श्रीबाबु कार्की उदास
अनुहारको मध्यस्थानमा अवस्थित दुईपाखे छानो जस्तो करालो सानो अङ्गलाई हामी ‘नाक’ भन्छौँ ।
नाक मानिसको पहिचान जनाउने सम्मानित र आदरसूचक अङ्ग पनि हो । यो आकारमा सानो भए पनि यसको गरिमा र महŒव उच्चस्थ छ । विशिष्ट र अमूर्त छ । अपरिमेय र अप्राप्य छ । हेर्दा सानो सानो तर मान र अभिमानको सिँढीबाट हेर्दा यो निकै अग्लो भीर झैँ छ । पृथ्वीको अग्लो शिरझैं आभास हुन्छ । आकारमा जस्तोसुकै होस् तर नाकको भावनात्मक उचाइ हरेक मानिसबीच फरक–फरक देखिन्छ । प्रायः मानिसहरू आ–आफ्नो नाकको अमूर्त शैलीमा प्रशंसा गर्छन् । गुनगान, मानसम्मान र गौरव धुमधामसँग गाउँछन् । यसर्थ मानिस नाक जोगाउन पलपल अभ्यस्त रहन्छ ।
महाकवि तथा निबन्धकार लक्ष्मीप्रसाद देवकोटाले नेपालको भूगोललाई भावनात्मक रूपमा विशाल देखाउने एउटा निबन्ध लेखे– ‘के नेपाल सानो छ ?’ यसरी हेर्दा नेपाल साँच्चै विशाल लाग्छ भावनाको भूगोल अथाह लाग्छ । नेपाल संसारका जुनसुकै देशभन्दा कम छैन ।
नाक पनि आकारमा सानो भए पनि यो देवकोटीय शैलीमा भन्ने होे भने– “के फलानोको ‘नाक’ सानो छ ? अहँ, नाक कसैको सानो छैन, यो भावनाको आँखाबाट चिहाउने हो भने विशाल छ । हरेक मानिसको आफ्नैपन छ, आफ्नै शैली छ । आफ्नै उचाइ छ । आफ्नै सौन्दर्य छ, आफ्नै विशिष्टता छ । मानिस आफैँमा एब्स्ट्रयाक पेन्टिङ जस्तो लाग्छ । महान् कलाकारले बनाएको अमूर्त क्यानभास (पेन्टिङ) जस्तो पाब्लो पिकासोको अमूर्त पेन्टिङ जस्तो, साल्भाडोर डालीको पेन्टिङ जस्तो, दाभिन्चीको कलात्मक पेन्टिङ जस्तो वा कविहरूले क्लिष्ट कविता लेखे जस्तो मानिसभित्र अनेकौँ रूपहरू छन् । स्वरूपहरू छन् । हेर्दा–हेर्दै हराउने अनेकानेक इन्द्रेणी रङहरू छन् । मानिस इन्दे्रणीका रङहरू मुछेर बनाएको अमूर्त क्यानभास हो । अक्षरहरूको कलात्मक संयोजनबाट निर्माण भएको दार्शनिक कविता हो– मानिस । रङ्गमञ्चमा देखाइने कलात्मक नाटक हो– मानिस । मानिस केही हो, मानिस केही होइन ! मलाई त कहिले–कहिले लाग्छ मानिस एक योजनाबद्ध सृष्टिको कला हो । जसरी कलाकारले क्यानभासमा आफ्ना रङहरूलाई सुन्दर कलामा रूपान्तरण गर्छन् । त्यसरी नै मानिस पृथ्वीको सुन्दर कला हो । पृथ्वीका हरेक मानिस फरक–फरक क्यानभासका फरक–फरक सौन्दर्ययुक्त कला हुन् ।
मानव जीवन वर्तमानको जाज्वल्यमान सौन्दर्य हो । कला हो र विस्तृत एउटा अंश हो । इतिहास हो । जो पढेर कहिले पूर्ण नहोस् । लेखेर कहिल्यै नसिद्धियोस् । हेर्दा कला जस्तो होस् । सोच्दा दर्शन जस्तो होस् ।
त्यही अमूर्त कलाभित्रको एउटा सौन्दर्य हो ‘नाक’ । जो हामी सबैको गौरवबोध गर्ने अङ्ग हो ।
उहिले म सानो छँदा मेरी हजुरआमाले दशैँको टीका लगाउँदै दिएको आशीर्वाद स्मृतिमा ताजै छ –“बाबु तैँले हाम्रो कुल खान्दानको ‘नाक’ राख्ने काम गरेस् है !”
