निर्मल अर्याल
अन्य क्षेत्रझैँ नेपालको साङ्गीतिक इतिहास पनि खासै लामो छैन । २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि मात्र क्रमिक रूपमा नेपाली साङ्गीतिक क्षेत्रले ठोस लय समात्न थालेको पाइन्छ । प्रेमध्वज प्रधान, माणिकरत्नपछि नेपाली साङ्गीतिक दुनियाँमा एक तिलस्मी गायकले प्रवेश गर्नुभयो, जसले नेपाली सुगम सङ्गीतलाई विशिष्ट पहिचान दिलाउनुभयो । आजका दिनमा पनि नेपाली साङ्गीतिक जगत्कै पर्याय बन्नुभएका महान् प्रतिभा हुनुहुन्छ– स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्य ।
समालोचक कृष्णचन्द्रसिंह प्रधानकै शब्दमा नारायणगोपाल नेपाली सङ्गीतका नारायण हुन्, स्वरका गोपाल र गीतका गुरु अर्थात् आचार्य । उच्चकोटीको गायनकलासँगै आफ्नो गमक, स्वाभिमान तथा पृथक् आनीबानीका कारण उहाँ सधैँ चर्चामा रहनुभयो । नारायणगोपालले आफ्नो भौतिक शरीर छाडेर गएको तीन दशकभन्दा बढी भइसके पनि नेपाली सङ्गीतलाई माया गर्ने जो कोहीको मनमस्तिष्कमा उहाँ चिरस्थायी हुनुहुन्छ । नारायणगोपालबिना नेपाली साङ्गीतिक क्षेत्रको एउटा सिङ्गो अध्याय नै अपूरो हुने सङ्गीतकर्मीहरू स्वीकार्छन् । जनताले नै ‘स्वरसम्राट्’को पगरी भिराइदिएका नारायणगोपालले शवयात्रा र अन्त्येष्टिमा पाएको भव्य सम्मान देखेर अहिले पनि भनिन्छ, ‘मरणपछिको सम्मान होस् त नारायणगोपालको जस्तो ।’
नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । २००८ सालदेखि प्रेमध्वज प्रधानसहितको मित्रमण्डलीसँग उहाँ नजिक हुनुभयो । ‘बागिना’मा नारायणगोपालको स्मरण गर्दै प्रेमध्वजले भन्नुभएको छ– १२–१३ वर्षको उमेरदेखि नै नारायणगोपाल मज्जाले तबला बजाएर हिन्दी तथा नेपाली गीत गाउन सक्नुहुन्थ्यो ।
इन्द्रजात्राको समयमा भेडासिङको डबलीमा नेवारी गीत गाएर उहाँले आफ्नो गायनकलाको सुरुवात गर्नुभयो । पुष्पलालको चुनावी प्रचारमा लहरीमा चढेर गीत गाउनुभयो । ‘त्याग’ शीर्षकको नाटकमा अभिनय पनि गर्नुभयो तर उहाँको विशेष लगाव भने सङ्गीतमा नै रह्यो । २०१६ सालमा प्रेमध्वज तथा माणिकरत्नको सहयोगमा उहाँले रेडियो नेपालमा राममान तृषितको शब्द रहेको ‘पक्षीको पङ्खमा धर्तीको याद आयो’ बोलको गीतमा स्वर परीक्षा उत्तीर्ण गर्नुभयो । नारायणगोपालअघिका गायकले हिन्दी गीत मात्र गाएर स्वर परीक्षा दिन्थे तर हक्की स्वभावका नारायणगोपालले कुनै पनि हालतमा हिन्दी गीत गाएर स्वर परीक्षा नदिने अडान राख्नुभयो ।
