logo
२०८१ मंसिर ८ शनिवार



कलाकारको भाइटीका

शनिवार |


कलाकारको भाइटीका


सुकृत नेपाल

तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मिठा–मिठा परिकार र फलपूmलका साथमा सप्तरङ्गी टीका र माला लगाइदिएर भाइटीका लगाउने चलन छ । गत वर्ष कोरोना महामारीले अवस्था सामान्य भएन । धेरैले कोरोनाबाट बच्न दूरी कायम गर्दै र मास्क लगाउँदै भाइटीका लगाए तर यो वर्ष भने धेरैले केही सहज अनुभूति गरेका छन् ।

चलचित्र निर्देशक यादव खरेल भन्नुहुन्छ, “पोहोरको वर्ष कोरोना त्रासकै बीच सामाजिक दूरी कायम गरेर टीका लगाइयो । यस पटक पनि दुई बहिनीकहाँ गएर टीका लगाउँछु । पहिला पहिला दिदीबहिनी कोसेली लिएर भाइटीकाको निम्ता दिन आउँथे । अहिले चलन फेरिएको छ । प्रविधिले गर्दा कतिपय चलन हराउँदै गएको हुनसक्छ । अर्सी, अनरसाजस्ता मिठाई बनाउने चलन थियो तर अहिले अर्सी कतै पाइँदैन बरु अनरसा थोरैले मात्र बनाएको देखिन्छ ।”

निर्देशक खरेल भन्नुहुन्छ, “पहिला पहिला रातभर देउसीभैलो पनि खेलिन्थ्यो । त्यो देउसीभैलोमा आफ्नै मौलिक संस्कृति हुन्थ्यो । अहिले जस्तो १० बजेपछि देउसीभैलो खेल्न रोक थिएन । बरु धेरै महिला दिउँसो आउँथे, राति खेल्न आउनेहरू धेरै पुरुष नै हुन्थे । अहिले देउसीभैलो खेल्ने कुरा संस्कृतिभन्दा पनि पैसा कमाउने मेलो भएको छ । त्यो समय देउसीभैलो खेल्नेले आशिष दिन्थे । अनि घरबेटीले थालमा सेलरोटी, फूलपाती, अक्षता, पैसा र बीचमा दीप राखिदिन्थे तर अहिले सङ्घसंस्था आउँछन् र उनीहरूको ध्यान पैसामा मात्र हुन्छ ।”

तिहारलाई रमाइलो पर्वका रूपमा लिनुहुन्छ– नायिका रेखा थापा । उहाँ भन्नुहुन्छ, “तिहार मेरो मनपर्ने चाड हो । तिहारमा जताततै झिलिमिली उज्यालो हुने, लक्ष्मीपूजा गरिने र भाइपूजा गर्ने चलनले मलाई यो चाड खुबै मन पर्छ ।” यस पटकको तिहारमा उहाँ सेलरोटी बनाउन सिक्ने तरखर गर्दै हुनुहुन्छ । रहर हुँदाहुँदै पनि उहाँले सेलरोटी बनाउन जान्नुभएको रहेनछ । त्यसैले यो काम यो तिहारमा सिक्ने उहाँको योजना छ ।

नायिका थापाको भाइटीका भने अन्यको भन्दा केही फरक छ । उहाँले आफ्नै दाजुभाइसँगै धर्म दाजुभाइलाई पनि तिहारको टीका लगाइदिने गर्नुभएको छ । समय परिस्थिति मिल्दा नायिका थापा सबैलाई टीका लगाइदिनुहुन्छ । कार्यव्यस्तताले गर्दा टीका लगाउन नभ्याए पनि दाजुभाइको साथ सहयोग, माया र आत्मीयता उत्तिकै प्रगाढ रहने उहाँको अनुभव छ । यस पटक भने नायिका थापाले आफ्ना पाँच जना दाजुभाइलाई टीका लगाइदिने बताउनुभयो । दक्षिणाको कुरो गर्दा नायिका थापाले भन्नुभयो, “म आफैँ कमाउँछु भनेर पनि हो कि दाजुभाइले मलाई त्यति धेरै दक्षिणा दिएजस्तो लाग्दैन ।”

