सुकृत नेपाल
ताप्लेजुङका भरतमणि पौडेल यतिबेला हास्यव्यङ्ग्यका मणि भएर उदाउनुभएको छ । उहाँले हालै सम्पन्न ‘कमेडी च्याम्पियन सिजन–२’को उपाधि पनि जित्नुभयो । घरबेटी र डेरावालबीचको प्रहसनदेखि नेताहरू गोकुल बाँस्कोटा, महन्त ठाकुर, रामनारायण बिडारीसम्मका क्यारिकेचरले उहाँको चर्चा सुरु भएको थियो । सबैभन्दा चर्चित प्रस्तुति त पूर्वयुवराज पारसको क्यारिकेचर थियो ।
भरतमणि आफू स्ट्यान्ड अप कमेडीमा केन्द्रित रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै कुरा क्यारिकेचरको मात्र होइन । मेरा प्रस्तुतिलाई दर्शकले मन पराइदिनुभयो र म विजेता भएँ । देश तथा विदेशबाट भोट दिनुभयो । मैले उत्कृष्ट २४ मा पुगेपछि हरेक साता राम्रो गर्ने कोसिस गरँे । कुनै साता मेरो प्रस्तुति तल त कुनै बेला माथि भयो होला तर मैले एकनासले सबै कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने कोसिस गरेँ ।”
क्यारिकेचर भनेपछि हुरुक्कै
सानै उमेरदेखि नै गाउँघरमा भेटेका मान्छेको क्यारिकेचर गर्न खुब रमाइलो लाग्थ्यो भरतमणिलाई । २०६७ सालमा एसएलसी दिएपछि उहाँको त्यो रहर अझै झाङ्गिँदै गयो । पछिल्ला दस वर्ष यसैमा बिताइरहनुभएको छ उहाँ । २०५२ सालमा ताप्लेजुङमा जन्मनुभएका भरतमणिको बाल्यकाल गाउँमै बित्यो । दुःख थियो तर त्यो दु.खलाई उहाँले आफ्नै ढङ्गले बिताउनुभयो । त्यही दुःख, अभाव र गाउँले परिवेशले हास्यव्यङ्ग्यका लागि उहाँलाई धेरै विषय पनि दियो र जीवनबारे उहाँको बुझाइ फराकिलो बन्यो ।
उहाँ भन्नुहुन्छ, “गाउँमा मेरो दिनचर्या पनि अरूको जस्तै गरी बितेको हो । सामान्य परिवारमा जन्मिएर हुर्केको हुँ । ७ कक्षासम्म श्री युवा वर्ष निम्नमाध्यमिक विद्यालयमा र ८ कक्षादेखि श्री कञ्चन एकेडेमी विद्यालयमा पढेँ । एसएलसी दिँदा अङ्ग्रेजीमा फेल भएँ । अहिले पनि म अङ्ग्रेजीमा कमजोर नै छु । स्कुल पढ्दादेखि नै स्टेजप्रतिको मोह बढ्दै गयो । स्कुलमा आयोजना हुने अतिरिक्त क्रियाकलापमा पनि सरिक हुन थालेँ । शिक्षकले त्यो बेला दिनुभएकोे हौसलाले आज पनि प्रेरणा मिलेको छ । उहाँहरूले मलाई स्टेजमा लगेर क्यारिकेचर गर्न लगाउनुहुन्थ्यो । यसरी नै यो क्षेत्रमा मेरो यात्रा सुरु भएको हो ।”
ताप्लेजुङकै भानु जन उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दा नै उहाँले एफएममा हास्यव्यङ्ग्य कार्यक्रम चलाउन थाल्नुभयो । पढाइभन्दा हास्यव्यङ्ग्यमै रमाउन थालेपछि कक्षा ११ मा चारवटा विषयमा गोल खानुभयो । यही गोलले उहाँमा पढाइप्रति वितृष्णा जाग्यो । एक वर्ष त पढाइ नै छोड्नुभयो ।
