logo
२०८१ मंसिर ८ शनिवार



जीवनको क्यानभासमा अलौकिक रङ

शनिवार |


जीवनको क्यानभासमा अलौकिक रङ


बिन्दु अधिकारी ढकाल

हुन त कात्तिक महिना झरी पर्ने मौसम होइन । यद्यपि अनपेक्षित रूपमा सुरु भएको वर्षाले ठूलो धनजनको क्षति भइरहेको थियो । बाढीपहिरोमा परी मृत्यु हुने र बेपत्ता हुनेको सङ्ख्या पनि बढ्दै थियो । जल तथा मौसम विज्ञान विभागले वर्षाका बारेमा जानकारी गराइरहेको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कैयौँ भागमा डुबान तथा पहिरो गएको समाचार आइरहेका थिए । यस्तो बेलामा पनि हामीलाई भने घुम्ने साइत जु¥यो ।

यस पटक घरमा दशैँको रौनक थिएन । अतः घरै बस्ने कि कतै जाने ? परिवारमा छलफल हँुदा पोखरासम्म जाने कुरो उठ्यो । हुन त पोखरा केही पटक घुमेकै हुनाले पुग्दै नपुग्नेको तुलनामा त्यहाँ जान हुटहुटी पनि थिएन । मुस्ताङ जाने प्रसङ्ग चलेपछि भने ढिलो नगरौँ भन्ने भयो तर रेडियो सुन्दा र टेलिभिजन हेर्दा ठाउँ–ठाउँका सडक अवरुद्ध भएका खबरले मुटुको धड्कन बढिरहेको थियो । हाम्रो योजना सुनेर आमाले भन्नुभयो, “हैन हौ छोरी ! यस्तो समयमा कसरी हिँड्छौ ? घुम्न कहाँ जान्छौ ? मान्छेका जिउज्यान घर न घाट भएका बेला तिमेरू भने घरमा अडिन किन सक्दैनौ ?” समयानुसार उहाँको कुरा बेठीक होइन तर तयारी अवस्थामा पुगेका हामीले निर्णय बदल्न चाहेनौँ ।

हिमालपारिको जिल्ला मुस्ताङ कहाँ होला ? कोरोला बोर्डर भनेको कस्तो होला ? काठमाडौँबाट हिँडेको कति दिनमा पुगिएला भन्ने कौतुहल मनमा जागिरहेको थियो । त्यताको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पक्षका सम्बन्धमा पनि मनमा जिज्ञासा उठिरहेका थिए । पवित्र तीर्थस्थल मुक्तिनाथ नेपालीका लागि मात्र नभएर भारतीयले पनि भ्रमण गर्न नछुटाउने गन्तव्य त्यतै पथ्र्यो ।

ठूलो वर्षाका बीच अन्ततः हिँड्ने नै भयौँ । मुस्ताङको विषयमा जानकार प्रभु ढकाल (देवर)को अनुरोधमा हामी तयार भएका थियौँ । उहाँ जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख (एसपी) पनि हुनुहुन्छ । त्यताको मौसम अत्यन्तै जाडो हुनाले सोहीअनुसार सामग्री तयार गरेका थियौँ । श्रीमान् भीमप्रसाद ढकाल, छोरा विप्लव तथा छोरी ऋषिका । अनि प्रभुका छोराछोरी प्रदिक्षा, प्रलव र गाडी चालक तुला बस्नेत गरी हामी सात जना भयौँ । कात्तिक ३ गते बिहान यात्रा अघि बढ्यो । काठमाडौँको सडक खुला थियो । केहीबेरमै नागढुङ्गा पुग्यौँ । घरबाट हिँड्दा पानी परेको थिएन । आकाशको रूपरङ्ग कालो हुनाले गड्याङगुडुङ आवाजबाहेक क्षितिजलाई ठम्याउन सकिएन । घामको झुल्को देख्ने त कुरै भएन । बरु सुरु भयो घनघोर वर्षा । नागढुङ्गाबाट ओरालो लाग्यौँ । सामान्य अवस्थामै त असहज भइरहने बाटो पानी पर्दा कृष्णभीर र आसपासको भेग कसरी कट्ला ? कतिखेर पहिरो खस्छ वा ढुङ्गा झर्छ पत्तो थिएन । अशुभ नसोचौँ भने पनि उही ख्याल आइरहने ।

