logo
२०८१ मंसिर ६ बिहीवार



शब्दले खिचेको आमाको चित्र

शनिवार |
कला |


शब्दले खिचेको आमाको चित्र


डा. जयराज आचार्य

मानव जातिमा मात्र होइन, पशुपन्छीमा पनि आमा र सन्तानबीचको सम्बन्ध अद्वितीय हुन्छ । त्यस यथार्थलाई साकार पार्दै खगराज बरालले ‘स्यानी’ उपन्यास आफ्नी आमाको बारेमा लेख्नु भएको छ । सहृदयी पाठकका लागि यो कृति अत्यन्त मर्मस्पर्शी छ । लेखकले यस उपन्यासमा आफ्नो बाल्यकालदेखिका अनेकानेक सम्झना कलात्मक रूपमा बुनेर राख्नु भएकाले यसलाई उहाँको आत्मकथासहितको उपन्यास वा ‘आत्मोपन्यास’ भने पनि हुन्छ ।
जन्म नै मृत्युको अकाट्य कारण हो । जातस्य च ध्रुवोर्मृत्युः । मृत्यु ध्रुवसत्य हुँदाहुँदै पनि हरेक मानिस आफन्तको मृत्युमा शोकाकुल हुन्छ, करुणाको पात्र बन्छ । झन् आमाको मृत्युमा लेखिएको हुनाले यो करुण रसप्रधान हुने नै भयो । साहित्यमा करुण रस सबैभन्दा शक्तिशाली रस हो । मुनामदन र गौरी हाम्रो सामाजमा अत्यधिक पढिएका करुण रसको साहित्यका बजोड उदाहरण हुन् ।

उपन्यासमा आमाको मृत्युमाथिको शोक र करुणा मात्र छैन, गण्डकी प्रदेशको ग्रामीण जनजीवनको सजीव चित्रण पनि छ । त्यहाँको समाजमा प्रचलित चालचलन, विश्वास, अन्धविश्वास, मानिसका आशा र त्रासका वर्णन छन् । गाडीमा अघि बढ्दै जाँदा ‘रातको अँध्यारोमा अचानक बिरालोले बाटो काट्यो’ अशुभ कुरो भयो भनेजस्ता कुरा छन् । ज्योतिषि र झाँक्रीका कुरा छन्, फुकफाकका कुरा छन् । सपना र भविष्यवाणीका कुरा छन् । नाग देवताको प्रभावका कुरा छन् । त्यसकारण यो उपन्यास त्यस भेगको समाजशास्त्रीय अध्ययनका लागि केही खुराक पनि हो ।

भाषा काव्यमय र प्रस्तुतिशैली प्रभावकारी छन् । रातमा तुलसीमठ अगाडि लम्पसार परेकी आमाको लास हेरेर बराल लेख्नुहुन्छ,
‘बिहान उजेलो हुनी बेला तीन तारा दक्खिनतिर देखिन्चन्,’ आमा भन्ने गर्थिन् सधैँ । म स्कुल पढ्दा तीन तारा हेरेर उठ्थेँ । हिजो पनि तीन तारा त्यही आकाशमा थिए, हाम्री आमा पनि हामीसँगै थिइन् । आमा बोल्थिन्, हाँस्थिन् । अहिले आमा बोल्दिनन्, हाँस्तिनन्, केही हलचल नै गर्दिनन् तर तारा जहाँको तहीँ छन् ।

अनि उहाँ आमाको पार्थिव शरीर जलिरहेको अवस्थाबारे भन्नुहुन्छ, ‘‘गण्डकीपारि अर्को लास जलिरहेको थियो । मलामीहरू कुरेर बसेका थिए । क्षणभरमै आमाको शरीर खरानी भयो ।’’ छोटो तर मार्मिक भनाइ । यसले देवकोटाको मुनामदनलाई सम्झाउँछ ‘‘कसरी खायो आगोले दिदी मुनाको शरीर ?’’ अनि राष्ट्रकविकी गौरीलाई – ‘हेर्नू विष्णुमती पुगेर बटुवा ! कालो त्यहाँ बालुवा, लप्कावाल बल्यो चितानल, जलिन् पाहाडकी पालुवा ।’ आ–आफ्नो कृतिमार्फत देवकोटाले मुनालाई र राष्ट्रकविले गौरीलाई जस्तै बरालले स्यानीलाई अमर बनाइदिनुभएको छ ।

