logo
२०८१ मंसिर ८ शनिवार



कलासाहित्य यात्राका चार दिन

शनिवार |


कलासाहित्य यात्राका चार दिन


जय भट्टराई

कोरोना कहरको प्रहर र असर बाँकी नै थियो, नजिकिएको उल्लासमय चाड तिहारको रौनक सुरु भइसकेको थियो, त्यसमा पनि काठमाडौँदेखि रोल्पासम्मको चारदिने यात्रामा जानु छ हामीलाई । विगत डेढ दशकदेखि देशभित्र र बाहिर राष्ट्रिय कलासाहित्य यात्रा गर्दै आइरहेको नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेहरूले सायदै यात्रामा सहभागी हुन आनाकानी गर्लान् ? चुस्त र भव्य कार्यक्रम गर्न सफलता पाउँदै आएकाले पनि होला, देशको सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म बर्सेनि यस्ता खाले कार्यक्रम गर्दै आएको प्रतिष्ठानले यसपालि पाल्पा र रोल्पामा आयोजना गर्न लागेको राष्ट्रिय कलासाहित्य यात्रामा जान तम्सिएका छौँ ।

प्रतिष्ठानको निम्तोमा कात्तिक ११ गतेको बिहान काठमाडौँको बबरमहलमा भेला भएर बिहान साढे पाँच बजे अघि बढ्छ यात्रा । काठमाडौँ–पाल्पा–रोल्पा राष्ट्रिय कलासाहित्य यात्रा लेखिएको व्यानर टाँसिएको छ बसमा । अबको चार दिन यही यात्राका लागि । यात्रा नथाल्दै गफिन थाल्छौँ, यात्रामा आउने अनेक थरी विषयमा केन्द्रित बनेर । बेलाबखत हाँसो सुनिन्छ बसको पछिल्लो लाइनबाट अघिल्तिर बस्नेहरूलाई जिज्ञासा, कहिले अघिल्तिरबाट अट्टाहास सुनिन्छ पछिल्तिर बस्नेहरूलाई कौतुहलता । साहित्य, संस्कृति, राजनीति, मनोरञ्जनका यावत् कुरा निरन्तर, टुङ्गोमा पुग्न नसकिए पनि धाराप्रवाह एकपछि अर्को बोलिरहेका । लामो यात्राका क्रममा केसम्म निर्णयमा पुगियो भने गफाडी सङ्घ खोल्ने तर अध्यक्ष बन्ने विषयमा सहमति नजुटेपछि अर्को यात्रासम्मका लागि स्थगित गरियो, संस्था स्थापना गर्ने काम यो पनि त गफै त हो । बसभित्रको रमाइलो बेग्लै राजमार्गको यथार्थ सकसपूर्ण । समयको क्रमसँगै दुर्दशाको नमुना बन्न पुगेको राजमार्गको झञ्झटिलो यात्राले सोचेअनुरूप समयमै पाल्पा पुग्न नसके पनि झमक्क साँझ पर्दा पाल्पा टेकेपछि पाएको आतिथ्यले पुलकित बनेका थियौँ हामी । स्थानीय होटल ताजमा पाल्पा साहित्य समाज र साहित्य तथा स्वास्थ्य प्रतिष्ठानले गरेको स्वागत र अन्तत्र्रिmया कार्यक्रमबाट थालिन्छ यात्राको औपचारिकता । समाजका संरक्षक राजेन्द्रगोपाल सिंह र प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीसँगको भलाकुसारीबाटै थाहा हुन्छ पाल्पाको साहित्य र संस्कृतिप्रतिको मोह ।

कात्तिक १२ गतेको बिहानै रोल्पाको यात्रा नथाल्दै रोमाञ्चित बन्न पुग्छु म, नदेखेको र पाइला नटेकेको रोल्पासम्मको यात्रा थाल्दैछु भन्ने सोचले रोल्पाको विगत सम्झन पुग्छु साढे दुई दशकको समयअघि । यस्तै होला रोल्पा ? साहित्य र सांस्कृतिक कार्यक्रममा ठूला ठूला कार्यक्रम गरेर मुलुकको ध्यान तानिसकेको रोल्पाको विगत पनि सम्झिएँ । यात्रारत सँगै बस्नुभएका अग्रज दाजु अशेष मल्ल, डा. हरिप्रसाद मानसाग्नी, राजेश्वर कार्की, ठाकुर बेलबासेको कुराकानीले उतै मोडिन्छु म, रोल्पा त पुग्ने हो अहिले नै के सोच्नु भनेझैँ गफतिरै केन्द्रित बन्छु । यात्राका गफ अनेक थरी । १४ जनाको यात्रा बेलाबखत रोकिनुपर्ने, त्यसमा पनि लामो यात्रा सोचेजस्तो पटक्कै नहुने । बिहान ५ बजे पाल्पाबाट थालिएको यात्रा साँझ ५ बजे रोल्पाको स्टोन पार्कमा रोल्पा नगरपालिकाका प्रमुख एवं स्रष्टा पुरण के.सी. र स्थानीयवासीको आतिथ्यपछि रोल्पालाई तस्बिरमा उतार्न हतारिन्छौँ हामी । त्यताबाट पनि आधा घण्टाको यात्रापछि होटल रोल्पा हेरिटेजमा थाकेको शरीर बिसाउन पुग्छौँ, यतिबेला साँझको ७ बजिसकेको छ ।

