logo
२०८१ मंसिर ८ शनिवार



मिथक : दुष्यन्त–शकुन्तलाको प्रेम

शनिवार |


मिथक  : दुष्यन्त–शकुन्तलाको प्रेम


कमल रिजाल

“अहा ! ऋषि आश्रममा पनि यस्ती कन्यारत्न ? को हौ तिमी नानी ?” शकुन्तलाको यौवन तथा रूप र लावण्यले घाइते भएका दुष्यन्तको प्रश्न ।
“महर्षि कण्वको पालित पुत्री हुँ । नाम भने शकुन्तला हो । जन्म दिने मातापिता भने विश्वामित्र र मेनका हुन् अरे,” आतिथ्य कार्यमा लागेकी शकुन्तलाको प्रस्टोक्ति ।
“ए ! त्यसो भए क्षत्राणी परिछ्यौ । ब्राह्मण बाबु र वैश्य आमाबाट जन्मेका सन्तान क्षत्रीय हुन्छन् भन्छन्,” दुष्यन्त नजिक हुने प्रयास गर्दै बोले ।
“खोइ ? त्यो त थाहा छैन, त्यसो हो भने त्यसै होला । अनि हजुर को हुनुहुन्छ नि ?” केही पर हट्न खोजेजस्तो गर्दै शकुन्तलाको प्रतिप्रश्न ।

“किन लजाउँछ्यौ मृगनयनी ! आतिथ्य गर्न खोजेकी होइन ? हस्तिनापुर सम्राट् यो दुष्यन्त आतिथ्य लिन आतुर छ,” दुष्यन्तको थप नजिकिने बहाना । “हो राजन् ! आतिथ्य गर्ने जिम्मा मलाई सुम्पेर धर्मपिता कण्व तीर्थाटनमा जानुभएको छ,” शकुन्तलाको मुस्कानसहित स्पष्टीकरण ।
“त्यसो भए त नजिक पो आउनुपर्छ त, खोइ अर्घपाद्य ?” कामातुर दुष्यन्तद्वारा शकुन्तलाको पाणिग्रहण ।“पहिले हात त छाड्नुस् । अर्घपाद्य ल्याउने हातै समाउनु भएपछि कसरी ल्याउने ?” शकुन्तलाको फुत्कने चालबाजी ।
“तिमी नै त हौ अर्घपाद्य मनमोहिनी !” दुष्यन्तद्वारा चुम्बनको प्रयास ।

“छाड्नुस्, छाड्नुस् महाराज ! यो अनुचित हो,” रातोपीरो बनेकी शकुन्तलाद्वारा फुत्कने प्रयास ।
“अनुचित होइन सुन्दरी ! उमेर पुगेका केटा र केटीको मिलनलाई शास्त्रले अनुचित भनेको छैन,” प्रेमिल मुद्रामा दुष्यन्तको उपस्थिति ।
दुष्यन्तको कुरा सुनेर शकुन्तला थप रातोपीरो भइन् । एकैसाथ उनका शरीरका रौँ ठाडा भए, आँखाको लाज सर्दै गोडामा पुग्यो । हल्लिएको वक्षस्थलले शरीर कामिरहेको प्रस्टै झल्कन्थ्यो तर यसरी चल्ने अवस्था थिएन । त्यसैले गोडाको बुढीऔँलाले भुइँ कोट्याउँदै भनिन्–

“यो त पुरुषजातिले भन्ने कुरा होला महाराज ! मैले जानेको यही हो कि हामी नारी जातिलाई विवाहपूर्व यस्तो वर्जित छ ।”
“त्यसो भए विवाह गरौँ न त ।”
“यसका लागि केही समय धैर्य गर्नुपर्ने हुन्छ ।”
“किन र ?”
“किनकि बाबा हुनुहुन्न ।”
“बाबा किन हुनुप¥यो र ? थोरै विवाह बाबासित गर्ने हो ?”
“त्यसो भन्न खोजेकी होइन ।”
“के भन्न खोजेकी त ?”
“यही कि बाबासित हजुरले मेरो हात माग्नुपर्छ ।”“किन र ?”
“किन कि हामी नारीजातिलाई आफूखुसी गर्ने छुट छैन ।”
“शास्त्रमै गान्धर्व विवाहको विधान छ त ?”
“त्यो भनेको के हो ?”
“यो भनेको उमेर पुगेका केटाकेटीले आफूखुसी गर्ने विवाह हो ।”
“हुन त होला तर...।”
“के तर ?”

