राजन घिमिरे
कोरोनाले शिथिल हुन पुगेको नेपाली चलचित्र क्षेत्रमा आशाका किरणहरू देखिन थालेका छन् । अब भने नेपाली चलचित्र क्षेत्र चलायमान हुने अवस्थामा पुगेको छ । करोडौँ लगानी गरिएका चलचित्रहरू प्रदर्शन नहुँदा लगानीकर्ता पीडामा थिए भने सिनेमा हल बन्द हुँदा धेरैले रोजगारी गुमाएका थिए ।
सरकारले अन्य क्षेत्रजस्तै चलचित्र क्षेत्र र सिनेमा हललाई पनि खुला गर्ने निर्णय ग¥यो । यो निर्णयपछि चलचित्र निर्माताहरूले पनि आफ्नो चलचित्र प्रदर्शनका लागि मिति घोषणा गर्न थाले । यसले चलचित्र क्षेत्र र यस विधासँग जोडिएकाहरूमा उत्साह र उमङ्ग छाएको छ ।
यही मङ्सिर १७ गतेदेखि २०७९ सालको वैशाखसम्म नेपाली चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छन् । अमेरिकामा रहेका गैरआवासीय नेपालीले निर्माण गरेको चलचित्र ‘ओभर डोज’ मङ्सिर १७ गते प्रदर्शनका लागि तयार भएको छ । यसपछि पुस २ गते ‘चपली हाइट–३’ प्रदर्शनमा आउने भएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको यो चलचित्रलाई अर्जुन कुमारले बनाउनुभएको हो भने निकेश खड्का यसका निर्देशक हुनुहुन्छ ।
यसैगरी पुस ९ मा ऋषि आचार्यले निर्देशन गर्नुभएको चलचित्र ‘चुरीफुरी’ प्रदर्शनमा आउने भएको छ । सामाजिक विषयलाई उठान गरिएको चलचित्र ‘चुरीफुरी’ विशुद्ध पारिवारिक र हास्य रसमा निर्माण गरिएको जानकारी निर्देशक आचार्यले दिनुभएको छ । चलाचित्र ‘आकाशे पानी’ले पुस २३ गतेलाई प्रदर्शनको मिति घोषणा गरेको छ । यो चलचित्रमा गौरव पहारी, नीता ढुङ्गाना र विल्सनविक्रम राईको मुख्य भूमिका रहेको छ ।
करिब १८ महिनापछि चलचित्र प्रदर्शनका लागि मिति घोषणा गर्न पाएकोमा चलचित्रकर्मीहरूको मुहारमा खुसियाली छाएको छ । साँच्चै नेपाली चलचित्र बजारमा शुभसङ्केत देखाएको चलचित्र वितरक सुनिल मानन्धर बताउनुहुन्छ । पछिल्लो समय चलचित्र ‘डिसेम्बर फल्स’को नेपालको प्रदर्शन अधिकार किन्नुभएका मानन्धरको भनाइमा सिनेमा हलमा नेपाली सिनेमा हेर्न आउने दर्शकको कमी नहुने उहाँको विश्वास छ । “विविध कारणले प्रदर्शन हुन नपाएर थन्किन बाध्य नेपाली चलचित्र एकपछि अर्को प्रदर्शनका लागि मिति घोषणा हुन थालेपछि नेपाली चलचित्र बजार पहिलेजस्तै तात्ने छ,” मानन्धरको ठम्याइ छ ।
यस्तै सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु–२’ले माघ १९ मा प्रदर्शनको तयारी गर्दै छ भने ‘लप्पन छप्पन–२’ फागुन २३ मा प्रदर्शन हुने भएको छ । यो चलचित्रमा सौगात मल्ल र अर्पण थापा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । निर्देशक सुदर्शन थापाको निर्देशन रहेको अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’ पनि फागुन २७ मा प्रदर्शन हुने निश्चित भइसकेको छ ।
निकै प्रतीक्षा गरिएको चलचित्र ‘ए मेरो हजुर–४’ले चैत २५ गतेको मिति तय गरेको छ । झरना थापाको निर्देशन र सुनिलकुमार थापाको निर्माण रहेको यो चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । निर्देशक झरना थापा भन्नुहुन्छ, “दर्शकको प्रतीक्षालाई निराशा बनाएका छैनौँ । उहाँहरूकै चाहना र रोजाइअनुसार चलचित्र ‘ए मेरो हजुर–४’ बनाएका छौँ ।”
चैत ४ गते महेशबाबु तिमल्सिनाको निर्माणमा रहेको चलचित्र ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आउने भएको छ भने चैत १८ मा ‘पासो’ र चैत ३० मा दीपेन्द्र के. खनालको ‘चिसो मान्छे’को प्रदर्शनको मिति तय भएका छन् । प्रदर्शनका लागि मिति तय गरेका चलचित्रमा चलचित्र वितरक करण श्रेष्ठले वितरण गरेका चलचित्रको सङ्ख्या बढी रहेका छन् ।
यस्तै चलचित्र ‘तिम्रो मेरो साथ’ पनि यतिबेला प्रदर्शनका लागि तयार भएर बसेको छ । कोरोनाको जटिल अवस्थामा पनि छायाङ्कन गरेर चलचित्र ‘तिम्रो मेरो साथ’को काम सकिएको थियो । रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको यो चलचित्रको कार्यकारी निर्मातामा सबिर श्रेष्ठ हुनुहुन्छ । पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सरोज खनाल र सन्दीप क्षेत्री लगायतका कलाकारको यो चलचित्रमा मुख्य भूमिका रहेको छ । “सबै पक्षबाट हाम्रो चलचित्र तयार भएर बसेको छ । नेपाली चलचित्रको यो चलायमान अवस्थालाई ध्यान दिएर हामीले बनाएको चलाचित्र पनि प्रदर्शनमा ल्याउने तयारी गरेका छौँ,” चलचित्रका निर्देशक रमेश एमके पौडेलले भन्नुभयो ।
यीबाहेक अन्य चलचित्रहरू पनि प्रदर्शनका लागि तयार भएर बसेका छन् तर एउटै मितिमा दुई वा तीनभन्दा बढी चलचित्र जुध्न पुगे भने निर्माताहरू आफैँ मारमा पर्छन् । त्यसैले केही चलचित्रले प्रदर्शनको मिति घोषणा गर्न सकिरहेका छैनन् । करिब डेढ वर्षपहिले अभिनय गरेका चलचित्र प्रदर्शन हुन नपाउँदा नाम र दाम दुवै कुराबाट कलाकार पनि वञ्चित भएका थिए ।