रमेशजङ्ग थापा
अनुवादक
मेरा मित्र महाराज कृष्ण रसगोत्र, त्यस समयमा नेपालस्थित भारतीय राजदूतावासमा सचिव पदमा कार्यरत थिए । राजदूत थिए भगवान सहाय । उनीसँगको मेरो व्यक्तिगत परिचय नभए पनि उनको नाम र कामप्रति म अपरिचित थिइनँ । सहाय पनि मेरो नाम–कामबाट अपरिचित थिएनन् । उनी पनि इलाहावाद विश्वविद्यालयका पूर्वछात्र थिए ।
रसगोत्रले मलाई गर्मीको छुट्टीमा काठमाडौँमा बिताउन आमन्त्रण गर्दा सहर्ष स्वीकार गरेँ । इलाहावादले मप्रति जुन किसिमको व्यवहार गरेको थियो, त्यसले यति वितृष्णा जागिसकेको थियो कि त्यहाँबाट कतै जानु मेरा लागि ठूलो उद्धारझैँ भयो । सत्रान्तमा जब विश्वविद्यालयले गर्मीको छुट्टी दियो तब म, तेजी र केटाकेटीहरू नेपाल गयौँ । विद्यार्थी जीवनदेखि मेरो मनमा नेपाल देशप्रति कौतुहल थियो । मानचित्रमा भारतदेखि उत्तर, चौडाइ कम र लम्बाइ अधिक, यस देशलाई देखाएर हाम्रा अध्यापक यो भन्न बिर्सिंदैनथे कि नेपाल एक स्वतन्त्र देश हो । हाम्रो त्यो गुलामीको अवस्थामा यस कुराले मलाई वर्णनातीत सुखानुभव दिन्थ्यो । म सोच्ने गर्थें कि नेपालमा कुनै यस्तो शक्ति हुनुपर्छ, जसले स्वतन्त्रताको झण्डा सदा उचाइमा राखिरहेको छ । जब कि हाम्रो विशाल यो भारत देश अङ्ग्रेजको शासन तल बस्न पराभूतजनित बाध्यतामा थियो ।
कुनै समय टोलछिमेकमा नेपालबारे चर्चा हुँदा एउटा किंवदन्ती सुनेको थिएँ कि पशुपतिनाथको मन्दिरमा पारस पत्थर राखिएको छ । जसले छुँदा फलाम सुन बन्छ । त्यहाँका केही कल्पित र केही तथ्यगत विशिष्टताहरू अब मेरा लागि अपरिचित भएनन् । नेपालमा राणा शासनको अन्त्य भइसकेको थियो । ती दिनहरूमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए । अभिनव नेपालको विषयमा प्रवेश गर्ने पनि ममा चिरसञ्चित अभिलाषा कायमै थियो ।
पटनासम्म रेल र त्यहाँबाट हवाईजहाज चढेर काठमाडौँ पुग्यौँ । हवाई अड्डा (जहाँ पहिला गौचरन भूमि र हाल विमानस्थल, मध्ययुगबाट आधुनिक युग प्रवेशको त्यो सायद साङ्केतिक चिह्न होला ?)मा हामीलाई रसगोत्रले स्वागत गरे । भेटघाटको प्रथम आलिङ्गनमा उनी बोले, “बच्चनजी, यहाँको प्रथाअनुसार काठमाडौँ प्रवेशपछि सबैभन्दा पहिलो कर्तव्य पशुपतिनाथको दर्शनार्थ जानु ।” छायाचित्रहरूमा हेरेको कारणले होला, मन्दिर यथा प्रत्यासित लाग्यो । नेपाली स्थापत्य शैलीको मौलिकतामा अधिक ढालिएको शेष अरू भारतीय मन्दिरहरू जस्तै जताततै गाईको गोबर, माग्ने, ढोङी, जोगी, कोरी, रोगी । मुक्ति प्रदायक भगवान् शङ्करको सान्निध्यमा देह त्यागार्थी मरणासन्न रोगीका लागि मन्दिरनजिकै आवासको व्यवस्था गरिएको रहेछ । रसगोत्रले हामीलाई उनको कमलपोखरीस्थित निवासस्थानमा बस्ने व्यवस्था गरे । हामीलाई बस्न दिइएको त्यो विशाल भवन कुनै भूतपूर्व उच्चपदस्थ राणाको महल थियो । दरबारलाई ठूला–ठूला पर्खालले घेरिएको, बीचमा अत्यन्त चित्ताकर्षक बगैँचा, सुन्दर तलाउ साथै कैयौं फोहरा जडान गरिएका थिए । यत्रो भवनमा रसगोत्र एक्लै बस्थे । त्यस समयमा उनी अविवाहित नै थिए । सब कोठा एकदम सुरुचिपूर्ण ढङ्गले सजाइएका, प्रत्येकमा दरी, गलैँचा, भित्ताहरू तस्बिरद्वारा शृङ्गारिएका, उपयुक्त ठाउँमा ऐना, फर्निचर आदि । राणाकालीन अवस्थाका साजसज्जामा हरेक कुरा र केही रसगोत्रको सोचअनुसार सजाइएको पनि देखिन्थ्यो ।