यसबाट नेपाली गीत, सङ्गीत र राष्ट्रियताप्रति उहाँको असीम मोह रहेको पुष्टि हुन्छ । स्वर परीक्षाको निर्णायक मण्डलमा भने जनार्दन सम, तारिणीप्रसाद कोइराला, उस्ताद गोविन्दलाल र नातिकाजी हनुहुन्थ्यो । स्वर परीक्षा उत्तीर्ण भएपछि रत्नशमशेर थापाको शब्दमा सजिएका स्वर्ग कि रानी, आँखाको भाका आँखैले, ए कान्छालगायतका गीत गाउनुभयो । यी गीत रेडियो नेपालबाट बज्न थालेपछि नारायणगोपालको ख्याति चुलियो तर उहाँका पिता आशागोपाल गुरुवाचार्र्य भने छोरालाई आधुनिक गायकभन्दा ‘उस्ताद’ बनाउन चाहनुहुन्थ्यो । त्यसैले नारायणगोपाललाई शास्त्रीय सङ्गीतको अध्ययनका लागि भारतको बडोदा पठाइयो । कसैको दबाबमा नपरी आफ्नो अन्तरमनले जे भन्छ, त्यही गर्ने मूडी स्वभाव नारायणगोपालको थियो । अन्ततः सुगम सङ्गीतमा रमाइसकेका नारायणगोपाल बीचमा नै शास्त्रीय सङ्गीतको पढाइ छाडेर दार्जिलिङ पुग्नुभयो, जहाँ उहाँको भेट कवि ईश्वर बल्लभ, गीतकार नगेन्द्र थापालगायतसँग भयो ।
दार्जिलिङको महाङ्काल डाँडामा मकलमा आगो बालेर कवि ईश्वर बल्लभले नगेन्द्र थापा र कर्म योञ्जनलाई साक्षी राख्दै नारायणगोपाल र अर्का साङ्गीतिक साधक गोपाल योञ्जनको ‘मीत’ लगाइदिएपछि नेपाली सुगम सङ्गीतमा अर्को महìवपूर्ण अध्याय प्रारम्भ भयो । नगेन्द्र थापा र दुई गोपालको सहकार्यमा नेपाली गीत सङ्गीत स्वर्ण युगमा प्रवेश ग¥यो । देश–विदेशमा हुन थालेका ‘मीतज्यू नाइट’का कारण नारायणगोपाल र गोपाल योञ्जन दुवै चर्चाको शिखरमा पुग्नुभयो तर ‘मीतज्यू’को सहकार्य करिब १२ वर्षसम्म मात्र टिक्न सक्यो । गोपाल योञ्जनको रिक्तता पूर्ति गर्दै नारायणगोपालसँग दार्जिलिङका गीतकार÷सङ्गीतकार दिव्य खालिङ जोडिनुभयो । ‘मेरो गीत एक दिन नारायणगोपालले गाउनुहुनेछ’ भन्दै खालिङ झिटीगुण्टा कसेर दार्जिलिङबाट काठमाडौँ आउँदा सबैले उहाँको मजाक उडाएका थिए । खालिङको प्रतिभाबाट नारायणगोपाल निकै प्रभावित हुनुभयो र उहाँ दुई जनाको जोडी पनि बेजोडसँग जम्यो । २०३२÷३३ सालपछि क्रमशः कवि÷गीतकार कालीप्रसाद रिजालका करिब एक दर्जन उत्कृष्ट गीत गाउँदै नारायणगोपालले आफ्नो ख्यातिलाई कहिल्यै कम हुन दिनुभएन । भीम विराग, दिनेश अधिकारी, शम्भुजित बाँस्कोटा, दीपक जङ्गम, क्षेत्रप्रताप अधिकारीलगायतका गीतकार÷सङ्गीतकारसँग पनि उहाँको गतिलै सहकार्य रह्यो । चलचित्रका गीतहरूमा पनि उहाँको माग निकै बढ्न थाल्यो ।
नारायणगोपालको खानपिनमा विशेष रुचि थियो । खसीको मासुसहित पिरो, गुलियो, चिल्लो मात्र होइन, मदिरापान, चुरोट सेवनमा पनि उहाँ अगाडि नै हुनुहुन्थ्यो । मधुमेह रोगले च्याप्दै लगेर मिर्गौला खराब हुँदासमेत उहाँले खानपिनको मोह छाड्न सक्नु भएन । वीर अस्पतालको आईसीयूमा एक महिनासम्म मृत्युसँग पौँठेजोरी खेल्दै अन्ततः उहाँ २०४७ साल मङ्सिर १९ गते यस लोकबाट सदाका लागि विलिन हुनुभयो । मिर्गौला बिग्रिएर वीर अस्पतालमा उपचार गराइरहँदा उहाँलाई मिर्गौला दिन चाहनेको नाम, ठेगाना र सम्पर्क नम्बरले अस्पतालका भित्ता भरिएको गायिका लोचन कार्की सम्झनुहुन्छ । कार्कीले पनि नारायणगोपाललाई आफ्नो मिर्गौला दिने प्रस्ताव गर्दा अस्वीकार गर्दै जवाफमा उहाँले भन्नुभएको थियो, “नारायणगोपाल कसैको पनि ऋणी भएर बाँच्न चाहँदैन ।”
