मोहनप्रकाश
बिहान ४ बजे नै निद्रा खुल्यो । अचानक खोई के जङ चल्यो यो मनलाई । झोलामा एक बोतल पानी हालेर कसैलाई पत्तै नदिई घरबाट निस्किएँ । अनि फटाफट हिँडेर कमल विनायकबाट चाँगुनारायण पुगेँ । त्यहाँबाट तल मनोहरा खोलापारि साँखु देखियो । कुनै उद्देश्यविहीन गोडाहरू मनोहरातिर ओर्ले । साँखु पुगेपछि त्यहाँबाट उत्तरतर्पm दुई पहाडका खोँचमा सुन्दरीजल देखियो । पुनः बागमती नदी पछ्याउँदै सुन्दरीजल पुगेँ । त्यहाँबाट कहाँ जाने आफैँलाई अत्तोपत्तो छैन ।
काठमाडौँ पानी सप्लाई गर्ने सुन्दरीजलको ठूलो पाइपलाइन पछ्याउँदै शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुगेँ । जहाँ नेपाली सेनाका जवानहरू सुरक्षार्थ खटिएका भेटिए । ‘यहाँबाट तीन घण्टा हिँडेपछि चिसापानी पुगिन्छ ।’ एक सेनाका जवानको कुरा सुनेपछि म चिसापानी पुग्न हतारिन्छु । बाटो पूरै ठाडो उकालो छ । शान्त र एकलास जङ्गलमा कुनै मानिस भेटिँदैन । यो त जनावरहरू पाइने जङ्गल पो हो त ! तर पूरै मार्गमा चराका चिर्रबिरे गीत र गुराँसका फूलसिवाय कुनै पनि जनावर दृष्टिमा ठोक्किएनन् ।
जङ्गल काटेपछि मूलखर्कमाथि चौरवासमा एउटा घर भेटियो । एउटी युवती उक्त घरबाहिर बसेर बाटोतर्फ आँखा फिँजाउँदै थिई । उनीसँग केही क्षणको संवादपछि छुट्टिएँ । निकुञ्जभित्र करिब चार घण्टा हिँडेपछि बोर्लाङ भञ्ज्याङबाट तल चिसापानीको बस्ती देखियो । बाटोको दाहिनेतिर चिसापानीतर्फ नै दृश्य फिँजाउँदै गफमा भुलेका दुई व्यक्ति भेटिए । ‘कहाँ जान लाग्नु भो ?,’ दुईमध्येका एकले प्रश्न गरे । ‘गोसाइँकुण्ड’, मेरो मुखबाट अनायासै शब्द फुत्किन्छ ।
‘ओहो यही तालमा गोल्डस्टार लाएर पुग्न सक्नुहुन्छ त गोसाइँकुण्ड ? दुई–तीन फुटसम्म हिउँ जमेको छ बाटोमा ।’ ती दुवै पर्यटक पथप्रदर्शक रहेछन् । अर्का गाइडको यस्तो अत्यासलाग्दो प्रश्नले मलाई झन् गोल्डस्टारमै गोसाइँकुण्ड पुग्ने हट जाग्यो । सायद यी दुई पथप्रदर्शक बाटोमा नभेटिएका भए म चिसापानीबाटै फर्किने थिएँ कि ! मेरो गोसाइँकुण्ड पुग्ने कुनै पूर्वयोजना पनि थिएन तर अनायासै यिनको चुनौतीपूर्ण प्रश्नको जवाफ खोज्न पनि म गोसाइँकुण्ड पुगेरै छोड्ने प्रण गरेँ । आफ्नै देशको दुई–चार फुट हिउँदेखि पनि तर्सिने भए केको नेपाली ? मनमा यस्तै तर्कना उठे ।
ती दुई पथप्रदर्शकका संवाद केही बेर बसेर सुनेँ । तिनले मलाई बाटोका बारेमा केही जानकारी पनि दिए । अनि उनीहरूकै सल्लाहबमोजिम चिसापानी पुगेर केही प्लास्टिकका झोलाहरू र चाउचाउ, बिस्कुटहरू किनेर ब्यागमा हालेँ ।