प्रकृतिलाई मानिसले आफ्नो व्यक्तिगत अवस्था अनुसार सुन्दर या असुन्दर देख्छ । एकै समयमा कतै विवाह, व्रतबन्ध, भोजभतेर हुन्छ, कतै दाहसंस्कार र शोक । प्रकृति भने हामीप्रति उदासीन हुन्छ, मौन रहन्छ । हावा र पानी बगिरहन्छन् । पृथ्वी घुमिरहन्छ, रात र दिन भइरहन्छन् । जन्म र मृत्युको प्रक्रिया रोकिन्न । बरालका शिक्षकले एक पटक भनेका थिए रे– ‘‘मानिस मृत्युदण्ड सुनाएको कैदी हो ।’’ यसै प्रसङ्गमा यक्षले युधिष्ठिरलाई सोधेको प्रश्न पनि सम्झिइन्छ–
‘‘आश्चर्य के हो ?’’ उत्तर यस्तो थियो– ‘‘प्राणीहरू दिनहुँ मर्दछन् तर जो बाँचेको छ ऊ म मर्छु भन्दैन । सबैभन्दा ठूलो आश्चर्य यही नै हो ।’’

बराल आफूलाई ‘कान्छो’ भन्ने गरिएको भए पनि माहिलो भएकाले हरिश्चन्द्र कथाको एक ब्राह्मण पात्र शुनःशेपलाई सम्झिनुहुन्छ जो गरिब ब्राह्मण अजिगर्तको माहिलो छोरो हुनाले यज्ञपशुको रूपमा काटिनका लागि बेचिएको थियो । यस उपन्यासमा पौराणिक कथाहरू पनि प्रशस्त जोडिन आएका छन् र कतिपय थप ज्ञानबद्र्धक पनि छन् । उहाँ मसिना–मसिना कुराको पनि मार्मिक वर्णन गर्न माहिर हुनुहुन्छ । आमा मरेपछि कपाल खौरिँदा उहाँ भन्नुहुन्छ, ‘‘व्रतबन्धमा कपाल खौरिन नमान्दा आमाले ‘म मर्दा नि खौरिन पर्च’ भनेको सम्झिएँ ।’’
साङ्ग्रिला बुक्सले प्रकाशन गरेको यस उपन्यासमा आमाको मृत्युपछि तेह्र दिनसम्म गरिएको काजकिरियाको वर्णन तेह्र खण्डमा प्रस्तुत छ । मरेर गएका पितृहरूका लागि गरिने यो परम्परागत कृत्य अबका सन्तानले गर्छन् कि गर्दैनन् भन्न गाह्रो छ किनकि आज समाज बदलिएको छ र कतिका सन्तान त समुद्रपार पुगिसकेका छन् तर उपन्यासमा ती सबै पितृकृत्यहरूको विस्तृत वर्णन मार्मिक साहित्यिक ढङ्गले प्रस्तुत छ । उहाँ गरुड पुराण सुन्नुहुन्छ, अनि आमासँगका आफ्नो बाल्यकालका पुराना घटना सम्झनुहुन्छ र अन्तमा ती कुरालाई आमाको मृत्युसँग जोडेर टुङ्ग्याउनु हुन्छ ।

नेपालीहरू जीविकोपार्जनका लागि विदेशिनु परेको र बरालका मावली हजुरबाका परिवार आसामतिर बसोवास गर्न पुगेको र यदाकदा आफ्नो मूल थातथलो फर्किन गरेको वर्णनले आजका नेपालीको बाध्यतालाई पनि सम्झाउँछ । आसामबाट धागोले बाँधेर आएको चिठीले करुणामिश्रित हाँसो पनि लगाउँछ तर त्यसमा पनि हाँसोभन्दा आँसु नै बढी छ । नेपालीहरू हिजो कोही आसाम पुगे, कोही बर्मासम्म पनि पुगे । मदन ल्हासा पुगेर फर्किंदा आमा र मुना दुबै मरेको पाए । आज पनि लाखौँ मदन आफ्नी मुना र आमालाई घरमा छोडेर कतार, कुवेत, साउदी, मलेसिया र कोरिया पुगेका छन् । ती फर्कंदा कि घरबार विच्छिन्न भएको पाउँछन् कि आफँै बाकसमा बन्द भएर आइपुग्छन् । देशको यो विडम्बना– हाम्रो विगत र वर्तमान पनि अझै उस्तै ।