कात्तिक १३ गतेको बिहान सूर्य उदाउनुअघि उघ्रेका आँखा मिच्दै लिवाङ, रोल्पाको सौन्दर्य नियाल्न हतारिन्छाँै । अनौपचारिक तर निर्धारित कार्यक्रमका रूपमा अङ्कित प्रातःकालीन यात्रा । हो यही यात्रामा भेटिए अनेक थरी मान्छे, रोल्पाको विकास र उत्साहका कुरा गरे, उत्साहित बनेका उनीहरूको आँखामा विकसित रोल्पाको सपना देख्यौंँ, यथार्थ अलि भिन्न छ, बल्ल जागरुक बन्दै छ रोल्पा होमा हो मिलाउँदै । बिहानैदखि चटारो छ लिवाङवासीलाई, आज कार्यक्रम छ हैन ? हामी पनि आउने हो एकथरी उत्साही बन्छन् । चिया खान पुग्छौँ रोल्पाको सक्रिय स्रष्टा कविता उपाध्यायको घरमा, उहाँहरू त झन् परिवारै आउने तरखरमा हुनुहुँदो रहेछ । घरघरमा ताल्चा लगाएर कार्यक्रममा सहभागी हुनेहरूको पनि कमी छैन, टाढाटाढाबाट पनि आउँदै छन् रे भन्ने पनि सुन्छौँ हामी । हैन कति माया हो साहित्यको ? कति सम्मान हो अतिथिको । यही सोचेर पुलकित बन्छ मन । केही गरौँ भन्ने उत्साह छ सबैमा ।

मध्याह्न १२ नबज्दै स्थानीय उद्योग वाणिज्य महासङ्घको सभा कक्षमा मानिसको ओइरो लागिसकेको थियो, अनेकौँ वेशभूषामा, विभिन्न उमेर समूहका मानिस देख्दै उत्साहित बन्न पुगियो । समयको कति ख्याल गर्न सकेका रोल्पावासीले ? आफैँसित प्रश्न गर्न पुग्छु । कविता र अतिथिको बोली सुन्न आउनेहरूको भीडमै भेटिन्छन् अनेक थरी मान्छे, हातहातमा रहेका मोबाइलबाट फोटो खिच्ने र खिचाउनेहरू अनि धेरै दिनपछि भेटिएकाहरू निर्धक्क भएर गफ गरिरहेका छन् । लिवाङभन्दा टाढा–टाढाबाट पनि आएका छन् स्रष्टा र साहित्यप्रेमी, मेलामा छुट्टिएका परिवारजस्तो धेरैपछि भेट भएकाहरू साटासाट गरिरहेका छन् मनका कुरा, भन्न बाँकी रहेका चाङ लागेका कुरा बेलिविस्तार लगाउँदै छन् । अतिथिलाई अघि सारेर तस्बिर खिच्नेहरूको अर्को भीड देखिन्छ । रङ्गीचङ्गी पहिरन, उज्यालो अनुहार, उत्साहित जन, सजिएको मञ्च सबैको संयोजनले रौनक थपिएको छ, मानौँ रोल्पा तिहार आगमनको सङ्केत गरिरहेको छ ।

आफ्ना सिर्जना, कृति, सम्पादन गरेका पत्रपत्रिका हातहातमा बोकेर बाँड्नेहरू, यसो कुनातिर बसेर रचना रच्न बल गरिरहेका सर्जक मात्र होइन, कार्यक्रमलाई चुस्त र प्रभावकारी बनाउन लागिपरेका आयोजक परिवार सबै व्यस्त देखिन्छन् । कसैमा पूर्वाग्रहको सङ्केत छैन, ईष्र्या र अहम्को छनक छैन प्रफुल्ल मुद्रामा देखिन्छन् सबका सब । हो यही भीडमा भेटिए निरन्तर गफमा मग्न मान्छेहरू पनि । निर्धारित समयमै आयोजक संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका अध्यक्ष एवं कवि तथा निबन्धकार मोमिला, सहआयोजक ललित साहित्य परिषद्का अध्यक्ष लोक आलोकले संयुक्त अध्यक्षता गरेपछि स्वागत र सत्कारसँगै स्थानीय मयूर नृत्य, स्थानीय विद्यालयका छात्रछात्राका नृत्य प्रस्तुतिबाट कार्यक्रम अघि बढ्छ ।

