logo
२०७९ श्रावण ३१ मंगलवार



आख्यानमा दसवर्षे युद्ध

शनिवार |


आख्यानमा दसवर्षे युद्ध


वसन्त पराजुली

प्रगतिवादी कविका रूपमा स्थापित सिर्जन अविरलको पहिलो औपन्यासिक कृति हो ‘मोक्ष’ । माओवादीले सञ्चालन गरेको दसवर्षे सशस्त्र सङ्घर्षको कथा पनि हो ‘मोक्ष’ । रेडियोकर्मी अविरलले द्वन्द्वकालका कहरहरूलाई यस उपन्यासमा उतार्नुभएको छ ।
माओवादीको सशस्त्र युद्धलाई आदित्यका बाबुले सहयोग गर्छन् तर सञ्चारकर्ममा रहेका आदित्य अर्थात् म पात्रले भोगेका, देखेका र सुनेका कुरामा नै मोक्षको मुख्य कथा अगाडि बगेको छ । केही अनुभव, केही संस्मरण र केही पात्रकै मुखबाट बकाएर उपन्यासको कथालाई रोचक बनाउने प्रयास गरिएको छ ।

माओवादी युद्धमा सामेल भएर ठूल्ठूला युद्ध जितेको आविष्कार, इच्छा जस्ता छापामार शान्ति प्रक्रियामा आउँदै गर्दा अयोग्य घोषित भई सेना संमायोजनमा नपरेकै कुराबाट कथाको सुरुवात गरिएको छ । सांस्कृतिक मोर्चा समालेकी शारदाको भने दुःखान्त हत्या हुन्छ । इच्छा र विद्रोहको युद्धकालमै प्रेमपछि विवाह हुन्छ । विद्रोहको पनि युद्धमा मृत्यु हुन्छ । शान्ति प्रक्रियामा आउँदै गर्दा पति वियोगमा रहेकी इच्छा र शिक्षक देवबीच अङ्कुरण हुन नसकेको प्रेम पनि देखाइएको छ । माओवादीलाई सहयोग गर्ने आदित्यका बाबुले भागेको यातना र जेलजीवन, युद्धको विरोध गर्दै आध्यात्मिक माध्यमबाट शान्ति खोज्ने आमा, आफ्नै बहिनी युद्धमा गुमाएर पनि युद्धप्रति मौन रहेका शिक्षक देवकै वरपर उपन्यासको कथा घुमेको छ ।

उपन्यासको अन्त्यमा धेरै हण्डर खाएको आविष्कारले जीवनदेखि हरेस खाएर आत्महत्या गर्छ । बाबु जेलबाट छुट्छन् । खुट्टामा गोली लागेकी अयोग्य छापामार इच्छालाई अध्यात्मतर्फ आकर्षित गराएर बौद्ध मार्गी बनाएर ‘मोक्ष’ शीर्षकलाई सार्थक बनाइएको छ ।
युद्ध कथा लेख्नु आफैँमा चुनौती हो तर यसमा उपन्यासकार सफल देखिन्छन् । भाषा र लेख्ने शैली कलात्मक र काव्यात्मक छ । जस्तै ‘सबैभन्दा भयानक युद्ध हो, आफैँसँग लड्ने युद्ध । आफ्ना असफलता, अनेक कमजोरी र मनको रागसँग लड्ने युद्ध । मृत्युपछि मात्र सकिन्छ युद्ध ।’ (पृष्ठ २३१)
‘चौरासी लाख जीवमा सबैभन्दा दुःखी प्राणी मानिस नै हो पृथ्वीको । नाम, पद र पैसाले नपुग्ने जीव । कमाएर पनि खुसी हुन नसकेको अजीव प्राणी ।’ (पृष्ठ १५०)

प्रेम र युद्धमा मानिस बुझेर पनि बुझ पचाइरहेको छ । उपन्यासले प्रेम र युद्धलाई मानिस बाँचुञ्जेल कहिल्यै हार नखाने कुरा भनेको छ । जसलाई राम्रो पक्ष मान्नुपर्छ । माओवादी युद्धदेखि क्यान्टोनमेन्ट यात्रासम्ममा देखिएका विकृति, विसङ्गति र माओवादी सशस्त्र युद्धमा देखिएको विचलनजस्ताको तस्तै देखाउन सक्नु पनि उपन्यासको सबल पक्ष हो । उपन्यासको अर्को बलियो पक्ष आध्यात्मवाद हो । आध्यात्मवाद, परिवर्तनको बलियो हतियार हो भन्ने कुरा उपन्यासकी मुख्यपात्र इच्छालाई बौद्धमार्गी बाटोमा हिँडाउनु, उपन्यासकी आमा पात्रमार्फत धर्म, आस्था र विश्वास देखाउनुले स्पष्ट गर्छ । आध्यात्मवादले खुसी हुन सिकाउने कुरा उपन्यासमा यसरी देखाइएको छ– ‘आजको खुसी हराएर भोलिका लागि बाँच्ने प्राणी हो मान्छे । सायद यो भोलि कहिल्यै नआउने भएर सधँै दुःखको घेरामा छ ।’ (पृष्ठ १६४)