चिसापानीबाट अर्को दिन बिहान सबेरै चिया पिएर निस्किएँ । ठाउँ–ठाउँमा बाटो सोद्धै चिप्लिङ हुँदै गल भञ्ज्याङ पुगेँ । बाटामा एकान्त घर र बस्तीहरू भेटिए । भीर, जङ्गल र गुराँसका बुट्टाहरू भेटिए । गाउँ छुट्दै गएपछि करिब तीन–चार घण्टा त एक्लो यात्री भएर होला, अत्यास पनि लाग्यो । त्यही अत्यासले होला, जङ्गलभरि गुराँस फुलेको देख्दा पनि मन खुसी भएन । उल्टै चक्कर लाग्लाजस्तो, बान्ता आउलाजस्तो भएर जीउ नै भारी हुन थाल्यो । पाइला चाल्नै गाह्रो हुन थाल्यो ।
बाटो सामुन्नेको डाँडो हुस्सुले छपक्कै छोपिएको थियो । अत्यासलाग्दो मौसमले जीउ नै जिरिङ्ग हुन थाल्यो । हुस्सुले छोपिएको पहाड कटेपछि मानिसको होहल्ला सुनियो । केहीबेर हिँडेपछि बाटोमा क्याम्पिङ गर्दै हिँडेको एउटा समूह देखा प¥यो । जहाँ आठ–दस विदेशीसँगै १२÷१५ जनाजति नेपाली पनि थिए । यिनीहरू यहाँ खाना खाएर हिँड्न लागेका रहेछन् । त्यही क्याम्पिङ गु्रपका दुई नेपाली गाइडसँग गफिँदै पाइला चाल्छु । तिनले मेरो कुरा सुनेपछि मलाई लेक लागेको हुनसक्ने सल्लाह दिए । हुन पनि म यति उचाइमा पहिलोचोटि हिँड्दै थिएँ । यति लामो बाटो पनि एक्लै हिँडेको थिइनँ । दिउँसोको तीन बजेको थियो । उनीहरूले यहीँ कुटुनसाङमा बास बस्न मलाई सल्लाह दिए । आफ्नो मनस्थिति बुझेर मैले पनि उनीहरूको सल्लाह स्वीकारेँ ।
कुटुनसाङमा जम्मा दुइटा होटल रहेछन् । तीमध्ये म बाटोको पहिलो होटलमा छिरेँ । होटल मालिक शेर्पा रहेछन् । ती शेर्पा दम्पतीले मलाई लेक लागेको पुष्टि गरे र निरन्तर अदुवापानी तताएर दिइरहे । साहुनीले
‘दाइ यो लसुन बी–बीचमा खाइरहनु’ भन्दै मेरो छेउमा लसुन राखिदिइन् । बेला–बेला उनले चिया र खाजा पनि दिइरहिन् । तिनको मप्रतिको सेवा–सत्कार देखेर मैले ‘मुनामदन’ कृतिको पात्र मदनलाई सम्झिएँ । होटलमा छिरेदेखि तिनले मलाई गरेको सेवा–सत्कार आज पनि म झल्झल्ती सम्झिरहेको छु । मानवताको मूल्य साह्रोगाह्रोमै महसुस हँुदो रहेछ । त्यसै उखान पनि कहाँ बनेको छ र – ‘साथी चिन्नु मसानघाटमा ।’ म मसानघाट पुग्न लागेको मान्छेलाई यी पतिपत्नीले उद्धार मात्र गरेनन्, मानवताको पाठ पनि सिकाए ।
शेर्पा दाइ धर्मकर्म र पूजापाठमा हरक्षण तल्लीन देखिन्थे । म होटलभित्र छिर्दा हातमा माला घुमाइरहेका थिए । उनले त्यो माला एकक्षण छाडेनन्, निरन्तर गनिरहे, घुमाइरहे । उनको कार्य देख्दा लाग्थ्यो, गेस्टसँग बोल्दा पनि उनी ध्यानमै छन् । उनीहरूको सेवा–सत्कार र माया–ममताले बेलुकासम्ममा म तङ्ग्रिसकेको महसुस गरेँ । सायद ती कर्मशील दम्पतीका सङ्गतले मलाई ऊर्जा मिलेको हुनुपर्छ ।