हैन, के रहेछ त्यस्तो– नाक ? मलाई त्यही बालवयमा चढेको हो नाक भूत । नाक राख्ने अमूर्त दर्शनले छोएको हो । जतिबेला मैले नाकलाई एक सामान्य रूपमा लिएको थिएँ तर नाक त्यस्तो सामान्य होइन रहेछ । हाम्रो शरीरमा कैयौँ प्रकारका अङ्गहरू छन् । खोइ त, ती अङ्गहरूको गरिमा र गौरव ? दिनरात नसुती ढुकढुक गर्ने मुटुको किन महŒव छैन ? सधैँ जीवनको खलाँती लगाई रहने छातीभित्रको फोक्सोको खै त महिमा ? त्यस्ता कैयाँै अङ्गहरू छन्, जो हाम्रो जीवन चलाउन प्रमुख भूमिका खेल्छन् । ती अङ्गहरू किन गुमनाम छन् ? र नाकको विशेष महŒव छ ?
बाल्यकालमा हजुरआमाले दिएको ‘नाक’ राख्ने आशीर्वाद आज पनि मैले निकै गौरवका साथ परिपालन गरिरहेछु । ‘नाक’ राख्न नसके पनि नाकको गरिमा जोगाउने ध्याउन्नमा हुन्छु । मलाई नाक जोगाउनु छ । मलाई नाक बचाउनु छ । म हजुरआमाको अमूर्त आशीर्वादको दर्शनबाट बाँधिएकै हुन्छु । सायदै हामी ‘नाक’ राख्ने अमूर्त दर्शनबाट को अछुतो होला र ? हरेक मानिस नाक जोगाउन उद्यत देख्छु ।
नाक मानिसको संस्कार, सभ्यता, संस्कृति र समाजसँग जोडिएको एक गहकिलो विम्ब हो । नाकसँग हाम्रो जीवनको धेरै कुरा जोडिएको पाउँछु । व्यक्तिको सौन्दर्य, परिवारको सौन्दर्य, समाजको सौन्दर्य, सिङ्गो देशको सौन्दर्यसँग हाम्रो नाक जोडिएको पाउँछु ।
दुई आँखाको मध्यभागबाट सुलुत्त झरेर मुखको केही माथिसम्म झरेर बसेको एक विम्ब हो नाक । खासमा भन्ने हो भने घ्राणशक्ति प्रदायक नाक, यति महŒव दिनुपर्ने अङ्ग थिएन । संसारका सबै जीवहरूको भन्दा मानिसको नाकको बनोट साँच्चै आकर्षक छ । कलात्मक र सौन्दर्यात्मक छ । सायद त्यसैले होला यो विशेष अङ्गको रूपमा प्रख्यात छ । हरेक कुरामा मानिसको नाक जोडिन आउँछ । नैतिकताले ओतप्रोत हुँदा किन नहोस् । नैतिकहीनतामा किन नहोस् । राजनीतिमा पनि बेला–बेला मानिसको नाकलाई राजनीतिकरण गरिन्छ । राजनीतिक विम्बमा नाकका धेरै प्रकार छन्– थेप्चो नाक, नेप्टो नाक, चुच्चो नाक, बुच्चो नाक, ... । मलाई नाकको राजनीति गर्नु छैन । नाकको डिजाइनर÷कालिगडी जो भए पनि नाक कलाका दृष्टिकोणले होस् या सौन्दर्यीकरणका हिसाबले उत्तम नै छ भन्ने ठान्छु ।
हाम्रो ओठमाथि चुच्चे र धारिलो तरवार झैं कक्रक्क बसेकै छ नाक । सानो तर विशाल आयाम बोकेको लोकप्रिय अङ्ग । नाकको स्वाभिमान भौतिक रूपमा जति नै सानो भए पनि भावनात्मक रूपमा उम्दा र विशाल छ । नाकले व्यक्तिको सफलताको आँकडा राख्छ । घटपन र बडप्पनको महिमा नाप्छ ।
संसारमा यस्ता कति कुरा छन्– तीनको सौन्दर्य वा भावनात्मक विषयबाट ती निकै चर्चित र लोकप्रिय छन् । पूर्वीय दर्शनले नाकको गौरव कसरी व्याख्या गरिएको छ थाहा छैन तर पूर्वीय समाजमा नाकको सामाजिक महŒव र मूल्य विशद छ । सौन्दर्य र शक्ति अपार छ । गौरव र गरिमा अगणित छ । सम्मान र सत्कार अद्वितीय छ ।
नाक अग्लिनुमा जति गौरव हुन्छ, होचिनुमा नाकको गौरव छैन । बरु होचिँदा ‘नाक’को कुनै सौन्दर्य रहन्न तसर्थ हामीले ‘नाक’ जोगाउनुपर्दछ । नाक बचाउनुपर्छ । नाकको इमानमा ठेस पुग्यो भने हामीले सामाजिक उचाइ कायम गर्न सक्दैनौँ । जीवन फराकिलो र फाँटिलो बनाउन सक्दैनौँ । जीवनको शिष्टता र सभ्यता जोगाउन सक्दैनौँ । मानिसले नाक राख्न सकेन भने उसको मूल्य मान्यता मरिच झैँ चाउरिँदै जानेछ । बाँच्नुको अर्थ क्रमशः क्षय हुँदै–हुँदै जानेछ । हीनताबोधले कक्रक्क पार्दै लग्नेछ । आफैँले आफैँलाई पत्याउन छोड्नेछ । नाक एउटा विम्ब हो । नाक एक अमूर्त कविता हो ।
मानव जीवनको एक अमूर्त दर्शन हो– नाक । जो कतिखेर उचाइ लिन्छ र कतिखेर ओराली झर्छ थाहै हुन्न । मैले नाकका बारेमा धेरै भावनात्मक कुरा गरेँ । तपाईंहरू भन्नुहोला– यो फुच्चे नाकलाई लेखकले निकै भाउ दियो । शब्दको अनावश्यक उकेरा लगायो । खै ? म स्वयं घनचक्करमा छु– यो नाकको निबन्धकारिताले आफ्नै नाक रहला/नरहला ?