५१ वर्षको अल्पायुमै नारायणगोपालको निधन भए पनि उहाँले अर्थपूर्ण तथा सार्थक जीवन व्यतीत गर्नुभयो । गायनमा उहाँको प्रस्ट सिद्धान्त थियो, “अरूलाई खुसी पार्न गीत गाउने होइन, आफूले मनदेखि रुचाएको गीत मात्र गाउने ।” त्यसैले उहाँले एकाधबाहेक दरबारको गीत गाउनु भएन, अभिन्न मित्र डाक्टर धुव्रचन्द गौतम र विनोद दीक्षितका शब्दलाई कागजमै सीमित राख्नुभयो । डाक्टर गौतम भन्नुुहन्छ, “आफ्नो गीत नारायणगोपालले गाइदियोस् भन्ने चाहना सबै गीतकारको हुन्थ्यो, त्यसमा म पनि अपवाद थिइनँ, म उहाँसँग निकै घनिष्ठ थिएँ, गीत पनि दिएँ तर किन हो कुन्नि मेरो गीत उहाँले गाउनु भएन ।” अरू धेरै ‘मै हुँ’ भन्ने गीतकारका गीतले पनि नारायणगोपाललाई छुन सकेन । गुणस्तरीय गीतका लागि उहाँले कहिल्यै कसैसँग सम्झौता गर्नुभएन ।
गीतलाई अन्तिम रूप दिन उहाँ धेरै मेहनत गर्नुहुन्थ्यो । उहाँलाई चित्त बुझाउन नसकेर वाद्यवादन टोली हैरान हुने गरेको गीतकार कालीप्रसाद रिजाल बताउनुहुन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘आजै र राति के देखँे सपना’ गीतमा प्रयोग भएको शब्द ‘मस्र्याङ्दीको सुसाइ’लाई न्याय गर्न उहाँ मध्यरातमा मस्र्याङ्दी नदीमै पुग्नुभएको थियो । जुनसुकै परिस्थितिमा पनि समग्र गीतको स्वामित्व लिनसक्ने अद्भूत क्षमता उहाँमा थियो । भैरवनाथ रिमालको ‘जुन फूल मैले चाहेको थिएँ’ होस् वा कञ्चन पुडासैनीको ‘तिमीलाई भुल्दा म एक्लो भएछु’ शब्द र उच्चारण नै तलमाथि पर्दासमेत उहाँ गीतकार÷सङ्गीतकारसमक्ष भन्नुहुन्थ्यो, “नारायणगोपालले गाएपछि गायो गायो, जस अपजस लिन म तयार छु,” नारायणगोपालको यस्तो हिम्मत देखेर आफू गम खाएको गीतकार पुडासैनी बताउनुहुन्छ । साथीभाइसँगको सम्बन्धमा उतारचढाव आए पनि उहाँले त्यसको असर आफ्नो गायनमा पर्न दिनु भएन । माधव घिमिरेको गीति नाटक ‘मालती मङ्गले’ तयार पर्दा सङ्गीतकारको भूमिकामा हुनुहुन्थ्यो अम्बर गुरुङ । घिमिरे त्यसमा नारायणगोपालको स्वर भर्न चाहनुहुन्थ्यो तर नारायणगोपाल र अम्बर गुरुङको त्यतिबेला बोलचाल नै थिएन । घिमिरेको प्रस्तावलाई सहर्ष स्वीकार्दै नारायणगोपाल अम्बर गुरुङको सङ्गीतमा स्वर दिन तयार हुनुभयो । गीति नाटक ‘मालती मङ्गले’को प्रदर्शनी अत्यन्त सफल रह्यो । त्यस्तै गोपाल योञ्जनसँग गीत आदानप्रदान बन्द भए पनि अन्य गीतकारले लेखेको र योञ्जन सङ्गीतकार रहनुभएका चलचित्रका गीतमा उहाँले दिल खोलेर गाउनुभयो ।