जिन्दगीमा अब पढ्न सक्दिनँ भन्ने उहाँलाई लागिसकेको थियो तर काठमाडौँ आएपछि पढ्नुपर्छ भन्ने पनि महसुस भयो र पुनः पढाइलाई उहाँले निरन्तरता दिनुभयो । ११ र १२ कक्षा ब्रिलिएन्ट बहुमुखी क्याम्पसमा पढेर लगातार पास गर्नुभयो र स्नातक तह जीपी मेमोरियल कलेजमा पढ्नुभयो ।
एफएममा काम
उहाँको हास्यव्यङ्ग्य विद्यालय र सार्वजनिक कार्यक्रममा मात्र होइन, ताप्लेजुङको एफएमबाट पनि प्रसारण हुन थाल्यो । एफएमले दिएको त्यो अवसर भरतमणिका लागि प्रगतिको खुड्किलो बन्न पुग्यो । तमोर एफएममा २०६७ सालदेखि उहाँ आबद्ध हुनुभयो । गाउँघरमा भर्खरभर्खर एफएम खुल्दै थिए । आममानिस टेलिभिजनको तुलनामा एफएमसँगै अभ्यस्त थिए । अहिले टेलिभिजन, पत्रपत्रिकाको जति क्रेज छ, त्यतिबेला गाउँमा एफएमको पनि त्यस्तै क्रेज थियो । एफएमसँगको सम्झना उहाँ यसरी पोख्नुहुन्छ, “त्यतिबेला एफएमको कार्यक्रमले पूर्वीभेगमा मलाई राम्रसँग चिनायो । यही कारण म स्टेजमा पनि जान पाउँथेँ । मैले ‘टेन्सन फ्री’ भन्ने कार्यक्रम त्यो बेला एफएममा चलाउँथे । यही व्यस्तताले पढाइतिर ध्यान पुग्न सकेन ।”
काठमाडौँ प्रवेश
एफएममा काम गर्दागर्दै भरतमणिका सम्बन्ध फराकिला बन्दै गए । काठमाडौँ आउने अवसर मिल्यो । तमोर एफएमका अध्यक्ष रमेश बराल र उपाध्यक्ष पासाङ शेर्पा लगायतले उहाँलाई काठमाडौँबाट प्रसारण हुने तमोर एफएममा काम गर्ने वातावरण मिलाइदिनुभयो । स्टुडियो मित्रपार्क चावहिलमा थियो (अहिले छैन) । त्यहाँ लामो समय उहाँले काम गर्नुभयो र त्यहाँ काम गर्दागर्दै मनोज गजुरेलसँग रेडियो नेपालमा ‘धर्ती आकाश’ भन्ने कार्यक्रममा अवसर जु¥यो । त्यसपछि मनोज गजुरेलसँगै गाईजात्राको पनि एक÷दुई भागमा उहाँले आफ्नो हास्यव्यङ्ग्य प्रस्तुति दिनुभयो । सङ्घर्षको बेला काम सानो–ठूलो भन्ने नै नहुने उहाँको अनुभव छ, “म सङ्घर्ष गरेर नै यो क्षेत्रमा आएको हुँ । सङ्घर्षको बेला कसले राम्रो रोल दिन्छ भनेर हिँड्ने होइन । भद्रगोल भन्ने सिरियलमा पनि अभिनय गरेँ । भद्रगोलमा अभिनय गर्ने अवसर मलाई हरिश निरौला (ककरोच)ले जुराइदिनुभएको थियो । त्यहाँ पनि मैले सानो सानो भूमिकामै भए पनि दुई वर्षजति काम गरेँ । सुरुमा काठमाडौँ बस्दा मेरो आफ्नो कोठा पनि थिएन । म तमोर एफएमकै अफिसमा बस्थँे ।”
कमेडी च्याम्पियनको यात्रा
कमेडी च्याम्पियन पहिलो सिजनमा नै भरतमणिलाई सहभागी हुन मन थियो तर विविध कारणले गर्दा उहाँले निर्णय लिन सक्नुभएन । सिरियलमा काम थियो, पैसा थिएन । नाम भए पनि हुन्छ भनेर उहाँ त्यतैतिर दौडिनु भयो । सिरियलमा काम गर्दाखेरिका कतिपय सुखदुःखका अनुभव त कमेडी च्याम्पियन सिजन–२ कै लागि पनि विषय बन्न पुगे ।
