निर्मल अर्याल
पेसाले सैनिक तर शरीरका प्रत्येक कोषमा नृत्यका लिपिहरूको अविराम उतारचढाव । करिब सात दशकदेखि निरन्तर नृत्यमा समर्पित रहँदै आफूलाई नृत्यशास्त्रको ‘भीष्मपितामह’ नै प्रमाणित गर्नुभएको छ भैरवबहादुर थापाले । नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्यक्षेत्रको उन्नयनमा समर्पित थापालाई मदन पुरस्कार गुठीले वर्ष २०७७ का लागि जगदम्बाश्री पुरस्कार अर्पण गर्ने निर्णय पनि ग¥यो ।
चीनसहित युरोपेली राष्ट्रहरूमा पहिलो नेपाली नर्तकको रूपमा आफूलाई प्रस्तुत गर्नुभएका थापाले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र नेपालीको पहिचान दिलाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको छ । थापाका मनमोहक नृत्यले तत्कालीन राजा महेन्द्रसहित राजनेताद्वय बीपी र पुष्पलालको मात्र होइन, चीनका तत्कालीन राष्ट्रपति माओ त्से तुङ्ग, प्रधानमन्त्री चाउ.एन.लाइ, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलगायत सबैको मन जितेको थियो । थापाको नृत्यबाट प्रभावित भएर चीनका राष्ट्रपति माओ त्से तुङ्गले उपहार दिनुभएको कलममार्फत लेख्न सुरु गरी थापाले ६५ वर्ष लगाएर तयार पार्नु भएको कालजयी कृति ‘नृत्याक्षर विज्ञान’ प्रकाशित भएको छ । वरिष्ठ लेखक चेतन कार्कीकै शब्दमा यसभन्दा अघि न कसैले नृत्य लिपिको रचना ग¥यो, न भविष्यमा गर्ने सम्भावना छ, त्यसैले यो ‘भूतो न भविष्यति’ कृति हो । नृत्य गुरुको रूपमा थापाको विशिष्ट प्रतिभालाई नजिकैबाट अवलोकन गर्नुभएका कार्की भन्नुहुन्छ, ‘भैरवबहादुर थापारूपी विशाल बटवृक्षमुनि कति जना कलाअनुरागीले विश्राम लिए, त्यस बटवृक्षबाट सयकडौँ हाँगा र ती हाँगाहरूबाट असङ्ख्य जरा निस्केर अझै कति नयाँ हाँगाहरू नेपाली लोककलाको संरक्षण संवद्र्धनमा समर्पित हुँदैछन् र हुनेछन्, त्यसको लेखाजोखा नै छैन ।’’ (भैरवलाई हेर्ने आँखाहरू) भैरवबहादुर थापाको योगदान नृत्यमा मात्र होइन, नेपाली साहित्यको भण्डार श्रीवृद्धिमा पनि महìवपूर्ण छ । ढोका (कविता सङ्ग्रह), हिँड्दाहिँड्दै बनेका तस्बिरहरू (संस्मरण), समर्पण (संस्मरण) लगायतका कृतिहरूले उहाँलाई कुशल शब्दशिल्पीको परिचय पनि दिएको छ ।
बालकृष्ण सम, भीमनिधि तिवारी, तुलसीनाथ ढुङ्गेल, मदनमणि दीक्षित, भूपि शेरचन, शङ्कर लामिछाने, भीमदर्शन रोका, उत्तम नेपाली, धनुषचन्द्र गौतम, बटुकचन्द्र गौतम, उत्तम कुँवरलगायत नेपालका दिग्गज साहित्यकारहरूसँग राम्रै उठबस भएका कारण थापा चाहेर पनि साहित्य सिर्जनाबाट पृथक् रहन सक्नुभएन तर उहाँलाई अब्बल नृत्यशास्त्री ‘भैरव गुरु’ भनेर चिन्नेकै जमात ठूलो छ । उहाँले नेपाली चलचित्र मनको बाँध र पच्चीस वसन्तमा नृत्य निर्देशकको भूमिका निर्वाह गर्नुभयो । थापाको प्रशिक्षण पाएर स्थापित नृत्यकार हुनेहरूमा भुवन चन्द, मिथिला शर्मा, वसुन्धरा भुसाल, विमला श्रेष्ठलगायतको नाम आउँछ । चर्चित लोकगायक कुमार बस्नेत, राम थापा, जयनन्द लामा, हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यलगायतलाई नृत्य सिकाउने गुरु पनि थापा नै हुनुहुन्छ । उहाँ केही समय पुरातìव तथा संस्कृति विभागमा नृत्य निर्देशकको भूमिकामा पनि रहनुभयो । रामनाथ अघोरी बाबाको सङ्गतका कारण उहाँ केही वर्ष व्यावसायिक ज्योतिषसमेत हुनुभयो ।
