विमल भौकाजी
उज्यालोले धर्ती टेक्न पाउँदा–नपाउँदै टोलवासीलाई एउटा नयाँ हल्लाले बिउँझायो– ‘‘सुन्दरी त रगतपच्छे छे रे !’’
हल्ला सँगसँगै जिज्ञासा पनि बिउँझ्यो–
कसरी ?
किन ?
सानो गाउँ, सानो बस्ती । कतिबेर पनि लागेन, एकैछिनमा ठोस कुरो आयो– ‘‘दलेले कुटेछ नि सुन्दरीलाई !’’
सुन्दरी र दले, गाउँको नमुना जोडी । तीन वर्ष भयो बिहे भएको ।
दशैँको बेला थियो । माथि देउरालीमा पिङ हालिएको थियो । संयोग ! त्यही पिङ उनीहरूको प्रेमको आधारशीला भयो । पल्लो बस्तीबाट आएकी थिई सुन्दरी आफ्ना साथीसङ्गीहरूका साथ । तल बेँसीबाट देउराली चढेको थियो दले । ऊसँग पनि साथमा थिए थुप्रै अल्लारे साथीहरू ।
पालैपालो पिङ मच्चाइरहेका थिए सबैले । एउटा त्यस्तो समय आयो जब पिङ मच्चाउनका लागि दले काम्रोमा चढ्यो । – ‘‘खै, खै, म चढ्छु ।’’
अचानक हस्तक्षेप गर्न पुगेको एउटा नारीस्वरले दले अक्क न बक्क प¥यो । ‘‘खै छोड !’’ झन्डै–झन्डै घच्याटी नै दिई उसले दलेलाई । सोझो दलेलाई बाङ्गो रिस उठ्यो । केटीमान्छे भनेन उसले, हुत्याइदियो । ढुनमुनिई केटी ।
झण्डै–झण्डै भुइँमा के जोतिन लागेकी थिई, केटीका साथीहरूको अत्तालिएको सामूहिक आवाज आयो– ‘सुन्दरी !’
पुरुष दले, त्यसै पनि मानवीय हृदय त छँदै थियो ऊसँग; दौड्दै गएर आफैँले फेरि च्याप्प समातेर लड्नबाट बचायो सुन्दरीलाई । एउटा सिनेमाको दृश्यझैँ दलेको बाहुपासमा आइपुगी सुन्दरी । यति अकस्मात् भयो घटना कि कसैले सोच्नै सकेनन्, क्या गजब भयो !
निकैबेर दृश्य थामिइरह्यो । दलेको बाहुपाश कसिलो भइरह्यो, शायद सुन्दरीले पनि एकक्षणका लागि त्यो बन्धनबाट छुट्कारा चाहिन । आँखा जुधिरहे दुवैको । दलेले खोई के देख्यो कुन्नि सुन्दरीका आँखामा ? सुन्दरीले पनि के देखी दलेका आँखामा ? उनीहरू नै जानून् तर त्यो मञ्चित दृश्य अवलोकन गर्ने त्यहाँ उपस्थित सबैका लागि यो घटना प्रथम थियो । यसअघि यस्तो प्रत्यक्ष दृश्य गाउँलेहरूले देखेका थिएनन् । घटना नौलो र अनौठोलाग्दो बनेको थियो । अझ, त्यसभन्दा अघि बढेर घटनाले नौलो मोड लिएको दृश्यले गाउँलेहरूका आँखा खुलाका खुलै रहे ।
दलेको बन्धन चुँडालेर सुन्दरी पिङको डोरी समात्दै काम्रोमा चढी र दलेतर्फ हेरी । शायद, सुन्दरीका आँखामा निमन्त्रण बुझ्यो कि कुन्नि दलले ! उसका पाइला पनि स्वचालित पिङतर्फ बढ्यो । चढ्यो ऊ पनि काम्रोमा उभिएकी सुन्दरीका अघिल्तिर ।
दुईका चार खुट्टा अटाई–नअटाई भयो काम्रोमाथि ।