आफ्नो यो यात्रा सम्झँदै उहाँ भन्नुहुन्छ, “अब मैले गर्न खोजेको चिज कहाँ देखाउने त ? अर्काले दिएको काम त आपूmले भनेअनुसार हुँदैन । एक मन त अभिनय सिकेर सिरियलतिर जाउँ कि भन्ने पनि लाग्यो । फेरि ‘स्ट्यान्ड अप कमेडी’ पनि गरिरहेको थिएँ । कहाँ छ त मञ्च भन्ने पनि भयो । त्यतिबेलै कमेडी च्याम्पियन सिजन–१ आयो । सिजन–१ मा जान खोजेको थिएँ तर त्यतिबेला आफ्नै युट्युब चलाइरहेको थिएँ । सिजन–१ का साथीहरू सुमन कोइराला (दले दाइ), सुमन कार्कीसँग सल्लाह पनि गर्थें ।” सिजन–१ मा सहभागी भएका साथीहरूको अनुभवले पनि भरतमणिलाई सिजन–२ मा केही सजिलो पनि भयो । हप्तैपिच्छे कन्टेट लेख्नुपर्छ, प्रेसर फिल हुन्छ, कार्यक्रम बीचमा नै छाडेर हिँडौँ हिँडौँ पनि हुन्छ । त्यतिबेला आफू संयमित भएर बस्नुपर्छ भनेर सिजन–१ का साथीहरूले उहाँलाई सुझाव दिनुभयो । त्यसपछि यो क्षेत्रमा केही गरेर देखाउनुपर्छ भन्न उहाँलाई लाग्न थाल्यो ।
कार्यक्रमको प्रस्तुतिका क्रममा भएको डर उहाँ अहिले पनि सम्झनुहुन्छ । “सुरुसुरुका दिन त रातोपिरो भएर जजका अगाडि बोल्न पनि मलाई गाह्रो हुन्थ्यो । फेरि छनोट भइन भनेँ के गर्ने होला भन्ने पनि लाग्थ्यो । बल्लबल्ल छनोट भइयो तर दुई÷चार जनाको अगाडि हँसाउन मलाई गाह्रो हुने । धेरै जना भयो भने मात्र हँसाउन सजिलो लाग्ने मलाई । २४ जनाको छनोटबाट नै सबैले ‘नोटिस’ गर्न थाल्नुभयो । २४ जनामध्ये ‘पर्फमर अफ राउन्ड’ पनि पाएँ । यसले फेरि केही त गर्नुपर्छ भन्ने दबाब बढायो ।” भरतमणिले दिनुभएको दर्जनौँ प्रस्तुति उत्तिकै राम्रा थिए तर धेरैले घरबेटी र भाडामा बस्नेको समस्याबारे बनाइएको कन्टेन्ट मन पराइदिनु भयो । घरबेटीले भाडामा बस्नेलाई कस्तो व्यवहार गर्छन् भन्ने कुरा यसमा देखाइएको छ । यस्तै भरतमणि पत्रकारको समस्याबारे जानकार नै हुनुहुन्थ्यो । पत्रकारका विषयमा व्यङ्ग्य गर्नेभन्दा पनि आफैँ नै पत्रकार भएर प्रस्तुति दिनुभयो । दर्शकले यसलाई पनि एकदमै रुचाउनुभयो । यसपछि उहाँले एलियनको प्रस्तुति दिनुभयो तर यो प्रस्तुति अलि खस्कियो ।
पारस शाह बन्नका लागि भने भरतमणिले डेढ वर्षअघि नै सोच बनाउनुभएको थियो । उहाँले पारसको हाउभाउ र बोली दुरुस्तै उतार्नका लागि सुरुमा उहाँका अन्तर्वार्ताहरू खोजीखोजी हेर्ने थाल्नुभयो । तयारीबारे उहाँले भन्नुभयो, “यो प्रस्तुतिका लागि मैले उहाँको बोल्ने, हिँड्ने, नाच्ने सबै शैलीलाई सूक्ष्म रूपमा अध्ययन गरेको थिएँ ।”