logo
२०८१ मंसिर ९ आईतवार



ऐँसेलु (कथा)

शनिवार |


ऐँसेलु (कथा)


राजेन्द्र पुडासैनी 

केही साना बालकहरू थालमा ऐँसेलु राखेर बेच्न बसिरहेका थिए । त्यसमध्ये एउटाले सोध्यो, “अङ्कल ऐँसेलु लिने हो ?”
भर्खर टिपेर राखिएको जस्तो देखिन्थ्यो त्यो फल । मैले यसो चाखेँ, स्वादिलो थियो । मैले सोधेँ, ‘‘कति पैसा ?”
उसले जवाफ दियो, “पचास रुपियाँ ।”
“पचास रुपियाँ अलि महँगो भएन र ?” मैले फेरि सोधँे ।

उसले हाँस्दै भन्यो, “आजकलको जमानामा पनि के महँगो भन्नु । माथि डाँडाडाँडामा गएर टिप्नु पर्छ ।”
“पढ्ने बेलामा ऐँसेलु बेचेर बस्ने हो त बाबु ? स्कुल पोे जानु पर्छ त ? तिमीलाई पढ्न मन लाग्दैन ?” मैले भनेँ ।
“लाग्छ तर किताब, कापी बाले किनिदिनु हुँदैन । किताब, कापी नबोकी स्कुल गए सरहरूले गाली गर्नुहुन्छ”, उसले आफ्नो दुःख पोख्यो ।
बच्चाको दुःख देखेर म केही भावुक हुन्छु । “तिमीलाई पढ्न मन लाग्छ ?” म सोध्छु ।
“लाग्छ मजस्तै अरू साथीहरू स्कुल जान्छन् तर ...”

उसलाई देखेपछि मलाई पनि आफ्नो बाल्यकाल याद आउँछ । गाउँघरतिरका ऐँसेलुका बोट सम्झन्छु । काँडाले घोचे पनि त्यो पीडालाई बिर्सिएर हामी ऐँसेलुका स्वाद लिन्थ्यौँ । आजकल गाँउघरतिर ऐँसेलु देखिँदैन, चुत्रो देखिँदैन, पानीअमला देखिँदैन । डाइनोसर लोप भएजस्तो यी मिठा फलहरू लोप भइसके । प्राकृतिक सुन्दरता र हाम्रा गाउँका मौलिकता सबै हराउँदै छन् । एँेसेलु फल्ने पाखा र भीर डोजरले सम्याइसके । यी भीरपाखा तराईको समथर भूभाग भइसके । सबैतिर प्लटिङ छ । छ्वाली र परालका घर छैनन्, ढलान गरिएका घर छन् । न फिरफिरेको डाँडा छ न त उत्तीसघारी । अब हरियाली छैन, उजाड भूमि छ, जो कि कृत्रिमता अँगालेर बसेको छ ।

म उसलाई नियालेर हेर्छु । उसको ठाउँमा म भएको भए करिब करिब अवस्था यस्तै हुन्थ्यो होला । अब मेरो बालापन इतिहास बनेको छ । अहिले त ऊ जत्रै मेरा बच्चाहरू भइसके । मेरो छोरा बोर्डिङमा पढ्छ । खान र लाउन खासै दुःख छैन । यसरी पढ्नका लागि उसले पसिना चुहाउनु पर्दैन । तर यो बालक बाँच्नलाई सङ्घर्ष गर्दैछ । जहाँ सङ्घर्ष छ, त्यहाँ सुख हुन्छ । मेक्सिम गोर्कीले भन्नुभएको छ, “सङ्घर्ष सुख नै परम सुख हो ।”

पढ्ने विद्यार्थीले सङ्घर्ष गर्दैनन् भन्ने त होइन । किताब, कापी, स्कुल होमवर्क । होमवर्क नगरे सर, मिसको पिटाइ । हुन त यो पनि सङ्घर्ष हो तर पसिना नचुहाउनेलाई कति माने राख्छ भन्ने चाहिँ अलि जानकारी नहुनसक्छ ।
आजकलको पढाइ घोकन्ती विद्या, धावन्ती खेती भनेजस्तो चाहिँ छैन । अहिले त अनलाइन कक्षाको जमाना छ । अनलाइन, मोबाइल, ल्यापटप, आइफोन केके हो केके । जमाना कहाँ पुगिसक्यो । म पो कालीमाटीको गुच्चा खेलेर हुर्केको थिएँ । आजकलका बच्चाहरू पब्जी र फ्रि फायरजस्ता गेम खेल्दै हुर्कन्छन् । कालीमाटी भनेको के हो तिनलाई थाहा हँुदैन । गाईभैँसी दुहेको तिनीहरूले देखेकै हँुदैन । डेरीले दूध दिन्छ भन्छन् । खाजामा मकै र भटमास होइन, पिजा र मम रोज्छन् ।
मलाई झ्वाट्ट सम्झना आयो, मेरो सानो छोराले ऐँसेलु ल्याइदिनुहोस् भनेको । उसले विचरा ऐँसेलु नै देखेको छैन । काफलसम्म देखेको छ । काफल पाक्यो चरीको कथा उसले सुनेको छैन । फेसबुक र युट्युबमा अब यी कथाहरू छैनन् । छैनन् भनौँ भने नानाथरी कुरा भने छन् ।
यत्तिकैमा त्यो सानो बच्चाले भन्यो, “अङ्कल ऐँसेलुको पैसा । म उसलाई सय रुपियाँ दिन्छु ।” ऊ पचास रुपियाँ फिर्ता गर्न खोज्छ । म भन्छु, “त्यो पचास रुपियाँ फिर्ता गर्नुपर्दैन बाबु, पचास रुपियाँ ऐँसेलुको पैसा अनि अर्को पचास रुपियाँ चाहिँ तिम्रो पसिनाको पैसा ।
ऊ दङ्ग पर्छ । म उसको खुसी देखेर रमाउँछु ।”