अध्यक्ष मोमिलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेपछि वाङ्मयिक साधक डा. हरिप्रसाद मानसाग्नीले योग र साहित्यको सन्दर्भमा आफ्नो विचार राखेर साहित्यमा योगको सम्बन्ध र सिर्जनामा यसको अतीत उल्लेख गरेर धेरैको ध्यान आकृष्ट गर्नुभयो । प्रतिष्ठानका उपाध्यक्ष एवं साहित्यकार राजेश्वर कार्कीले आफ्ना पिताको नाममा राख्नुभएको योगेश्वर वाङ्मय पुरस्कार (२०७८) स्थानीय साधक डी.बी. टुहुरे, प्रा. डा. ग्रेगरी जी. मस्कारिनेकले स्थापना गर्नुभएको ग्रेगरी कलासंस्कृति पुरस्कार (२०७८)बाट कलासंस्कृतिमा समर्पित नवीन विभास सम्मानित हुनुभयो । सम्मानित दुवैले मन्तव्य राखेपछि पहिलो सत्रको कार्यक्रमले विश्राम लिन्छ ।

सभाकक्षमा श्रोता दर्शकको ओइरो लाग्ने क्रम जारी नै छ, अबको आकर्षण भनेको सुन्ने सुनाउने– अतिथि एवं स्थानीय कवि कवयित्रीका रचना । मेरो राष्ट्र मेरो ध्येयको उद्देश्यअन्तर्गत सिर्जना उत्सवमा विशेष कविता वाचनको आरम्भ कवि एवं समालोचक महेश पौड्यालले कविताको संरचनागत अनुष्ठानबारे मन्तव्यसँगै कविता वाचन गरेपछि डा. कृष्णराज डीसी, ज्योति जङ्गल, टीकाराम उदासी, सविता दाहाल गौतम, राजेश्वर कार्की, डा. हरिप्रसाद मानसाग्नी, लक्ष्मण गामनागे, ठाकुर बेलवासे, काशीराम डाँगी, सङ्गीता मगर, कमल विवश मगर, दामु मर्सिफुल, क्षितिज मगर, नौलो दीप मगर, टेकेन्द्र जीएमले आ–आफ्ना रचना सुनाउनुभयो । प्रमुख अतिथि एवं वरिष्ठ नाट्यकर्मी, कथाकार, कवि अशेष मल्ल विशिष्ट अतिथि स्रष्टा एवं प्राज्ञ जीवेन्द्रदेव गिरी, नगरप्रमुख पुरण केसी, लोक आलोकको मन्तव्य, अतिथि, सहभागीलाई कदरपत्र, प्रशंसापत्र, मायाको चिनो प्रदान गरेर टुङ्गिएको थियो सिर्जना उत्सव । झन्डै चार घण्टासम्म निरन्तर चलेर कार्यक्रम टुङ्गिँदासम्म दर्शक श्रोता टसमस भएका थिएनन् । हो यस्तै सभा समारोहमा हो कविता सुनाउने र विचार अभिव्यक्त गर्ने ।

झन्डै डेढ दशकको यात्रामा नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले देशभित्र र बाहिर कैयौँ कार्यक्रम गरिसकेको छ, सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म । देशबाहिर पनि साहित्य, कला, सङ्गीतलाई एकसाथ लिएर यात्रा गर्दै आएको छ । अनुवाद, सम्पादन, प्रकाशन, सम्मान, पुरस्कार समर्पण ई–पत्रिका आदिले प्रतिष्ठानले आफूलाई सशक्त रूपमा अघि बढाइसकेको छ । लेख्नेहरू त धेरै छन् तर साङ्गठनिक रूपमा साहित्य कलालाई निरन्तर अघि बढाउने अनुष्ठानमा अहोरात्र लागिपर्ने प्रतिष्ठानको सत्कार्यमा संलग्न भएर चारदिने यात्रा टुङ्ग्याएर फर्केपछि सोचियो– साहित्य कलाको क्षेत्रमा प्रतिष्ठानले गरेजस्तै कार्यक्रम अरूले पनि गरिदिए कस्तो हुने थियो होला । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?