logo
२०८१ मंसिर ९ आईतवार



समय

शनिवार |


समय


सुषमा आचार्य (अंशु)

आहा !!
कति प्रिय थिए ती दिनहरू
पखेटा फट्फटाएर
स्वतन्त्र उड्न पाइन्थ्यो
रहरहरूको उडान भरेर
निकै टाढा निर्बाध
बिना कुनै प्रतिबन्ध
मात्र भएर स्वतन्त्र,
खुसीको चरम अवस्थामा
डुबुल्की मार्न पाइन्थ्यो ।

आजकल ती पलहरूलाई
सम्झनाको अँगालोले च्यापेर
खालीपन र शून्यतामा
बित्दैछ दिनहरू
परिस्थितिले निम्त्याएको
अणुजीवको चक्रव्यूहमा परी
टाढा भएकाहरूको वियोगको
सन्तापमा तड्पिएर
कट्दैछ अनिँदो रातहरू,
बिहानीको पूजामा
अनुकूल परिस्थितिका लागि
प्रतीक्षाको फूलहरू चढाइ
साँझको प्रार्थनामा
कालो परिवेशलाई चिर्दै
उज्यालो समयका लागि
अपेक्षाको दीपक बाली
सुनौला समयको बाटो हेर्दै
जिन्दगीका प्रहरहरू
टक्क रोकिएको छ ।

सपनाहरूमा लागेको छ
निषेधाज्ञा
ऊर्जाहरू निष्क्रिय
परेका छन् ओछ्यान
रहरहरूमा लागेका छन्
पूर्णबिराम
एउटा सूक्ष्म विषाणुले
गुलामी बनाई समयलाई
संसारमाथि राज गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?