प्रज्वल अधिकारी
ओभानो बलेसीमा भिजेका पैताला राखेर
जब निस्कन्छ ऊ– उसँगै निस्कन्छ देश ।
घरको छानोबाट देखिएको आकाशभन्दा
आँगनबाट देखिएको आकाश सानो लाग्छ उसलाई
नानी घुमाएर एकैछिनमा हेरि भ्याउँछ – जम्मै आकाश ।
घामले सुकाए पनि सागर
सुकाउन सक्दोरहेनछ– आँखाको समुद्र
चिरिएका पैतालामा माटोको लेप लगाउन
जब निस्कन्छ ऊ
उसँगै निस्कन्छ– यो देशको परिचय ।
आँगन कटेर बाटोमा पुग्दा
जब देख्छ– पहिरिँदै गएका आमाका आँखा
एक चपरी माटो खन्छ र थुनिदिन्छ– अवैध भेलहरू
खेत पुगेर जब चढ्छ ऊ– खेतका आलीका काँध
ऊ खेत सोच्छ, ऊ धान सोच्छ
ऊ मौसम सोच्छ, ऊ हरियाली सोच्छ ।
उसले बिर्सिन्छ–
के भएथ्यो हिजो राति उसको झुपडीमा....!
माटोमा खसेको बीज टुसाएझैँ– टुसाउँछ ऊ
जब पर्छन् उसका गोडा माटोमा– ऊ हरियो हुन्छ
जब समाउँछ मुट्ठीभरि माटो– धड्किन्छ गहिरो गरी ऊ ।
भ्वाङ पर्नै दिँदैन– देशको छाती
बगर पल्टिनै पाउँदैन– देशको जीवन
खोतलिनै दिँदैन– देशको भविष्य
उसँग छ माटो हँसाउने कला
माटो भिजाउने पसिना
माटो सजाउने सीप ।
जब निस्कन्छ ऊ घरबाट
झङ्कृत हुन्छ आफ्नै हृदय सारङ्गीमा
मधुर धुन गुञ्जिरहन्छ यत्रतत्र ।
धर्तीको ओठमा मुस्कान सकिन नदिन
ऊ खेलिरहन्छ– धर्तीसँगै
कहिले मुसारिदिन्छ– कपाल
कहिले सुतिदिन्छ– निष्फिक्री
सुम्सुम्याउँदा उसको कोदालोले धर्ती– गर्भवती हुन्छ माटो ।
साँझ, जब बजाउँछ बाल्टी– पग्रिन्छे गाई
खरानीको घुम्टो उठाएर उज्यालिन्छ अँगेनोको मुढो ।
ऊ हो– यो देशको असली क्रान्तिकारी
जसले देशलाई चोरी औँला समाउन लगाएर
हिँड्न सिकाउँछ– अग्रगमनको बाटो.... ।