हरिहर तिमिल्सिना
समाजका नयाँ नयाँ विषयवस्तु उधिनेर आख्यान उन्न सफल हुनुहुन्छ अनन्त वाग्ले । नेपाली बालसाहित्यको मैदानमा उहाँको उपस्थिति सघन एवं घनीभूत छ । उहाँका बालसाहित्यका दर्जनौँ कृति नेपाली बालबालिकाको मनमस्तिष्कमा प्रभाव जमाउन सफल छन् । उहाँले किशोर समुदायको भावनामा आधारित भएर रचेको ‘यार्चा’ले राम्रै चर्चा बटुल्यो । विद्यालय बन्द गरेर यार्चा टिप्न जाने लर्कोमा मिसिएका हिमाली बाला र युवाको रोमाञ्चक कथा यार्चामा समाहित छ । यसैबाट हौसिएका अनन्त ‘कदम’ नामधारी उपन्यास लिएर पाठकमाझ आउनुभएको छ ।
अभिधात्मक रूपमा हेर्दा कदम भनेको पाइला हो, यात्रा हो या कुनै गन्तव्य हो । लाक्षणिक रूपमा हेर्दा कदमका अनेक अर्थ लगाउन सकिन्छ । अनन्तले यस कृतिमा कदमलाई एउटा सिङ्गो फिरन्ता समुदायमा देखापर्न थालेको बाह्य प्रभाव र रूपान्तरणको यात्रालाई कदमका रूपमा सङ्केत गर्नुभएको छ । कदमको विषयवस्तु लोभलाग्दो छ । यसमा नेपाली माटोको अग्र्यानिक स्वाद पस्किन उहाँ सफल हुनुभएको छ । जङ्गल जङ्गल चहार्ने, सिकार खेल्ने, घर नबनाउने, नपढ्ने, जडीबुटीबाहेकको स्वाथ्य उपचार नगर्ने अनि आधुनिकताबाट टाढा रहेर प्राकृतिक रूपमा जिउन चाहने राउटे समुदायको सिङ्गो कथा यसमा छ ।
यस उपन्यासको मुख्य पात्रको नाम नै कदम हो । राउटे समुदायभित्र पनि नारीमाथि दमन छ । नारी र पुरुषमाथि विभेद छ । जङ्गलमा होस् या आधुनिक सहरमा । बोक्ने, ब्याउने र आफ्नो मुटु रित्तिने गरी सन्तान स्याहार्ने अभिभारा नारीकै छ । छोरा जन्मिएपछि खुसी मनाउने (कु) चलन राउटे समुदायमा पनि छ । कदम जन्मिएकै क्षण उसका महतारीहरू उसको जाँघ फट्याएर ट्वाका (पुरुष जनेन्द्रिय) हेरेर खुसी भएको पलबाट कदमको जीवन यात्रा सुरु हुन्छ । जङ्गली जीवजन्तुको भन्दा अलिकति मात्रै भिन्न तरिकाले उसको जीवनरथ अगाडि बढ्छ । नाङ्गा, भोका, रोगी र कुपोषित राउटे बालकका साथमा उसको जीवनको पूर्वाद्र्ध ढल्किँदै जान्छ । आठ÷नौ वर्षको उमेरमा चट्याङ लागेर उसका बाउ घोधनेको मृत्यु हुन्छ । त्यसपछि उसकी विधवा आमाले भोग्ने प्रताडना पनि कम्ती कारुणिक छैन ।
जस्तोसुकै दुःख भए पनि आफूलाई जङ्गलको राजा हौँ भन्ने राउटेहरू कुरा गर्न कसैसित दब्दैनन् । सोझा, सीधा र निडर राउटेहरू आफ्नो अस्मितासित खेल्न आउनेसित जाइलाग्न पनि पछि पर्दैनन् । फिरन्ता हुनु र जङ्गली हुनुलाई यिनले आफ्नो जीवनको एक मात्र उपलब्धिका रूपमा गर्वानुभूत गर्दै आएका छन् । यस्तो जडबत चेतना चिर्न शिक्षा र स्वाथ्यका एजेन्डा बोकेर विकासे कार्यकर्ता बेलाबेलामा राउटे बस्तीमा झुल्किने गर्छन् । जङ्गलबाट यदाकदा गाउँ छिर्दा आफूजस्तै बालकरू सुकिलामुकिला लुगा लगाएर किताबकापीका झोला बोकी स्कुल गएको दृश्यले कदमको मन पनि लोभिन्छ । ऊ पढ्ने कल्पना गर्छ । कल्पना मात्रै गदैन, आफ्नो यो दुर्गम रहरलाई मुखियासामु पस्किन्छ पनि तर मुखियाको जवाफ हुन्छ – ‘‘राउत्या पध्दैन । पध्ढ्या भन्याको दुनियाँको काम हो । राउत्याले पध्ढ्यो भन्याँ दुँन्न्या क्या अर्च ?
