logo
२०८१ मंसिर ८ शनिवार



मुक्त रङ्गमञ्च ठूला माछा साना माछा

शनिवार |


मुक्त रङ्गमञ्च ठूला माछा साना माछा


मोहनप्रकाश

विराटनगरको पाञ्चालीबाट प्रारम्भ भएको नाट्ययात्रा धरानको सभागृहमा आएर सम्पन्न हुँदै थियो । त्यसको अघिल्लो रात विश्रामका लागि कलाकार टोली चतराधामस्थित आश्रम पुगेको थियो । धरान सभागृहमा करिब तीन सय दर्शक नाटक हेर्न आइपुगेका छन् । केही सभागृहको फलामे बारबाटै पनि चिहाइरहेका छन् ।
प्रारम्भमै कलाकारहरूले सामूहिक रूपमा गाउने गीतसँगै दर्शकदीर्घामा चकमन्न छायो । एकपछि अर्को दृश्यसँगै नाटकले गति लिइरहेको छ । “ठेकेदार र व्यापारीसँग बसेर बनाइएका योजना कसरी जनताका हितमा हुन्छन् ? यो भ्यु टावर, गाईको मूर्ति, काउली र घिरौँलाको मूर्ति बनाएर आमनागरिकलाई के फाइदा हुन्छ ?” नाटककी पात्र उपमेयरले मञ्चमा मेयरलाई प्रश्न गर्दै गर्दा दर्शक जोडले थपडी बजाइरहेका थिए ।

नाटककोे समापनसँगै स्थानीय सुस्केरा नाट्य समूहकी रङ्गकर्मी तुलसा थापाले भन्नुभयो, “खुला ठाउँमा यसरी नाटक देखाउँदा पनि यति प्रभावकारी हुन्छ भन्ने लागेको थिएन । मैले पनि नाटकमा देखाएकै जस्तो घटना सरकारी अस्पतालमा भोगेकी छु । एकैछिनमा हुने कामलाई दिनभरि झुलाइदिएका छन् ।”
त्यसो त नाटक निर्माण कार्यशालामा धेरै विषयविज्ञसँग कलाकारले अन्तरङ्ग संवाद गरे । तिनलाई सुने, आफ्ना कुरा राखे । अनि बनेको थियो ‘ठूला माछा साना माछा’ नाटक ।

“नागरिकतामा नाम बिगारिदिने यही कार्यालय अनि नाम सच्याइदिन ढिलाइ गरेर सास्ती दिने पनि यही कार्यालय” भन्दै किसान योगराजकी छोरी मञ्चमा चिच्याइरहँदा दर्शकहरू उनको विवशतालाई आफ्नै समस्या सम्झेर गम्भीर बनिरहेका थिए । मोरङको रङ्गेली बजारमा नाटक सिद्धिएलगत्तै त्यहाँ आफ्ना विचार राख्न आइपुग्नुभयो पूर्वसांसद अमिलाल झाँगड । उहाँले भन्नुभयो, “यथार्थलाई लुकाउनु हुँदैन । यथार्थ जबसम्म आउँदैन, तबसम्म ती कुरा सर्वसाधारणले बुझ्दैनन् । हामीले यस्ता विकृतिको विरोध गर्न नसकेकै कारण देश जर्जर बन्दै गइरहेको छ ।”

नाट्य यात्राका क्रममा कात्तिक ८ गते बिहान ९ बजे नाटकटोली मोरङ, लेटाङको शान्ति भगवती मावि पुग्दा कक्षा ११ र १२ का विद्यार्थी कक्षाकोठाबाट निस्किँदै थिए । सायद नाटक हुने जानकारी विद्यार्थीले पहिले नै पाइसकेका थिए । स्थानीय लेटाङ पुस्तकालयका साथीहरू स्वतःस्पूmर्त रूपमा साता अघिदेखि नै नाटकको प्रचार–प्रसारमा रहेछन् । करिब तीन सय विद्यार्थी, शिक्षक र अभिभावकमाझ नाटकले गति लिँदै थियो । बीच–बीचमा विद्यार्थीका गाइँगुइँसँगै ताली पनि बझिरहे ।

नाटक सिद्धिएलगत्तै राजनीतिज्ञ भूपेन्द्रकुमार लावती आफ्ना कुरा कलाकारहरूसमक्ष राख्न आइपुग्नुभयो, “मैले तपाईंहरूको नाटक हेरिसकेपछि राइट दाजुभाइलाई सम्झेँ । उनीहरूले पहिलोचोटि हवाईजहाज उडेको हेर्न दर्शक बोलाएका थिए रे ! तर धेरैले नपत्याएर पहिलोचोटि जहाज उडेको हेर्ने सौभाग्य गुमाए । मैले पनि विद्यार्थी भाइबहिनीहरूले बनाएका होलान् भनेर नपत्याउँदै भए पनि यहाँ आएँ तर नाटक हेरिसकेपछि झन्डै यो मौकाबाट वञ्चित भइएको भन्ने लाग्यो ।” लावतीले भनेजस्तै नाटकको विषयवस्तु तराईकै समस्यामा केन्द्रित थियो । भर्खरै पूर्वी तराईमा आएको बाढीको सन्दर्भ होस् या कर्मचारीको ढिलासुस्ती । स्थानीय सरकारहरूमा देखिएका विकृति हुन् या दलालहरूको बिगबिगी । त्यसैले पनि स्थानीय दर्शकले नाटकको कथावस्तुलाई आफ्नै घटनासँग दाँजिरहेको अनुभूति हुन्थ्यो ।

