logo
२०८१ मंसिर ९ आईतवार



म कसरी लेख्न सक्छु तिम्रो कविता

शनिवार |


म कसरी लेख्न सक्छु तिम्रो कविता


शशी भट्टराई श्रेष्ठ

तिम्रो इसारा बुझ्ने परेवा,
झिसमिसेमै ब्युँझाउन आउने सिमकुखुरा दिनभरि तिमीलाई गफ सुनाउने
रुप्पी र बकुल्लाका सन्तानहरूले
आँगनमा चारो छरिदिने हात खोजिरहेको कुरा कसरी सुनाउँ तिमीलाई ?
त्यो सानो गाईको बाछी
तिमीलाई स्वर्गसम्म पु¥याउन
ब्राह्मणको पछि पछि लम्किरहेको दृश्य शब्दमा कसरी बुझाऔँ तिमीलाई ?

तिम्रा भाँडाकुँडा,
त्यो निभेको चुह्लो
तिम्रो एक्लो रेडियो अनि
त्योसँग साटिएका ती अनिँदा रातहरूदेखि
तिमी बसिरहने त्यो भान्साघरको बरन्डासम्म
यहाँ सबै निशब्द छन् ।
त्यो रात,
हाम्रो कथा अधुरै राखेर
तिमी अनन्त यात्रामा निक्लेपछि
लाग्छ, आजसम्म उज्यालो भएकै छैन ।
तिमीले छाडेर गएपछि,
मेरा सबै कथाहरू टुक्रिए,
ताल र लयहरू बिग्रिए ।
अब उप्रान्त म शायदै केही लेख्न सक्छु होला आमा ।
तिमी नहुनुको पीडामा
तिम्रा सम्झनाका खाताहरू
एक एक पल्टाउँदै,
तिम्रै आँगनको डिलमा उभिएर
तिम्रो पसिनाका थोपाहरू लुकाइ बसेको त्यो कोठेबारीतिर तिम्रो अस्तित्व
र त्यो घरको अवशेष खोज्दैछु आमा । एउटा मृत्युसँग
कतिको भोक, तिर्खा,
आशा र भरोसा जोडिएको हुँदो रहेछ ? तिम्रो प्रेमले कतिलाई डढाउने रहेछ कतिलाई भिजाउने रहेछ ...
भन त आमा,
तिमी नहुनुको पीडा बोकेर
म कसरी लेख्न सक्छु तिम्रो कविता ?
म कसरी उतार्न सक्छु तिमीलाई शब्दमा ?? 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?