logo
२०८१ मंसिर ८ शनिवार



अस्ट्रेलिया टी–ट्वान्टीको पनि बादसाह

शनिवार |


अस्ट्रेलिया टी–ट्वान्टीको पनि बादसाह


प्रजित शाक्य

अस्ट्रेलियाली प्रत्येक पटक आफ्नो टिमले आईसीसीका प्रमुख प्रतियोगिता खेल्दा उपाधिको आशा राख्छन् । अस्ट्रेलियाली क्रिकेट टिम प्रायः आफ्नो समर्थकको अपेक्षामा खरो पनि उत्रिएको छ । एकदिवसीय विश्वकप सर्वाधिक पाँच पटक जित्ने राष्ट्र अस्ट्रेलिया नै हो । अहिले पनि आईसीसी एकदिवसीय विश्वकपको कुरा गर्दा अस्ट्रेलियाको छेउछाउमा पनि कोही छैन । क्रिकेटको सबभन्दा छोटो संरचना टी–ट्वान्टी विश्वकपमा भने अस्ट्रेलिया क्षमता र शैली हुँदाहुँदै पनि सधैँ निराश बन्दै आएको थियो । टेस्ट र एकदिवसीय संरचनामा आफ्नो दबदबा बनाएको अस्ट्रेलियालाई टी–ट्वान्टी विश्वकप ट्रफीले भने सधैँ लोभ्याइरहेको थियो । विश्वकप टी–ट्वान्टीको सातौँ संस्करण सुरु हँुदा पनि अस्ट्रेलिया च्याम्पियन बन्न सकिरहेको थिएन ।

यसपालि पनि अस्ट्रेलियाले विश्व टी–ट्वान्टी क्रिकेटको उपाधि जित्ने विश्वास कमैलाई थियो । विश्वकप उपाधिको प्रमुख दावेदारहरू यस पटक इङ्गल्यान्ड र भारत थिए । यसबाहेक वेस्ट इन्डिजलाई पनि खतरनाक टिमका रूपमा हेरिएको थियो । विश्व क्रिकेटमा ठूलो नाम भए पनि डेभिड वार्नर, मिचेल स्टार्क, प्याट कमिन्स, ग्लेन म्याक्सवेलजस्ता खेलाडीको उपस्थितिबीच पनि अस्ट्रेलियालाई त्यति भाउ दिइएको थिएन । यसका केही कारण पनि छन् ।

विश्वकप खेल्न संयुक्त अरब इमिरेट्समा पाइला टेक्नुअघि अस्ट्रेलियाले पछिल्ला पाँच टी–ट्वान्टी शृङ्खला हारेको थियो । यतिसम्म कि विश्वकपअघि बङ्गलादेशले पनि टी–ट्वान्टी शृङ्खलामा अस्ट्रेलियालाई हराएको थियो । विश्वकप खेल्नुअघि विश्व टी–ट्वान्टी वरीयतामा अस्ट्रेलिया सातौँ स्थानमा झ¥यो । विश्वकपअघि भएको वार्मअप खेलमा भारतसँग पनि अस्ट्रेलिया नराम्ररी हा¥यो । यस्तो फर्मले त्यतिबेला इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलङ्का र बङ्गलादेश सामेल ‘गु्रप अफ डेथ’बाट अस्ट्रेलियाले समूह चरण पार गर्छ भनेर कसैले ठोकुवा गरेर भन्न सक्ने स्थिति थिएन । अस्ट्रेलियाली खेलाडीको मनोबल पनि उच्च थिएन । प्रायः खेलाडी लयबाहिर थिए । केही खेलाडीको त छनोटमै प्रश्न उठिरहेको थियो ।

त्यसैले होला, अस्ट्रेलियाले विश्वकपमा पनि त्यति दमदार सुरुवात गर्न सकेन । पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध दस रनको जितमा पनि अस्ट्रेलियाको ब्याटिङ कमजोर थियो । अस्ट्रेलियाले दोस्रो खेलमा श्रीलङ्कालाई सात विकेटले हरायो । यद्यपि यो टिम तेस्रो खेलमा इङ्गल्यान्डसँग धराशयी नै भयो । अस्ट्रेलियाले राखेको १२६ रनको लक्ष्य इङ्गल्यान्डले दुई विकेटको क्षतिमा ११.४ ओभरमा नै प्राप्त गरेको थियो । यस्तो हार अस्ट्रेलियाका लागि अपमान नै थियो । यो हारले अस्ट्रेलियाको आत्मविश्वास घटाउने अनुमान गरिएको थियो तर उल्टो यो अपमानलाई अस्ट्रेलियाले शक्तिमा परिणत ग¥यो ।