‘मानिस दुःखमा जन्मन्छ, दुःखमै हुर्किन्छ र दुःखमै मर्छ । कोही सुखी छैन यो दुनियाँमा । सबै नाटकीय जीवन बाँचिरहेका छन् । आध्यात्मिक यात्राभन्दा अर्को यात्रा छैन सुखको । धन, नाम र पदका पछि दगुर्दादगुर्दै अवसान हुन्छ मानिसको । भौतिक दुनियाँमा बाहिर हाँसिरहेको मानिस रोइरहेको छ भित्र । कमाइरहेका मानिस सबैभन्दा गरिब । खाइरहेको मानिस सबैभन्दा भोको । अर्कै रहेछ सुखको यात्रा । दुःखको यात्रामा दगुरेर सुख खोज्नु भौतिक दुनियाँमा सबैभन्दा ठूलो व्यङ्ग्य मात्र ।’(पृष्ठ १०१)
उपन्यासमा पाठकले जनयुद्धसम्बन्धी केही नयाँ तथ्य त अवश्य पाउने नै छन् । ऐँचोपैँचो, मेलापर्म जस्ता मौलिक भाषा प्रयोगले उपन्यासलाई जीवन्त बनाएको छ । उपन्यासमा दोस्रो विश्व युद्ध लडेका सुयोगवीर र सशस्त्र युद्ध लड्ने इच्छाबीचको तुलना गरिएको छ । विश्व युद्ध लड्दा सुयोगवीरलाई गौरव भएको तर जनयुद्धपछि इच्छालाई गहिरो पीडाबोध भएको देखाइएको छ ।

‘यहाँ त राजनीति हुन्छ । राजनीतिभित्र पनि गरिबीमा राजनीति, बेपत्ता र शहीद परिवारमा राजनीति, सत्ता र लडाकुको भत्तामा राजनीति, बेकार छ यस्तो राजनीति ।’ (पृष्ठ १९७)
उपन्यासमा थप सुधार गर्न सकिने ठाउँ पनि रहेको छ । आविष्कारलाई आत्महत्या गर्न बाध्य गराउनु उपन्यासको कमजोरी हो । आत्महत्या गराउँदा पात्रप्रति पाठकको दया पलाउला तर के सोचेको काम नभएमा आत्महत्या गर्नै पर्छ र ? यसले पाठकमा निराशावाद पैदा गर्छ । यसमा लेखकको ध्यान नपुगेकै हो । त्यस्तै देवको परिचय दुई ठाउँमा आवश्यक थिएन कि ? अनि बीबीसीको साझा सवाल रेकर्डिङको व्याख्या लामो गरिएको छ । यो त्यति आवश्यक थिएन । उपन्यासको भाषा सबल छ । निकै सुन्दर र कलात्मक छ तर अझै सुधार गर्न सकिने ठाउँ छन् । केही भाषागत र प्राविधिक त्रुटि पनि रहेका छन् ।

दस वर्षे युद्धलाई सूक्ष्म रूपमा नियालेर तयार पारिएको उपन्यास हो ‘मोक्ष’ । यो पठनीय छ । कलात्मक छ । काव्यिक पनि छ । कवितामा अब्बल भएजस्तै सिर्जनलाई उपन्यासमा पनि यसले अब्बल बनाउने कुरामा दुईमत नरहला । माओवादी द्वन्द्वसँगै जोडिएर मदन पुरस्कार प्राप्त नारायण वाग्लेको पल्पसा क्याफे र राधा पौडेलको खलङ्गामा हमला अनि चितवनकै अमर न्यौपानेको अर्को शक्तिशाली उपन्यास सेतो धरती लेखिएका छन् । यस लहरमा ‘मोक्ष’ पनि आएको छ । मोक्षमा युद्ध दर्शन छ । जीवन दर्शन छ । अनि बौद्धदर्शन नै जीवन हो भन्ने पनि देखाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?