पुर्खाले नगरेको काम गर्दा पुर्खा रिसाएर अनिष्ट हुन्छ भन्ने राउटेहरूको विश्वास हो । कदमजस्ता पढ्न चाहने केटाकेटीलाई जङ्गलमा लुकीलुकी अक्षरको संसारमा विचरण गराउने काम शिखर र भद्रिका नामक पात्रले गर्छन् । कदमको सुरुको सपना त्यति ठूलो छैन । ऊ पढेर खलासी बन्न चाहन्छ । खलासी भइयो भने सहर सहर घुमेर नयाँ नयाँ मानिस भेटेर मिठो मसिनो खाएर देश दुनियाँका कुरा बुझ्न पाइने रहरको टुसा उसको मनमा उम्रिएका छन् । यस्तै प्यास बोकेर कदम पढ्छ । पढाइको प्यासका अलावा आफ्नो समुदायका स्वच्छन्द गतिविधि र दैनन्दिनीलाई पनि अरू राउटे जसैगरी फुक्काफाल भएर पूरा गर्छ ।
एक रात रक्सी खाएर आगो बाल्दै रमाइरहेका राउटे युवा झ्याप भएर दन्दनी बलेको आगोको नजिक भएर निदाउँछन् । कदमको जिउमा आगो सल्किन्छ । उसको हात पूरै डढ्छ । हुँदा हुँदा पाकेर कीरा पर्छ । कर्मा र दमयन्ती दिदीले काठमाडौँमा उसको उपचार गर्छन् । अस्पताल गएर उपचार गराउने राउटे सम्भवतः कदम नै पहिलो होला । उसले सहरी रमझम र विकासका झिल्का देख्न पाउँछ । निको भएर फर्किएपछि पनि आफ्नो सपनालाई पछ्याउन ऊ छोड्दैन । बाहिरी दुनियाँसित घुलमिल हुने अभिप्रेरणाले ऊ खलासी बन्छ, ड्राइभर बन्छ । देश दुनियाँ देख्छ । आफूलाई चिन्छ । जङ्गलमा ढुङ्गामुढा गुडाउने कदम सहरमा पजेरो गुडाउने बन्छ ।
कदम पूरै आधुनिक मानव बन्न पुग्छ । एउटा शिक्षित, सुपठित र योग्य व्यक्तिको सूचीमा आफूलाई दर्ज गराउन कदम सफल देखिन्छ । अन्तर्राष्ट्रिय फिरन्ता सम्मेलन नेपालमा गराउन उसले धेरै ठूलो पहल गर्छ र सफल पनि हुन्छ । कदममा आएको उदात्तीकरण र सशक्तीकरणले राउटेको अर्थसामाजिक रूपान्तरणको पक्षपोषण गरेको छ । राउटे समुदायलाई पर्यटनसित जोडेर आयआर्जन गर्न सकिने मत लेखकले व्यक्त गरेका छन् । कदमले काठमाडौँको अनामनगरमा राउटे रेस्टराँसमेत खोलेको परिकल्पना बुनेर पाठकलाई विषयवस्तुमा तानिरहन अनन्त सफल हुनुभएको छ ।
काठमाडौँ पब्लिकेसनले छापेको पुस्तकको आवरण सुन्दर छ । तीन सय बाह्र पेजमा बाँधिएको पुस्तक अद्योपान्त पाठकलाई बाँधिराख्न सफल देखिन्छ । पात्र, परिवेश, संवाद, द्वन्द्वको राम्रो परिपाठ मिलेको छ । अनन्तको शक्ति भाषा पनि हो । कतैकतै त हुरुक्कै पार्ने सूक्तिपूर्ण एवं श्रुतिमधुर वाणी निकालेका छन् । ‘जन्मँदा नाम हुँदैन तर सास हुन्छ अनि मर्दा सास हुन्छ तर नाम हुँदैन ।’ यस्ता अभिव्यक्तिले झ्याप्पै दिल छुन्छन् । यति हुँदाहुँदै पनि किताबमा खड्किने एकाध कुरा छन् । जङ्गलमा हुर्केको एउटा राउटे युवा कुनै ख्यातिप्राप्त विश्वविद्यलायबाट दीक्षित भएको व्यक्तिझैँ वाचाल देखिन्छ । उसो त पाठकलाई चित्त बुझाउने रेडिमेड बाटो पनि छँदैछ । खासमा यो कदमको कदम होइन, अनन्त वाग्लेको कदम हो । उहाँको यो कदमले धेरै लामो फड्को मार्न सकोस् भन्ने हार्दिक शुभेच्छा ।