८ः३० बजे कुरिन्टार पुग्दा पानी परेको थिएन । स्थानीय एक होटलमा नास्ता खाएर पुनः बाटो लाग्दा हाम्रो मन कतिबेला पोखरा पुगिएला भन्नेमा थियो । समयको हिसाब गर्न थाल्यौँ । सफा थियो धर्ती आकाश दुवै ! वनजङ्गल, भीरपहरामा कतै थिएन धुवाँ, धुलो । यस्तो मनमोहक वातावरणमा पनि सडक दायाँबायाँ हेर्दा आँसु कसरी थाम्नु पो भयो हामीलाई किनभने पहेँलपुर भएर पाकेका धान बेमौसमी वर्षाले खेतमै सोत्तर भएको देखियो । हे प्रकृति ! यो कस्तो सजाय दिँदैछौ भन्ने पनि लाग्यो ।
धादिङलाई छाडेर हाम्रो यात्रा अघि बढ्दै थियो । क्षितिज नियाल्दा हिमालको पत्तो थिएन । पोखराबाट कहिले पुगिएला, त्यो हिमालपारिको जिल्ला मुस्ताङ ? त्यहाँको ठन्डीमा हाम्रा ज्याकेट–स्वेटर कत्तिको उपयोगी छन् या छैनन् ? बाटामा कसैलाई लेक लाग्यो भने ? अथवा, अक्सिजन कम भयो भने ? प्राथमिक उपचार के गर्ने होला ? वनको बाघले खाओस् नखाओस्, मनको बाघ यति रफ्तार भएछ, कतिबेला पोखराले स्वागत ग¥यो, पत्तै भएन ।

११.३० बजे जिल्ला ट्राफिक कार्यालय कास्की पुग्दा प्रभु ढकाल हाम्रै प्रतीक्षामा हुनुहुन्थ्यो । छोराछोरीसहित न्यानो र मिठो भेटघाटमा गफिँदै उहाँको निवास पुगेर हामी सबैले खाना खायौँ । लामो बाटो छिचोल्नुपर्ने हुनाले अलमल नगरी काठमाडौँबाट हिँडेका सात जना र प्रभुसहित आठ जना हामी गाडीमा चढ्यौँ । त्यस दिन त्यो बेलासम्म पोखरामा पानी परेको थिएन । अबको यात्रा काठमाडौँबाट जानेहरूका लागि भने बिल्कुलै नौलो थियो ।
प्रकृतिको रसिलो रमाइलो हेर्दै जाँदा कालीगण्डकीको तिरैतिर बाटो दायाँ हँुदा खोला बायाँ बग्थ्यो । फेरि उही गतिमा खोला दायाँ पर्दा बाटो बायाँ हुन्थ्यो । म्याग्दीको बेनी बजार कटेर गलेश्वर महादेवबाट अगाडि बढ्न लाग्दा सडक अवरुद्ध भएको रहेछ । त्यहाँ मान्छेको जिद्दीपन पनि देख्यौँ । नदी मिचेर बनाइएका घरका दृश्य हेरी नसक्नु थियो । मेरो चाहिँ मनै सिरिङ्ग भयो । डोजरसहित ट्राफिक प्रहरीसँग स्थानीयवासीको सक्रियताले आधा घण्टामा अवरुद्ध सडक खुल्यो । हाम्रो यात्रा पनि अगाडि बढ्यो ।

