डा. तुलसी भट्टराई
नेपालीको बडादशैँ अर्थात् महान् धार्मिक सांस्कृतिक उत्सव– विजयादशमी । नवीन उत्साह, प्रेरणा र सफलताको प्रतीक, शारदीय आश्विन शुक्ल दशमी । विभिन्न जाति, सम्प्रदाय, वर्णले समान रूपमा मनाउने साझा ‘चाड’ दशैँ । एकता, भ्रातृत्व, बन्धुत्व र माङ्गल्यको प्रतीक दशैँ नेपाली मानसपटलमा ओतप्रोत भएर रहेको हुन्छ । दही–अक्षता, जमरा–फूलहरू सँगै आफ्ना मान्यजनका आशीषवचनद्वारा गुन्जिने गर्छ– दशैँ पर्व ।
“बाबू, दशैँमा त कसैगरी आएस् है,” बूढी भएकी आमाको थर्थराउँदो स्वर बम्बै, कोलकाता, मलेसिया, अरब, जताततै छरिएर बसेका नेपाली छोराहरू कानमा गुन्जिएको अनुभव गर्छन् दशैँ नजिकिँदै गएपछि । “कालेका बाबु दशैँमा त पक्कै आउँछन्,” परदेश गएको लोग्ने फर्किएर आउने आशामा मनमायाहरू बसेका हुन्छन् । “चार अछेता निधाराँ नटाँसी कसरी खानु !” दिनभरि पानीसम्म नपिई टीका लगाइमाग्ने र टीका लगाइदिनेहरू पर्खिएर बसेका हुन्छन् । “दशैँ आयो खाउँला–पिउँला .... नाना लाउँला”, केटाकेटीको खेल तर नेपाली ९० प्रतिशतको यथार्थ बाह्रै महिना, चौबिसै घण्टा काममा धसिएर पनि आधापेट, अर्धनग्न । सधैँको धपेडी । यो दशैँ घुम्दै वर्षैपिच्छे नआइदिने हो भने । जे भए पनि दशैँले एक–दुई छाक मिठोमसिनो खान, एकसरो लुगा फेर्न बाध्य गराउँछ नेपालीलाई ।
दशैँ एउटा गौरव
सामाजिक, धार्मिक, सांस्कृतिक, भ्रातृत्व र एकताको समष्टि रूप विजयादशमी । कुशलक्षेम– कल्याण बर्साउँदै, नेपाली घरदैलो उज्यालो पार्दै, मुखमा कान्ति भर्दै, मनमा शान्ति छर्दै युगौँयुगदेखि घुमिरहेको छ ‘दशैँ’ चाड । दशैँ परम्परा मात्र होइन, रूढिअन्धविश्वास पनि होइन, मनोरञ्जन मात्र पनि होइन । यथार्थमा दशैँ नेपाली–आत्माको ढुकढुकी हो, जीवनाधार हो । यो चाड मनाउनु बाध्यता र लाचारी होइन, यो एउटा गौरव पनि हो ।
नववर्षारम्भ, रामनवमी, अक्षयतृतीया, तिथिव्रत, बारव्रत, संवत्सरव्रत, नक्षत्रव्रतजस्ता एक हजार दुई सयभन्दा बढी व्रत एक वर्षभित्र मान्ने, हिन्दु सनातन समाजमा यो नवरात्र व्रत–पर्वको सबैभन्दा बढी महìव छ । नवरात्र, नेपालीमा नौरथा–टीका दुर्गा देवीको व्रत पर्व हो । देवीको उपासनामा तल्लीन नेपाली समाज, अझ समस्त हिन्दु समाजले यस पर्वलाई उत्साहसाथ मान्छन् । यसभित्र युगौँयुगदेखिको सामाजिक प्रतिष्ठा लुकेको छ । सबभन्दा बढी आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक निष्ठाका साथै मानव मात्रको विजय अभिलाषा यसभित्र निहित छ ।
शक्तिपूजा परम्परा
