डिल्लीराम मिश्र ‘श्रमजीवी’
मुक्तक अत्यन्त लघुतम आकारमा रचिने कविताको अर्को स्वरूप हो । मुक्तकमा जीवनजगत्को अत्यन्त छोटो एवं सानो विषयवस्तुको वस्तुगत अथवा आत्मपरक कथनको संरचना हुन्छ । त्यसैले मुक्तक एउटा लयबद्ध भाषिक सिर्जना हो । अग्रणी विद्वान् समालोचक डा. वासुदेव त्रिपाठीले नेपाली कविताको उपविधागत वर्गीकरण गरी मुक्तकलाई सबभन्दा सानो वा लघुतम प्रकार भनेर उल्लेख गर्नुभएको छ ।
नेपाली साहित्यमा मुक्तक लेखनको इतिहास २५८ वर्ष पुरानो देखिन्छ । नेपाली भाषामा लेखिएको पहिलो मुक्तक भने ‘तनहूँ भकुण्डो’ लिइन्छ । गोर्खा दरबारमा आश्रित पृथ्वीनारायण शाहका समकालीन दरबारिया कवि, संस्कृतका विद्वान् एवं नेपाली साहित्यको प्राचीनकालका स्रष्टा पण्डित शक्तिवल्लभ अज्र्यालले ‘तनहूँ भकुण्डो’ शीर्षकमा मुक्तक लेखेर तत्कालीन छिमेकी राज्यहरूलाई कडा चुनौती साथ व्यङ्ग्य प्रहार गरेका थिए । तनहुँ दरबारको तत्कालीन अपरिपक्व स्थितिलाई ‘तनहूँ भकुण्डो’ लघुकाव्यमा वर्णन गरिएको छ ।
विसं १८२० देखि १८४० सम्म नेपाली साहित्यको प्राथमिक काल हो । यही कालमा ‘तनहूँ भकुण्डो’को सिर्जना भएको हो । ‘तनहूँ भकुण्डो’ कहिले सिर्जना भयो भन्ने बारेमा लेखकहरूका बीच मतैक्य छैन । नेपाली साहित्यको इतिहास लेख्ने कतिपय अध्येताहरूले पनि देश, काल र परिस्थितिलाई नबुझीकन प्रस्तुत लघुकायको सिर्जना विसं १८३९ मा भएको भनेका छन्, जुन सरासर गलत छ किनभने ‘तनहूँ भकुण्डो’ रचना पृथ्वीनारायण शाहकै शासनकालमा भएको हो । नेपाल एकीकरण अभियानका एक अभियन्ता पृथ्वीनारायण शाहको निधन विसं १८३१ माघ १ गते त्रिशूली र तादी नदीको दोभान नुवाकोटको देवीघाटमा भएको हो । त्यसैले यस काव्यको सिर्जना विसं १८३९ सालमा भएको भन्नु सरासर भ्रम मात्र हो । यसको रचना पृथ्वीनारायण शाहको जीवनकाल विसं १८२० देखि १८३० को बीचमै भएको अनुमान गरिएको छ ।
पृथ्वीनारायण शाह गोर्खाको राजा भएदेखि नेपाल एकीकरण यात्राको गति तीव्र रूपमा अगाडि बढेको हो । नुवाकोट र मकवानपुर विजय गरेपछि उनको ध्यान छिमेकी राज्यहरू तनहुँ, लमजुङ, कास्की र पर्वततर्फ केन्द्रित हुनपुग्यो तर यी छिमेकी राज्यहरू बीच एक आपसमा राम्रो सम्बन्ध थियो । त्यसैले पृथ्वीनारायण शाह यी राज्यमाथि आक्रमण गर्न सकेका थिएन । केवल चेपेघाटमा शान्ति सम्झौता गर्ने निहुँमा पृथ्वीनारायण शाहले आफ्ना र तनहुँका राजा त्रिविक्रम सेनका राजगुरु गौरेश्वर