logo
२०८१ मंसिर ८ शनिवार



चराहरूको मिटिङ (कविता)

शनिवार |


चराहरूको मिटिङ (कविता)


महेश रेग्मी

मान्छेहरूको छेउ लागेर उडिरहेका छन् – चराहरू
प्रकृतिको मिटिङमा छन् – चराहरू
चराहरूमा मान्छेहरूको जस्तै तन्त्र छ – चरातन्त्र
आकाशमा, गुँडमा, झाडीमा, नदी किनारमा
घरको छतमा भेला भएका वैज्ञानिक चराहरू
म चराहरूको स्वर सुन्छु
मलाई कौतूहल लाग्छ ।

के–के कुरा गरिरहेका होलान् ?
शायद हुनसक्छ – ग्लोबल वार्मिङका बारेमा
सायद हुनसक्छ – शत्रुजीवका बारेमा
जे पनि हुनसक्छ – मान्छेको केन्द्रमा

चरा नभए नदी प्यास सुक्थ्यो
चरा नभए मानिस दृष्टिविहीन हुन्थ्यो
चरा नभए आकाश डिप्रेस्ड हुन्थ्यो
आदिम गायक चराले गीत गाउँदा
शास्त्रले जन्म लिन्छ
गीत–सङ्गीत त चराबाटै सिकेको हो – मान्छेले ।

प्रकृतिको चरण र विचरणमा मात्र हुँदैनन् चराहरू
सृष्टि र दृष्टि बोकेर उडिरहेका हुन्छन्
प्रकृतिका शास्त्र चराहरू
प्रकृतिकै समीक्षा बैठकमा छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?