मुख्य महलबाट अलग तर नजिकै एक सर्व–सुविधायुक्त अतिथिगृह थियो । रसगोत्र अतिथि गृहमा बस्न गए र हामीलाई मूल भवनमा नै राख्ने व्यवस्था गरियो । वाह ! तेजीको कोठा अलग, मेरो अलग, बच्चाहरूको अलग–अलग तर पनि कैयौँ कोठा खाली नै । खाना पकाउने एक जना भान्छे र नोकरचाकरहरू थिए । त्यहाँ मैले भगवान सहायलाई धेरै नजिकैबाट हेर्ने अवसर पाएँ । उनी एउटा कुशल, गम्भीर, अनुभवी र सफल अधिकारी हुन् भन्ने धेरैबाट सुनेको थिएँ । उनी त राम्रो कलाकार पनि रहेछन् भन्ने जानकारीले मलाई आश्चर्य तुल्यायो । राजदूतावासको एउटा कोठा चित्रकलाको उपकरण, क्यानभास, रङ, कुची आदिले भरिभराउ थियो । पेरिस प्लास्टरका मूर्तिहरू पनि उनले बनाउँथे । नेपाली जनजीवन र मनोरम प्राकृतिक दृश्यावलीले ओतप्रोत सजीव तेलचित्रहरू प्रायः देखिन्थे । साहित्यमा पनि उनको उत्तिकै रुचि थियो । उनको मूल्याङ्कन अरूको सम्मति एवं आलोचनाभन्दा अप्रभावित स्वतन्त्र हुने गथ्र्यो । भगवतीचरण गुप्ता उनका प्रिय उपन्यासकार थिए भने मेरा कविताहरू प्रायः उनलाई मन पथ्र्यो । उनकी पत्नी विद्यादेवी वास्तवमा भावुकताकी मूर्ति थिइन् । मेरो ‘निशा–निमन्त्रणा’को गीत उनलाई विशेष मन पथ्र्यो । जब म उनलाई सुनाउँदै जान्थेँ । उनी डुब्दै जान्थिन् र उनको मुखारविन्दबाट ‘आहा’ ध्वनित हुन्थ्यो ।
रसगोत्रले हामीलाई त्यहाँ आफ्नै प्रकारले छुट्टी मनाउन पूरा छुट दिएका थिए । प्रायः बिहानै उनी अफिस जान्थे । लन्चको समयमा फर्किन्थे तर यो कुरामा उनी आग्रह गर्दैन थिए कि हामी उनको साथ लन्च गरौँ । बिनारोकटोक हाम्रो दिनचर्या कट्दै थियो, जब मन लाग्यो उठ्यो, नुहायो, सुत्यो । जब मन लाग्यो खायो, घुम्यो । समय बन्धनमा चल्नेको निम्ति शायद सबैभन्दा ठूलो छुट्टी यो हो कि जसलाई समय–सीमाबाट मुक्त गरिदिनु । हामी सबै वर्षौंदेखि समयबन्धनमा जकडिएका थियौँ । हामीले आफ्नो स्वतन्त्रताको खुलेर उपभोग ग¥यौँ र साँचो अर्थमा छुट्टी मनायौँ ।
हाम्रो अधिकांश समय काठमाडौँमा बित्थ्यो तर प्रत्येक सप्ताहान्तमा हामी कार लिएर काठमाडौँ उपत्यकाबाहिर पुग्ने गथ्र्यौं । जहाँ प्राकृतिक सौन्दर्यको अलावा अद्भूत स्थापत्य एवं उल्लेखनीय आकर्षणको प्रचूरता पाउन सकियोस् । नेपालका हरेक कुनाकन्दराहरूमा लोककथा, लोकोक्ति, इतिहास, देवोक्ति आदि कुरासँग प्रबल विश्वास जोडिएको पाइन्छ । त्यहाँको जनजीवनले ती कुराबाट कति ऊर्जा, कति प्रेरणा र कति आनन्द प्राप्त गरिरहेको छ भन्ने अनुमान गर्न सकिँदैन । कुनै प्रसिद्ध इतिहासकारको भनाइअनुसार स–साना स्थानहरूद्वारा जोडिएका जनश्रुतिहरू देशभक्तिको मूल स्रोत हुन् । जसका कारणले ठूला–ठूला युद्धहरू जित्न सकिन्छ । सिपाही अमूर्त देशको निम्ति लडाइँ लड्दैनन्, बरु उनीहरू होमिन्छन् आफ्नो गाउँको सानो टाकुरो या मैदानका लागि; जहाँ कुनै प्राचीन प्रसङ्ग र वीरगाथाका कहानीहरू जोडिएका हुन्छन् । जसले उसको बचपनदेखि नै उसलाई सजीव–कथा भूमिमा बाँधेर राखेको हुन्छ । के यही बलका कारणले त होइन, नेपाल सदा अपराजय भएर बाँचिरहेको ?
