नेपाली समाजमा इज्जतको पहिरन हो– सारी । चौबन्दी चोलो र सारीलाई भद्र पोसाकका रूपमा लिने चलन छ । चाडपर्व, बिहे, पार्टी तथा जमघटमा सारी अनिवार्यजस्तै मानिन्छ । हिन्दु धर्मावलम्बी नारीहरू सारीलाई बढी महत्त्व दिएर पहिरिन्छन् । सारी नेपाली महिलाले मात्र होइन, दक्षिण एसियाकै महिलाको सदावहार पहिरन हो । चाडपर्वअनुसार थरीथरीका सारी पहिरिने चलन पनि छ । साउनमा हरियो, तीज र दशैँमा रातो सारी लगाइन्छ । पछिल्लो समय भने सारी लगाउने तरिका धेरै बदलिएको छ ।
बजारमा सारीको माग समयअनुसार बढ्छ । महिला पनि समयअनुसारकै सारी लगाउन रुचाउँछन् । कुर्ता–सुरुवाल तथा पाइन्टभन्दा सारी लगाउनु संस्कारी मानिन्छ । विशेषगरी चाडपर्वमा यसको माग बढ्छ ।
आधुनिकतासँगै सारीको लुक्स र स्टाइल परिवर्तन हुँदै गएको छ । पहिले–पहिले सारीलाई परम्परागत पहिरनका रूपमा हेरिन्थ्यो तर अचेल सारी पनि ग्ल्यामरस पहिरनका रूपमा परिचित हुँदै छ । बारुले कम्मरमा मुजा बनाएर लगाएको सारीमा पिठ्यूँ खुला भएको ब्लाउजले नारी सौन्दर्य बढाउने पारखीहरूको भनाइ छ । सारी लगाउँदा नाइटो र पिठ्यूँ नदेखिए ‘पुरानो पाराकी’ भन्ने पो हो कि भन्ने चिन्ता पनि पहिरिनेलाई हुन्छ ।
हुन त सारी र गरगहनालाई हिन्दु नारीहरूको सौन्दर्यको प्रतीक नै मानिन्छ । पछिल्लो समयमा युनिक र स्टाइलिस सारीले महिलाको सौन्दर्य थप बढाएको छ । सारीकी सौखिन अमेरिकामा रहेकी निता अधिकारी बजारमा नयाँ फेसनका रूपमा भित्रिएका सारी बर्सेनि किन्ने गर्नुहुन्छ । ‘नयाँ सारीमा सजिएर मन्दिर जाने मात्र नभई चाडबाडमा आफन्तकहाँ जान पनि सारी नभई हुँदैन,’ उहाँले भन्नुभयो । नेपालमा सारी फेसनले बृहत् रूप लिँदै गइरहेको निताको भनाइ छ । त्यसैले नयाँ डिजाइनमा सारी पहिरिने आफ्नो सौख भएको उहाँ सुनाउनुहुन्छ ।
त्यसो त असीको दशकमा बलिउडका नायिकाहरूले सारी लगाउने तरिका परिवर्तन गरेसँगै नेपाली गाउँ–सहरमा पनि यसको पहिरिने तरिका बदलियो । हुन पनि बलिउडका नायिकाहरू सारी पहिरनमा ‘ट्रेड मार्क’कै रूपमा रहेका छन् । बलिउडमा पचासको दशकदेखि सारीको रूपरङ र स्टाइल परिवर्तन हुँदै आएको पाइन्छ । आधुनिक तथा डिजिटल युगको सुरुवातसँगै सारीको पनि स्टाइल र लुक्स परिवर्तन भएको छ । बलिउड अभिनेत्रीहरूले चलचित्रमा पहिरिएको सारीको स्टाइल नेपाली महिलाले पनि पछ्याइरहेका हुन्छन् । तीजका भाकामा आधारित कतिपय म्युजिक भिडियोमा देखिएको सारीको स्टाइलले पनि यो कुरालाई पुष्टि गर्छ ।
थरीथरीका सारी
ब्ल्याक एन्ड ह्वाइटको जमानामा सारीको स्टाइल थाहा हुँदैनथ्यो । जब टेलिभिजन तथा सिनेमा हलहरू रङ्गीन भए तब सारीको फेसनले पनि बजार पिट्यो । हिजोआज परम्परागत सारीहरू पनि बिकिनी ब्लाउजमा लगाएपछि बोल्ड र ग्ल्यामरस बन्ने गर्छ । नेट जालीदार खालका हलुका सारीहरू तथा बनारसी सारी नेपाली महिलाका रोजाइमा पर्ने गरेका छन् । त्यसबाहेक सिल्क, सिफन, नेट, लेहेँगा, जर्जट सारी पनि नेपाली नारीका छनोटमा पर्छन् । प्रिन्टेड लेस, नेट बोर्डर, जर्जेट सिमर आदि फेब्रिकमा फिक्स सारी धेरैले रुचाउँछन् ।
न्युरोडका सारी व्यापारी दीपेश डङ्गोल भन्नुहुन्छ, ‘फिक्स सारी धेरैको रोजाइमा परेको छ किनकी यस्ता सारीमा मुजा पनि फिक्स नै हुन्छ । यो सारीमा लगाउने र सम्हात्ने झन्झट हुँदैन ।’ हिजोआज सारी लगाउने पुस्ता पनि एकदमै ‘चुजी’ छन् । रोजाइ फरक–फरक हुन्छन् । रातो, हरियो, सुनौलो, रानी, सुन्तला, प्याजी धेरैको रोजाइमा पर्छ । यस्ता सारीका साथमा ब्लाउज पनि थरीथरीका छन् । जसमध्ये क्रेप सिल्क, समर भेल्भेट, जर्जेट तथा फूलकारी धेरैले रुचाएका छन् ।
कहाँ जाँदा कस्तो सारी ?
