तेजेश्वरबाबु ग्वंगः
सायद म जस्ता महरू(हामीहरू)का
अल्याख महरू
घरघरमा, टोलटोलमा, सडकसडकमा
गल्ली, गोरेटोहरूमा
घरैघरसित, टोलैटोलसित, सडकै सडकसित
गल्ली, गोरेटोहरूसित
सन्किएका छन्, विक्षिप्तिएका हुन् ।
युग सन्किएका छन्, विक्षिप्तिएका छन्
युगसितका मजस्ता महरूका
करोडौँ करोड महरू
पूर्व, पश्चिम, उत्तर, दक्षिण,
इशान, आग्नेय, नैऋत्य र बायव्य,
अनि आकाश र पातालहरू –
सन्कीहरूका सनक सन्काहा श्वासहरूले
ठस्ठसिएका छन्, वायुमण्डल दूषित छन् ।
युगको युगवाणी जुट्नु कहाँ कहाँ ?
मुरली मुखरिनु कता कता
वाणी युगीनु साटो
मुरली मकैझैँ मात्र फुर्रिरहेछन् –
देख्दा सुरभित तर ओजन बिनाका
हाँडी, ताप्के, फ्राइ प्यान र प्रेसर कुकरभित्र
पररर ... पररर ... पड्केर, पड्काएर आफँैलाई ।
एक दुई मकैहरू उछिटिन्छन्
बाहिरिन्छन्, भुइँमा पर्छन्, चिसिन्छन्
राप र तातोपन सेलाउँछन् – उष्ण बिहिन,
मानौँ उष्ण र न्यानो राप उनका आफ्नै होइनन् –
छैनन् पनि न्यानोपन रत्ति आफ्नै उनका अन्तरालबाट उस्केका;
छन् भने केवल ती सबै –
मात्र हाँडी, ताप्के, फ्राइ प्यान र प्रेसर कुकरे रापका चापहरू !!!
कतिञ्जेल खपिएलान् ... ?
कहाँसम्म खेपिएलान् ... ?
हाँडी, ताप्के, पे्रसर कुकरका रापमा फुरेका
मुरली मकैका दानाहरू यी ... !!!
अवधि नाघेर अझै तिनमै नङ्ग्रिने रहर बोकाइहरू
डढिने छन्, सेतोबाट कालिने छन्, स्वादिलोबाट
बेस्वादिलो बन्नेछन् – झुरझुर झुर्रम –
हाँडी, ताप्के, प्रेसर कुकर र फ्राइ प्यानका
मुरली मकैहरू,
अथवा आँट र अठोट विनाका
यी फुरनदानाहरू सेलाउनेवित्तिकै
केलाउनै नपर्ने गरी भोकाएका
मजस्ता महरूका जमात जमात महरूले
चमचम चपाएर निल्नेछन्
मात्र फुर्र फुर्ने मुरली मकैका दानाहरू ... !!!