काठमाडौँ मलाई मध्ययुगीन वातावरणमा हुर्किरहेको धार्मिक नगरी लाग्यो । जहाँ महायानी बौद्ध, तान्त्रिक, शाक्त, पौराणिक विश्वास, अन्धविश्वास, मिथ्यान्ध विश्वासमा विजडित समाज गुम्फित भएको प्रस्ट देखिन्छ । नेपालबाहिर अङ्ग्रेजी पढेलेखेका नवयुवाको आधुनिकताको नाममा गगनस्पर्शी जुन चेतना मौलाइरहेको पाउँछौँ । जसबाट त्यहाँको सामान्य जनजीवन अछुतो अर्थात् असम्पृक्त छ । काठमाडौँमा यस्तो कुनै केही देखिँदैन, जो अगाडि आएर आधुनिकताको उद्घोष गरोस् तर यो आधुनिकता त्यस मुखौटोभन्दा कति कम छैन । जसले आफ्नो अनुहार लुकाएर मध्ययुगीनताकै छद्म भेषमा बाँच्ने उपक्रम गरिरहेको होस् । ऐतिहासिक प्रक्रियाले गर्दा भारतवर्षमा मध्ययुगीनतालाई आधुनिकता स्वीकार गर्नु जुन प्रकारले तयार एवं विवश हुनुप¥यो तर नेपाललाई त्यो बाध्यताले छोएन । मेरो विचारमा, यदि भारतभूमिमा मुसलमानको आक्रमण, इस्लामको आगमन, अङ्ग्रेजको कब्जामा नपरी पाश्चात्य सभ्यताको चङ्गुलमा नपरेको अवस्था हुन्थ्यो भने आज नेपालको जस्तै सामाजिक स्थितिमा हामी हुन्थ्यौँ ।
नेपालमा मलाई कविका रूपमा चिन्नेको सङ्ख्या कम थिएन । अझ मेरो मुखबाट मेरा कविताहरू सुन्न उत्सुक मैले धेरै पाएँ । नेपालको त्यो मेरो प्रवासकालमा कैयौँ पटक विभिन्न ठाउँमा काव्यगोष्ठीहरू सम्पन्न भए । जहाँ नेपाली कविहरूको पनि सहभागिता एवं उपस्थिति उत्साहजनक थियो । नेपालका जुनजुन कविहरूको नाम अहिले मेरो स्मरणमा छन्, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माधवप्रसाद घिमिरे, केदारमान ‘व्यथित’, भवानी ‘भिक्षु’ । समजी नेपालका नाट्यकार र अभिनेता हुन् । केही नाट्यांशहरू अति प्रभावकारी अभिनयद्वारा उनले प्रस्तुत गर्दा म विभोर भएको थिएँ । त्यहाँ, म सबैभन्दा बढी प्रभावित भएको कवि हुन् लक्ष्मीप्रसाद देवकोटा, हृष्टपुष्ट शरीर, अग्लो कद र उनका कविताहरू एकदम नयाँ प्रयोगमा पाश्चात्य आधुनिक कविताहरूसँग प्रतिस्पर्धा गर्छन् । उनको स्वरमा प्रखरता, आक्रोश साथसाथै व्यङ्ग्य झल्किन्थ्यो । राजनीतिमा पनि उनको राम्रो दखल भएर होला, पछि उनी मन्त्री भए । चुरोट पिउने उनको शृङ्खला प्रायः टुट्दैनथ्यो । कम उमेरमा नै क्यान्सरद्वारा उनको मृत्यु भयो । पारिवारिक प्रथाअनुसार सम्भवतः उनको सहमतिमा र सारा आधुनिकताका अतिरिक्त उनको अन्तिम केही समय पशुपतिनाथ मन्दिरमा व्यतीत भयो ।
