logo
२०८१ बैशाख २० बिहीवार



प्रेमराजाको माया बन्दीपुरैमा

शनिवार |
मनोरञ्जन |


प्रेमराजाको माया बन्दीपुरैमा


राजन घिमिरे

प्रेमराजा महत नेपाली लोकगीत क्षेत्रका ‘ब्रान्ड’ हुनुहुन्छ । विदेशमा रहँदा पनि उहाँले नेपाली लोकगीत विधामा पु¥याएको योगदान प्रशंसायोग्य छ । विगत २५ वर्षदेखि उहाँ अमेरिकामा बस्दै आउनुभएको छ । अमेरिकामा नेपालीहरू माझ मात्र होइन, विदेशीहरू माझ पनि उहाँको उत्तिकै शान–मान छ ।
यतिबेला उहाँ नेपालमा हुनुहुन्छ । जब उहाँ नेपाल रहनुहुन्छ तब केही न केही लोकगीत तथा सङ्गीतको सिर्जनामा अभ्यस्त भइहाल्नु हुन्छ । यस पटकको नेपाल आगमनमा पनि उहाँले आफ्नो त्यो विशेषतालाई छोड्नु भएन । ‘‘मेरो रगत–रगतमा छ नेपाली लोकगीत सङ्गीत । जीवनपर्यन्त यो विधालाई छोड्न र यो क्षेत्रबाट टाढा हुन सक्दिनँ”, उहाँले भन्नुभयो ।
अमेरिकाको मेरिल्यान्ड र पेन्सलभेनिया राज्यको महावाणिज्य दूत पनि हुनुहुन्छ उहाँ । अमेरिका पुगेका नेपालीहरू कुनै कारणले अफ्ठेरोमा परे भने सघाउन उहाँ तयार हुनुहुन्छ । यस्ता समस्याको समाधानमा उहाँले पु¥याउनुभएको भूमिकाको नेपालीहरूले प्रशंसा गर्ने गरेका छन् ।
बन्दीपुरैमा माया बन्दीपुरैमा
पिरिम बसी गो कुरै कुरामा
यस पटकको नेपाल आगमनमा गायक महतले नेपाली लोकगीत सङ्गीतको क्षेत्रलाई यो गीत उपहारस्वरूप प्रदान गर्नुभएको छ । गीतको भिडियोमा गायक महतसँगै मोडल रञ्जिता गुरुङको पनि अभिनय रहेको छ । भिडियोलाई अर्का लोकगीत सर्जक नारायण रायमाझीले निर्देशन गर्नुभएको छ । गायनमा प्रेमराजा महतलाई गायिका शान्तिश्री परियारले साथ दिनुभएको छ ।

पानको पात माया तिम्लाई
सम्झन्छु दिनको रात
नेपाली लोकगीतको विधामा कालजयी सिर्जना मानिने महतको यो गीत तीन पुस्ताले गाइसक्यो, सुनिसक्यो । अनि यो गीतमा झुमिसक्यो । आज पनि यो गीतको उचाइ, चर्चा र वजनमा ह्रास आएको छैन । महत भन्नुहुन्छ, ‘‘मेरो पहिचान नै यो गीत हो । म जहाँजहाँ जान्छु, त्यहाँ त्यहाँ मेरो शान र मान बढाएको छ यो गीतले ।’’ करिब ४० वर्ष अगाडि रेकर्ड भएको यो गीतले त्यतिबेला क्यासेटको चक्का बिक्रीमा रेकर्ड नै राखेको थियो । गायक महत विगततिर फर्कंदै भन्नुहुन्छ, ‘‘त्यतिबेला आजको जस्तो प्रविधि थिएन । हाम्रो कमाइ भन्नु नै कति वटा चक्का बिक्री भयो भन्ने थियो । त्यो समयमा लाखौँ कपीभन्दा बढी बिक्री भएको थियो ।’’
पानको पातपछि प्रेमराजालाई नेपाली लोकगीत सङ्गीत क्षेत्रमा नाम र दाम दिने अर्को गीत हो–
सिमसिमे पानीमा,
ज्यानले बेमान गर्छ कि
जिन्दगानीमा
तीस वर्षअघि रेकर्ड भएको यो गीत आजसम्म आइपुग्दा धेरैले धेरै पटक रिमिक्स गरिसकेका छन् तर पनि तीस वर्षअघिको जस्तो कर्णप्रिय र मिठास कहाँ छ र ? जसले जति पटक गाए पनि यो गीतका वास्तविक गायक प्रेमराजा महतको नाम र आवाजलाई भने बिर्सन सकिँदैन । आजसम्म सात सयभन्दा बढी गीत÷सङ्गीतमार्फत नेपाली लोकगीत सङ्गीत क्षेत्रमा विशिष्ठ पहिचान बनाउन उहाँ सफल हुनुभएको छ । उहाँसँगै, उहाँभन्दा अघि वा उहाँभन्दा पछि पनि धेरै सर्जकहरू प्रवासिनु भएको छ । यस बीचमा धेरै हराउनु भयो, गुमनाम हुनुभयो तर प्रेमराजाले कुनै न कुनै रूपमा आफूलाई पहिचान दिने लोकगीत सङ्गीत विधालाई निरन्तरता मात्र दिनुभएन कि उहाँ विदेशमा यो विधाको सम्मान र ख्यातिका लागि सधैँ लागिरहनुभयो । ‘‘म लोकगीत सङ्गीतको पोखरीमा डुब्न र नुहाउनका लागि समय समयमा नेपाल आएर केही न केही सिर्जना दिइररेको हुन्छु । मेरो जन्मभूमि नेपालजस्तै माया र सम्मान गर्छु नेपाली लोकगीत सङ्गीतलाई’’, उहाँले भन्नुभयो ।
बमबहादुर कार्कीसँग मिलेर ४० वर्षअघि गाएको गीतको झझल्को आज पनि उहाँलाई आइरहँदोरहेछ । त्यो क्षण सम्झँदै उहाँले भन्नुभयो, ‘‘त्यो गीत पञ्चेबाजामाथि आधारित गीत थियो । त्यति बेला त्यो गीतको चक्का पनि एकलाख भन्दा बढी बिकेको थियो । त्यो क्षण सम्झँदा आज पनि निकै रोमान्चित लाग्छ ।’’

हिउँचुलीमा हिउँ, लर्के जोवन भन कसलाई दिऊँ’ सँगै प्रेमराजालाई नेपाली लोकगीत सङ्गीत क्षेत्रको ख्यातिको चरमचुलीमा पु¥याउने अर्को गीत हो, ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा ।’ उहाँलाई नेपाली लोकगीत सङ्गीत विधाका पाठशालाभन्दा पनि फरक नपर्ला । अमेरिका जस्तो सम्पन्न मुलुकमा बसे पनि नेपाल, नेपाली र नेपाली लोकगीत र सङ्गीत विधामा मन र मुटुदेखि समर्पित भएर लागि पर्दै आउनुभएको छ । उहाँबाट प्रवासिनु भएका अन्य सर्जकहरूले पनि सिक्न सक्नुहुन्छ । प्रवासिंँदैमा आफूलाई पहिचान दिने विधाबाट अलग हुनै पर्छ भन्ने छैन, सबैभन्दा ठूलो कुरा त इच्छाशक्ति नै हो रहेछ । तपाईंमा इच्छाशक्ति छ भने प्रवासबाट पनि आफ्नो क्षेत्रमा धेरै गर्न सकिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?