अस्ट्रेलियाले इङ्गल्यान्डविरुद्धको खेलपछि सङ्गठित बनेर च्याम्पियन टिमका रूपमा खेल्यो । त्यसपछि बङ्गलादेश र दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई हराएर सेमिफाइनलमा समूह उपविजेता बनेर स्थान बनायो । सेमिफाइनलमा पुगेपछि त अस्ट्रेलियालाई रोक्न कठिन नै थियो किनकि विश्वकपको नकआउटमा अस्ट्रेलियाको गौरवपूर्ण इतिहास छ । यही विगतलाई कायम राख्न अस्ट्रेलियाले सबै खेल जितेर सेमिफाइनलमा पुगेको पाकिस्तान र फाइनलमा छिमेकी तथा परम्परागत प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हरायो ।
यसरी क्रिकेट पण्डितहरूको सबै अनुमानलाई पछाडि पार्दै अस्ट्रेलियाले आफूलाई विश्व टी–ट्वान्टी संरचनामा पनि विश्व च्याम्पियनको रूपमा प्रस्तुत ग¥यो । अपेक्षा नगरिएको समयमा मिलेको सफलताले अझ बढी खुसी दिन्छ । अस्ट्रेलियाले आफ्ना समर्थकलाई यसपालि यस्तै खुसी दियो– विश्वकप टी–ट्वान्टी सातौँ संस्करणको च्याम्पियन बनेर । विश्वकप टी–ट्वान्टीको उपाधि जित्ने अस्ट्रेलिया छैटौँ राष्ट्र हो । यसअघि भारत (२००७), पाकिस्तान (२००९), इङ्गल्यान्ड (२०१०), वेस्ट इन्डिज (२०१२, २०१६) र श्रीलङ्का (२०१४) विश्व टी–ट्वान्टी च्याम्पियन बनेका थिए ।

अस्ट्रेलियाले उपाधि भिडन्तमा न्युजिल्यान्डलाई आठ विकेटले हरायो । जुन नतिजाले न्युजिल्यान्डको पहिलो पटक विश्व टी–ट्वान्टी च्याम्पियन बन्ने सपना अधुरै रह्यो । न्युजिल्यान्ड सेतो बलको क्रिकेटमा लगातार दोस्रो पटक फाइनलमा निराश बन्यो । दुई वर्षअघि विश्वकप एकदिवसीय क्रिकेटको फाइनलमा इङ्गल्यान्डसँग सुपर ओभरमा कम चौका प्रहार गरेको आधारमा मात्र पराजित भएर न्युजिल्यान्ड विश्व विजेता बन्नबाट वञ्चित भएको थियो । त्यसबेला विश्व विजेता इङ्गल्यान्डको भन्दा न्युजिल्यान्डको बढी चर्चा भएको थियो । क्रिकेट समर्थकहरूको दोस्रो मन पर्ने टिम न्युजिल्यान्ड हो भन्ने भनाइ छ ।

न्युजिल्यान्ड विश्वकपमा सधैँ राम्रो गर्छ । न्युजिल्यान्डले ट्रफी जित्न नसके पनि सधैँ सबैको मन जित्छ । यस पटक पनि त्यस्तै भयो । अन्य टिमको तुलनामा म्याच विनरको कमी भए पनि न्युजिल्यान्डले टिमवर्कका रूपमा खेलेर फाइनलसम्म स्थान बनायो । यद्यपि न्युजिल्यान्ड फाइनलमा अस्ट्रेलियाको हाउगुजीबाट पुनः मुक्त हुन सकेन । सन् २०१५ को एकदिवसीय विश्वकपमा पनि न्युजिल्यान्ड सबै खेल जितेर फाइनलमा पुगेको थियो । त्यतिबेला पनि न्युजिल्यान्डको च्याम्पियन बन्ने सपना अस्ट्रेलियाले फाइनलमा चकनाचुर पारेको थियो । यसपालिको फाइनलमा पनि न्युजिल्यान्डले अस्ट्रेलियालाई खासै चुनौती दिन सकेन ।

त्यसो त यसमा न्युजिल्यान्डलाई लगातार दोस्रो पटक भाग्यले विश्वकपको फाइनलमा ठगेको भन्दा पनि फरक पर्दैन । सन् २०१९ को विश्वकप क्रिकेटको फाइनलमा निकै अकल्पनीय तरिकाले हारेपछि यस खेलमा भाग्यको साथ पनि चाहिन्छ भन्ने नजिर नै स्थापित भएको थियो । यसपालि टसले न्युजिल्यान्डलाई धोका दिँदा भाग्य पुनः उसको साथमा नरहेको देखियो । फाइनल भएको दुबई रङ्गशालाको पिचमा पहिले ब्याटिङ गर्ने टिमलाई ठूलो फाइदा थियो । एसोसिएट राष्ट्रसँगको खेल छोड्ने हो भने सबैजसो खेल दोस्रो ब्याटिङ गर्ने टिमले नै जितेको छ । दुबईको पिचमा राति हुँदै गएपछि मैदान भिज्ने र बलरलाई बलमा ग्रिप गर्न कठिन हुने भएकाले पहिले ब्याटिङ गरेर बनाएको योगफल जोगाउन निकै कठिन बन्ने गर्छ । फाइनल पनि फरक भएन । अस्ट्रेलियाले टस जित्यो र उपाधि पनि । न्युजिल्यान्डका केन विलियम्सनले विश्वकप टी–ट्वान्टीको फाइनलमा सर्वाधिक रन बनाएर चुनौतीपूर्ण लक्ष्य राखे पनि अस्ट्रेलियाले सजिलै खेल जित्यो । त्यसैले यस पटक टी–ट्वान्टी विश्वकपको आयोजना संयुक्त अरब इमिरेट्समा गर्नु गलत थियो भन्ने आवाज पनि उठ्न थालेका छन् ।