सारी जहाँ मन लाग्यो, त्यहीँ पहिरिएर हिँड्ने पोसाक होइन् । डान्स पार्टी, डेटिङ जाँदा सारी लगाउने कुरै आउँदैन् । विवाह, भोज, व्रतबन्ध, भीआईपी कार्यक्रम तथा भेटघाट, चाडबाडलगायतमा सारीको रूपरङ, लगाउने तरिकाले व्यक्तित्व निर्धारण गर्छ । त्यसैले यसमा सजग रहन फेसन डिजाइनर तथा कोरियोग्राफरहरू सल्लाह दिन्छन् । रङ तथा डिजाइन कस्तो छनोट गर्ने भन्ने कुरा चाडपर्वले भर पर्छ । तीज तथा दशैँमा रातो लगाउने प्रचलन बिस्तारै कम हुँदै गएको छ । विभिन्न रङ मिश्रित सारी पहिरिने चलन बढ्दो छ । तीजमा व्रत बस्नुपर्ने भएकाले यसमा केही सजगता अपनाउनुपर्छ । दिनभरि भोकै बसेर घाम–पानी नभनी पूजापाठ एवं नाचगान गरिने भएकाले धेरै हेभी सारी पनि लगाउन हुँदैन ।
अहिले सारीमा हाफ इम्ब्रोइडरी गरी हाफ प्याचको चलन बढ्दो छ । महिलाको हाइट र रूपरङअनुसार प्याचको कलर एवं डिजाइन निर्धारण गर्नुपर्छ । रातो सारीमा सिल्भर भेल्भेट प्याच वर्क, रेडमा प्यारोट ग्रिनको कम्बिनेसन, अरेञ्जको कम्बिनेसन उपयुक्त मानिन्छ । विवाह तथा भेटघाटमा पनि सारी लगाउने कुरामा विशेष ध्यान दिनुपर्छ । लाइट पिङ्क, ग्रिनको एल्लो सेड, लेमन ग्रिन, पिच, डार्क पर्पल, रानी, रोयल ब्लु आदि कलरलाई रातोमा मिक्स गरेर चाडबाडमा लगाउन सकिन्छ । रातो सारीमा ब्लाउजलाई फरक कलरमा हेभी वर्क गर्न सकिन्छ । रातोमा हरियो, गोल्डेन, अरेञ्ज, एल्लो, पर्पल, ब्लु, ह्वाइट जुन कलर पनि त्यत्तिकै सुहाउने भएकाले रातो सारीमा आफूलाई मन परेको कलर एवं फेब्रिक प्रयोग गरी लुक्स दिन सकिन्छ । पार्टी तथा विशेष कार्यक्रममा निलो र कलेजी सारी प्रयोग गर्न सकिन्छ ।
बजारमा सारी
नेपालमा धेरैजसो सारी आउने भनेको भारतबाटै हो । जापान र बङ्गलादेशबाट पनि नेपालमा सारी आउँछन् तर यहाँ आइसकेपछि डिजाइन चेन्ज गरेर बिक्री गर्ने चलन छ । मोती, सितार, पोते, पत्थर भरेर नयाँ डिजाइन बनाइन्छ । यसअनुसार मूल्य फरक पर्छ । नेपालमा चाडबाडको समयमा पाँच हजारदेखि ५० हजार रुपियाँसम्मका सारीहरू धेरै बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् । बजारमा जर्जेट, नेट, भेल्भेट तथा फ्रेञ्च सिफनमा भरेका सारीको माग धेरै छ । हिन्दी टेलिशृङ्खलामा कलाकारहरूले पहिरिएका यस्ता सारीहरू धेरै नेपालीको रोजाइमा पर्छ । नेट सारी भने सिफनभन्दा दोब्बर महँगो पर्छ । नेट सारी छ हजारदेखि ५० हजार रुपियाँसम्म पर्छ । जर्जेटको मूल्य पनि सामान्यतया पाँच हजारदेखि ४५ हजार रुपियाँसम्म पर्छ । सारीमा मोती, सितारा र पत्थर जति धेरै जडित हुन्छ, त्यति तौल बढ्छ । यस्ता सारीको तौल सात किलोसम्म हुन्छ ।