साँझको आठ बजे तातोपानी पुग्यौँ । भोक र थकानले लखतरान हामी कति बेला बास बस्ने ठाउँमा पुगिएला भन्ने सोचमा थियौँ । नभन्दै होटल त पुगियो तर केही खानुपहिले तातोपानी कुण्डमा जाने सल्लाह भएपछि झोला थन्क्याएर त्यतातिर लाग्यौँ । आयुर्वेदिक औषधिका रूपमा चर्चा कमाएको तातोपानी वास्तवमा कतिको तातो हुन्छ ? थाहा थिएन । पोखरीमा पुगेर पानी छाम्दा त डुबुल्की मार्न सकिएला जस्तो आँट आएन । पानी निकै तातो थियो । लौ, नसकिने रहेछ भनेर तर्किन खोज्दा हेर्छु त दुई दाजुभाइ कतिखेर पोखरीमा पसिसक्नु भएछ । हामीलाई पनि पहिला महाभारत लागे पनि पोखरीमा गएपछि ननिस्कौँ झैँ अनुभूति भयो ।

राति ठूलो आवाज सुनियो । पानी परेको हो कि खोला सुसाएको ? कि कतै पहिरो गएर हाम्रो यात्रामा तगारो परेको ? छिनमै थाहा भयो, त्यो ठूलो आवाज खोला सुसाएको रहेछ । यात्राको दोस्रो दिन बिहान खुला आकाशमुनि तातोपानीलाई नियाल्यौँ । होटलवालाले अब पानी पर्दैन भने । अझ मुस्ताङबाट उता कोरोलातर्फ त झनै सुक्खा भाग हो भनेर उनैले विश्वास दिलाएपछि मन पनि केही ढुक्क भयो तर छिचोल्ने बाटो अझै कति होला ? हिजो देखिएका लस्कर झरनासँगै अब देखिने वातावरणको कल्पना गर्दै होटलबाट बिदा भयौँ ।
अलि पर्तिर स्थानीय खाजा घरमा बिहानको नास्ता खाएर मुस्ताङ ताक्दै हुइँकेका हामी केहीबेरको सफरपछि झरनाहरूको राजा ‘रूपसे झरना’मा पुग्यौँ तर सडकको गति वर्णन गर्न कहाँबाट सुरु गरौँ ? साँघुरो चेपमा ढुङ्गैढुङ्गाको रास देख्दा अब गाडी अघि बढ्दैन भनेझैँ लाग्यो । हुन पनि भीरको काप कतै हिलैहिलो थियो त कतै ठूल्ठूला चेप्टा ढुङ्गाबाहेक गेगरसम्म देखिँदैनथ्यो । यस्तो बाटोमा बस कुदेको देख्दा आङ नै सिरिङ्ग हुन्थ्यो । जीवनकै अविस्मरणीय त्यस ठाउँको नाउँ काभ्रे भीर रहेछ ।

मुस्ताङको मार्फा पुग्दा १२.३० बजेको थियो । सामुन्ने उभिएझैँ देखिने नीलगिरि हिमालसँग मितेरी गाँस्दै मार्फाका गल्लीगल्ली घुम्न थाल्यौँ । मार्फाको सीमा टेकेदेखि देख्यौँ स्याउका बगान । देख्यौँ, स्याउ व्यापारी । त्यहीँको अग्र्यानिक उत्पादन स्याउ किनेर हामीले भोक मेट्यौँ । मार्फा बजारको आकाश पूरै खुलेको थियो । सिरसिरे चिसो बताससँगै रमेर फोटो पनि खिच्यौँ ।
यात्राको तेस्रो दिन हामी कोरोला पुग्नु थियो । अब बाटो जति नै लामो किन नहोस्, यात्रा सकेर फर्किनुभन्दा नफर्किनुजस्तो हुन थाल्यो किनकि यताजस्तो पानी परेको थिएन उता । फेरि त्यता पानी पर्नु भनेको मुस्किलले वर्षमा एकदुई पटक मात्र अरे । त्यसकारण बाटो खराब होला भन्ने चिन्ता पनि भएन । प्राकृतिक सौन्दर्य हेरेर स्वर्ग पुगेको अनुभव भइरहेको थियो । पूर्वयोजनाअनुसार बिहान पौने पाँच बजे हामी बाटो लाग्यौँ ।