कोभिड महामारीका कारण विश्वकप टी–ट्वान्टी संयुक्त अरब इमिरेट्समा आयोजना गर्न बाध्य भएको हो । यसअघि आईसीसीले विश्वकप टी–ट्वान्टीको आयाजना गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिएको थियो । कोभिडका कारण अस्ट्रेलिया विश्वकपको आयोजनाबाट पछि हट्यो । त्यसपछि आयोजनाको अधिकार भारतले लियो । भारतमा पनि कोभिड सङ्क्रमण कम भएन र भारतले आफ्नो आयोजनामै ओमान र संयुक्त अरब इमिरेट्समा विश्वकप टी–ट्वान्टी गर्ने निर्णय गरेको हो ।
ओमानमा प्रारम्भिक चरण र संयुक्त अरब इमिरेट्समा सुपर १२ का खेल भए । हुन त विश्वकप टी–ट्वान्टीमा १८ टिम सामेल थिए । त्यसमध्ये वरीयतामा तल रहेका आठ टिमलाई प्रारम्भिक चरण खेल्नुपर्ने नियम बनाइएको थियो । विश्वकपमा टेस्ट मान्यताप्राप्त र एसोसिएट टिमबीच ठूलो खाडल रहेको हुनाले विश्वकपको रोमाञ्च घट्ने डरले आईसीसीले प्रारम्भिक चरणको प्रावधान अगाडि सारेको तीन संस्करण भइसकेको छ । त्यसैले यसपालि पनि असली विश्वकप सुपर १२ मा मात्र देख्न पाइयो ।

लिग चरणमा इङ्गल्यान्ड र पाकिस्तान उपाधिको प्रमुख दावेदारका रूपमा अगाडि आए । यद्यपि इङ्गल्यान्ड सेमिफाइनलमा न्युजिल्यान्डको धरापमा प¥यो । यो खेल जितेर न्युजिल्यान्डले इङ्गल्यान्डविरुद्ध दुई वर्षअघि विश्वकप फाइनलमा हारेको बदला पनि लियो । पाकिस्तानले पनि समूह चरणमा पाँचै खेल जितेर आफूलाई उपाधिको प्रवल दावेदारका रूपमा प्रस्तुत गरेको थियो । युएईको मैदानलाई पाकिस्तानले लामो समयदेखि घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । यसले पनि युएईको मैदानको पाकिस्तानी क्रिकेटरसँग राम्रो ज्ञान थियो । त्यसैले पाकिस्तान पाँच वर्षदेखि युएईमा अपराजित थियो । पाकिस्तान युएईमा पाँच वर्षपछि विश्वकप टी–२० को सेमिफाइनलमा हा¥यो । सेमिफाइनलमा बेहोरेको हारले पाकिस्तानले उपाधि जित्ने दोस्रो मौका पनि पाएन ।
अन्य दुई उपाधि दावेदार भारत र वेस्ट इन्डिजको कमजोर प्रदर्शनले सबैलाई आश्चर्यमा पारे । भारतको टिमलाई यस पटक निकै बलियो मानिएको थियो तर भारतको चुनौती सुरुका दुई खेलमा पाकिस्तान र न्युजिल्यान्डसँग हारेपछि नै लगभग सकियो । यस कमजोर प्रदर्शनको मूल्य भारतका कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्रीले आआफ्नो पदबाट बर्खास्त भएर चुकाउनुप¥यो ।

पछिल्लो विजेता वेस्ट इन्डिजको टिम पनि म्याच विनरले भरिभराउ छ । यद्यपि वेस्ट इन्डिजले उपाधि रक्षा अभियानमा एक खेल मात्र जित्न सक्यो । वेस्ट इन्डिजले राम्रो गर्न नसकेपछि टी–ट्वान्टीका महान् खेलाडीद्वय क्रिस गेल र ड्वायन ब्राभोले यस संरचनाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास नै लिने घोषणा गर्नुभयो ।
दक्षिण अफ्रिका अभागी टिम सावित भयो । समूह चरणमा पाँचमध्ये चार खेल जितेर पनि दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाउन सकेन तर दक्षिण अफ्रिकालाई रन रेटले मात्र पछाडि पारेर अगाडि बढेको अस्ट्रेलिया च्याम्पियन नै बन्यो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?