पिङका दुवै लठ्ठामा जोडले समातेकी थिई सुन्दरीले । दलेले पनि झण्डै–झण्डै उसका दुवै हात छुने गरेर लठ्ठा पक्रियो र एक झट्का दियो पिङलाई । पिङ हुत्तियो । हुत्तिएको पिङमा दले र सुन्दरीको शरीर यसरी ठोक्कियो कि त्यो ठोक्काइले दुवैमा कहिल्यै महसुस नभएको तरङ्ग ल्याइदियो । बस्, यहीँनेर रोपियो प्रीतिको बीउ प्रथम चरणमै । सुन्दरी अर्कै गाउँको, दले अर्कै गाउँको ! पहिले कहीँ–कतै देखादेखसम्म नभएका दुई प्राणी, विपरीत लिङ्गी ! यो सङ्गमले मानौँ युगौँदेखिको चिरपरिचितझैँ अनुभूति दिलायो ।
यहाँबाट सुरु भयो एउटा गर्मागर्मी प्रेमको
गोरेटो– सुन्दरी र दलेको । यही गोरटोका यी यात्रीले निकै दिनको यात्रापश्चात् एउटा निश्चित गन्तव्य पहिल्यायो । त्यो गन्तव्य थियो, ‘बिहे’को । अर्थात्, एक दिन उनीहरूले दाम्पत्य जीवनको थालनी गरे ।
०००
अब कसैको आँखा छलेर लुकी–लुकी आपसमा हेराहेर गरिरहनु थिएन । समाजले कोरिदिएको ‘लक्ष्मणरेखा’ मेटिएको थियो । सँगै हिँड्दा–बस्दाको अनधिकृतबाट मुक्त भएका थिए ती दुई ।
बिहेको दिनपश्चात् यो जोडी खुलेआम प्रेम गर्न स्वतन्त्र भए तर स्वतन्त्रताको अर्थ समाजमा नपच्ने कुनै क्रियाकलाप उनीहरूको गाउँलेले कहिल्यै महसुस गरेनन् । उनीहरू एक आदर्शवादी जोडी थिए । साँच्चै भन्ने नै हो भने, बिहेपछिको उनीहरूको प्रेम देखेर गाउँलेहरूको मनमा एक किसिमको जलन हुन्थ्यो । स–साना विषयमा पनि झगडा पर्ने लोग्ने–स्वास्नीबीच सुन्दरी–दलेको प्रेमिल जोडीले ईष्र्या जगाएको थियो । मायाप्रीति के हो भनेर यो जोडी गाउँभरि उदाहरण बनेको थियो । यस्तैमा एउटा अप्रत्याशित समाचार !
सुन्दरी र दलेको उदाहरणीय जोडीबीच त्यस्तो के आइलाग्यो, जसका कारण दलेले सुन्दरीलाई
कुट्नुप¥यो ? कुटिएकी मात्रै पनि होइन, रगतपच्छे नै हुने गरेर किन कुटिई सुन्दरी ?
कोही पुगिसकेका थिए उनीहरूको घरछेउ, कोही ओहोरदोहोर गर्दै लुकीचोरी घरभित्र आँखा लगाउँदै थिए ।
निकै उज्यालो भइसक्दा पनि कुनै चालचुल थिएन घरमा । घरका झ्याल–ढोका कुनै पनि खुलेका देखिएनन् ।
घाम आँगनमै आइपुग्यो ।
घ¥याक्क ! मूलढोकाको सँघारमा बल्ल दले देखियो ।
दलेको अनुहारमा सधैँ देखिने गरेको कुनै चमक थिएन, परैबाट पहिल्याए दर्शकहरूले तर बाहिर आँगनमा यसो आँखा लगाएर दले फेरि तुरुन्तै भित्रतिरै फर्कियो ।
