logo
२०८१ मंसिर ८ शनिवार



स्वदेशमै सबथोक

शनिवार |


स्वदेशमै सबथोक


डा. तुलसीप्रसाद आचार्य

आफ्नै देशमा गर्न चाहे नहुने केही रहेनछ । फेरि शिक्षित र बुझ्ने युवाले गर्ने भनेको आफ्नै देशमा रहेछ । प्रसङ्ग सुरु गरौँ, मेरो एउटा उद्यमी साथीबाट । साथी दुबईमा जागिर खान्थ्यो । त्यहाँ महिनाको झन्डै पाँच÷छ लाख रुपियाँ कमाउँथ्यो । अहिले ऊ आफ्नै देश फर्किएको छ । आफ्नै देशमा पनि जन्मथलो झापा जिल्लाको गौरादह फर्किएको छ र कृषि व्यवसाय गरेर बसेको छ । ऊ भन्छ, “गाईबस्तु पालेको छु, आफँै दुहुन्छु, मोही पार्छु र मनिपुरे बटुकामा मोही हालेर पानीको सट्टा त्यही पिउँछु तननन, कम्ता मज्जा आउँदैन गाँठे ।”

उसको कुरा सुन्दा भित्रैबाट ईष्र्या लागेर आउँछ । उसले त्यहाँ कृषिसँगै एउटा सानो विद्यालय पनि चलाएको छ र आफ्ना विद्यार्थीलाई सैद्धान्तिक शिक्षा दिनुका साथै व्यावहारिक ज्ञान पनि दिएको छ । घरि माछा पोखरीमा ल्याउने र तिनीहरूको व्यवहार निरीक्षण गराउने । घरि कृषि उत्पादनका अन्य तौरतरिकाको निरीक्षण गराउने । साथै विद्यार्थीलाई विभिन्न सीपमूलक तालिम पनि दिने गरेको छ । केही युवालाई रोजगारी पनि दिएको छ ।
उसले त्यहाँ विभिन्न प्रविधिको प्रयोग गर्दै र अनुसन्धान गर्दै नयाँनयाँ उब्जनी फलाउँदै छ । भन्छ– “म यसलाई ठूलो अध्ययन केन्द्र बनाउँछु । गर्न चाहे के हुन्न हामीजस्ता युवापुस्ताले ? अब हामीले अरूको मुख हेर्ने होइन । आफैँले केही गर्ने हो ।” उमेरले ४० लागेको ऊ राजनीतिसँग भने विरक्तिएको छ । भन्छ, “हेरियो राजनीति पनि, यिनीहरूले केही लछारपाटो लाउन सकेनन्, हामीजस्तो अलि अलि पढेलेखेका र स्वदेशमा रोजगार सिर्जना गर्न सक्ने युवा बाहिर गयौँ भने राम्रा मान्छे हुन्नन् यो देशमा । अनि त देश झन् बिग्रिन सक्छ । अबको पुस्ता हामीले नै राम्रो बनाउनुपर्छ ।”

साथीको कुरा सुनेपछि म त्यसै भावुक हुन्छु र घोत्लिन्छु– अध्ययनको क्रममा म जस्तै संसारका विभिन्न ठाउँमा पुगेकाहरू नेपाल फर्की आफूले जानेको सीप र क्षमता यसरी नै प्रयोग गर्न थाले नेपाल कस्तो हुन्थ्यो होला ? फेरि साउदी अरबबाट केही समय बिदामा नेपाल फर्केका अर्को एक युवाले भनेको सम्झिन्छु– गर्न त हुन्थ्यो तर यहाँ जति दुःख गरे पनि पैसा छैन, सर । नेपालमा बसेर जति नै काम गरे पनि दिनभरिको ज्यालाले खान पुग्दैन । बच्चाबच्चीलाई कसरी पाल्नु, पढाउनु ?
यस्ता कुराले लाग्छ हामी नेपालीका आफ्नै बाध्यता र रहर होलान् विदेश जानुको पछाडि । विदेशको भिसा लाग्दा जुन खुसी देखिन्छ अनुहारमा त्यस पछाडि नदेखिएको दुःख त्यति नै होला । हुन त कसलाई पो छोड्न मन लाग्छ र आफू जन्मेको देश र हरेक रात एउटै छानामुनि बिताउने परिवारको सामीप्य ।

विदेशमा बसेर आफ्नो क्षमता र सीपलाई बेचिरहने नेपालीको सङ्ख्या भने यतिखेर कम छैन । नाम चलेका लेखक, पत्रकार, कलाकार, उद्यमी, व्यवसायी विदेश गएर बसेका छन् । अध्ययनका क्रममा गएकाहरू पनि उतै आफूलाई स्थापित गरेर बसेका छन् । विश्वभरि छरिएका गैरआवासीय नेपालीको सङ्ख्या गन्ने हो भने लाखौँ छ । अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा बसेर प्राध्यापक, डाक्टर, इन्जिनियर पेसामा आबद्ध हुनेहरूको सङ्ख्या पनि उत्तिकै छ ।
हुन त विदेश छोडेर नेपाल फर्केका, यहीँ बसी–बसी धेरै राम्रा काम गर्ने मानिसहरूको सङ्ख्या पनि कहाँ कम छ र ! कसैले रेस्टुरेन्ट खोलेका छन् । कसैले रिसोर्ट खोलेका छन् । केहीलाई रोजगार पनि दिएका छन् । “दाजु, अहिले त मलाई यहाँ धेरै राम्रो छ । विदेशमा सिकेको ज्ञान यहाँ लगाएको छु । अलिकति ऋणमा पैसा खोजेर हालेको छु । सम्भावना देखेको छु, राम्रो होला,” कतारबाट फर्केर भक्तपुरमा रिसोर्ट खोलेर बसेका एक गाउँले भाइको कथन हो यो । उनले त्यहाँ रिसोर्ट चलाएर बसेको पनि दुई वर्ष भइसकेको रहेछ ।