पन्तसँग सहयोग लिएर विसं १८१० मा गोर्खाली सेनाले राजा त्रिविक्रम सेनलाई पक्राऊ गरी नुवाकोट दरबारमा नजरबन्दमा राखेका थिए तर पछि चौतर्फी दबाबको कारण उनलाई छोडियो । यस्तो षड्यन्त्रमूलक छलकपटप्रति गौरेश्वर पन्तले विरोध जनाएको कारण उनलाई पनि देश निकाल गरियो । त्यस समयदेखि तनहुँ र गोर्खादरबार बीचको सम्बन्ध राम्रो भएन । यस्तै विसं १८१२ मा तनहुँ, लमजुङ, कास्की र पर्वतको संयुक्त फौजले गोर्खाको सामरिक महìवको ठाउँ सिरानचोक क्षेत्रमा आक्रमण गर्दा गोर्खाली सेना विजयका लागि असफल भयो । यही क्रममा दुवै राज्यबीच सम्बन्ध बिग्रँदै जाँदा कवि शक्तिवल्लभ अज्र्यालले ‘तनहूँ भकुण्डो’ लघुकाव्य लेखेर गोर्खाली जनमानसलाई, उत्साह र प्रेरणाको सञ्चार गराएका थिए । भनिन्छ त्यतिबेला यी मुक्तकका हरफहरू सबै सैनिक जवान समक्ष गन्धर्वहरूले गायनको माध्यमबाट पु¥याएका थिए ।
‘तनहूँ भकुण्डो’को पहिलो श्लोकले ‘यस तरिकाबाट तनहूँ राज्य कति दिनसम्म चल्ला’ भन्ने आसयसहित तनहुँमाथि विजय प्राप्त गर्नका लागि गोर्खालीहरूलाई उत्साहित बनाएको छ । तत्कालीन तनहुँ दरबारको अपरिपक्व स्थितिप्रति सङ्केत गर्दै मन्त्री सागर खनाल र खरदार कालु जैसीलाई व्यङ्ग्य गरिएको छ । वाला, चाला, राला र खालाजस्ता थेगो शैलीको प्रयोग यसमा गरिएको छ । ‘तनहूँ भकुण्डो’ को पहिलो श्लोक यस्तो छ–
मन्त्रि सागर खनाल वाला
पाँचको सव गान्तिन् चाला
कालु जैसी खरिदार त राला
तेस ढङ्गले तनहूँ त कति खाला ?
पहिलो श्लोकले तनहुँ दरबारको स्थितिको बारेमा बोलेको छ भने दोस्रो श्लोकको चार हरफले गोर्खाको छिमेकी राज्य लमजुङ र साँधसीमा भन्दा अलि पर रहेको कास्की राज्य एवं कर्णाली प्रदेशभित्र पर्ने सुदूरपश्चिमको प्युठान राज्यसम्मलाई कठोर रूपमा सम्झेको छ । ती राज्यहरूमाथि पनि व्यङ्ग्यवाण प्रहार गर्दै पुनः तनहँुलाई नै तारो बनाएको छ । गोर्खाली सेनाले तनहुँमाथि पटक पटक फौजी आक्रमण गर्दा पनि तनहुँ पराजित हुन नसकेको अवस्थामा तनहुँका अन्तिम राजा हरकुमार दत्त सेनले तनहुँलाई आफ्नो नियन्त्रणमा राखेका थिए । अर्थात् तनहुँ राज्यलाई आफ्नो नियन्त्रणमा लिन उनी सफल थिए । मुक्तककारले लमजुङलाई मकुण्डो, कास्कीलाई खुकुण्डो, प्युठानलाई सुकुण्डो र तनहुँलाई भकुण्डोको उपाधि दिएका छन् । दोस्रो श्लोक यस्तो छ–
धायँको छ लमजुङ मकुण्डो
कास्की बाँध सुन्को छ खुकुण्डो
पीउँठानि कन्देऊ सुकुण्डो
मारीलेऊँ तनहूँ त भकुण्डो !