बेलुकाको खानामा एउटै टेबलमा भेटिए एक डच जोडी । करिब ७० वर्ष नाघिसकेका जस्ता देखिने यो जोडी ठाडेपाटीबाट माथि उक्लिन नसकेर पदयात्रा त्यागेर फर्केका रहेछन् । तिनीहरूसँग दुई जना पथप्रदर्शक पनि साथमा थिए । संवादका क्रममा तिनका कुरा सुनेर म नाजवाफ भएँ । ती दुई लोग्नेस्वास्नी नभएर प्रेमीपे्रमिका रहेछन् । बूढाकी श्रीमती बिदा मनाउन उसको ब्वाइफ्रेन्डसँग स्विट्जरल्यान्ड गएकी रहिछे । बूढीको श्रीमान् भने आफ्नी गर्लफ्रेन्डसँग छुट्टी मनाउन अस्ट्रिया गएको रहेछ । यी दुई भने यहाँ बिदा मनाइरहेका थिए । खान खाने टेबलमै त्यो बूढो प्रेमी उसकी बूढी पे्रमिकालाई अँगालो मार्दै म्वाइँ खान्थ्यो । बूढी लजाउँदै पन्छिन खोज्थी । यो वृद्ध जोडीको क्रियाकलाप देख्दा लाग्थ्यो, यिनीहरू भर्खरै प्रेममा परेका सोह्रवर्षे ठिटाठिटी हुन् ।
बिहान सबेरै चिया र बिस्कुट खाएर हिँड्ने तरखर गर्दै मैले मेरो हिसाब सोधेँ तर साहुनीले एक पैसा लिन मानिनन् । उल्टै उनीहरूको सेवा–सत्कारको ऋणी बनेर म चढ्न थालेँ ठाडे भन्ने ठाउँको ठाडो उकालो । यहीँबाट बाटोभरि हिउँ छपक्क भेटिन थाल्यो । पहिलोचोटि हिउँतन्नामा टेक्न पाउँदा खुसीले हिउँमै सुत्न मन लाग्यो । पूmलचोकी, नगरकोट र शिवपुरीमा आक्कलझुक्कल हिउँ टेकेको मलाई यहाँ त हिउँकै जङ्गल थियो । होटल र घरहरू हिउँले पुरिएका थिए । ठाडेपाटीको एउटा होटलमा चिया पिउन पस्दा नवीन देवकोटा नामका पथप्रदर्शक भेटिए । उनी दुई इजरायली युवालाई लिएर गोसाइँकुण्ड हिँडेका रहेछन् ।
हिउँले पुरिएको बाटो एक्लै कसरी भेउ पाइएला भन्ने भा’थ्यो तर यहाँ नवीनसँगको भेटले राहत मिल्यो । उनकै साथ लागेर जाँदा बाटामा एकपछि अर्का इजरायली समूह भेटिन थाले । बाटामा भेटिएका पथप्रदर्शकहरूले म एक्लै गोसाइँकुण्ड घुम्न जान लागेको भन्दा पत्याउँदै पत्याएनन् । उल्टै शङ्का गर्न थाले । नवीनले पनि ममाथि शङ्का गर्न थाले । एक ठाउँमा त मुखै खोलेर भने, ‘तपाईंले स्पष्ट भनिदिनु भो भने बरु हामी चन्दा सहयोग गर्न तयार छौँ’ भने । एक–दुई इजरायली त मलाई ‘आर यु नेपाली’ भनेर सोध्न थाले । सायद नेपाली पनि यसरी पदयात्रा गर्छन् भन्ने तिनलाई विश्वास नलागेको पनि हुन सक्छ ।
यहाँ हिँड्दै गर्दा बल्ल बोर्लाङमा भेटिएका दुई पथप्रदर्शकले भनेको कुरा सम्झिएँ । बाटामा कैयौँ ठाउँमा दुई–तीन फुट हिउँमा भासिँदै हिँड्नु प¥यो । उनीहरूकै सल्लाहबमोजिम झोलामा कोचेको प्लास्टिक मोजा बाहिर बेरेर गोल्डस्टार जुत्ता कसेको थिएँ तर पनि कता–कताबाट जुत्ताभित्र हिउँ पसेर खुट्टा काठिएका थिए । मेरा आँखा पनि बिजाउन थालेका थिए । दिउँसो घाममा हिउँ टल्किएर नाङ्गा आँखा हेर्नै गाह्रो हुन थाले । हिउँमा हिँड्दा सनग्लास अनिवार्य रहेछ तर कहाँ यस्तो कुरा मैले भेउ पाउनु ?
