बद्रीप्रसाद दाहाल
यथार्थवाद टेकेर, उदात्त व्यञ्जना छरी ।
व्यङ्ग्यका अङ्गमा दङ्ग, बनेकी कविता परी ।।
हल्लै हल्ला र गल्लाका, चल्ला माऊ बने हिरा ।
दिनमा रुपियाँ टोक्छ, रातमा उपियाँ किरा ।।
मान्छे हतासमा देख्यौ, झन् ईश्वर उदासमा ।
काखीको पसिना जस्तै, मान्छे गह्नाउँछन् यहाँ ।।
विसङ्गति घृणा कुण्ठा, प्रतीक विम्बमा टिप्यौ ।
शाब्दी–आर्थी अलङ्कार, ‘सिर्जना’ शिल्पमा खिप्यौ ।।
पिएर हेर मान्छे हो, कस्तो कष्ट छ प्यूँनुमा ।
जिएर हेर योद्धा हो, कस्तो कष्ट छ ज्यूँनुमा ।।
सत्य शिवसितै घोल्यौ, सौन्दर्य स्निग्ध चेतना ।
काव्यका लयमा पोख्यौ, मान्छेका तीव्र वेदना ।।