सृष्टिकालदेखि नै मानिसले कुनै न कुनै शक्तिको उपासना गर्दै आयो । आफ्नो कार्य निरन्तरता बनाइराख्न, आफ्नो असमर्थ प्रवृत्ति जोगाइराख्न एउटा शरण–आशाकेन्द्र पहिल्यायो मानिसले । मातृदेवी अथवा शक्तिको आराधना मानिसको पहिलो आधार बन्यो । मातृदेवी अथवा शक्ति प्रजनन कार्य÷सृष्टि रचना गर्ने मात्र नभएर मनुष्यका समग्र क्रियाशीलताको पनि परिचायक हो । आर्यहरूको प्राचीन सभ्यता–केन्द्र ‘सिन्धु–घाँटी’ कालदेखि नै मातृदेवी शक्तिको पूजन प्रक्रिया पाइन्छ । सर्वव्यापी, सर्वशक्तिमान शिव–शक्तिको समन्वय अर्धनारीश्वर स्वरूप प्रकृति र पुरुषको समन्वय मानिन्छ ।
प्रारम्भिक प्रकृतिपूजा मातृदेवीका रूपमा प्रचलित भयो । पृथ्वी–प्रकृति अन्नरस दिने, जीवन दिने हुँदा प्रकृति पूजा यथार्थमा मातृदेवी पूजा बन्यो । कालान्तरमा यसैभित्र अनेकानेक कारण÷घटनाक्रम थपिँदै गए । एउटा छुट्टै पर्व शारदीय–नवरात्र पर्व, दुर्गोत्सव पर्व । वर्षाको हिलोमैलो सकिएर हरियाली–प्रकृति पनि यौवन भएको अवसर । हिलो रूप अमाङ्गलिक शक्तिको विनाश÷शिवम् सत्यको रक्षा गर्ने पर्वका रूपमा स्थापित भयो ।
नवरात्रको महìव
शारदीय पर्व अनेकौँ पुराणसम्मत छ । यस विषयमा धेरैवटा कथा÷उपकथा छन् । मार्कण्डेय पुराण ७४–७५ अध्याय एवं ब्रह्माण्ड पुराण आदिमा वर्णन गरिएअनुसार ‘रम्भ’ नामक दैत्यको पुत्र महिष (भैँसी) आकृतिको भएकाले उसको नाम महिषासुर राखियो । ऊ दैत्यको राजा भयोे । इन्द्रादि देवताहरू समेतलाई जितेर ब्रह्माण्डकै मालिक भएपछि उसले अत्याचार गर्न थाल्यो । पुरुष शक्तिबाट अजेय वर पाएको महिषासुरलाई मार्न एउटी देवीशक्तिको कल्पना गरियो । देवी प्रकट भइन् । सम्पूर्ण देवताहरूकी शक्तिपुञ्जका रूपमा ।
विष्णुतेजबाट भुजा, अग्नितेजबाट नेत्र, शिवतेजबाट मुख, ब्रह्मतेजबाट चरण, चन्द्रतेजबाट स्तन । शक्तिस्वरूपा देवीको आठवटा हातमा घण्ट, खड्ग, धनुष, वाण, परशु, खेटक, त्रिशूल, वज्र आदिले शोभायमान भएपछि हिमालयद्वारा दिइएको सिंहमा चढ्नासाथ प्रचण्ड, दुर्गा मूर्ति बनिन् । यिनै देवीबाट महिषासुरको मृत्यु हुनगयो । असत्य–अधर्ममाथि सत्य–धर्मको विजय । यो विजय आश्विन शुक्लदशमीकै दिन भएको थियो । अर्का शुम्भ, निशुम्भ नाम गरेका महादैत्यलाई यस्तै अवसरमा मारिएको हुँदा विजयोत्सवका रूपमा पनि विजयादशमीको सम्झना गर्ने आधार बन्यो ।
अर्को कथामा रामले रावणको विनाश गर्दा पनि उनै दुर्गा शक्तिको उपासना गरेर रामले विजय प्राप्त गरेका थिए । महाभारतको युद्ध हुनुपूर्व गुप्तवास बसेका पाण्डवहरूले विजयादशमीकै दिन शमीवृक्षबाट आफ्ना हातहतियार प्राप्त गरेर कौरवमाथि विजय पाएका थिए ।
अर्को कथाअनुसार शत्रुबाट पराजित भएका ‘सुरथ’ राजा र परिवारबाट अपमानित भएका ‘समाधि’ नामक वैश्यको जङ्गलमा भेट हुन्छ । दुवै मार्कण्डेय मुनिको शरणमा पुगेर देवी महात्म्य दुर्गागाथा श्रवण गर्छन् । देवीको अनुकम्पाले पुनः आ–आफ्नो स्थानमा जान समर्थ हुन्छन् । यसरी नवरात्रीय दुर्गोत्सवबारे यस्तै अनेकौँ महात्म्यहरूद्वारा विशेष महìव दर्शाइएको छ । यसनिम्ति हजारौँ साहित्य र गाथा बनेका छन् ।
