आर.डी ‘प्रभास’ चटौत
अवनि र अम्बरको
सन्धि गराउन खोज्ने क्षितिजको श्रान्त–रवि
विश्रामतिर गइरहेको सन्ध्यामा
जब म स्मित फूलको पौधामा
पानी दिरहेको थिएँ
लोभ्याउने गरी फूल, मतिरै निहारी रहेको देखेँ
मुस्कुराइ रहेको देखेँ
मैले प्रकृतिको छक्क पारिदिने मनोहारी
तिलस्मी रूप देखेँ
मात्र–मात्र हेरी रहुँ लाग्ने फूलका पत्र–ओठ
केही भन्न खोज्दै चल्मलाइ रहेका देखेँ
सुनेँ मैले खुसुक्क कानमा
भनेको, ‘म्वाइँ खाऊ त मलाई
संसारमा कतै नभेट्टाएको
सुखानुभूति गर्नेछौँ’
‘मेरो मुटु छामेर त हेर
कल्पनै नगरेको लावण्यको
रसानुभूति गर्नेछौँ
त्यो फूलको पौधातर्फ यसरी खैँचिए कि म
मेरा भावतरङ्गहरूले तिलस्मी
फूलको चुम्बकीय अन्तर्यको साक्षात्कार गरे
जब म फूलको पौधामा
पानी दी रहेको थिएँ ।