देवकोटाभन्दा एकदम भिन्न थिए माधवप्रसाद घिमिरे, दुब्ला–पातला, मझौला कद, ठेट नेपाली वेशभूषा, निश्चल बालसुलभ स्वभाव, नेपाली लोकधुनमा पनि गीत लेख्न सक्ने र उनका गीतमा प्राकृतिक सौन्दर्य एवं पहाडी ग्रामीण नवजीवनको प्रतिविम्ब झल्किन्थ्यो । उनी सस्वर एवं लयात्मक ढङ्गबाट कविता वाचन गर्थे । जसरी केटाकेटीहरू आपसमा भेट्नेबित्तिकै कुनै खेल सुरु गरिहाल्छन्, त्यसरी उनी कुरा गर्दागर्दै कुनै गीत सुनाउँथे र अरूलाई पनि सुनाउन अनुरोध गरेर भावविभोर हुन्थे । मानौँ उनका अङ्ग–अङ्गहरूले काव्यश्रवण गरिरहेछ ।
‘भिक्षु’ हिन्दी छायावादद्वारा प्रभावित थिए भने ‘व्यथित’ प्रगतिवादी । ‘भिक्षु’ छायावादी प्रतिक्रियाबाट कहिलेकाहीँ घोर याथार्थ उन्मुख ढल्केको उनको कविता ‘मेहतरानी’ सुन्दा थाहा पाउन सकिन्छ । ‘व्यथित’ खुलेर भन्न नसक्ने स्थितिमा व्यङ्ग्यको आश्रय लिन्थे ।
कुनै एक साँझ कतै एउटा कवि गोष्ठीको मलाई सम्झना छ । त्यहाँ टङ्कप्रसाद आचार्य, डा. डिल्लीरमण रेग्मी र अन्य कविहरूको राम्रो उपस्थिति थियो । राणाशासनमा आफ्नो क्रान्तिकारी विचारका कारणले आचार्य र रेग्मीले १०–१० वर्ष जेलजीवन बिताएका थिए । उनीहरूका बाँकी साथीहरूलाई प्राणदण्डित गरियो । टङ्कप्रसाद ब्राह्मण भएका कारणले फाँसीको फन्दाबाट बाँचेका रहेछन् । काराबासको त्यो लामो अवधिमा मेरा पुस्तकहरू, मधुशाला, मधुबाला, निशा निमन्त्रण र एकान्त सङ्गीत पढेर केही समय काटेको त्यस गोष्ठीमा अवगत गराएका थिए ।
मेरो काव्य–पाठका केही विशेष बैठकहरू रसगोत्रले आफ्नै निवासस्थानमा आयोजित गरेका थिए । यस्ता कार्यक्रम रातिको भोजनोपरान्तमा आरम्भ भएर बिहानसम्म चल्ने गथ्र्यो । प्रभातकालीन चराहरूको स्वर सँगसँगै सबैले बिदा लिन्थे । रसगोत्र स्वयं कवि भएकाले उनी गहन कल्पनाशील छन् । पछि उनको एक सङ्ग्रह ‘दो परते’ को नामले प्रकाशित भएको थियो । काव्य समीक्षामा पनि उनको दखल पाइन्छ । अङ्ग्रेजी पत्रपत्रिकाहरूमा हिन्दी कविताबारे उनका लेखहरू अक्सर प्रकाशित भइरहन्छन् ।
रसगोत्रले एक साँझ एउटा यस्तो काव्यपाठको आयोजना गरे, त्यस्तो मेरो जीवनमा न पहिले भएको थियो न पछिका दिनहरूमा होला ! ‘निशा निमन्त्रण’का सय गीतहरू सन्ध्यादेखि प्रभातकालसम्म सुनाउने आग्रह भयो, पूरा एक रात, एक साथ । कवितामा अधिक रुचि राख्ने २०–२५ जना मात्र त्यहाँ आमन्त्रित थिए । मलाई सम्झना छ, उक्त कार्यक्रममा राजदूत भगवान सहाय र श्रीमती सहायको पनि सम–उपस्थिति थियो ।
नेपालमा आफ्ना प्रियजन, मित्र, प्रशंसकका माझ समय मेरो एकदम छिटो बितिरहेको थियो । विश्वविद्यालय खुल्ने दिन नजिकिँदै आयो । मलाई इलाहावाद फर्किनु नै थियो । यहाँ आउनुभन्दा पहिला थोरै या अधिक समयका लागि बाहिर जाँदा इलाहावाद फर्किन मन व्याकुल हुन्थ्यो । अब मलाई इलाहावाद फर्केर जान डर लागिरहेको थियो ।