विसं १९८९ फागुन ६ गते राजधानीको कमलपोखरीमा जन्मनु भएका भैरवबहादुर थापाको सानैदेखि नाचगानमा विशेष रुचि थियो । टेबल ठटाएर भोजपुरी गीत गाउन माहिर उहाँ डम्फु बजाएर नाच्न सिपालु हुनुहुन्थ्यो । कक्षा १० मा पढ्दै गर्दा छुट्टीमा दाइसँग गोरखपुर घुम्ने क्रममा दाइको साथीको नजरमा परेपछि थापा ब्रिटिस सैन्य सेवामा भर्ती हुनुभयो । सैन्य सेवाकै क्रममा थापाले तत्कालीन मलाया (मलेसिया) स्थित ब्रिटिस गोर्खा आर्मीको फस्ट–सिक्स गोर्खा बटालियनमा ‘डान्सर’ को नामले ख्याति कमाइसक्नु भएको थियो । २०१० जेठ २० मा तत्कालीन बेलायती महारानी एलिजावेथको शुभराज्याभिषेकको उपलक्ष्यमा थापाको नृत्यले बेग्लै रौनक सिर्जना ग¥यो । त्यसपछि छ महिनाको घरबिदामा २०१० असार ६ गते काठमाडौँ फर्केपछि उहाँको मन यतै रमाउन थाल्यो ।
भीमनिधि तिवारीको नेतृत्वमा रहेको नेपाल नाटक सङ्घबाट थापालाई २०१० असार १५ गते कलाकारको उपाधि हासिल भयो । २०१० असोज ३ गते काठमाडौँको भुरूङखेलमा अखिल नेपाल किसान सङ्घको भेलामा थापाको नृत्यले तहल्का नै पिट्यो । पुष्पलाल, मनमोहन अधिकारी, निर्मल लामालगायतका नेता तथा बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, धर्मराज थापा, कृष्णचन्द्रसिंह प्रधानलगायतका साहित्यकारहरूको उपस्थिति रहेको भेलामा हजारौँको उपस्थिति थियो । थापाको केही मिनेटको नृत्यबाट धीत नमरेपछि सहभागीहरूकै अनुरोधमा असोज ४ देखि ७ सम्म सोही स्थानमा प्रत्येक दिन थापाको लोकनृत्य सांस्कृतिक कार्यक्रम प्रदर्शन गरियो । २०१० फागुन १० गते नाट्य सम्राट बालकृष्ण समको उपस्थितिमा मुलुकमै पहिलो नृत्य विधा संस्थाको रूपमा ‘भैरव नृत्य दल’ को स्थापना गरियो । भैरव नृत्य दलको औपचारिक उद्घाटन समले नै २०११ जेठ २० मा थापाको कमलपोखरीस्थित निवासमा गर्नुभयो । २०११ वैशाख ७ गते राजपरिवारका सदस्यहरू, तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालालगायतका नेतासहित विदेशी कूटनीतिज्ञहरूको उपस्थितिमा सिंहदरबार नाचघरमा समकै कालजयी नाटक ‘अमरसिंह’ मा थापाको एकल नृत्यले सनसनी फैलियो ।
भैरव नृत्य दलको पहिलो औपचारिक कार्यक्रम लालदरबारस्थित जयनेपाल चित्रघरमा २०१२ कात्तिक १३ गते आयोजना गरियो । कार्यक्रमको बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, ऋषिकेश शाहलगायतका वरिष्ठ राजनीतिकर्मीहरूले तारिफ गर्नुभयो । बीपीले त नृत्यप्रेमी पत्नी सुशीलालाई थापाको सल्लाह लिएर मात्र नृत्य विद्यालय खोल्न सुझाव दिनुभयो । थापा देशका कुनाकाप्चा पुगेर नृत्यको मिहिन अनुसन्धानमा जुट्नुभयो तर पुरातनवादी त्यस समयमा नृत्य सिकाउने र सोही विषयमा अध्ययन गर्ने भन्दै गाउँ गाउँ छिर्न