसको आधार स्तम्भका रूपमा रहेको मौखिक परम्परा स्मरणीय छ । आधुनिक समाजमा पढिने समाचारपत्रलगायत तमाम लिखित वाग्धाराको स्रोत पनि मौखिक परम्परा नै हो । अभिव्यक्तिको दुनियाँमा शब्दव्रह्मको महŒव सम्झाउने श्रुतिपरम्परालाई नमन !