यसपालि अर्को नयाँ प्रयोग पनि भयो नाटकमा । नाटक हेरिसकेपछि दर्शकले कथावस्तुलाई छोएर कविता सिर्जना गरेर पठाउन अनुरोध गरिएको छ । उत्कृष्ट चारवटा कविताले नगद २५÷२५ हजार रुपियाँ प्राप्त गर्नेे नाटक निर्देशक घिमिरे युवराजले सुनाउनुभयो ।
नाट्य यात्राका प्रत्येक पल नाटकका दृश्य लाग्थे । मानवीय गतिविधि आफैँमा नाटकीय लाग्छन् । सडकमा बस, रिक्सा र अटो दौडिरहेका छन् । एक साइकलयात्री मेरैनजिकबाट साइकलको घण्टी टिङ्रिङ्–टिङ्रिङ् गर्दै दौडे । एक वृद्धा लठ्ठी टेक्दै बाटो काट्दै थिइन् । आकाशमा एक हुल चरा मेरै टाउकोमाथि उड्दैछन् । सडकको दुवैतर्फ मान्छेको ओहोरदोहोर चलिरहेछ । व्यापारीहरू आफ्नै कर्ममा व्यस्त छन् । नजिकैको काली मन्दिरमा एक भक्त ठोकिरहेछ घण्ट टङ्...टङ्...टङ्...। आहा कस्तो जीवन्त अभिनयको संसार !
मोरङका विभिन्न स्थानमा नाटक सकेर झापाको विर्तामोडस्थित कन्काई क्याम्पस प्राङ्गणमा पुग्दा नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा परिवारसहित नाटक हेर्न आइपुग्नुभएको थियो । करिब पाँच सय विद्यार्थी, शिक्षक र अभिभावकबीचमा बसेर उहाँले नाटक हेरिसकेपछि प्रतिक्रिया दिँदै भन्नुभयो, “हामीले ठूला–ठूला परिवर्तन त ग¥यौँ तर त्यहाँभित्रका स–साना समस्याभित्र पस्न सकेका छैनौँ । यो अवस्था नबदलेसम्म नागरिकले व्यवस्थामाथि प्रश्न गरिरहनेछन् । त्यसैले साँचो अर्थमा भन्दा व्यवस्था ठीक छ, अवस्था बदल्नुपर्छ । नाटकले ऐनाजस्तै काम गरेको छ ।”

पहिलो चरणको नाटकमा मैथिली, कुडुक र नेपाली भाषाको मिश्रण थियो भने दोस्रो चरणको नाटकमा नेपाली र नेपाल भाषामा नाटक बनेको थियो । यो प्रयोगलाई दर्शकले रुचाए र ठाउँ–ठाउँमा तारिफ पनि गरिरहेका थिए । रङ्गेलीकै एक दर्शक वेदमणि घिमिरे भन्नुहुन्छ, “समाजमा घटेका घटनालाई व्यवहारमा उतारेर प्रस्तुत गरिएको यो नाटक धेरै राम्रो छ । स्थानीय भाषालाई पनि नाटकमा प्रयोग गरिएकाले सबैले बुझे । बीच–बीचमा आँसु पनि आयो । हाँसो पनि आयो ।”
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब दुई सयको हाराहारीमा स्वास्थ्यकर्मी र सेवाग्राही दर्शकका रूपमा उपस्थित थिए । नाटक हेरिसकेपछि सहप्राध्यापक रीता पोखरेलले भन्नुभयो, “हामी अस्पतालको शुद्धीकरण अभियानमा छौँ । हामीलाई पहिला अस्पतालभित्रका केही पनि कुरा थाहा हँुदैन थियो । जब हाम्रो तलब रोकिन थाल्यो, अनि जरो खोतल्दै जाँदा त भ्रष्टाचारकै कारण यस्तो भएको पो रहेछ ।”

गाउँमा कचहरी नाटक गर्दै आइरहेको शिल्पी समूहले यसपल्ट मुक्त रङ्गमञ्चको अवधारणालाई अगाडि सारेको छ । सुदूर गाउँ होस् या सहरका चोक, सडकपेटी, विद्यालय प्राङ्गण र खुला ठाउँ, जहाँ नाटकघरका चौघेरा हँुदैनन् तर त्यहाँ दर्शक बस्ने कुर्सी हुन्छन् । सानो तर छिट्टै खोल्न र जोड्न मिल्ने मञ्च हुन्छ । कलाकार स्वयंले चाँडै मञ्च सिर्जना गर्छन् । नाटक देखाउँछन् र मञ्च बनाउने सामग्री बसमा लोड गर्छन् । बिहान एउटा स्थानमा नाटक देखाउँछन्, दिउँसो अर्को ठाउँ र बेलुका पुनः अर्को स्थानमा पुग्छन् । नाटक समापनपश्चात् नाटकले उठाएका विषयवस्तुमाथि दर्शक स्वतःस्फूर्त बहस र छलफलमा सहभागी हुन्छन् ।

आखिर मान्छेले मान्छेलाई नै किन दिन्छ
सास्ती ? के मान्छे आधुनिकतासँगै जटिलतामा पनि फस्दै गएको हो ? या मानवीय संवेदना सङ्कटमा छ ? उत्तर खोज्ने प्रयास जारी छ । सायद नाटकको यो अन्तिम गीतले पनि यसैको उत्तर खोजिरहेझैँ लाग्छ –
भोकसँग लड्छ जनता
रोगसँग लड्छ जनता,
सास छोड्न गाह्रो भयो
सास रोक्न गाह्रो भयो....।

तस्बिर : असिम खनाल 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?