logo
२०८१ मंसिर ९ आईतवार



बलिउड तताउने बहस

शनिवार |


बलिउड तताउने बहस


सुकृत नेपाल

अमेरिकी लेखक टम क्लान्सी भन्नुहुन्छ, ‘मलाई विश्वास छ कि सेक्स संसारमा सबैभन्दा सुन्दर, प्राकृतिक र उत्तम आनन्द हो, जुन पैसाले किन्न सकिन्छ ।’ यसमा प्रचुर आम्दानी पनि गर्न सकिन्छ । टमले जुन सन्दर्भमा माथिको कुरा भने पनि आम्दानीको अवसर देखेर विश्वका थुप्रै निर्माता र निर्देशकहरू इरोटिक (कामोत्तेजक) र पोर्न (अश्लील) चलचित्रतर्फ आकर्षित भएका छन् । सन् ६० को दशकको उत्तराद्र्धदेखि सुरु भएको अश्लील चलचित्रको साम्राज्य विश्वका अधिकांश भागमा फैलिएको छ । बलिउडको रिपोर्ट हे¥यौँ भने पैसा तिरेर सेक्स कमेडी वा इरोटिक थ्रिलर हेर्ने भारतीय दर्शकको ठूलो समूह बनिसकेको प्रमाण भेटिन्छ । बलिउडमा यस्ता चलचित्र निर्माताहरू पनि छन्, जो इरोटिक चलचित्र निर्माणमा बडो रुचि राख्छन् । यसमा रङ्गिता नन्दीदेखि एकता कपुरसम्मका नाम छन्, जो इरोटिक चलचित्रहरू बनाउनका लागि बलिउडका महारानी नै कहलिएका छन् ।
एउटा समय त्यस्तो थियो, जुन समय भारतीय सेन्सर बोर्डले राज कपुरका चलचित्रमा भएका बोल्ड दृश्यलाई निसङ्कोच स्वीकार गरिदिन्थ्यो भने बी.आर. चोपडा जस्ता निर्देशकका चलचित्रहरूलाई प्रदर्शन हुनबाट रोकिदिन्थ्यो । जसले बलिउड तात्ने गथ्र्याे । यतिखेर भने बलिउड तताउने बिषय बनेको छ– निर्माता राज कुन्द्राको गिरफ्तारी । कुन्द्रालाई अश्लील चलचित्र बनाएको मुद्दामा हालसालै प्रहरीले पक्राउ गरेको छ । अर्बौं सम्पत्तिका मालिक कुन्द्राका वकिलहरू भने उहाँलाई बचाउने प्रयास गरिरहेका छन् । प्रहरीले कुन्द्रालाई अश्लील चलचित्र बनाएको आरोप लगाए पनि उहाँका वकिलहरू भने उहाँले इरोटिक चलचित्र बनाएको दाबी गरिरहेका छन् । यही दाबी सँगसँगै बलिउडमा अश्लील र इरोटिक चलचित्रबीचको भिन्नतामा बहस पनि चलेको छ । वकिलहरूको भनाइअनुसार इरोटिक चलचित्रमा पात्रहरूबीच यौनक्रीडा देखाइँदैन । अश्लील चलचित्र भने कथामा नभई यौनक्रीडामै केन्द्रित हुन्छ ।
सन् ८० को दशकमा बलिउडमा सी ग्रेडका चलचित्रहरूको बाढी नै आएको थियो । जसमा बोल्ड दृश्यहरू अत्यधिक हुन्थे । त्यस्ता चलचित्रहरूमध्ये केही विदेशी हुन्थे भने केही स्वदेशी । भारतीय सेन्सर बोर्डले त्यस्ता दृश्यहरू काटिदिए पनि त्यसलाई फेरि जोडेर हलवालाहरूले देखाउने गर्थे । त्यसबेला पाइरेसीको बिगबिगीमा यस्ता चलचित्रहरू भने दर्शकले हलमा नै टिकट काटेर हेर्ने गर्थे किनभने घरमै परिवारसँग बसेर यस्ता चलचित्र हेर्न सम्भव थिएन तर इन्टरनेट र स्मार्ट फोनको अहिलेको युगमा जो कोहीले पनि, जहाँ पनि अश्लील तथा इरोटिक चलचित्रहरू हेर्न सक्छन् । एप्समार्फत मोबाइलमै हेर्न सकिने भएकाले यस्ता चलचित्रहरूको व्यापार अर्बौंको हाराहारीमा पुगेको छ ।
