logo
२०८१ मंसिर ८ शनिवार



प्यारी दिदी !

शनिवार |


प्यारी दिदी !


दीप्स शाह

अगस्त २८, २०१० जिन्दगीका नरमाइला दिनमध्येको एक थियो । पूरा ३८ दिनको छुट्टी सकेर कर्मथलो (इजरायल) फर्किएको दिन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लोपटक न्यानो र कसिलो अँगालो छुटाएर बाबा–छोरालाई अन्तिम पटक बिदाइका हात हल्लाएर लागेँ सामान चेकइन गर्नतिर । सपनाको मोती टिप्ने अनन्त रहरमा मजस्तै लामबद्ध थिए अनगिन्ती नेपाली छोराछोरीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बहिर्गमन विभागमा । फेरि पछाडि फर्केर हेरेँ बाबाछोरा अझै सिसामा आँखा टाँसेर मलाई हेरिरहेका थिए । मान्छे कति लाचार र विवश हुन्छ उप्m ! यो विछोड आफैँले निम्त्याएको भए पनि अत्यावश्यक र हृदयविदारक दुवै थियो । मन थाम्नै सकिनँ । आँखाबाट भेल छुट्यो । आँसुले लाज नमान्दो रहेछ । मैले रोक्दारोक्दै उसले फालहाल्यो गालाको बाटो गरी । पछाडि उभिएका नेपाली दाइभाइले सोधे, “तपाईं कहाँ हिँड्नुभएको ?” मेरा शब्द लुप्त थिए आँसुको सामुन्ने । बोल्न सकिनँ, केवल पछाडि फर्केर हेरेँ, मलाई भक्कानिएको देखेर मुखामुख गरेर चुप लागे । फेरि सोधेनन् ।
त्यत्तिकैमा हस्याङफस्याङ गर्दै एउटी नेपाली दिदी आइपुगिन् । हेरेँ, उनको पनि गालामा आँसुको टाटो थियो । कसैले सोध्यो दिदीको गन्तव्य । जवाफ आयो,

“लेबनान !” म चनाखो भएँ । दूरदेशको सवालमा आफ्नोपनको कस्तो अनुभूति ! म इजरायल हिँडेको उनी लेबनान । सिमाना जोडिएका दुई दुश्मन देशमा हामी काम गर्दा रहेछौँ । तैपनि मेरो नजिकै दिदी काम गर्दी रहिछन् भनेर एकखालको न्यानो आत्मीयताको आभास भयो मलाई उतिखेरै । बोल्ने बहानामा परिचय गरेँ । दिदी फेरि एकछिन हराइन् । श्रममा दर्ता नगरेको भनेर एकछिन दिदीलाई दुःख दिएछन् अनि फेरि पाँच हजार रुपियाँ तिरेर मिलाएर आएँ भन्दै फेरि मेरै नजिक आइन् । तबसम्म इजरायल फर्किन लागेका अरू तीन जना नेपाली दिदीबहिनी पनि जम्मा भए । बिस्तारै आँखाको आँसु ओभाउँदै गयो । बाबाछोरा फर्किसकेका थिए । उही परदेश, पैसा र एकाकीपन गम्न थालिसकेको थियो मनले । नेपालदेखि जोर्डनसम्मको सँगै यात्रा गर्ने हामी पाँच जना थियौँ । खुसी लाग्यो ।
जहाज पर्खुञ्जेल हामीबीच धेरै कुराकानी भए ।