साँझ घर फर्कन्छु । मेरो छोरा मोबाइलमा व्यस्त छ । आजकल उसको अनलाइन टेष्ट चलिरहेको छ । म दश पढ्दा मात्रै टेष्ट भन्ने थाहा पाएको थिएँ । एसएलसी दिनुअघि टेष्ट दिनुपथ्र्यो । तर आजकल सधैँ अनलनइन टेष्ट चलिरहेको हुन्छ ।
म उसलाई एँेसेलु दिन्छु । नौलो फल, नौलो स्वाद । ऊ मीठो मानेर खान्छ । प्रकृतिका उपहारहरू सबै राम्रा छन् । फूल राम्रो छ, फल राम्रो छ । हिमाल, पहाड, झरना, हरियाली सबै राम्रा छन् । कृत्रिमता भनेको आँखाका लागि तिरिमिरी झ्याइँ मात्र हुन् । प्रकृतिले सोह्र शृङ्गार भरिदिएकी नारी र क्रिम, पाउडर र रोजले सिँगारिएकी नारीको कसरी तुलना गर्ने ? बाघको छाला ओढेको स्यालजस्तै हामी पनि आधुनिकताको खोल ओढ्दै छौँ ।

“ऐँसेलु कस्तो लाग्यो त बाबु ?” म छोरालाई सोध्छु । “नाइस”, ऊ जवाफ दिन्छ । हुन पनि ऐँसेलु, चुत्रो, काफल, आलुबखडा यी सबै फल ‘नाइस’ नै थिए । आजकल बजारमा नाइस बिस्कुट हराएझँै यी नाइस फलहरू गाउँघरबाट हराउन थाले । नाटक र सिनेमामा खेल्न पाइने लोभमा गाउँघरबाट कतिपय चेलिबेटी हराउन थाले । डण्डीबियो र केराउ चोरी खेल हराउन थाले । डिभी र इपिएसको आकर्षणले बेरोजगार युवा हराउन थाले । डलर र पौण्डको आकर्षणले बौद्धिकता हराउन थाले । अब थाहा छैन केके र कोको हराउने हुन् ।
“बाबा, भरे चिकेन रोष्ट खाउन”, सानो छोराले भन्यो । “हुन्छ बाबु”, म अहिले लिन जान्छु । उसको इच्छा आलटाल गर्न मलाई मन लाग्दैन । ऊ चिची भनेर भन्दैन । म सानोछँदा मासुलाई चिची भन्थेँ ।

मासुको प्रसङ्ग उठ्दा मलाई यो हिंसा हो भन्ने लाग्छ । हुन त आधुनिक युगमा मासुको खपत यथेष्ठ मात्रामा हुने गरेको छ । मासुका अनेक परिकार बन्छन् तर हिजो हामी घरपालुवा जनावर र पन्छीको मात्र मासु खान्थ्यौँ । घरमा पालिएका खसी, बोका, च्याङ्ग्रा, हाँस, कुखुरा खान्थ्यौँ भने आजकल जङ्गली जनावर मृग, वनेल, कालिज सबैको सिकार गर्न थाल्याँै । बाघ, सिंह, स्यालका आहार हामीले खोस्न थालेपछि यी जनवर भोकै मर्न थाले । विस्तारै यी लोप हुन थाले । आज स्यालडाँडामा स्यालको हुइयाँ सुनिँदैन । सर्प र चमेरोको सिकार गर्नेहरूले कोरोना भाइरसको महामारी भिœयाए । कोरोना नामक सूक्ष्म जीवाणुले विश्वलाई हल्लाउन थालेपछि चारैतिर त्राहीमाम छाउन थाल्यो । अहिंसा परमोधर्मको मूलमन्त्र हामीले बिर्सियौँ ।
सिनेमाको बीचबीचमा आउने जोकरजस्तो मेरो छोराले बीचमा आएर फेरि सोध्यो, “बाबा, ऐँसेलुको जुस बन्छ ?”
“बन्छ बाबु, मिल्क शेक बनाएर खाउन ।”
एँेसेलुको मिल्क शेक, ऐँसेलुको मिल्क शेक
उ रमाउँदै माथितिर कुद्छ । म विगत र आगत सम्झिएर उसलाई हेरिरहन्छु । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?