नेपाल एकीकरणको अभियानमा प्रत्येक राज्यसँगको क्षमता र शक्ति तौलने क्रममा पृथ्वीनारायण शाहले तनहुँ, लमजुङ र पाल्पालाई त्रिशक्ति राज्यको उपमा दिएका छन् । यस्तै उनले अर्कोतर्फ लमजुङलाई गरुड, गोर्खालाई सर्प र कान्तिपुर उपत्यकालाई भ्यागुतोको उपाधि दिएका छन् । लमजुङजस्तो आफ्नो पुख्र्यौली ऐतिहासिक राज्यलाई गरुडको उपमा दिने पृथ्वीनारायण शाहको परिभाषामा गरुडदेखि सर्प र सर्पदेखि भ्यागुतो डराउँछ । यस्तो अवस्थामा गरुडरूपी लमजुङलाई मध्यदृष्टिमा राख्दै सर्परूपी गोर्खाले भ्यागुतोरूपी उपत्यकालाई कसरी आफ्नो कब्जामा लिन सकिन्छ भन्ने सवालमा पृथ्वीनारायण शाहमा बहुपक्षीय कूटनीतिक सुझबुझ थियो । आफ्नो जीवनकालमा एकीकृत नेपालको निर्माण गर्ने क्रममा तनहुँ र लमजुङ राज्यलाई उतै छाडेर विसं १८२२ मा कीर्तिपुर, १८२५ मा कान्तिपुर एवं १८२६ मा भादगाउँ र पाटनमा विजय प्राप्त गरी कान्तिपुरलाई आधुनिक नेपालको राजधानी घोषणा गरे । यदि पृथ्वीनारायण शाहले चाहेको भए गोर्खा वा नुवाकोटलाई एकीकृत नेपालको राजधानी बनाउन सक्थे तर उनले त्यसो गरेनन्, कति विशाल हृदय थियो उनीमा ।
नेपाली साहित्यको प्राथमिककालीन साहित्यिक सर्जक शक्तिवल्लभ अज्र्यालसँग धेरै विशेषताहरू जोडिन आएका छन् । उनी भट्टाचार्य पदवी धारक, नेपाली हास्यव्यङ्ग्य साहित्यका प्रवर्तक एवं प्रथम आख्यानकार नेपाली कवितामा छन्द शैलीको प्रथम प्रयोक्ता र प्रथम मुक्तककार हुन् । उनको विसं १८२६ मा संस्कृतमा लेखिएको ललित माधवदेखि विसं १८६३ को दानप्रकाशसम्मको सिर्जनात्मक लेखनयात्रामा एक दर्जनभन्दा बढी सिर्जनाहरू प्रकाशित छन् । संस्कृत र नेपाली भाषामा लेखिएका उनका कृतिहरूमा महाभारत विराटपर्व, सुधातरगिङ्णी, इन्द्रध्वजोत्सव, पुरश्चरण चातुरी, तनहूँ भकुण्डो, जयरत्नाकार, हास्यकदम्ब, यथार्थ तत्त्वबोध र आश्चर्य चूडामणि रहेका छन् । कविवर भानुभक्त आचार्यभन्दा झण्डै ९१ वर्षअघि विसं १७८१ वैशाखमा पोखरीथोक गोर्खामा जन्मेका स्रष्टा शक्तिवल्लभको निधन विसं १८६३ मा ८२ वर्षको उमेरमा भयो । उनका समकालीन महाराज पृथ्वीनारायण शाहले आरम्भ गरेको नेपाल एकीकरण अभियानमा सबै राज्य एकीकृत भइसकेका थिए । शक्तिवल्लभ ज्योतिषशास्त्र र संस्कृत साहित्यका प्रकाण्ड विद्वान् थिए । उनी राजगुरु, गुरुज्यूको पल्टनका संस्थापक, सैनिक तथा राजप्रासाद सेवामा संलग्न पण्डित पनि हुन् । उमेरको हिसाबले पृथ्वीनारायण शाहभन्दा दुई वर्ष कनिष्ठ शक्तिवल्लभले नेपालको एकीकरणमा सकारात्मक भूमिका खेलेका थिए ।