नारायणगोपालसँग गजबको साहित्यिक चेत पनि थियो । साहित्यकारहरू भूपि शेरचन, ईश्वर बल्लभ, नगेन्द्र थापा, धुव्रचन्द्र गौतम, हरिभक्त कटवाल लगायतसँगको बाक्लो उठबसका कारण साहित्यिकवृत्तमा उहाँ प्रिय हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “साहित्यको श्रीवृद्धिमा गायकको भूमिका ठूलो छ, गीत गाएर मैले पनि साहित्यको सेवा गरेको छु ।” “साहित्यलाई सङ्गीतमा जोड्नुपर्छ” भन्नेमा पनि उहाँ दृढ हुनुहुुन्थ्यो । यसैको उपज थियो– बाजा, गीत तथा नाचसहितको त्रैमासिक पत्रिका ‘बागीना’ । मित्रद्वय नगेन्द्र थापा र गोपाल योञ्जनसँग मिलेर उहाँले केही वर्षसम्म ‘बागीना’ प्रकाशन गर्नुभयो । नारायणगोपालको स्मृति अङ्कसहित बागीनाको जम्मा २४ संस्करण निस्कियो । उहाँ सांस्कृतिक संस्थानको महाप्रबन्धक, त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक हुँदै सञ्चार मन्त्रालयको सल्लाहकारको भूमिकामा पनि रहनुभयो ।
लोकप्रियता बढ्न थालेपछि नारायणगोपाललाई हिन्दी गीतहरूमा गाउने प्रस्ताव आयो तर स्वाभिमानी तथा देशप्रेमले ओतप्रोत उहाँले नेपालीको असीम माया त्यागेर पैसाकै लागि विदेशी गीतमा गाउने रुचि देखाउनु भएन । २०४२ साल माघ २५ गते साप्ताहिक विमर्शका लागि हरिहर विरहीलाई अन्तर्वार्ता दिँदै उहाँले भन्नुभएको छ, “म आज जे छु नेपाल र नेपालीले गर्दा नै छु र म यसैमा सन्तुष्ट छु । म ज्यादा धनी नभए पनि गरिब पनि छुइनँ र पैसा कमाउनु मात्र मेरो लक्ष्य छैन । हिन्दी फिल्ममा गाउने रहर मलाई पटक्कै छैन ।” बरु उहाँ नेपाली गीतलाई नै अन्तर्राष्ट्रिय स्तरको बनाउन तल्लीन रहनुभयो । प्राध्यापक डाक्टर अभि सुवेदीका अनुसार नारायणगोपालले जीवनको अन्तिम साधनाकालतिर नेपालमा पश्चिमेली शैलीको ‘ब्लुज’ (भावनाप्रधान सङ्गीत) भिœयाएर नेपाली गीत÷सङ्गीतमा अर्को आयाम थपिदिनुभयो ।
हरिभक्त कटवालको शब्दमा उहाँले गाउनुभएको ‘मलाई नसोध कहाँ दुख्छ घाऊ’ ‘ब्लुज’को सशक्त उदाहरण हो । घनिष्ठ मित्र नगेन्द्र थापाका अनुसार गायक नभएको भए सायद नारायणगोपाल इतिहास वा भूगोलका प्राध्यापक बन्नुहुन्थ्यो होला । खेलकुदको रुचि हेर्ने हो भने उहाँ फुटबल वा कुस्ती खेलाडी बन्ने सम्भावना पनि उत्तिकै थियो तर नेपाली सुगम सङ्गीतको इतिहास स्वर्ण अक्षरमा लेख्नकै लागि उहाँ गायकका रूपमा उदाउनुभयो । स्थापित तथा लोकप्रिय हुनका लागि एक गायकले हजारौँ हजार गीत गाएको तथ्याङ्क छ तर समग्रमा दुई सयको हाराहारीमा गीत गाएर नेपाली साङ्गीतिक जगत्मा नारायणगोपालले खडा गरेको साम्राज्य स्तुतीय छ । आकाशजस्तै अमर छन्, उहाँका कालजयी गीतहरू । गोपाल योञ्जनको शब्द सङ्गीतमा उहाँले गाएको गीतको भावझैँ “मेरो गीत मेरै प्रतिविम्ब होइन, आकाश जस्ता अमर गीत मेरा, म जस्तो दुई दिनको पाहुना होइन ।”