किमार्थ सहज नभएको थापा बताउनुहुन्छ । ‘‘नाच्ने गाउने भडुँवाहरू आएर गाउँको वातावरण नै बिगार्ने भए भनेर धेरै ठाउँमा भैरव नृत्य दलको आलोचना पनि भयो’’ उहाँ स्मरण गर्नुहुन्छ । बीपी र पुष्पलालसँग उहाँको घनिष्ठ सम्बन्ध थियो । मुलुकभर काँग्रेस र कम्युनिस्टको मात्र प्रभाव भएकाले ‘भैरव नृत्य दलको गतिविधिमा सहजीकरण गरिदिनुहोला’ भनी ती दुई पार्टीको लेटर प्याडमा पत्र तयार गरेपछि थापालाई देश दौडाह गर्न निकै सहज भएको थियो । पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म भैरव नृत्य दल चर्चित भयो ।
तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य, बालकृष्ण समको अथक् प्रयासका कारण २०१३ सालमा चीन सरकारको निमन्त्रणामा नेपालको तर्फबाट सर्वप्रथम विदेश जाने सांस्कृतिक प्रतिनिधिमण्डलमा थापा पनि पर्नुभयो । थापाको नृत्यकलाको चीनका राष्ट्रपति, प्रधानमन्त्रीले निकै प्रशंसा मात्र गर्नु भएन, उपहार स्वरूप राष्ट्रपति माओ त्से तुङ्गबाट उहाँले कलम पाउनुभयो । माओ त्से तुङ्गले दिएको कलमले मुलुकका लागि केही ऐतिहासिक काम गर्नैपर्छ भने दृढ सोचका साथ थापाले नृत्यसम्बन्धी पुस्तक लेख्न थाल्नुभयो । अन्ततः उहाँँको साढे छ दशक लामो अविराम साधनाबाट तयार भयो ‘नृत्याक्षर विज्ञान’ । यो प्राविधिक पुस्तक तयार पार्न वर्षौंसम्म एकोहोरो घोत्लिरहेको देख्दा मित्रमण्डलीबाट उहाँले अबगाल पनि खेप्नु परेको थियो तर उहाँले हिम्मत हार्नु भएन ।
नेपाली मौलिक नृत्यको प्रचारप्रसारका लागि थापा आफ्नै खर्चमा पनि दलबलसहित देश विदेश घुमिरहनुभयो । २०३१ सालमा भैरव नृत्यदलको टोली लिएर थापा जर्मनी, बेल्जियम, फ्रान्स, युगोस्लाभिया, रुसलगायतका मुलुकहरू पुग्नुभयो । युरोपेली मुलुकहरूले मात्र मनाउने अन्तर्राष्ट्रिय लोकनृत्य महोत्सवहरूमा २०३० सालसम्म पनि एसियाबाट कुनै पनि देशले भाग लिएको पाइँदैन । २०३१ सालमा भैरव नृत्यदलले पहिलो पटक त्यस्तो महोत्सवमा सहभागिता जनाउँदा ‘एसियाली दूत’ कै सम्मान पाएको थापा सगर्व स्मरण गर्नुहुन्छ । थापाले ती महोत्सवहरूमा नेपालको झण्डोत्तोलन गर्नुभएको थियो । लोकनृत्य महोत्सवका आयोजकहरूले सोझै राजा वीरेन्द्रलाई नै पत्र प्रेषित गर्दै भैरव नृत्यदलको प्रदर्शनको उच्च सम्मान गर्दा आफूमा हर्षको सीमा नरहेको उहाँ बताउनुहुन्छ ।
नेपाली मौलिक लोकनृत्यहरूको विदेशमा प्रचारप्रसार गर्ने क्रममा थापाले आर्थिक रूपमा घर घडेरी धेरै गुमाउनुभयो । आज उहाँ राजधानीको कालोपुलमा एउटा भाडाको घरमा बस्नुहुन्छ । धनसम्पत्ति गुमाए पनि नृत्यमार्फत मुलुकका लागि केही योगदान गर्न सकेकोमा उहाँ गर्व गर्नुहुन्छ । विगतमा मुलुक हाँक्नेहरूमा कला, साहित्य तथा संस्कृतिको उत्थानमा ठूलो मोह रहे पनि अहिलेका नेताहरूमा त्यो गुण नरहेको थापा बताउनुहुन्छ । निचोडमा एक व्यक्ति नभएर जीवन्त संस्थामा परिणत भइसक्नु भएका थापाजस्ता मूर्धन्य तथा त्यागी स्रष्टा राज्यको नजरमा नपर्नु भनेको चाहिँ विडम्बनाको विषय हो ।