logo
२०८१ मंसिर ८ शनिवार



खुट्टा गुमाएका मुकेशको आत्मविश्वास

शनिवार |


खुट्टा गुमाएका मुकेशको आत्मविश्वास


ऋषिराम कट्टेल

भवितव्यमा परेर कसैको खुट्टा नै काट्नुपर्ने भयो भने उसको मनोदशा कस्तो होला ? त्यसपछिको जीवन कति कठिन होला ? कल्पना गर्न पनि गाह्रो हुन्छ तर सर्लाही, मलङ्गवाका मुकेशकुमार सिंहलाई १८ वर्षको कलिलो उमेरमै नसोचेको यही वज्रपात आइलाग्यो । दुर्घटनामा परेर उहाँले एउटा खुट्टा नै गुमाउनु प¥यो । पहिलोचोटि त आकाश खसेजस्तै भयो, अकल्पनीय, अविश्वसनीय ।

“केही दिन त सोच्नै सकिएन तर मेरो खुट्टा फिर्ता आउने अवस्था पनि थिएन,” मुकेशले त्यो दुःखद दिन सम्झिँदै भन्नुभयो, “अस्पतालको बेडबाटै जीवनमा केही गर्ने सङ्कल्प लिएँ । सफलताको उचाइले जीवनमा खुट्टा नभएको आभास पनि गर्नु नपरोस् । यसका लागि यति पढ्छु कि मेरो क्षमताका अगाडि कसैले खुट्टा नहेरोस् । अनि आफू मात्र नभएर समाजका लागि पनि केही गर्छु भन्ने लाग्यो ।”

अमेरिकाको ओहायो राज्यको राज्य सरकारको माथिल्लो तहको कर्मचारीका रूपमा ओहायोको राजधानी कोलम्बसमा कार्यरत मुकेशकुमार सिंह दह्रो आत्मविश्वास लिएर केही गर्न खोजे केही कुराले छेक्न सक्दैन भन्ने उदाहरण हुनुहुन्छ । “त्यो दुःखद घटनालाई शक्तिमा बदल्न नसकेको भए सायद यो ठाउँमा हुन्न थिएँ होला,” उहाँ गर्व गर्दै भन्नुहुन्छ, “आत्मविश्वास र केही गर्ने हुटहुटी भए जीवनमा अरूको मुख ताक्नु पर्दैन् ।” विगत २३ वर्षदेखि सरकारी कर्मचारीका रूपमा कार्यरत उहाँ अमेरिकाको सरकारी सेवामा कार्यरत थोरै नेपालीमा पर्नुहुन्छ ।

दुर्घटनापछि सन् १९९१ मा केही गर्ने उत्कट आकाङ्क्षा बोकेर उहाँ उच्च शिक्षाका लागि संयुक्त राज्य अमेरिका जानुभयो । अमेरिका जाने बेलामा एउटा खुट्टा गुमाएको मान्छेलाई आफ्नै देश, आफ्नै घरमा त गाह्रो हुन्छ भने विदेशमा झन् कति कठिन हुन्छ होला भन्ने चिन्ता उहाँका आमाबुवालाई प¥यो । तीन दशकअघि अहिले जस्तो सुविधा थिएन अमेरिकामा, कहीँ कतै जानुपर्दा सहरको नक्सा हेरेर हिँड्नुपथ्र्याे, जीपीएसको सिस्टम थिएन । नक्सा हेर्न जानिएन भने हिँडडुल गर्न नै गाह्रो हुन्थ्यो । मोबाइल फोनको सुविधा थिएन, उहाँ आएको सहरमा जम्मा दुई परिवार मात्र थिए नेपालीका । जस्तोसुकै परिस्थितिलाई पनि झेलेर अघि बढ्नुभयो मुकेश ।