मार्फाबाट जोमसोम हुँदै काबेली पुगेपछिका दुई बाटोमध्ये मूल सडकबाट देब्रेतर्फ लागे अपरमुस्ताङ पुगिँदो रहेछ भने दाहिनेतर्फबाट मुक्तिनाथ । हाम्रो गन्तव्य कोरोला नाका हुनाले सोहीअनुसार अगाडि बढ्यौँ । सूर्यले हिमाललाई त टल्काएको थियो तर त्यो बिहानी अत्यन्तै चिसो थियो । तैपनि हिमालको हाँसोसँग दोहोरी खेल्ने अवसर पाएका हामी कम मोहित भएका थिएनौँ ।
समरभीर, भेना, चराङ हुँदै लोमाङथाङ पुग्न जोमसोमबाट ९० कि.मि. र त्यहाँबाट २०/२२ कि.मि. अगाडि बढेपछि बोर्डर पुगिँदो रहेछ । माटो बगेर बनेका आकृति पनि कुनै कलात्मक कालिगढले बनाएजस्ता देखिन्थे । नियाल्दा कतै कतै त साक्षात् भगवान् उभिएझैँ लाग्थ्यो । हरियोबिनाका पहाड परबाट हेर्दा कतै मौरीका चाकाजस्ता लाग्थे त कतै बताएको धानका थुप्राझैँ लाग्थे । ठाउँ–ठाउँमा हुर्केका भोटेपीपलका रुखको सौन्दर्य पनि आकर्षक देखिन्थ्यो ।

बाटामा कतै भेडाका बथान, कतै याकका बथान त कतै नीलगिरि गाईका हुल चरनमा देखिन्थे । हिमाल पग्लेर पानीको स्रोत बन्दो रहेछ त्यहाँ । बाइकमा नेपाली झण्डा फहराएर हुइँकिनेको सङ्ख्या पनि कम थिएन । केही व्यक्तिलाई यसबारे प्रश्न गर्दा सोसल मिडियामार्फत अन्तर्राष्ट्रिय जगत्सम्म देशको शान र इज्जत बढाउन यसरी हिँडिन्छ भन्ने जवाफ पाइयो । समरभीरको नागबेली बाटो कटेर एकपछि अर्को, अर्कोपछि फेरि अर्को माथिमाथि थाप्लोमै उक्लिँदै गर्दा पहाडको रङ पनि कतै रातो थियो त कतै सेतो । कतै कालो थियो त कतै सुन्तले ।

अन्ततः बिहान ११.३० बजे हामी कोरोला बोर्डर पुग्यौँ । लमतन्न सुतेको फराकिलो फाँट वरिपरि जता हेर्दा पनि हिमाल हाँसेको दृश्य देखियो । वातावरण भने निकै चिसो थियो । त्यहाँको प्रकृतिले हाम्रो यात्रा सफल भएको जनाऊ गरेझैँ आभास पनि भयो । मौकामा चौका भनेझैँ हामी पनि के कम सबै जना सिमानामा उभिएर हिमालसँगै लपक्क टाँसिएर फोटो खिच्यौँ । चीनतर्फ बनेका सीमित घर कार्यालयका रूपमा प्रयोग गरेझैँ लाग्यो । यता हाम्रो भूमितर्फ भने कुनै घर रहेनछन् । त्यताको रमाइलो मन मुटुमा पोको पारेर हामी फर्कियौँ ।

मान्छे दशकौँ वर्ष बाँचे पनि जीवन्तताको अनुभूति केही सीमित क्षणमा मात्र प्राप्त गर्छ भन्ने सुनेको थिएँ । सायद हिमालपारिको जिल्ला मुस्ताङ घुम्ने सौभाग्यले हाम्रो जीवनको क्यानभासमा त्यस्तै अलौकिक रङहरूको वर्षा भयो । कतै हिउँ पग्लेर, कतै हिउँ जमेर त कतै हिउँ अग्लेर । जुन खुसी हामीले त्यहाँ प्राप्त ग¥यौँ, त्यो खुसी विश्व भ्रमण गर्दा पनि पाउन कठिन थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?