शक्तिपीठको उत्पत्ति
शक्तिपीठको उत्पत्ति र महìवबारे एउटा छुट्टै वर्णन पाइन्छ । देवाधिदेव शिवकी अर्धाङ्गिनी सती (पार्वती) आफ्ना बाबु दक्षकहाँ निम्ता नगरी गएकी थिइन् । त्यस यज्ञमा पति शिवजीको अपमान भएको हुँदा उनले आत्मग्लानि सहन नसकी देहत्याग गरिन् । शिवजीले शोकविह्वल भएर त्यही शरीरलाई बोकेर ब्रह्माण्ड घुम्न थाले । शिवजीको यस स्थितिबाट चिन्तित भएर विष्णुले सतीको शरीरलाई चक्रद्वारा टुक्राटुक्रा पार्दै खसालिदिए । जम्मा ५१ स्थानमा ती शरीरका टुक्राहरू झरे । यी टुक्राहरू जहाँ जहाँ खसे, त्यही त्यही ठाउँमा देवी–शक्तिपीठको उत्पत्ति भएको मानियो । भारतमा नन्द यशोदापुत्री देवी ‘विन्ध्यवासिनी’ नामले प्रख्यात छन् । कोलकाताकी काली, वैष्णोदेवी, कामाक्षा, नेपालमा गुह्येश्वरी, दक्षिणकाली, मनकामना, पलाञ्चोक, पाथीभरा, भद्रकाली आदि प्रख्यात छन् । देशभरि ठाउँठाउँमा अनेकौँ नामले प्रसिद्धि पाएका छन् । नेपाली विशेषतः शक्तिपूजक भएका हुँदा मेची–महाकाली जतासुकै देवीको उपासना गरिन्छ । देवीथान र देवीपूजाको महिमा नजान्ने कोही हुँदैनन् ।
देवीका मुख्य तीन शक्तिस्वरूपमध्ये महाकाली– रोगव्याधि निवारिणी शक्ति । महालक्ष्मी– धनधान्य समृद्धि शक्ति । महासरस्वती– विद्या, यश, मनशुद्धि शक्ति । यिनै त्रिशक्तिबाट अरू धेरै शक्तिको उत्पत्ति भएको मानिन्छ ।
नेपाली जनजीवनमा दुर्गापूजा
नेपाली जनजीवनमा ‘दुर्गापूजा’ आत्मापूजा एवं जीवन उत्थान गर्ने कर्मपूजाका रूपमा प्रचलित छ । शारदीय स्वच्छ प्राकृतिक रमणीय बेलामा कृषिप्रधान, प्रकृतिप्रधान नेपालका धर्मप्राण प्रकृतिपुत्रहरूको यो दुर्गापूजा परम्पराको स्वयंमा महìव छ ।
नवरात्रको प्रथम दिन घटस्थापना गर्ने, घरको भित्री कुनामा (जहाँ पूजा गरिन्छ) शुद्ध माटो, बालुवा फैलाएर त्यसमाथि जौ, मकै आदि छरिन्छ । जसलाई नौ दिनसम्म पूजा र जलसेचन गरिन्छ । त्यो ‘जमरा’ नामबाट परिचित हुन्छ । यथायोग्य गच्छेअनुसार कसैले नवरात्रभरि, कसैले एकदिने, कसैले तीनदिने दुर्गापाठ गराउँछन् । कतिले पाठ नगराएर स्वयं नै भावपूजा गर्छन् । अन्तिम दिन देवीको प्रतीक (नौवटी कुमारी दुई वर्षदेखि दस वर्षसम्मका) कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा, सुभद्राजस्ता नामले पुकारा गर्दै पूजा गरिन्छ ।
नवरात्रको सप्तमीको दिनलाई ‘फूलपाती’ भनिन्छ । यस दिनको उत्सव राष्ट्रिय रूपमा मनाइन्छ । काठमाडौँ, टुँडिखेलमा फूलपातीको बढाइँ हुन्छ । गोरखाबाट ल्याइएको फूलपाती यस दिन काठमाडौँमा पर्सिने चलन छ । टुँडिखेलमा राष्ट्रप्रमुख एवं सरकारप्रमुख र उच्चपदस्थहरू गएर फूलप्रसाद ग्रहण गर्ने चलन छ । जिल्लाका सदरमुकामहरूमा समेत फूलपातीको बढाइँ गरिन्छ । यस दिनबाट राजकर्मचारीहरू दशैँको छुट्टी पाउँछन् । देशविदेश जुनसुकै ठाउँमा घरबाट बिछोडिएर बसेकाहरू आ–आफ्ना परिवारसँग भेट गर्न आइपुग्छन् ।