घोप्टेको होटलमा पुग्दा रात झमक्कै परेको थियो । यहाँ त हिउँको कुम्भ मेला नै रहेछ । कुनै चिज सेतोभन्दा अर्को रङ देखिएन । होटलको आँगनमै दुई–तीन फुट हिउँ जमेको थियो । होटलभित्र छिर्नेबित्तिकै आगोको वरिपरि भीड जम्यो । कोही जुत्ता सेकाउने, कोही ज्याकेट, टोपी र कोही मोजा सेकाउने । सबैको आ–आफ्नै ध्याउन्न । सानो होटलमा विदेशीको भीड थियो । नेपालीहरू त टेबलकुर्सी जोडेरै सुतियो ।
गुराँसका दाउरा काँचै पनि बल्ने रहेछन् । काँचो रुख काट्दै ल्याएर अँगेनाको छेउछाउ थुपारिएका थिए । त्यही भएर हुनुपर्छ, घोप्टेका ती होटलका सेरोफेरोमा एउटै रुख देखिएनन् । होटल पुग्नुअघि निकै तल बाटोमा एक केटो गुराँसको रुख काट्दै गरेको भेटिएको थियो । पछि उसैले दाउरा ल्याएर अँगेनाछेउमा थुपा¥यो । घोप्टे त्यही ठाउँ थियो, जहाँ सन् १९९२ मा थाई एयरलाइन्सको फ्लाइट ३११ दुर्घटनामा परेर यात्रारत ११३ जना सबैको दुःखद निधन भएको थियो । तिनीहरूकै सम्झनामा ककनीमा स्मृति पार्क पनि बनाइएको छ । नामजस्तै भीरको खोँचमा देखिन्थ्यो दुर्घटना स्थल ।
रातभरि मेरा आँखा जोडिएनन् । दिनभरि हिउँमा टल्केको प्रकाशले मेरा आँखा न हेर्न मिल्ने न चिम्लिन मिल्ने गरी लगातार आँसु मात्र बगिरह्यो । आँखैले काम नगरेपछि यात्रामा के खुसी छाओस् ? दिनभरिको यात्रा फिक्का बन्यो । मलाई ‘चिनी धेरै खाएपछि तीतो हुन्छ’ भनेझैँ हिउँदेखि नै एलर्जी हुन थालेको थियो । बिहान निस्कने बेलामा हिमपात हुन थाल्यो । टाउकोमा प्लास्टिक बाँधेर उकालो लागियो । बाटोमा दुई–तीन फुट हिउँ, खुट्टामा हिउँ, हातमा हिउँ, काँध, टाउको, ब्याग जताततै हिउँ नै हिउँ । शरीर पूरै खस्खस् हुन थाल्यो । आँखा पोलेर त्यस्तै भएका छन् । दृश्य हेर्नुभन्दा चिम्लिन बेस । आक्कल–झुक्कल चिम्लियो हिउँमा चिप्लिएर भीरबाट खसिने डर । थोरै थोरै त कति चिप्लिएँ कति । धन्न त्यस्तो ठूलो सङ्कट आइपरेन ।
