दिनेश अधिकारी
जिन्दगी भारी हुन्छझैँ लाग्यो
त्यसैले सपना देख्न छोडेँ
जिन्दगी पारी हुन्छझैँ लाग्यो
त्यसैले क्षितिज हेर्न छोडेँ
बाँच्ने उमेर यो कतै फुत्की नजाओस्
त्यसैले उचाइ नियाल्न छोडेँ ।
जे छ सबै आँखा अगाडि छ
यतै रात छ, यतै बिहान छ
अँजुलीको पानी प्युन छोडेर
किन सागर उबाउन जानु छ ?
जिन्दगी तिर्खा हुन्छझैँ लाग्यो
त्यसैले विधाता भाक्न छोडेँ !
धुलै भए नि जमिन त छ
टेक्ने ठाउँ छ, बस्ने आँगन छ
मुठ्ठीको जीवन भोग्न छोडेर
किन बादल समाउन जानु छ ?
जिन्दगी सुर्ता हुन्छझैँ लाग्यो
त्यसैले दोबाटो नाप्न छोडेँ !