केहीबेरपश्चात् सुस्तरी चालमा सुन्दरी पनि खुला ढोकामा उभिन आइपुगी । उत्सुकताका आँखाहरू त्यतैतिर तेर्सिए । ‘‘ए, त्यस्तो त केही होइन रहेछ । हिँडेरै आई त... ।’’ एउटीले अर्कीको कानमा फुसफुसाई ।
त्यो अर्कीले आशङ्का उब्जाई– ‘‘कहाँ... हेर् न, ओढ्नेले पूरै जीउ ढाकेकी छे ।’’
‘‘मज्जाले कुट्यो जस्तो छ मोरोले ।’’ अलिक पर उभिएकीले अनुमान लगाई । विभिन्न अड्कलबाजी काट्न लागियो, जिज्ञासाहरू पोखिन लागे ।
एउटीले जिज्ञासा उठाई– ‘‘केको खटपट परेछ
कुन्नि ?’’ ‘‘दलेको अर्कै केटी छ कि बाहिर, के थाहा ? सुइँको पाई कि सुन्दरीले ?’’ विषयमा शङ्का उब्जाई उही उमेरकी अर्कीले ।
‘‘सुन्दरीलाई त्यस्तो माया गर्ने दलेले बाहिरतिर किन हेथ्र्यो अरू केटी !’’ शङ्काको निवारण गर्न खोजियो ।
‘‘आ... यसरी धेरै मायाप्रीति गर्नु पनि राम्रो होइन
क्या !’’ अलिक उमेर खाएकीले बोलिन् ।
झ्वाट्ट अर्की बोली– ‘‘बेलामा नगरेको माया कहिले गर्नु त ?’’ सुन्दरी–दलेको त्यो तथाकथित काण्डमाथि अनेक किसिमका बहस÷तर्कहरू उजागर भए तर जति भए, कसैद्वारा प्रत्यक्ष नदेखिएकै आधारमा भइरहेको थियो । खासमा घटना नै घटेको हो कि होइन ? यसमा कोही साक्षी थिएनन् । केवल हल्ला चलेको थियो र त्यही हल्ला नै त्यसको आधार थियो । बस्, यही आधारमा ‘किन ?’ भन्ने प्रश्न खडा गरिएको थियो ।
वातावरण एक किसिमको असमञ्जस्य थियो । सीधा कसैले पनि दले या सुन्दरीलाई प्रश्न उठाउन सकेका थिएनन् । सर्वोच्च अदालतले जस्तो ‘कारण देखाऊ’ आदेश जारी गर्ने हिम्मत नै कसको थियो र ! जब कि घटना नै पुष्टि भएको थिएन ।
‘रूपा !!’ ढोकाबाट अचानक हुत्तिँदै आएर, बाहिर उभिएकी आफ्नो सबैभन्दा नजिककी सहेलीलाई गम्लङ्ग अँगालो हाल्न आइपुगेकी सुन्दरीको आवाज आयो, अप्रत्याशित । वरिपरिका सबैजना आश्चर्यचकित भए । रूपा पनि अक्क न बक्क भई । उसले आफूमा लपक्कै टाँसिएकी सुन्दरीलाई आफूबाट अलग्याउन खोजी तर सकिन । सुन्दरी त अझ घुँक्कघुँक्क रुन पो लागी ।
‘‘के भयो सुन्दरी ?’’ यस पटक रूपाले अँगालोमै सोधी । जवाफ आएन सुन्दरीबाट, बरु झन् चर्को स्वरमा पो रुन थाली । एकछिन उसलाई रूपाले एक हातले सुमसुम्याइ र अर्को हातले पिठ्यूँ थपथपाइरही ।
उपस्थित सबैजना मूकदर्शक बनेर हेरिरहेका थिए ।
अर्को क्षणमा सुन्दरी शान्त भई । वातावरण अलिक सहज बन्यो ।
रूपाले आफ्नो शरीरबाट सुन्दरीलाई हलुकासँग छुटाइ र उसका दुवै पाखुरा समातेर आँखामा नियाल्दै सोधी–
‘‘किन के भो ? साँच्चै हो सुन्दरी, दलेले तँलाईं कुटेको ?’’