लौरीबिनाको उकालो सुनेजस्तो गाह्रो लागेन । लठ्ठी नटेकी चढ्न नसकिने भनेर लौरीबिना नाम रहन गएको भन्ने सुनेको थिएँ तर लौरीबिना नै उकालो काटियो । समुद्री सतहबाट चार हजार ३१० मिटरको उचाइमा हामी पाइला टेक्दै थियौँ । अर्थात् गोसाइँकुण्ड आँखामा छाइसकेको थियो । यही सेरोफेरोमा सात कुण्ड छन् भन्नेको सुनेको थिएँ तर देखिए जम्मा दुई । अन्य कता थिए देख्ने वा हेर्ने इच्छा र जाँगर पनि पलाएन । होटलमा पुग्दा मेरो आँखाको हालत देखेर सबैले मलाई तल सिङ्गोम्पामा गएर बास बस्न सुझाए । म उनीहरूकै सुझाव अनुसरण गर्दै बाटो लागेँ । छेवैमा बाटोको तल खोँचमा त्रिशूली नदी सुसाएको सुनिन्थ्यो । हिउँमा अलिकति चिप्लिए खोँचमा कहाँ पुगिने हो पत्तो थिएन ।
करिब एक घण्टा ओरालो कुँदेपछि बाटोमा हिउँ बिस्तारै निखिँ्रदै जान थाल्यो । हिउँ निख्रिँदै गएपछि यात्रा बल्ल सहज बन्दै गएझैँ लाग्यो । ढकमक्क फुलेका लालीगुराँसका बुट्टाहरू पनि एकपछि अर्को देखिन थाले । यहाँ आइपुग्दा थोरै भए पनि दृश्यमा मन रमाउन थाल्यो । आक्कल–झुक्कल घर र होटलहरू पनि भेटिन थाले ।
गोसाइँकुण्ड र धुन्चेको मध्य स्थानमा सिङ्गोम्पा भन्ने ठाउँ रहेछ । त्यहाँबाट उत्तरतर्फ स्याफ्रुबेँसी जाने बाटो रहेछ । गोसाइँकुण्डदेखि सिङ्गोम्पासम्म एक दिनको पदयात्राको बाटो रहेछ तर म धुन्चे नै पुग्ने सुरले ओरालो दौडिरहेँ । बेलुका करिब ७ बजे म धुन्चे पुगेँ । होटलको बाथरुममा नुहाउन तातोपानीको सुविधा रहेछ । नुहाइदिएँ । हिउँले कठ्याङ्ग्रिएको शरीरमा तातोपानी पर्दा छाला प्यात्त–प्यात्त पिल्सिन पो थाल्यो । आँखा पनि पूरै बन्द भए । राति शरीर आगो भैmँ बलेर पसिना र आँसुले ओछ्यान छ्याप्पै भिझेको थियो । ज्वरोले म कोठामा बर्बराउन पो थालेछु । धन्न होटल मालिकसँग सिटामोल रहेछ र थोरै भए पनि राहत भयो ।
वैशाख ११ गते बिहान भालेको डाकसँगै धुन्चेको सडकमा नागरिकको विजय जुलुसको नारा घन्कन थाल्यो । त्यो दिन २०६२÷६३ को १९ दिने जनआन्दोलन सफल भएको थियो । अर्थात् तानाशाह ढलेर लोकतन्त्र स्थापना भएको थियो । मेरा आँखा भने बन्दै थिए । ज्वरोले जीउ कामिरहेकै थियो । शरीर पूरै पाकेर पिप झर्लाजस्तो भएको थियो । अनुहारभरि खटिरा आएका थिए । ओठ सुन्निएर अनुहार नै कुरूप बनेको थियो तर नयाँ बिहानीसँगै आएको परिवर्तनको गुञ्जायसले मन त्यसै–त्यसै चङ्गा हुँदै गयो ।