विजयरत्न तुलाधर
जनै पूर्णिमाको दिन गोसाइँकुण्डमा ठूलो मेला लाग्छ । यही मेलाको कथामा आधारित भएर नेपालभाषाको पहिलो चलचित्र ‘सिलु’ २०४४ सालमा बन्यो । नेपाली भाषापछि नेपालमा बोलिने भाषाहरूका पहिलो चलचित्रका रूपमा पनि ‘सिलु’लाई लिइन्छ । यस चलचित्रमा नायकका रूपमा जय श्रेष्ठ र नायिकाका रूपमा नवीना श्रेष्ठले अभिनय गर्नुभएको छ ।
‘सिलु’ प्रदर्शित हुँदासम्म २००८ सालमा प्रदर्शित ‘सत्य हरिश्चन्द्र’, २०२२ सालमा प्रदर्शित ‘आमा’लगायत ‘माइतीघर’, ‘परिवर्तन’, ‘हिजो आज भोलि’, ‘मनको बाँध’, ‘कुमारी’, ‘सिन्दुर’, ‘जीवन रेखा’, ‘बदलिँदो आकाश’, ‘जुनी’, ‘आदर्श नारी’, ‘कान्छी’, ‘वासुदेव’, ‘के घर के डेरा’, ‘कुुसुमे रुमाल’ र ‘विश्वास’ गरी जम्मा १७ वटा मात्र नेपाली भाषाका चलचित्र प्रदर्शित भएका थिए । नेपालभाषाको दोस्रो चलचित्रको रूपमा ‘राजमती’ बन्यो । यो चलचित्र २०५२ साल फागुनमा प्रदर्शित भयो । यस चलचित्रका निर्देशक नीर शाह हुनुहुन्छ । यसमा हिसिला महर्जनले राजमतीको शीर्ष भूमिकामा अभिनय गर्नुभएको छ । साथमा श्रीकृष्ण श्रेष्ठ र मणिराज लवटले नायकका भूमिकामा अभिनय गर्नुभएको छ । कलात्मक मूल्य र मान्यतामा उत्कृष्ट ठहरिएको ‘राजमती’ चलचित्रलाई अहिलेसम्म पनि नेपालकै एक उत्कृष्ट चलचित्रमध्ये एक मानिँदै आएको छ ।
‘सिलु’ र ‘राजमती’ दुवै चलचित्र सेलुलोयड प्रविधिमा बनेका चलचित्र हुन् । यी दुई चलचित्र बनेको आठ वर्षको अवधिमा नेपालभाषाका अरू पनि चलचित्र बने । ती चलचित्र ‘चरित्र’, ‘चिपःनिपः’, ‘न्हिला न्हिला हुँ’ र ‘निपाः ख्वाःपाः’ हुन् । यी चारवटै चलचित्र भिडियो प्रविधिमा बनेका थिए । जुन प्रविधिलाई चलचित्र निर्माणको सर्वमान्य प्रविधि मानिँदैनथ्यो । भिडियो प्रविधिमा बने पनि नेपालभाषाको चलचित्र इतिहासमा यी चार चलचित्रको स्थान पनि महìवपूर्ण नै छ । प्रविधिको विकास सँगसँगै अहिले भिडियो प्रविधिको विकास पनि उच्चस्तरीय डिजिटल प्रविधिमा पुगेको छ । यस प्रविधिलाई ‘एचडी’ अर्थात् ‘हाई डिफनिसन’ भनिन्छ । हाई डिफनिसन डिजिटल प्रविधिमा पनि अत्याधुनिक क्यामेराहरू भित्रिसकेका छन् । भिडियो प्रविधिमा उच्चस्तरीय क्यामेरा प्रयोग गरिने भए पनि नेपालभाषाका चलचित्रमा यो प्रविधि प्रयोग गरेर चलचित्र निर्माण हुन सकेको छैन ।