अश्लील चलचित्रमा कथा हुँदैन । भइहालेको खण्डमा पनि त्यसमा कला हुँदैन । ती चलचित्रहरूमा यौनक्रीडा प्रदर्शन गर्ने उद्देश्य रहेको हुन्छ । अश्लील चलचित्रको उद्देश्य भनेको केवल सम्भोग प्रक्रियालाई देखाउनु हो । यस्ता चलचित्रहरूमा कलाकारलाई केवल यौनक्रीडाका लागि मात्र प्रयोग गरिन्छ । अश्लील चलचित्रहरूले यौन ज्ञान वा सम्बन्धित कुनै सन्देश दिँदैनन् । अश्लील चलचित्र बनाउनका लागि कुनै कलाको आवश्यकता पर्दैन । पुरुष र महिलाको शारीरिक सौन्दर्यभन्दा पनि यसको उद्देश्य भनेको कामोत्तेजना हो । यो मात्र एउटा कमाउने पेसा हो ।
कोरोनाका कारण सुरु भएको बन्दाबन्दीले अहिले भारतका इरोटिक चलचित्र निर्माताहरूलाई धेरै फाइदा भएको छ । इरोटिक चलचित्र र वेबसिरिजहरू एप्समार्फत सजिलै हेर्न सकिन्छ । इरोटिक चलचित्रहरू कथामा आधारित हुने हुनाले दर्शकले रुचिका साथ हेर्न सक्छन् । एक्सन, कमेडी र रोमान्टिक मसलाहरूको मिश्रण हुने हुनाले यो हेर्ने बानी कतिखेर अम्मल बनिसक्छ, दर्शकले चालै पाउँदैन ।
स्रोतका अनुसार बलिउड नगरीमा इरोटिक चलचित्रहरू धमाधम बनिरहेका छन् । केही कलात्मक बने पनि अधिकांशले अश्लीलजस्तै चलचित्रहरू बनाइरहेका छन् । महिला र पुरुषबीचको सम्बन्धलाई लिएर बनाइएका यस्ता चलचित्रहरूले कामवासना भड्काउने दृश्यहरू राखेका हुन्छन् । यौनक्रीडाबाहेक सबै कुरा यिनमा देखाइएको हुन्छ । धेरैजसो १५ वर्षदेखि २० वर्षका युवा लक्षित इरोटिक चलचित्रहरूले पनि किशोरकिशोरीहरूको सोचलाई दूषित बनाउनेबाहेक अर्को काम गर्दैनन् ।
राज कुन्द्राको गिरफ्तारीले अश्लील र इरोटिकबारे बहस भए पनि दुवै वर्गका चलचित्रहरू अश्लील या अश्लील चलचित्रजस्तै त्यसकै वरिपरि घुम्दछ भन्ने भनाइ पनि छ । भारतीय अदालतमा अश्लील र इरोटिकको तात्तातो बहसको नतिजा के निस्किन्छ भन्ने थाहा पाउन केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ । कुन्द्राले सफाइ पाउँछन् या सजाय भन्ने कुराभन्दा पनि संसारभरि अश्लील र इरोटिकको व्यापार फस्टाइरहेको छ र अझै फस्टाउने छ । यस्ता चलचित्रहरूले खर्बौंको व्यापार विश्वमा गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?