सम्झिन्छु विदेशिएका सबै नेपाली स्वदेश फर्किएर यस्तै रोजगार सिर्जना गर्न सके कस्तो हुन्थ्यो होला ? छोराछोरी विदेशमै जन्माएर उतै हुर्काएर उनीहरूकै भविष्य बनाउनलाई भन्दै उतै भासिनुभन्दा स्वदेश फर्किएर आफ्ना सन्तानलाई यतै गुणात्मक शिक्षादीक्षा दिएर, यही समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्ने व्यक्तित्व बनाए कस्तो हुन्थ्यो होला ?

“मन त किन छैन र आफ्नै देश फर्किन सर तर यहाँ त्यस्तो वातावरण कहाँ छ र ?” विदेश बस्दै आएका एक मित्रलाई स्वदेश नफर्किने भनेर प्रश्न गर्दा उनले प्रतिप्रश्न गर्दै भने, “हातमा पैसा नभई केही हुन्न, खोइ हाम्रो देशमा अवसर छैन । मैले मेरी श्रीमती र बालबच्चालाई कसरी पाल्ने, महँगी छ । यहाँ गर्छु भन्नेलाई नै वातावरण छैन । विदेश नगएर के गर्नु ? कहिले बन्द, कहिले हड्ताल, कहिले कुन समूहको चक्काजाम, कहिले यो समूह त कहिले त्यो समूह भनेर गरिखान नै दिँदैनन् ।”
खासगरी युरोप अमेरिकातिर गएका नेपाली स्वदेश फर्किन चाहँदैनन् । त्यसो हुनु पछाडिको एउटै कारण भनेको त्यहाँको रहनसहन, सुख सुविधा, गुणात्मक शिक्षा, रोजगार, भौतिक पूर्वाधार आदि नै हुन् । यस्तै कुरा नेपालमा नै भइदिए किन मन लाग्थ्यो र विदेश जान ?
मेरो अर्को साथी भन्छ– किन यसको कारण खोज्नतिर नेताहरू लाग्दैनन् ? किन यति धेरै नेपाली र उनीहरूको सीप र क्षमता विदेशतिर हराउँदा नेतृत्व वर्गलाई दुःख लाग्दैन ? किन नेपालमा रोजगारका बाटाहरू प्रशस्त छैनन् ? किन महँगी छ ? किन यो समाजको सोच बदल्न सकिँदैन ? किन नेतृत्व वर्ग आपसमै झगडा गरिरहन्छन् ? किन एकले अर्काको खुट्टा मात्र तान्न खोज्छ ? किन हाम्रो सामाजिक सोच, चिन्तनमा परिवर्तन हुँदैन ?

म नाजबाफ हुन्छु । म पनि अमेरिका बस्दै आएको १३ वर्ष भयो । यहाँ बस्न मलाई मन छैन । दुई÷तीन वर्षयता नेपाल फर्किऊँ, केही गरौँ लागेको छ । सबै नेपालीको बस्ने एउटा सुन्दर घर होस् । हरेक घरको नम्बर होस् । त्यहीँ अगाडि एउटा मेलबक्स होस् । मेलबक्समा साथिभाइ, आफन्तले पठाएको सम्झनाको चिठी होस् । चिठी ल्याउने हुलाकी दाइलाई कार्यालयले गाडी देओस् । त्यो गाडी चलाएर हरेकका घरमा पुग्ने बाटो होस् । बाटो पिच होस् । पिचैपिच जाँदा कुनै सफा खोला वा नदीछेउ पुगियोस् । खोला वा नदीमा गएर स्नान गर्न पाइयोस् । सबैको आफ्नै कार होस् । कार नभए निश्चित ठाउँ–ठाउँमा रोकिने सार्वजनिक सवारीसाधन होस् । त्यसले अपनाउनै पर्ने ट्राफिक नियम होस् । बाटामा धुवाँधुलो नहोस् । ठाउँ–ठाउँमा फोहोर फाल्ने भाँडो होस् । त्यही भाँडोमा मान्छेले फोहोर फालोस् । मान्छे हिँड्ने छुट्टै बाटो होस् । साइकल कुद्ने छुट्टै बाटो होस् । त्यो बाटोमा खाल्डाखुल्डी नहोस् । बाटोमा वर्षाको भेल नबगोस् । भेल आउँदा ढलमा बालक नबगोस् । ठाउँठाउँमा सीसी क्यामरा जडान होस् । क्यामराले फटाहालाई पक्रोस्, सज्जनलाई छोडोस् । नेता हो कि जनता, मालिक हो कि नोकर कानुनले काम बिगार्ने सबैको कान समातोस् । बस यति होस् । गफभन्दा बढी काम होस् । मेरो देश नेपाल स्विट्जरल्यान्ड, सिङ्गापुर, अमेरिका केही नहोस् । बस, नेपाल नेपालजस्तो होस् । गर्न चाहे के हुन्न र आफ्नै देशमा !

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?