नेपालभाषामा वर्षको करिब एक दर्जन चलचित्र बन्ने गरेको पाइन्छ तर कोरोनाको त्रास तथा बन्दाबन्दी र निषेधाज्ञाले संसारभरिका चलचित्रजस्तै नेपालभाषाको चलचित्र पनि समस्यामा परेको छ । यो परिस्थिति आउनुभन्दा अघिको अवस्थामा पनि सार्वजनिक हुने नेपालभाषाका चलचित्रहरू ‘च्यारिटी सो’ र भीसीडी, डीभीडीमार्फत दर्शकले हेर्ने गरेका थिए तर भीसीडी र डीभीडीको युग पनि समाप्त भइसकेको छ । यीबाहेक अर्को बजार खोज्न सकिएको छैन । अमेरिका, बेलायत, जापानलगायत विभिन्न देशमा बस्दै आएका नेवार दर्शकबीच पु¥याउन पहल हुन सकेको छैन ।
निर्देशक सुरेन्द्र तुलाधरले आफ्नै पहलमा ‘पानबती’को अस्ट्रेलियामा प्रदर्शन गर्नुभयो । निर्देशक रत्नकाजी लुनिभाको निर्देशनमा बनेको लघु चलचित्र ‘मुद्दा’ पनि अस्ट्रेलियामा प्रदर्शन भयो । यस्तैगरी गङ्गाबहादुर नेमकुलको प्रयासमा निर्मित ‘म्हसीका’ पनि अस्ट्रेलियामा प्रदर्शन भयो । त्यहीँ नै निर्माण भएको चलचित्र हो यो । नेपालबाहिर बनेको नेपालभाषाको पहिलो चलचित्रका रूपमा पनि यसलाई लिइन्छ ।
यी चलचित्रबाहेक बेलायतमा बस्दै आएका अभिनेता एवं निर्माता मनीषकुमार श्रेष्ठले ‘तुयुमति’ निर्माण गर्नुभयो र त्यहीँ प्रदर्शन गर्नुभयो । यो चलचित्र हङकङमा पनि प्रदर्शन भइसकेको छ । यसक्रममा क्यानाडाको टोरन्टोमा बर्सेनि आयोजना हुँदै आएको नेपाली चलचित्र फेस्टिभल र अमेरिकामा सम्पन्न आदिवासी फिल्म फेस्टिभलमा ‘कल्ली’ प्रदर्शन भयो । अमेरिकामा सम्पन्न आदिवासी फिल्म फेस्टिभलमा ‘कृषा गौतमी’ पनि प्रदर्शन भएको थियो । ‘भिन्तुना’, ‘मनू म्हसीकी’ अमेरिकालगायत देशमा प्रदर्शन भए ।
आदिवासी नेपालीको संस्था आदिवासी जनजाति सङ्घ अमेरिकाको प्रयासमा प्रत्येक वर्ष प्रतिस्पर्धात्मक आदिवासी नेपाली चलचित्र महोत्सव आयोजना हुँदै आएको छ । यस महोत्सवमा यो वर्ष ऐतिहासिक पृष्ठभूमिमा बनेको नेपालभाषाको चलचित्र ‘जामन गुभाजु’ प्रदर्शन भयो । ‘जामन गुभाजु’ले यो प्रतिस्पर्धामा सर्वोत्कृष्ट चलचित्रसहित अन्य दुईवटा पुरस्कार जित्यो । यसरी हेर्दा विदेश पनि नेपालभाषाका चलचित्रका लागि राम्रो बजार हुन सक्ने देखिन्छ तर यसतर्फ व्यवस्थित पाइला भने बढाउन पहल हुन सकेको छैन । यसमा सरकारी सञ्चार नीति पनि बाधक बनिरहेको छ । सेन्सर शुल्कमा राहत दिनुपर्ने माग उठाउँदै आए पनि त्यसमा कुनै सम्बोधन हुन सकेको छैन ।
अहिलेसम्मको तथ्याङ्क हेर्दा करिब एक सय पच्चीस वटाभन्दा बढी नेपालभाषाका चलचित्र सार्वजनिक भइसकेका छन् । यसरी बनेका चलचित्रमध्ये केही चलचित्र ‘च्यारिटी सो’ वा विशेष ‘सो’को माध्यमबाट दर्शकसम्म पुग्छन् भने बाँकी चलचित्र नेपाल संवत्को न्हूँदँको अवसरमा भीसीडी र डीभीडीमा बिक्री वितरण हुने गरेका छन् ।