लेबनान जाने चाहिँ दिदी एक्लै थिइन् । दिदीले धेरै कुरा सोधिन् । हामी चार जनासँगै एकै देश हिँडेका हुँदा दिदीले हामी इजरायल पुगेर एकअर्कासँग भेट हुन्छ कि हुन्न भनेर जान्न चाहिन् । जब हामीले हाम्रा कुरा बतायौँ दिदी अचम्मित बनेर सुनिरहेकी थिइन् । हामी इजरायलमा पनि प्रायः सबै साथी भेटिन्छौँ । हरेक सप्तान्तमा लगभग २६ घण्टाको छुट्टी मिल्छ । छुट्टी मनाउन साथीसाथी मिलेर अपार्टमेन्ट लिएका हुन्छौँ । यदि सप्तान्त जान मिलेन भने त्यसको छुट्टै ओभरटाइम पैसा पाइन्छ । चाडपर्वका अवसरमा वर्षमा नौ दिन छुट्टी हुन्छ आदि भन्दा दिदी आँखा ठुल्ठूला पारेर अपत्यारिलो हेराइ हेरिरहिन् । उनका अनुसार लेबनानमा दुई वर्ष काम गरेर छुट्टी मनाउन नेपाल फर्केको रे ! अनि फेरि अहिले काममै फर्किन लागेको रे । घरमा रोगी श्रीमान् र सानो छोरो छ रे । अरू दुई ठूला छोराछोरी आफ्ना परिवारसँग अलग्गै बस्छन् रे ! दुई वर्ष काम गर्दा जम्मा दुई दिन छुट्टी मिलेको थियो रे ! वर्षभरिका बाँकी ३६३ दिन नै काम गरिन् रे ! तलब कति भनेर भनिनन् तर निकै कम्ती छ भनिन् । आफ्नी साहुनीसँग बाहेक बाहिर निस्कनसमेत मिल्दैन रे ! घरमा फोन सम्पर्कसमेत गर्न मिल्दैन रे ! तीन÷चार महिनामा कुनैकुनै बेला भाग्य जुर्न सक्छ रे ! बरु बेलाबेलामा चिठी पठाउँछिन् रे ! लेबनानमा अरू पनि धेरै घरेलु कामदार त होलान् तर कहिल्यै कसैसँग देखभेट हुन्न रे ! “तपाईंहरूलाई त कति मज्जा रहेछ, घरमै भएजस्तै । विदेशको अनुभव पनि गर्न नपर्ने” भन्दै दिदी आफ्नो कुरा गर्दै बेलाबेला टोलाइरहिन् । खोइ किन किन मलाई निकै आत्मीयताको महसुस भइरहेथ्यो दिदीसँग ।


मुस्किलले मेरी आमाभन्दा केही वर्ष सानी लाग्ने ती दिदी केही सानो रकमका लागि, आफ्नो परिवारका लागि नितान्त कैदी जिन्दगी बाँच्छिन् लेबनानमा । काखमा नातिनातिना खेलाएर घरको फलैँचामा आराम गर्न पाउनुपर्ने बेलामा दिदी कमाइ गर्न बत्तिँदै थिइन् दूरदेशतिर । फेरि त्यहाँ कामको प्रकृति र छुट्टीको कसिकसाउ कुरा सुनेर मसँगका अरू साथी पनि छक्क परे किनकि इजरायलमा नेपालमा भन्दा पनि आनन्द र सुरक्षित वातावरण छ । अनि नियमबमोजिमको सुविधा भोगिरहेकाहरूलाई दिदीको वृत्तान्त एकदमै अनौठो लागिरहेको थियो ।


मान्छेलाई कति भए पुग्ने होला ! हप्तामा कम्तीमा तीन या चार पटक फोनमा लामो कुरा, दिनदिनैजसो अनलाइनमा देखभेट गर्दा पनि आफूलाई कति दुःख र एक्लो महसुस हुन्छ भने ती दिदी विचरी ! मैले भनेँ, “दिदी फोन गर्न त सम्भव रै’नछ तपाईंसँग त, इन्टरनेट सुविधा पनि रहेनछ । यो मैले लेखेको कविताको किताब हो, लैजानुहुन्छ ? सम्झनाका लागि ?”