बराल केटाकेटी हुँदा आफ्नो घरकी काली भैँसीको लामो वर्णन गरेर उसलाई बाले बेचिदिएकोमा पीडा व्यक्त गर्नुहुन्छ (चौथो अध्याय पृ. ५४–६८) । यो अध्याय त पूरै काली भैँसीबारे छ । अनि त्यसैगरी गर्भिणी कण्ठी भैँसी लडेर हर भाँच्चिएर उठ्न नसेकेको र आफू एक दिन बिहान उसलाई हेर्न जाँदा, आँखा चिम्लिएको, कान नचलाएको र सास नफेरेकोले मरेको निश्चित भएको वर्णन (नवौँ अध्याय, पृ. १९४ र १९५) छ । अनि आफ्नी आमाको शरीर तुलसीको मठमा कण्ठीजस्तै शान्त भएर निष्प्राण लडेको सादृश्य वर्णनले लेखकको आफ्नो घरका पशुप्रति पनि आमासँग जस्तै आत्मीयता रहेको देखिन्छ । ती पशुहरूको पीडा आत्मसात् गर्नु लेखकको संवेदनशीलता हो । हामी देवताको प्रार्थनामा पनि भन्छौँ –भूतदयां विस्तारय तारय संसारसागरतः ।

उपन्यासमा आमाको सम्झना नै प्रमुख विषय हुनु त स्वाभाविक नै भयो तर यसमा उहाँको बाल्यकालका घटना, ग्रामीण परिवेशको चित्रण, आमाले बर्सेनि गरेको स्वस्थानीको व्रत र अनेकानेक चाडपर्वको अति सजीव वर्णन पनि छ । यो वर्णन कुनै भिडियो हेरेको भन्दा पनि बढी सजीव छ । भिडियोले कुनै पनि वस्तुको प्रत्यक्ष दर्शन मात्र गराउन सक्छ तर बरालका शब्दले हृदयभित्रका सूक्ष्म अनुभूतिगम्य विषयलाई समेत सम्प्रेषण गर्छन् । शब्दद्वारा शब्दातीत अनुभूतिलाई सम्प्रेषण गर्न सक्नु लेखकीय क्षमताको चमत्कार हो । किताबमा लेखककी आमाको फोटो छैन । शायद स्मृतिग्रन्थ भएको भए फोटो हुने थियो । उपन्यासमा फोटो हुने कुरा पनि आएन तर बरालका शब्दले खिचेको उहाँकी आमाको चित्र र बोलीसमेत सशक्त रूपमा प्रस्तुत छन् । यस्तो लाग्छ, उपन्यासमा स्यानी हामीसित हिँडिरहेकी छन्, आफ्नै भाषामा बोलिरहेकी छन् ।

उपन्यासमा कास्की, स्याङ्जा जिल्लातिरको मीठो भाषा प्रचुर मात्रामा प्रयोग भएको छ । भाषा मीठो त छँदैछ, त्यसले मानवजीवन, उसको भाषा र साहित्यबीचको अविच्छेद्य सम्बन्धको द्योतन पनि गर्छ । अनुभूति र अभिव्यक्तिको सम्बन्ध मुटुको गति र जीवनका बीचको सम्बन्धजस्तै हुन्छ । मुटुको गति बन्द भयो भने जीवन स्वतः अन्त्य हुन्छ ।
कृतिमा व्यक्त काव्यमय अनुभूति र अभिव्यक्ति अङ्ग्रेजी या अन्य कुनै विदेशी भाषामा अनुवाद हुन सक्तैन । यहाँ यति धेरै स्थानीयता छ र त्यसमा यति धेरै सौन्दर्य छ कि त्यसको प्रतिरूप अर्को भाषामा उतार्न असम्भव छ, कुनै अद्वितीय सुन्दरीको अर्को प्रतिरूप बनाउन असम्भव भएजस्तै । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?