नेपालभाषाका चलचित्रहरूमा ‘सिलु’ र ‘राजमती’पछि सबैभन्दा प्रशंसित चलचित्र ‘भिन्तुना’ हो । यो चलचित्रले नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा क्रिटिक्स अवार्ड पनि हासिल गर्न सफल भयो । यस चलचित्रका निर्देशक आर्यम नकःमि हुनुहुन्छ । नेपालभाषाको चलचित्रलाई पुनःजागरण गराउने अभियन्ताका रूपमा पनि निर्देशक नकःमिलाई लिइन्छ । ‘पानवती’ भने सबैभन्दा बढी ‘च्यारिटी सो’ गर्ने अवसर पाएको चलचित्र हो । सामाजिक विषयवस्तुमा बनाइएको यस चलचित्रका निर्देशक सुरेन्द्र तुलाधर हुनुहुन्छ । ‘तुयुमती’ र ‘तिनतिकः महाविकः’ पनि चर्चा कमाएका चलचित्र हुन् । ‘अंश’, ‘जिपिं बदमास मखु’, ‘जिगु मिखाया न्ह्योने’, ‘मू मदुगु जिन्दगी’लगायत चलचित्रका निर्देशक तुलाधर एक लेखक तथा अभिनेता पनि हुनुहुन्छ । चर्चित चलचित्र ‘याकः म्ह्याय्’ उहाँले नै लेख्नुभएको हो । निर्देशक भोगेन्द्र मानन्धरको ‘थ्वला ग्यानापु स्टायल’का लेखक पनि उहाँ नै हुनुहुन्छ ।
‘गुरुमापा’ दुई दशकअघि बनेको चलचित्र हो । यो चलचित्र किंवदन्तीमा आधारित छ । यसले पनि धेरै ‘च्यारिटी सो’ गर्नै मौका पायो । किंवदन्तीका लागि नेवार समुदाय धनी छ । अहिले फेरि किंवदन्तीमा आधारित चलचित्र ‘लाखे भाजुु’ प्रदर्शनका लागि तयार हुँदै छ । नेपालमण्डललाई ऋण मुक्त गराउने व्यापारी शङ्खधर साख्वाले कसरी नेपालमण्डललाई ऋणबाट मुक्त गराएर देशको नाममा नेपाल संवत् चलाए भन्ने कथामा आधारित ‘लिजेन्ड अफ शङ्खधर’ चलचित्र पनि बनेको छ । यसलाई नेपालकै पहिलो एनिमेसन चलचित्रका रूपमा लिइन्छ । संयुक्त श्रेष्ठले यो चलचित्रको निर्देशन गर्नुभएको हो । श्रेष्ठ लन्डनमा बसेर ग्राफिक्स एनिमेसनमा आफ्नो कौशल देखाइरहनुभएको छ । उहाँ लाखेकै किंवदन्तीमा आधारित कथा ‘मजिपा लाखे’ अर्को एनिमेसन चलचित्र बनाउँदै हुनुहुन्छ । यसरी विविध कथामा नेपालभाषाका चलचित्र बनिरहेका छन् ।
नेपालभाषाका चलचित्रमा ऐतिहासिक पृष्ठभूमि र किंवदन्तीलाई समेट्ने चलन बढ्दो छ । पछिल्लोपटक ‘भिन्तुना’ र ‘माया’मा यो विषय पाउन सकिन्छ । ‘पःखाः’ पनि यसको उदाहरण हो । अन्य चलचित्रहरूमा ‘तापालय्’ र ‘स्वयनगु’ हुन् । ‘च्वापुफय्’ नामक चलाचित्र बन्दै छ ।
नेपालभाषाका चलचित्रहरू पाँच लाखदेखि बीस लाख रुपियाँसम्मको लागतमा बन्ने गरेका छन् । ‘च्वापुफय्’ करिब तीन करोड रुपियाँको लागतमा निर्माण भइरहेको एक ‘बिग’ बजेटको चलचित्र हो । नेपालभाषा, नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा यो चलचित्र बन्दैछ । नेपालमण्डलबाट वैदेशिक रोजगार तथा व्यापारका क्रममा ल्हासा गएका नेवारहरूका कथा यो चलाचित्रले समेटेको छ ।