नाकको रहस्य प्रसिद्ध चित्रकार लियो नार्दो दाभिन्चीको विश्वप्रसिद्ध चिज मोनालिसाको रहस्यमयी मुस्कान जस्तै पो लाग्छ । नाक रहस्यमयी छ । नाक जादुमयी छ । नाक आदर्शमयी छ । नाक जो छ । विद्यालयमा पढ्दा शिक्षक शिक्षिका भन्नुहुन्थ्यो– “फलानो विद्यार्थीले विद्यालयको नाक राख्छ । तिलानोले विद्यालयको नाक काट्ने भो ।” नाक राख्ने र काट्ने पनि हामी नै हौँ ।
नाकका विम्ब पनि कति हुन् कति ! भनिसाध्ये छैन । सुनिसाध्ये छैन । मानिसको नाक राख्नु पर्ने । टोलको नाक राख्नुपर्ने । स्कुलको नाक राख्नुपर्ने । पत्रिकाको नाक राख्नुपर्ने । देशको नाक राख्नुपर्ने । समाजको नाक राख्नुपर्ने । कुलको, वंशको, गाउँको, घरको, जिल्लाको, वारिको, पारिको, कलाको, लेखकको, निबन्धको, नामको, कामको, ! केके हो के के ? सबैको नाक राख्नुपर्ने । जाबो कुर्कुरे हड्डीले बनेको नाकको कत्रो अर्थ छ । कत्रो आदर छ । कत्रो शान छ । कत्रो मान छ ।
कविहरू आँखाको कविता लेख्छन् । ओठको मुस्कान टिपेर कविता लेख्छन् । मुटुको हरेक धड्कनको कविता लेख्छन् तर नाकको कविता आजसम्म पढेको छैन । किन नाक कविहरूको सिर्जनामा अटाउन सकेन ? मलाई कविहरूसँग घनघोर क्षोभ छ । किन रचिएन नाकको कविता ? किन गाइएन नाकको गौरवगान ? के भन्दा के कम छ हाम्रो नाक ? के कविहरूको नाक हुन्न र ? मलाई कविहरूले नाकको महिमागान नलेखेकोमा दुःख छ । घ्राणशक्तिले युक्त, यो अङ्ग कुन अङ्गभन्दा कम छ ? मानिसको साख जोगाउन नाक जतिको कुन अङ्ग होला हाम्रो शरीरमा ! मलाई त कविहरूले नाकको कविता नलेखेरै नेपाली साहित्यको नाक राख्न सकेनन् भन्ने लाग्छ । के थाहा नाकको बारेमा लेखिएको कृतिले विश्वकै चर्चित नोबेल पुरस्कार पाउने थियो कि ! त्यो महŒवपूर्ण विषयमा हामी किन चुक्ने ? सम्पूर्ण प्राणी जगत्मा गन्ध र सुगन्ध छुट्याउने यो नाकलाई हामीले कतै सानो त ठानेका छैनौँ ? जसले नाकको मान राख्न सक्दैन, उसले आफ्नो मान र नाम पनि राख्न सक्दैन ।
नाकै रहेन भने कसरी रहला हाम्रो मान र इमान ! म त्यो त कल्पना पनि गर्न सक्दिनँ । नाक जोगिए मात्रै हो हाम्रो स्वभिमान जोगिने । नाकलाई हाम्रो समाजमा घ्राणशक्ति भएको अङ्ग मात्रै हो भन्ने बुझ्नुहुन्न । यो त मान सम्मान र पहिचान बनाउने अङ्ग पनि हो ।
मेरा एकजना बुढा हजुरबा अझै भन्नुहुन्छ– हामीले स्वाभिमानी नेपाली भएर विश्वमा देशको नाम राख्यौँ । साँच्चै हो पनि । हाम्रो देशको पनि नाक विश्वमै उच्च छ । हामी नेपालीले देशको नाक काट्न दिएनौँ । हामी त देशको पनि नाक जोगाउने नागरिक हौँ । देशको नाक जोगाउनेले आफ्नो नाक त जोगाउनैप¥यो नि, होइन त ?