उमा दाहाल
छ अन्धकार यो धरा चमक्क गर्छ माथमा
तुफान भेषरूप त्यो लिएर घुम्छ साथमा
गरा र खेत छन् सबै डुबान भित्र वास छन्
पहाड भीर आज ती सबै गलेर भास छन् ।
हजार जीव भेलमा गुहार माग्छ आसको
हरेक वास टाकुरा बनार नाच्छु लासको
म अन्धकार भेल भै जतासुकै म पुग्दछु
विभिन्न रूप काल भै जताततै म डुल्दछु ।
रमेर नाच्छु भेलमा उराल्छु छाल उच्च भै
विनाशभित्र खेल्छु नै अझै डटेर तुच्छ भै
न गाँस छन् न बास छन् छ दुःख मात्र साथमा
हराभरा कुटी सबै उराठ पार्छु पासमा ।
छ भेल उच्च नै जता म बाँच्छु भन्छ आसमा
निराश बन्छ फेरि त्यो पुकार गर्छ साथमा
छ अन्धमुष्टि भेल त्यो जता पहाड देख्दछ
विशाल छाल उर्लिंदा लछारिएर पुग्दछ ।
बढेर शक्ति दैवको बिजोग मात्र लेख्दछु
मनुष्य आज हारमा जताततै म देख्दछु
अनेक रोग भोक छन् पहाडमा मधेसमा
अझै छ व्याधि तेजिलो सबै सबै प्रदेशमा ।