गायक सीताराम पोखरेल यसपटक भाइटीका काठमाडौँमै लगाउने तरखरमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रायः तिहारको टीका लगाउन विराटनगर नै गइन्थ्यो तर यसपटक भने बहिनीलाई यतै बोलाएको छु । तिहारमा गाई, कुकुर र कागको पूजा सम्मानपूर्वक गर्ने भएकाले पनि उहाँलाई तिहार विशेष लाग्ने गरेको छ । झिलिमिली बत्ती, रङ्गोलीसँगै देउसीभैलो खेलेको हेर्दा बढी रमाइलो लाग्ने गरेको उहाँको भनाइ छ । टीका लगाएपछि बाहिनीलाई विराटनगरबाट आएको प्लेन भाडा पुग्ने गरी दक्षिणा दिने गरेको उहाँ बताउनुहुन्छ ।
हास्य कलाकार जीतु नेपालको तिहार भने दशैँजस्तै सामान्य नै हुने गरेको छ रे । पहिलाजस्तै यसपटक दिदीसँग टीका लगाउँछु । दिदीलाई दक्षिणास्वरूप कहिले पैसा कहिले सामान दिने गरेको उहाँले सुनाउनुभयो । दीपावलीको मुख्य रमाइलो नै देउसीभैलो लाग्छ उहाँलाई । उहाँ सम्झनुहुन्छ, “पहिलापहिला त राति १÷२ बजेसम्म देउसी–भैलो खेलिन्थ्यो । जबसम्म दक्षिणा दिँदैनथे, तबसम्म भट्याएको भट्याई गरिन्थ्यो । हाम्रो १०–१२ जनाको टोली हुन्थ्यो । कसको घरमा कति पैसा दिन्छन् होला भन्ने पीर हुन्थ्यो । दक्षिणामा दिएको धान, चामल बेचेर पनि पैसा भाग लगाउने गरिन्थ्यो तर अहिले समय बदलिएको छ । पहिले पहिले रमाइलोका लागि देउसीभैली खेलिन्थ्यो, अहिले भने पैसाका लागि खेलिन्छ ।

तिहार विभिन्न थरीका फूलका माला, झिलिमिली बत्ती, मिठामिठा परिकारको आकर्षणले भरिएको हुन्छ भन्नुुहुन्छ नायिका नम्रता सापकोटा । भाइ विदेशमा रहेकाले यस पटकको भाइटीका ठूलोबुवाको छोरालाई लगाइदिने नायिका सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “तिहार दाजुभाइ दिदीबहिनीबीच बाँडिने माया र ममताको चाड हो । यो बेलाको शीतल मौसम, जताततै फूलेका सयपत्री फूलहरूको सुगन्ध अतुलनीय लाग्छ नायिका सापकोटालाई । तिहारको रमाइलो भनेकै सप्तरङ्गी माहोल हो । रङ्गीचङ्गी बत्ती, ढकमक्क फुलेका अनेकथरी फूलले उहाँको मन नै फुरुङ्ग बनाउँछ रे । फूलका थुङ्गाको माला गाँसेर घर सजाउँदा विशेष रमाइलो हुने उहाँ बताउनुहुन्छ ।

तिहारकै लागि मरमसला, दियो, बत्ती, पालासँगै विद्युतीय सामानको किनमेलको चहलपहल बजारमा सुरु भइसकेको छ । दसैँमा मासु भनेजस्तै तिहारमा सेलरोटी र मिठाईका परिकार बनाइन्छ । विगतको तुलनामा अहिले मौलिक परिकारहरूभन्दा पनि बजारमा भित्रिएका मिठाईको चलन बढेको छ । घरमा बनाउन फुर्सद नमिलेकाहरूले बजारमा पाइने मिठाईहरू खरिद गर्ने गरेको पाइन्छ ।
पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त नायिका जेविका कार्कीलाई तिहार भन्नेबित्तिकै घरको सरसफाइ र झिलिमिली बत्ती याद आइहाल्छ । हरेक वर्ष उहाँले आफ्नै भाइ र मामाका छोराहरू गरेर पाँच जनालाई भाइटीका लगाइदिनुहुन्छ । यसपटक पनि पाँच जनालाई नै टीका लगाइदिने उहाँ बताउनुहुन्छ । तिहारको झिलिमिली बत्ती, लक्ष्मी बोलाउँदा बालिने दियो र देउसीभैलोको रमझम उहाँलाइै धेरै मन पर्छ रे ।

आफ्नै बहिनी नभएको हुनाले यसपटक फुपू र काकाको छोरीसँग भाइटीका लगाउने तरखरमा हुनुहुन्छ, हास्य कलाकार सागर लम्साल (बले) । उहाँ भन्नुहुन्छ, “यो क्षण धेरै नै रमाइलो हुन्छ । बहिनीलाई दिने दक्षिणा यतिउति भन्ने छैन । कहिले नगद नै दिन्छु त कहिले सामान किनेर दिन्छु । तिहार आफैँमा निकै महìवपूर्ण चाड हो । त्यसमा पनि टीका लगाएर खुसी साट्ने तथा दीर्घायुको आशिष लिने दिन भएकाले एकदमै मनपर्छ मलाई ।” तिहार दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता बढाउने एक महìवपूर्ण पर्व हो । यो पर्वमा घर झिलिमिली बत्ती, थरीथरीका फूलले सिँगारिन्छ । सहरबजार पनि बत्ती, फूल, मिठाई र मसलाको परिकारले भरिएको हुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?