विजयादशमीको ‘टीका’
नवरात्रको दुर्गोत्सव सम्पूर्ण हिन्दु समाजमा प्रचलित भए पनि विजयादशमीको ‘टीका’ मान्यजनहरूबाट आशीषसाथ लगाउने चलन भने नेपाली समाजको आफ्नै विशेषता हो । यो ‘टीका’ विजयादशमीको दिन मात्र लगाइने हो तर यातायातको सुविधा नभएको दुर्गम क्षेत्र बहुल नेपालका निवासीमा आफ्नो फुर्सद– सुविधाअनुसार दशमीदेखि पूर्णिमासम्म नै लगाउने चलन छ । विजयादशमीको दिन बिहान मुहूर्त हेरेर साइत निस्किएको शुभघडीमा टीका लगाइन्छ । बाबुआमाले आफ्ना सन्तानहरू, ज्वाइँ, भान्जाभान्जी, त्यस्तै अरू अरू टीका मान्न आउनेहरूलाई शुद्ध आसनमा बसालेर सबैभन्दा ठूलाबाट क्रमशः टीका लगाइदिन्छन् । अझ यो टीका सुरु गर्नुअघि कुलदेवता, परम्पराबाट मानिआएका देवीदेवतालाई ‘टीका जमरा’ आदि चढाइन्छ ।
प्रत्येक नेपाली जिब्रामा रहेका आशीष “बाबू ! दुबो मौलाएझैँ मौलाउनु, केरा गाँजिएझैँ गाँजिनु”मा कत्रो आदर्श उच्च भाव छ । दूबोबाट अजर–अमरता भाव र केरा गाँजिनुबाट एकता शान्तिको भाव । विश्वमा नै मानवताको सङ्कट परेका बेला यस्तो उच्च आदर्शभाव बोक्ने पर्व नेपाली मात्रको जीवनाधार हो । राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय कल्याणको कामना विद्यमान रहेको यस पर्वको महìव अपार छ ।
धर्म, अर्थ, काम, मोक्ष चतुर्वर्ग फल प्राप्ति हुने यो विजया टीकाको नेपाली समाजमा साधारण महìव छैन । भूतप्रेतादि बाधादेखि समस्त रोगव्याधि नाश गर्ने, सुख, समृद्धि, ऐश्वर्य दिने, शत्रु विनाश गराउने यो पर्व विशेषतः शक्तिपूजाबाट प्रचलित यस परम्परामा केवल भावात्मक वा कल्पनामय रूप मात्र छैन । यसमा पूर्ण वैज्ञानिकता छ ।
नवरात्रको प्रथम दिनदेखि क्रमशः ‘शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री’जस्ता भगवती नामबाट नौ दिनसम्म अलग–अलग पूजा गरेर सिद्धि र समृद्धि पाएको भाव र विश्वास बोकेर ग्रहण गरिने ‘विजया टीका’ मनको एकाग्रता, आराधना आदिद्वारा आत्माको अँध्यारोमा प्रकाश दिने आधार हो । आत्मशक्ति भन्नु नै आत्मशान्ति हो । आत्मशान्ति भन्नु राष्ट्र शान्ति हो ।
“यो मां जयति सङ्ग्रामे यो मे दर्प व्यपोहति ।
यो मे प्रतिबलो लोके स मे भर्ता भविष्यति ।।
महाशक्ति रूपा देवीका यस हाँकमा नेपाली जातिको स्पन्दन एवं सम्पूर्ण आत्मतìव लुकेको छ । यसमा अविजितताको हाँक नेपाली मात्रको विजय सफलताको प्रेरक तìव हो । शक्तिको चिन्तन–आराधना नै समग्र सफलताको केन्द्र हो । जय दुर्गे ! जय महाशक्ति !