दिदीले झम्टेर मेरो कविता सङ्ग्रह ‘आगो’ हातबाट तान्दै भनिन्, “हुन्छ नि बहिनी ! म तपाईंका कविता पढ्दै सम्झने गर्छु । भेट त जिन्दगीमा फेरि जुरेको छ कि छैन कुन्नि !” यति भनिरहँदा दिदीका आँखा सजल भए । मेरा हात पनि थर्थराउँदै दिदीका हात समात्न पुगे । जहाजमा पनि हामी केही सिट यताउता परेछौँ । बेलाबेलामा मुन्टो बटार्दै कुरा गरिरह्यौँ । काठमाडौँबाट दोहा–जोर्डन हुँदै हामी आ–आफ्ना गन्तव्य पुग्नुपर्ने । मलाई एक खालको सन्तोष नै मिल्यो कि दिदीसँग जोर्डनसम्म सँगै जान पाउँदा । जहाजमा शौचालय जाँदा पनि दिदी मलाई बोलाउनुहुन्थ्यो । ट्रान्जिटमा पनि हामीसँगै रहन्थ्यौँ । खाजा पनि सँगै खायौँ । जब जोर्डनको राजाधानी अम्मानको विमानस्थलमा जहाज ओर्लियो अनि दिदी र मेरो श्वास एकसाथ बढे । हामी केही घण्टाअघि मात्रै भेटिएर पनि असाध्यै नजिक बनिसकेका रहेछौँ । आफ्नो प्राणप्यारो राजा, मुटुको टुक्रा छोरा, प्यारी आमा, न्यानो घर र सिङ्गो देश छोडेर माइलौँ टाढा बत्तिसकेको मान्छे ।


केही समयअघि मात्र भेट भएर चिनजान भएका हामी छुट्टिनुपर्दा मानौँ दुई प्रेमी–प्रेमिकाको हठात् बिछोड हुनलागेको जस्तो भइरहेको थियो । अम्मान विमानस्थलमा मात्र एक घण्टाको बसाइपछि हामी इजरायल उडिहाल्नुपर्ने । हतारहतार एक बोतल पानी किनेर दिदीको हातमा थमाएँ, दिदी केही घण्टा त्यहीँ रहने थिइन् । “इजरायल तेलअभिभ !” भन्दै हामीलाई बोलाउन लागिसकेकाले दिदीसँग सायद अन्तिमै पटक छुट्नैपर्ने समय आयो । अनायास मैले दिदीलाई अँगालो हालेँ र घुँक्कघुँक्क गर्दै रोएँ । दिदीका पनि रोएर नाकबाट पानी बग्न भ्याएछ । यता मेरा साथीहरू लम्किसकेका थिए । हतारहतार अन्तिम पटक दिदीका हात आफ्ना दुवै हातले बेस्सरी समातेर बिस्तारै छुट्टिएँ ।

म तपाईंलाई सम्झिरहनेछु भन्दै दिदीले मेरो ‘आगो’ कविता सङ्ग्रह उचालिन् । म बत्तिएँ साथीहरूसँगै ।
आज त्यसरी ती अपरिचित दिदीसँग भेटेर रुँदै छुटेको धेरै वर्ष बितेछ । थाहा छैन दिदीले मलाई सम्झन्छिन् कि भुलिन् तर एउटा यात्रामा भेटिएकी एक अपरिचित तर साह्रै प्यारी ती दिदी मेरो स्‍मृतिमा आइरहन्छिन् बेलाबेलामा । दिदीको त्यो हल्का धर्सा देखिन लागेको अनुहार, अग्लो कद अनि मिठो बोली म शायदै कहिले बिर्सुला । छुट्नुअघि दिदीको बाफिएका हातको न्यानो स्पर्श मलाई अझै पनि महसुस हुन्छ । मेरो स्‍मृतिमा सधैँसधैँ रहनेछिन् यात्रामा भेटिएकी ती प्यारी दिदी ! 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?