logo
२०८१ मंसिर ८ शनिवार



उज्यालो देखाउने यात्राकथा

शनिवार |


उज्यालो देखाउने यात्राकथा


जीवराज भट्टराई
केही वर्षअघिको एउटा जमघटमा एकजना मित्रले भनेका थिए– ‘अमेरिका कसरी जाने’ भन्ने शीर्षक राखेर पत्रिका निकाल्ने हो भने त्यो हातहातै बिक्नेछ । ठट्टाजस्तो लागे पनि कुरा सही थियो । अझ अहिलेसम्म पनि स्थिति त्यस्तै छ । अर्थात् अमेरिका जाने धेरै नपालीको र अझ विश्वका अरू धेरै देशका मानिसको चाहना प्रबल छ । त्यसरी जान खोज्नु पछाडिका कारण र उद्देश्यहरू भने फरकफरक हुन सक्छन् । पछिल्ला दिनमा सपनाको गन्तव्य मानिएको अमेरिकामा गएका धेरै नेपालीले आफू पुगेका र घुमे/डुलेका, देखे/भोगेका ठाउँ, घटना आदिका बारेमा यात्रावर्णन गरेका छन् । नियात्रा, यात्रासंस्मरण, यात्राकथा वा यस्तै नाम अरू जे राखे पनि यात्रावृत्तान्त लेखेका छन् ।

यसै मेसोमा पछिल्लो पटक विनोद दीक्षितको यात्राकथा आएको छ । वरिष्ठ पत्रकार तथा लेखक दीक्षितको ‘तमसोमा ज्योतिर्गमय’ पनि वस्तुतः अमेरिका यात्राको वर्णनले भरिएको यात्राकथा नै हो तर यो चलनचल्तीको एकसरो यात्रावर्णन मात्र नभएर छुट्टै खालको अतः रोचक र सन्देशमूलक यात्राकथा हो भन्नका लागि अलिकति पनि हिच्किचाउनु पर्दैन । कसलाई थाहा छैन र, अमेरिकामा उन्नत प्रकारको भौतिक समृद्धि छ । त्यहाँको आर्थिक प्रगति र विकासको तह उच्च छ । बलियो कानुनी राज छ र सँगसँगै चरम अवस्थाको वैयक्तिक स्वतन्त्रता तथा नागरिक अनुशासन पनि छ । त्यहाँ बाँकी विश्वका अधिकांश देशका मानिस पनि सजिलैसँग अटाएका छन् । अमेरिकाका बारेमा यी कुरा सामान्यतः सुनिँदै आएका हुन् तर यो पुस्तकमा भने यिनै कुरालाई पनि नयाँझैँ लाग्ने गरी रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

विषयवस्तु वा यात्रावृत्तान्तलाई कथात्मक बान्की दिनु दीक्षितको विशेष खुबी हो । यसअघि नै प्रकाशित भइसकेको ‘मेरा यात्राका कथा’ नामक पुस्तकमा पनि उहाँले आफूलाई यो विशेषतामा बलियोसँग उभ्याउनुभएको थियो । ‘तमसोमा ज्योतिर्गमय’ पुस्तक पढ्दै जाँदा धेरै ठाउँमा कथाभित्र यात्रा र यात्राभित्र कथा अन्तरघुलित भएको पाइन्छ । जुन विषयमा थुप्रै वर्णन होला भनेर अनुमान गरिन्छ, त्यो नाटकीय ढङ्गले टुङ्गिन्छ र जुन कुरा सामान्यजस्तो लाग्छ त्यसले गम्भीर मोड लिँदै वर्णनको बगैँचा बढाएर जान्छ । अमेरिकाजस्तो विशाल देश घुमघामका लागि एकाध महिनाको समय अपर्याप्तझैँ लागे पनि लेखकले त्यसको समेत कुशलतापूर्वक व्यवस्थापन गर्नुभएको कुरा परोक्ष रूपमा पुस्तकमा पढ्न पाइन्छ ।

