गोपाल अश्क
जन्मदेखि मृत्युसम्म मानव जानी नजानी कुनै न कुनै यात्रामा सहभागी हुने प्राणी हो । त्यसैले मृत्युलाई पनि महाप्राण यात्रा भनिएको हो जस्तो लाग्छ । यस जगत्मा निकै थोरै मान्छे होलान्, जसलाई यात्रा गर्न मन पर्दैन होला । जीवनभरि आफ्नो जीवनयापनका लागि गरिने कर्ममा व्यस्त भएकाले कुनै ठाउँमा नपुगेको मान्छे पनि जीवनको उत्तरार्धमा तीर्थयात्राको नाउँमा चारधामको यात्रा गरिराखेको हुन्छ । धार्मिक दृष्टिले भए पनि मान्छेले यात्रा गरिराखेको हुन्छ । भनाइको तात्पर्य के हो भने यात्रा मानव जीवनको एउटा अभिन्न अङ्ग तथा कर्म हो ।
साहित्यिक पत्रिकाको सम्पादन, बालसाहित्यका कृतिहरूको लेखनका साथै प्रौढ साहित्यअन्तर्गतका विभिन्न विधामा कलम चलाए पनि नेपाली आख्यान विधामा आफ्नो सुरक्षित स्थान बनाउन सफल सर्जक नवराज रिजालको सद्यः प्रकाशित पुस्तकको नाउँ हो ‘आँखाभरि देश मनभरि परिवेश’ । यो सोह्रवटा यात्रा संस्मरण सङ्गृहीत भएको नियात्रा कृति हो । यस कृतिमा ‘मैले सबलाई बिर्सेछु’, ‘घुम्दै फिर्दै कचनकवल’, ‘भावनाको बगरैबगर’, ‘जिन्दगानी गोरेटोमा’, ‘विदेशी बस्तीको सफर’, ‘सोध्दै खोज्दै गोसाइँकुण्ड’, ‘हिँड्दै पाइला मेट्दै’, ‘अमरसँग छत्रेदेउराली’, ‘हिमाल, हिउँ र हेराइ’, ‘सिन्धुलीगढी घुमेर हेर्दा’, ‘स्मृतिमा बग्दै–बग्दै’, ‘भग्नावेश पछिपछि’, ‘सम्झनामा लेबरनगर’, ‘कोटैकोटको नुवाकोट’, ‘उड्दै गुड्दै रुबिभ्याली’, र ‘मन गोड्दै सम्याउँदै’ शीर्षकका यात्रा संस्मरणहरू रहेका छन् । देशको सबैभन्दा होचो ठाउँ मानिएको ठाउँ– ‘कचनकवल’ चोभार, फर्पिङ, हुमाने भन्ज्याङ, फाखेल, झपाका शरणार्थी शिविर, गोसाइँकुण्ड, घान्द्रुक, सिन्धुलीगढी, नवलपरासी, छत्रेदेउराली, धादिङ, हेटौँडा, भैरहवा, पोखरा, चितवन, नुवाकोट आदि नेपालका विभिन्न ठाउँमा विभिन्न उद्देश्यले गरिएको यात्राबारे कृतिमा सजीव ढङ्गले वर्णन गरिएको छ । नियात्राकार रिजाल कहिले मेचीको पुलमाथि हिँड्नुहुन्छ र कौमार्य सौन्दर्य चियाउनुहुन्छ, कहिले कचनकवलमा पुगेर निकै भावुक बन्नुहुन्छ, कहिले झापाका शरणार्थी शिविरका दुःखी मनहरूसँग दुःखी बन्नुहुन्छ, कहिले धादिङमा भएको साहित्यिक पत्रकारिताको सम्मेलनमा जाँदा बाटोमा पाएको पीडा व्यक्त गर्नुहुन्छ, अनि कहिले गोर्खा पुगेर विशाल नेपालको राष्ट्रियताको अर्थबोध गर्नुहुन्छ ।
मलाई त यसलाई ललित निबन्धको कृति भन्न मन लागिरहेको छ किनभने यस सङ्ग्रहका संस्मरणहरू पढ्दा एउटा कुरा के अवगत हुन्छ भने रिजालका संस्मरणहरूमा सपाट यात्रा छैन, नेपाली जनजीवनका विभिन्न आयामहरूको झलक छ । यहाँ जीवन दर्शन छ, जीवन भोगाइका प्रतिविम्बिहरू छन् । उहाँले आफूले गरेका यात्राको बारेमा केवल सपाट बयान मात्र गर्नुभएको छैन, अपितु सम्बन्धित ठाउँको भौगोलिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्षहरूको बारेमा पनि जीवन्त ढङ्गले प्रकाश पार्नुभएको छ । यहाँ जीवन दर्शन तथा नेपाल र नेपालीले सम्यक् विकास गर्न नसकेका कारणहरू पनि रेखाङ्कित भएका छन् ।
नियात्राकारको आफ्नै विचार र धारणा छन् । उहाँको विश्वास छ कि अठोट नै सफलताको प्रथम र अन्तिम भ¥याङ हो । त्यसैले त उहाँ व्यक्त गर्नुहुन्छ, ‘‘अठोट सबैभन्दा ठूलो कुरो । बलियो दृढता र विश्वास छातीमा फलाउनेहरू नै गन्तव्यको खुड्किलो चढ्न सक्छन्’’ (मैले सबैलाई बिर्सेछु, पृ. २७) । उहाँलाई नेपालीहरूले समय नबुझेको पीडाले सताउने गरेको छ । उहाँले नेपालीको प्रकृति र प्रवृत्तिलाई बडो जीवन्तताका साथ चित्राङ्कित गर्नुभएको छ, ‘‘हामी अधिकांश समयलाई खास महत्त्व दिँदैनौँ । अरूलाई कहिल्यै हेर्दैनौँ, पढ्दैनौँ र बुझ्दैनौँ पनि । म र मेरो भए पुग्छ । आफू र आफ्नो घेरा नाघ्नेहरूको सङ्ख्या थोरै छ” (मन गोड्दै सम्याउँदै, पृ २२३) । यसैगरी उहाँले मानवीय जीवनको नियतिबारे यसरी व्यक्त गर्नुभएको छ, ‘‘हामी जीवन हिँडिरहेछौँ । विश्वास हिँडिरहेछौँ । आस्था हिँडिरहेछौँ । यो हिँड्ने क्रम जीवनभर चलिरहन्छ’’ (कोटैकोटको नुवाकोट, पृ २६) ।