शकुन्तलाले थप बोल्न खोजिन् तर सकिनन् । जिभ्रो लटपटियो, शरीरमा कम्पन । कामवाण न हो किन खेर जान्थ्यो र ! विचरीलाई कता ढलौँ कता ढलौँजस्तो बनायो । कामकलाका पारखी दुष्यन्तलाई उनको अवस्था बुझ्न गाह्रो परेन । “ए ! लडौली” भन्दै काखमा राखेर सुमसुम्याउन लागे ।
“रहन दिनुस् महाराज ! अहिलेलाई यति नै ।” बल गरेर उठ्न खोज्दै कम्पित स्वरमा शकुन्तलाले भनिन् । “अहिलेलाई यति नै रे ? अरू कहिले त ?” कामवाणले घाइते विचरीलाई दुष्यन्तले थप घायल बनाउन खोजे ।
“वि..वा..ह..पछि ।” थप रातापीरो हुँदै शकुन्तलाले भनिन् ।

त्यसपछि दुष्यन्तले म्यानबाट तरबार निकाली आफ्नै बुढीऔँला चिरे र देवीदेवता तथा अग्निकुण्डलाई साक्षी राखी सिन्दूर टीका गराए । विचरी शकुन्तला अक्क न बक्क भइन् । केही बोल्न खोज्दै थिइन् वाक्यै फुटेन । एकैसाथ आकाश जमिन हल्लिएजस्तो भयो । त्यसपछि केके भयो पत्तै पाइनन् । ब्युँझिँदा शृङ्गार लतपतिएको, अङ्गवस्त्र खस्किएको र दुष्यन्त नजिकै बसेर मुस्कुराइरहेका पाइन् ।
त्यसपछि उनीहरूको भेट नियमितजस्तै भयो । कुनै दिन दुईतीन पटक पनि हुन्थ्यो । पहिलेको मिलन गाह्रो हो । त्यसपछि किन पथ्र्यो र ! कति समयले बताउँछ कति अभ्यासले सिकाउँछ । आश्रममा कोही थिएनन् । महर्षि कण्व तीर्थ गएका थिए । शिष्यहरू पनि उनकै पछि लागेका थिए । न रोकटोक न अल्झाउने, बिझाउने । जतिबेला मन लाग्यो त्यतिबेला मिलन, जतिबेला भन्यो त्यतिबेला भेट ।

राजा दुष्यन्त तीन महिनाजति फूलको रस चुसेर आश्रम वाटिकामा रहे । रस पनि यति मादक कि समय बितेको पत्तै पाएनन् । तीन महिनापछि बल्ल होसमा आए र हस्तिनापुर सम्झिए । त्यतिबेलासम्म फूलको बोटमा फल लागिसकेको थियो । दरबारको सम्झना आउनेबित्तिकै उनी “पछि लिन पठाउँछु है” भन्दै हस्तिनापुरतिर लागे । शकुन्तला दुष्यन्तको नासो हुर्काउँदै उनकै प्रतीक्षा गर्न लागिन् तर दुष्यन्तले भने दरबारमा पुगेपछि कार्यव्यस्तताले भुसुक्कै बिर्से ।
केही समयपछि महर्षि कण्व तीर्थाटनबाट फर्के । त्यतिबेलासम्म शकुन्तलाको छातीको घाउ सुन्निएर भोगटे जत्रो भइसकेको थियो भने पेट फुलेर दमाहाजस्तो । छोरीको अवस्था देखेर कण्वलाई शङ्का लाग्यो र एकान्तमा लगेर केरकार गरे । शकुन्तला लाजले भुतुक्कै भइन् तर लाज मानेर काम चल्ने अवस्था थिएन । बिस्तारै कम्पित स्वरमा सबै कुरा बताइन् । छोरीको कुरा सुनेपछि महर्षि कण्वले पनि होनेहार दैव नटार भन्दै चित्त बुझाए ।

समय पूरा भएपछि शकुन्तलाले स्वस्थ शिशु जन्माइन् । महर्षि कण्वले वैदिक विधिअनुसार नामकरण संस्कार गरी बालकको नाम भरत राखे । भरत कण्वकै आश्रममा हुर्के, बढे, क्षत्रियोचित शिक्षादीक्षा पाए । पछि गएर उनी बाबुभन्दा पनि एकपाइलो अघि बढेर चक्रवर्ती सम्राट् बन्न सफल भए । उनकै नामबाट सो भूमि भारतवर्षको नामले प्रसिद्ध भयो । यसअघि यस क्षेत्रको नाम अझनाभवर्ष थियो । त्यसभन्दा अघिको कुरा गर्ने हो भने त्यस क्षेत्रलाई ब्रह्मावर्त भनिन्थ्यो ।
यिनै भरतको वंशमा पछि गएर शन्तनु नामका राजा भए, जसले स्त्रीमोहका कारण महाभारतको जग बसाउने काम गरेका थिए । भरत पराक्रमी थिए । राज्यसीमा विस्तार गर्दै पूर्वमा ब्रह्मदेश (बर्मा–म्यान्मार)देखि पश्चिममा कम्बोज (इरान)सम्म र उत्तरमा मानसरोवर (त्रिविष्टव–तिब्बत)देखि दक्षिणमा सिंहल द्वीप (श्रीलङ्का)सम्म पु¥याएका थिए । राज्य सञ्चालन गर्न आफ्ना सन्तान अयोग्य भएकाले सक्षम व्यक्ति खोज गरी भारद्वाज गोत्रीय कुनै युवकलाई सिंहासनमा बसाउनेसम्मको हिम्मत गर्ने यस्ता प्रतापी राजाका वंशमा पछि गएर यति बढी नालायक सन्तानहरू भए कि बाजेको छालालाई समेत अक्षुण्ण राख्न सकेनन् । अन्ततः यसैका कारण महाभारत युद्ध निम्तिएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?