डा. दामोदर पुडासैनी किशोर
उम्रिएको होइन बाँसको टुसा झैँ
विश्व नियाल्न र विश्व उचाल्न उठेको हुँ धरोहर बनेर
संसारभरको अँध्यारो पचाइरहेछु
र निलिरहेछु संसारभरका कुरूप आकारहरू
संसारभरका अश्वशक्तिमान म्याराथुन धावकहरू
संसार नाघ्ने तयारीमा मेरै सिठ्ठी कुरिरहेछन्
लाभा र म्याग्मा झुण्डिरहेका मेरा हाँगाहरूमा
उनेको छु मैले मान्छेलाई बाफका खिरिला केस्राहरूमा
तिम्रा यादहरू ज्वालामुखी फुटिरहेछन्
कहिले ठिङ्ग उभिन्छन् हिमालका हाँगाहरूझैँ
कहिले बगिरहन्छन् हिमनदीझैँ बेजोड गतिमा
कहिले त उडिरहन्छन् बादलका भुल्काहरू जसरी
तिम्रा यादहरूको ज्योतिस्तम्भ निर्माण गरिरहेको बेला
यादहरूकै उभियो विशाल सगरमाथा
मलाई सिमाना र इन्द्रेनी रङहरूमा विभाजित गर्न नखोज
म निर्वस्त्र आदिम मान्छे बाँच्न चाहन्छु
तिमी अनुहारले होइन, पहिरनले चिनिन खोजिरहेछौ
मलाई चिनाउन कुनै परिधानको जरुरत छैन
म प्याजका पत्रहरूझैँ भित्र जे छु बाहिर त्यही बाँचिरहेछु
गुम्बामा बालिएका बत्तीहरूले
तिम्रो अनुहार खोजिरहेछन्
भर्खरै सल्काएका धूपीका सुगन्धहरूले
तिम्रै सबिस्तार खोजिरहेछन्
हरेक पटक सम्याइदिन्छन् हिमागारहरूले
तिमीले कोरेका भित्तेचित्रहरूलाई
आनीले भर्खर बुन्दै गरेका गलैँचाका बुट्टाहरूले
तिम्रै छायाँ छवि खोजिरहेछन्
किन रातहरू दिन र दिनहरू रात बनेर उभिन्छन् मेरो सामु ?
किन आँखाहरू मुटु र मुटुहरू आँखा बनेर चल्छन् मेरा सामु ?
तिमी आउने बाटाहरूमा
किन तह तहका पर्खालहरू उभिएका छन् ढुङ्गाहरूका ?
डढेका आकाशहरू र खैरा दिनहरूलाई
झर्यामझुरूम फुटाइरहेछु मैले क्रमशः क्रमशः
तिम्रा मीठा झुठहरू
पिइरहेछु मैले रसायन बनाएर
र पखाल्दैछु संसारभरका सबै झुठहरूलाई
तिमी छौ, झुठ छ र झुठ पत्याउनेहरूको लहर छ संसारभरि
त्यसैले त बादलहरूले पनि हिमाललाई हैरान पारेको खबर छ
शक्तिशालीहरूका मुख्य अखबारहरूमा
तिमी पाइला पाइलामा मेरो मुटुभित्र पसेँ भन्ठान्छौँ
सट्टामा तिमीले पो बोकेर हिँडिरहेछौ मलाई
आफ्नो मुटुका केस्राहरूमा ।