सुन्दरीको मुखबाट कुनै आवाज निस्केन, आँसुले भरिएका आँखा लिएर केवल शिर हल्लियो ‘हो’ को सङ्केतमा । अब शब्द उच्चारण गरेर ‘‘निकै कुट्यो ?’’ भन्ने प्रश्न सोध्नै परेन । मौनतामै– ‘‘हेर् न यहाँ रूपा !’’ आफ्ना छातीमा रूपाको हात तानेर पु¥याइ सुन्दरीले, ‘‘कस्तरी दुखिराखेको छ ।’’ ओढ्ने अलिकति पन्छाएर रूपाले हेरी, सुन्दरीको च्यातिएको चोलीबाट नाङ्गो छाती चियाइरहेको देखियो । “किन कुटेको तँलाई दलेले यस्तरी ?” आक्रोशित स्वर गुञ्जियो रूपाको । सुन्दरीले शिर तल गरी ।
‘किन ? किन सुन्दरी ? किन कुटेको ?’ उसका दुवै पाखुरा समातेर जोडले झट्कारी रूपाले ।
‘‘मैले... ।” सुन्दरीको आँखामा टलपल आँसुले बीचमै छुटायो वाक्य । – ‘‘भन् न !’’ ‘‘मैले बलेसँग कुरा गरेँ भनेर... । त्यत्ति कुरा गरेकै निहुँमा... ।’’ घटना वर्णन गर्न लागी सुन्दरी– ‘‘बलेले सबेरै फोन गरेको थियो दलेको मोबाइलमा । ऊ कोठाबाहिर भएकोले मैले फोन उठाएँ । मेरो स्वर सुनेर मलाई बलेले चिया खानुभो भाउजू भनेर सोध्यो । यति बिहानै कहाँ चिया पाक्छ र ? भनेर म हाँस्न लागेँ । यत्तिकैमा... ।’’
‘‘हाँस्दैमा... ।’’ रूपाले वाक्य पूरा गर्नै पाएकी थिइन, सुन्दरीले अलिक थर्किएको सवाल गरी– ‘‘के हामी आइमाईमान्छेले अर्को लोग्नेमान्छेसँग बोल्नै नहुने, हाँस्नै
नहुने ?’’ घरभित्रै रहेको दलेलाई स्पर्श गर्दै त्यो सवाल आँगनभरि गुञ्जियो । सुन्दरीको अनुहारमा प्रस्टै आक्रोश देखिन्थ्यो । ‘‘ए... अझै पनि हामी आइमाईमान्छे पेलिएरै बाँच्नुपर्ने ?’’ निकै चर्को आवाजमा, दलेले घरबाहिरै निक्लिएर दिनुपर्ने अर्को जवाफ खोजियो । तर घरभित्रबाट कुनै चालचुलसम्मको आभास भएन, बाहिर । ‘‘के हामी मान्छे होइनौँ ?’’ यस पटक झन् ठूलो स्वरमा सुन्दरीले कठिन प्रश्न उठाई ।
मौनता ! मौनता !!
यही मौनतालाई चिर्दै दले भित्रैबाट चिच्याएको सुनियो– ‘‘के मचाहिँ मान्छे हुइनँ ?’’
उपस्थित सबैको नजर त्यतैतिर पुग्यो ।
भन्न सक्थ्यो होला कसैले दलेलाई– ‘‘आफ्नी स्वास्नीलाई कुट्ने तँ साँच्चै नै मान्छे होइनस् ।’’ तर यसो भन्ने समय दलेले कहाँ कसलाई दियो र ! घरभित्रबाट दौडदै निस्केर अचानक उसले सुन्दरीका दुवै पाखुरा च्याप्पै समात्न आइपुग्यो र उसलाई झट्कार्दै चिच्यायो–
‘‘सुन्दरी ! म तँलाई प्रेम गर्छु ।’’
दलेको कुरो सुनेर सबै अवाक् बने । सबैभन्दा आश्चर्यचकित बनिरही सुन्दरी, के भन्दै छ यो दले ? कसरी सुहाउँछ उसको मुखले अझै पनि प्रेमको शब्द बोल्न ?
‘‘हो सुन्दरी ! म तँलाई धेरै प्रेम गर्छु ।’’ दले फेरि उही डिग्रीमा बोल्यो । सुन्दरीले सहिरहन सकिन, ‘‘प्रेम... प्रेम... ! के यही हो प्रेम ??...’’ आफ्नो उध्रेको चोली तानेर देखाई ।
‘‘हो, हो... प्रेम हो यो । कसैले अनुमान लगाउन नसक्ने प्रेम !...’’ दले पनि उसकै अनुपातमा चिच्यायो ।
यही चिच्याहटबीचमै सुन्तलीले देखी, दलेका आँखा आँसुले टलपल भइरहेका थिए । तिनै आँसुको भाखामा दले कुनै बहुलाएको मान्छेझैँ कराउन लाग्यो– ‘‘जब तँ हाँसिस् नि सुन्दरी ! फोनमै सही, बलेसँग हाँसिस् । हाँस्नु हुन्नथ्यो त्यसरी तैँले । तँलाई थाहा छ, जब कि तेरो हाँसोसँग म यति प्रेम गर्छु कि... ।’’
सुन्दरी मौन !
दलेले सुन्दरीका आँखामा गहिरोसँग हेर्दै गम्भीर प्रश्न उठायो– ‘‘पहिले मलाई जवाफ दे त सुन्दरी, मेरो प्रेमलाई तैँले किन विश्वासघात गरिस् ?’’
आँगनभरिका दर्शकमाझ नाजवाफ सुन्दरी, दलेका आँखामा हेरेर टोलाइरही ।