अमेरिकामा बस्ने नेपाली समुदाय ठूलै छ । तिनीहरूमा सामान्यभन्दा सामान्य व्यक्तिदेखि बौद्धिक र पेसागत परिचय बनाइसकेकाहरूका साथै उच्चशिक्षा अध्ययनका लागि त्यहाँ पुगेका प्रतिभावान् विद्यार्थीहरू पनि छन् । मातापिता त्यहीँ बसोवास गरिसकेपछि जन्मेका साना नानीहरू पनि छन् । अतः अबको केही वर्षमै अमेरिकामै जन्मेहुर्केका नेपाली मूलका परिवार सङ्ख्या पनि प्रशस्त हुनेछन् । तिनीहरूसँगको भेटघाट र बसउठका प्रसङ्गहरूलाई आधार बनाएर लेखकले ती सबैलाई केही न केही सन्देश दिन खोजेको देखिन्छ । अमेरिकामा बसेर नेपाललाई माया गर्न र सचेततापूर्व आफ्नो देश हेर्न त सकिन्छ तर यहाँका निम्ति त्यहाँ बसेर प्रत्यक्ष राजनीति गर्न खोज्नुको कुनै तुक छैन भन्दै पुस्तकमा अगाडि भनिएको छ– बरु अमेरिकाकै राजनीतिबाट त्यहाँको नेपाली समाजलाई कसरी लाभान्वित बनाउन सकिन्छ भन्नेपट्टि विचार गर्नु त्यहाँ रहने नेपालीहरूको कर्तव्य हुनेछ किनकि अमेरिकामा एउटा नेपाली समाज बनिसकेको छ । आर्थिक समृद्धिका लागि अमेरिका गएका नेपालीहरूले परिश्रमप्रति सम्मान र त्यसको मूल्यलाई राम्रोसँग आत्मसात् गर्न सकेकाले सम्पन्नताका नाममा प्राप्त गरिने अदत्तश्रीलाई अमेरिकी नीति र कानुनले कति निकम्मा साबित गरिदिएको छ भन्ने कुरा अमेरिकावासी नेपालीहरूका मुखबाट सुन्न पाउँदा अन्त्यहीन प्रसन्नता प्रकट भएका प्रसङ्गहरू पनि छन् । लेखकमा रहेको उच्च साहित्यिक चेत र सञ्चारकर्मको लामो अनुभवले पनि भिन्न भूगोल र भिन्न परिवेशमा बसेका प्रबुद्ध नेपालीहरूसँगको भेटघाटलाई बौद्धिक विमर्शका निम्ति उपयोग गर्न सहज भएको कुरा पुस्तकमा प्रष्ट देखिन्छ ।

अमेरिकावासी नेपालीहरूलाई मात्र होइन, विश्वको एक नम्बर शक्तिशाली मानिएको अमेरिकाकै लागि पनि निकै महत्त्वपूर्ण सुझाव र सन्देश दिएर लेखकले आफ्नो पुस्तक र त्यसको नाम ‘तमसोमा ज्योतिर्गमय’ लाई सार्थक बनाउन खोजेको विषय नै यसको प्रमुख विशेषता हो । बलियो हुनुको अर्थ अरूलाई हेप्ने र थिचोमिचो गर्ने कदापि होइन । अझ बलियो हुनका लागि तिमीले गर्ने क्रियाकलापले अरूको चित्त पटक्कै दुखाउनु हुँदैन । तिमीले धेरै प्रगति गरेका छौ तथापि त्यो नै प्रगतिको अन्तिम चुचुरो होइन । भौतिक विकासको परिकल्पना र विज्ञानले दिनसक्ने सम्भावनाको दायरा अपरिमेय भएको कुरापट्टि ध्यान दिनु जरुरी छ । निर्धो भएका कारणले कोही आज बोलेन भने पनि त्यसले आफूमाथि थिचोमिचो भएको कुरा अनुभूति नै गर्न सकेको छैन र त्यसले कहिल्यै यो विषयमा बोल्ने छैन भनी नठान । तिमीले आज जसरी विश्वको जुनसुकै कुनामा बस्ने मान्छेलाई समान अवसर दिने गरेका छौ त्यो उदात्तभावलाई अझ फराकिलो दायरामा बढाउँदै लैजाऊ । यसैमा तिम्रो महानता आलोकित हुनेछ भनी अमेरिकालाई सन्देश दिनु यो पुस्तकको मूल विशेषता हो । यसले लेखकमा साहित्य, पत्रकारिता र राजनीतिक चेत पनि त्यत्तिकै प्रखर मात्रामा छ भन्ने कुरा प्रमाणित गरेको छ । कहिल्यै अमेरिका नपुगेकाहरूलाई मानसिक रूपमा त्यहाँ पु¥याएर सर्सर्ती डुलाउनु र अमेरिकामै भएकाहरूलाई पनि ज्ञातअज्ञात विषय र स्थानहरूमा विचरण गराउन सफल हुनु यो पुस्तकको सबल पक्ष हो ।

व्याकरणीय पक्षका केही प्राविधिक कमजोरी र कतिपय प्रसङ्गहरू कथात्मक शैलीमा पछि एकाएक जोडिन आइपुगे पनि बीचबीचमा सुटुक्क हराएर जाँदा पर्ने अलमलबाहेक पढ्न सुरु गरेपछि पुस्तकले तान्दै लाँदा छोड्न मन लाग्दैन । बुकहील प्रकाशनले भर्खरै बजारमा ल्याएको पुस्तकको साजसज्जा र छपाइ पनि निकै आकर्षक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?