सिन्धिया श्रेष्ठ
मेरो चिठी पढेर तिमी भावुक हुन्छौ भने
भयो अब म कुनै चिठी लेख्दिनँ ।
मेरो सम्बोधनले तिम्रो मुटु छियाछिया हुन्छ भने
म हाम्रो सम्बन्धलाई गुमनाम नै राखिदिन्छु
मेरो मायाले तिमीलाई पोल्छ भने
मेरो सामप्यीताले तिमी अश्म बन्छौ भने
यो प्रेमको के अर्थ भयो र ?
ठिक छ, म आइन्दा तिम्रो छेउ पर्दिनँ
तिम्रो हाँसोमा म रमाउँदिनँ
तिम्रो आँसुमा म भेटिन्नँ
म तिमीलाई मेरो अस्तित्वको
कुनै आभाष हुन दिन्नँ
त्यसैले म अब कुनै पत्र लेख्दिनँ
मेरा प्रेमका तमसुकहरू
तिमीसँग छन् भने तिनीहरूलाई
डुङ्गा बनाई बगाइदेऊ, त्यो मेलम्चीको भेलसँगै
चङ्गा बनाई उडाइदेऊ, यो विशाल आकाशमा चराहरूसँगै
खरानी बनाई मिल्काइदेऊ, ती यादका अस्तुसँगै ।
अनि सम्झनेछु म आफूलाई
पृथ्वी जस्तै
सूर्य जस्तै
हावा जस्तै
पानी जस्तै
एक्लो एक्लो एक्लो ।