मुकेशले ओहायो राज्यको राजधानी कोलम्बसको क्यापिटल युनिभर्सिटीबाट ‘बिजनेस ल’, ‘ट्याक्स ल’मा स्नातकोत्तर गर्नुभयो । एमबीए पनि उत्तीर्ण गर्नुभयो । यसपछि वकिलका रूपमा काम गर्न सुरु गर्नुभयो तर केही समयपछि नै उहाँ ओहायो राज्य सरकारको कर्मचारीका रूपमा सरकारी सेवामा प्रवेश गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मभन्दा माथि एक तह मात्र छ । त्यसपछि त राजनीतिक नियुक्ति मात्रै हो ।”
मुकेश करसम्बन्धी कानुनमा अमेरिकाबाट डिग्री गर्ने सम्भवतः एक्लो नेपाली हुनुहुन्छ । ठगी क्षेत्रसम्बन्धी अनुसन्धान विशेषज्ञका रूपमा काम गर्ने ‘सर्टिफाइड फ्रड एक्जामिनर’समेत रहेका मुकेश आफ्नो जागिरे जीवनसँगै निरन्तर नेपाली समुदायको हितका निम्ति काम गर्दै डायस्पोराका नेपालीबीच पनि लोकप्रिय हुनुहुन्छ । “अढाई दशकदेखि यो क्षेत्रमा यति धेरैलाई सहयोग गरेको छु कि कसैले मेरो शारीरिक कमजोरीको कुरा गर्दैन,” उहाँ सुनाउनुहुन्छ, “आफूमा केही गर्छु भन्ने दृढआत्मविश्वास र हुटहुटी छ भने केही कुराले छेक्छ जस्तो लाग्दैन ।”

मुकेश कोलम्बसमा बस्ने नेपाली समुदायको ‘आइडल’ नै हुनुहुन्छ । उहाँले आफ्नो जागिरे जीवनसँगै भर्खर भर्खर सुरु भएका नेपाली सङ्घसंस्थामा सहभागी भएर नेतृत्व प्रदान गर्दै आउनुभएको थियो भने कतिपय संस्था स्थापना नै गर्नुभयो । नेप्लिज अमेरिकन काउन्सिल (सन् १९९५–१९९७)मा महासचिव बनेर उहाँ सामाजिक काममा लाग्नुभयो ।
मुकेश अमेरिका नेप्लिज मिडवेस्ट एसोसिएसन (आन्मा)मा (सन् २००९–२०११) अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका संस्थापक वरिष्ठ उपाध्यक्ष (सन् २०१०–२०१२) र एनआरएन नर्थ अमेरिकाको क्षेत्रीय संयोजक (सन् २०१३–२०१५ ) हुनुभयो ।
“त्यो समय धेरै संस्था नितान्त यहाँ बस्ने नेपालीको हकहितका लागि खुलेका थिए,” उहाँ अहिलेका नेपाली संस्थाप्रति असन्तुष्टि पोख्नुहुन्छ, “अहिले सबैतिर राजनीति घुसेको छ । संस्थामा संलग्न भएर गर्व गर्ने अवस्था छैन ।”

बुवा (शैलेन्द्रप्रसाद सिंह) नेपाल प्रहरीको डीआईजी, अञ्चलाधीश, विशेष प्रहरीको प्रमुख हुनुहुन्थ्यो । मुकेशले चाहेको भए केही नगरी जीवन चलाउन सक्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन । आफ्ना लागि मात्र होइन, अरूका लागि पनि सोच्नुभयो । अनि आज धेरैका उत्प्रेरणाका स्रोत बन्नुभयो । उहाँ भन्नुहुन्छ, “अपाङ्गता भएको छु, कृत्रिम खुट्टा लगाएर हिँड्छु भन्ने कुराको सङ्केत कतै हुन दिएको छैन ।” हो, अपाङ्गता भएर उहाँले कोहीसँग केही माग्नु भएन । बरु धेरै सबलाङ्गलाई दिइरहनुभएको छ ।
उहाँ बस्ने कोलम्बस नजिकैको डब्लिन सहरमा काम खोजी गर्ने, कानुनी विषयमा सहयोग माग्ने नेपालीलाई पनि उहाँले सहयोग गर्दै आउनुभएको छ । एकखुट्टे नृत्याङ्गनाका रूपमा परिचित कलाकार रश्मी खरेललाई पनि उहाँकै पहलमा कृत्रिम खुट्टा लगाइयो । कहिले उहाँ नेपाल पुगेर दृष्टिविहीनलाई सहयोग गर्नुहुन्छ । उहाँकै अगुवाइमा एन्टा (अमेरिकन नेप्लिज तराई एसोसिएसन)मार्फत रौतहट, बसतपुरका बहिरा र अन्य शारीरिक अपाङ्गता भएकालाई पढाइ, छत्रावास, कपडा, पाठ्यसामग्री दस वर्षसम्म सहयोग गर्नुभयो ।
‘डिस्एबिलिटी (अपाङ्गता)लाई एस्क्युज हैन एसेट (सम्पत्ति)का रूपमा लिएँ, त्यसैले मैले यो सबै गर्न सकेँ,” उहाँ गर्वका साथ भन्नुहुन्छ, “अढाई दशकदेखि यो क्षेत्रमा यति धेरैलाई सहयोग गरेको छु कि कसैले मेरो कमजोरीको कुरै गर्दैन ।”

कृत्रिम खुट्टाले नै किन नहोस्, उहाँ हरेक वर्ष नेपाल आएर टे«किङमा निस्कनु हुन्छ । नेपाल घुमाइबारे उहाँले भन्नुभयो, “गत वर्षको जाडोमा दैलेख, मुगु, जुम्ला, बाँके, बर्दिया गरी पाँच जिल्ला घुमेँ, हिउँ खेलँे । यस वर्ष फेरि बर्दिया पुगेँ । चार वर्षपहिले अमेरिकाको प्रहरी अधिकृत, दुई जना अमेरिकी सैनिक, बोस्टन म्याराथुनमा खुट्टा गुमाएकी महिला गरी पाँच जना अपाङ्गता भएकासहित १४ जनाको टोली लिएर ट्रेकिङ गएका थियौँ अन्नपूर्ण क्षेत्रमा । पोखराको नयाँ पुलदेखि पुनहिलसम्मको यो ट्रेकिङ अपाङ्गतामैत्री पर्यटन प्रवद्र्धनका निम्ति गरेका थियौँ ।”

अमेरिकामा अध्ययन सकेपछि नेपालमा नै गएर केही गर्ने योजना थियो उहाँको । त्यही बेला नेपालमा माओवादी द्वन्द्व सुरु भयो । हिंसात्मक गतिविधि धेरै बढे । नेपालमै बसेकाहरू विस्थापित हुन थालेको देखेर उहाँको तत्काल फर्किने सोच परिवर्तन भयो । अमेरिकामै जागिर सुरु गर्नुभयो । अब अवकाशपछि नेपाल फर्किएर अमेरिकामा आर्जन गरेको ज्ञान, अनुभवलाई जन्मभूमिका लागि सदुपयोग गर्ने योजनामा हुनुहुन्छ उहाँ । “एउटा चाहिँ सुशासनसम्बन्धी काम गर्ने योजना छ । जुन नेपालका लागि धेरै लाभदायी हुनसक्छ,” उहाँले योजना सुनाउनुभयो, “दोस्रो चाहिँ कृत्रिम हातखुट्टाको क्षेत्रमा काम गर्न चाहन्छु ।”

उहाँको तेस्रो योजना अपाङ्गतामैत्री पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । नेपाल पर्यटकीय देश हो तर कुनै पनि कुरा पर्यटकका लागि अपाङ्गतामैत्री छैनन् । अमेरिकाले अपाङ्गता भएका पर्यटकका लागि १.२ विलियन खर्च गरेको छ तर नेपालमा कुनै पूर्वाधार छैन । सडक, होटल, कार्यालय, सार्वजनिक स्थान, पर्यटकीय स्थान अपाङ्गतामैत्री छैनन् । “अपाङ्गतामैत्री नहुँदा यो क्षेत्रबाट हुने कमाइ नेपालले गुमाइरहेका छ भने अपाङ्गता भएकाहरू राज्यको भार जस्ता बनेका छन्,” मुकेश भन्नुहुन्छ, “अमेरिकी कानुनले कुनै संरचना बनाउँदा अपाङ्गतामैत्री बनाउन अनिवार्य गरेको छ । त्यसैले मलाई पनि यही क्षेत्रमा काम गर्छु भन्ने लागेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?