प्रा.डा. सावित्री कक्षपती
होचो, दुब्लो, छरितो कद भएका व्यक्तित्व तर त्यसको ठीक विपरीत भारी आवाजका धनी रङ्गकर्मी प्रचण्ड मल्ल । जहिले पनि भेट्दा हँसिलो मुहारले स्वागत गर्दै “बहिनी सञ्चै हुनुहुन्छ ?” भन्नुहुँदै प्रेमिल र अभिभावकीय सद्भाव प्रवाह गर्दै आशीर्वाद दिइरहने प्राणी । समकालीन र उत्तरवर्ती सबै रङ्गकर्मीका लागि अडेस लगाउने सहारा बन्नुभएका मल्ललाई हामीले गुमाएका छौँ । ८८ वर्षको उमेर नेपाली धर्तीलाई दिएर २०७८ साल मङ्सिर १६ गते उहाँले आफ्नो अर्को महान् यात्रा तय गर्नुभएको छ । अब यो समाजमा उहाँले बिताएका क्षण, त्यसले तरङ्गित बनाएका पलहरू र तिनले कोरेका आकारचित्र मात्र बाँकी छन् ।
चटक्क मिलाएर आइरन लगाइएकोे, सामान्य दौराभन्दा बेग्लै, घाँटीसम्म विशेष किसिमले छोपिएको हाइनेकजस्तो डिजाइनको कलर भएको सेतो दौरासुरुवालमा उहाँ देखिनुहुन्थ्यो । कुर्सीमा बस्दा पनि दौरा खुम्चिन्छ कि भनी बडो जतनले सावधानीका साथ उहाँ बस्नुहुन्थ्यो । कहिलेकाहीँ उहाँ बालकृष्ण समकै प्रतिच्छाया हो कि जस्तो लाग्थ्यो । अथवा उहाँ समकै दाजुभाइ कोही हुनुपर्छ भन्ने लाग्थ्यो । जीवनको उत्तराद्र्धमा पनि आफूलाई कति व्यवस्थित पारेर हिँड्न जान्नुभएको ! आफूलाई प्रस्तुत गर्ने कस्तो सीप र जाँगर भएको ! विशेषगरी पुरुष रङ्गकर्मीमा धेरै थोरैले मात्र आफूूलाई व्यवस्थित पारेर उपस्थिति जनाएको देखिएको छ । काठमाडाैँको ब्रह्मटोलको नेवार परिवारमा जन्मनुभएका मल्ल सानैदेखि प्रहसन र नाटक हेर्न मन पराउनुहुन्थ्यो । साथीहरूलाई पनि लिएर उहाँ प्रहसन र नाटक हेर्न जानुहुन्थ्यो । विशेषगरी उहाँलाई बेखानारायणको नाटकको संवाद सुन्न मन पथ्र्यो ।
वि.सं. २०११ मा बालकृष्ण समद्वारा स्थापित नेपाल कला मण्डलबाट रङ्गकर्ममा भित्रिनुभएका उहाँ अविरल रूपमा यस क्षेत्रमै लागिरहनुभयो । पुरातत्त्व विभागमा कार्यरत रहँदा उहाँले गर्नुभएको मञ्चसेट र नेपथ्य खटाइ नजिकबाट देख्नुभएका सत्यमोहन जोशीले उहाँलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (एकेडेमी)मा जागिर मिलाइदिनुभयो । एकेडेमीमा बालकृष्ण समको अभिनय प्रशिक्षणमा मल्लले सहयोगी भूमिका निर्वाह गर्नुभयो । समले भन्नुभएका र सिकाउनुभएका कुरा दोहो¥याएर प्रशिक्षार्थीलाई सिकाउने काम गर्दागर्दै उहाँमा रङ्गकर्मीय परिपक्वता विकसित हुन पुगेको थियो । २०२३ सालमा तत्कालीन सोभियत सङ्घ, मस्कोको रोयल ड्रामा स्कुलमा छात्रवृत्तिमा पढेर उहाँले नाटक निर्देशन, अभिनय, रङ्गमञ्च डिजाइन, मञ्च सज्जाका विभिन्न तौरतरिका सिकेर आउनुभयो । यसपछि उहाँको रङ्गमञ्चीय यात्राले अर्को फड्को लिएको थियो ।
उहाँले २०२५ सालमा विजय मल्लको ‘पत्थरको कथा’ नाटकको निर्देशन गर्दा विशिष्ट र नवीन रङ्गमञ्चीय प्रयोग गर्नुभएको थियो । एकेडेमीले २०३८ सालमा गरेको नाटक महोत्सवमा उहाँले अशेष मल्लको ‘नाटकहरूको नाटक’ निर्देशन गरेर सर्वोत्कृष्ट नाट्यनिर्देशकमा पुरस्कृत हुनुभयो । विशेषगरी उहाँको निर्देशकीय कुशलता ऐतिहासिक नाटकमा खरो भई उत्रेको देखिन्थ्यो । त्यस प्रस्तुतिबाट उहाँको विषयवस्तु र त्यसअनुसारका पात्र, वेशभूषा, रूपसज्जा, रङ्गमञ्च सेटिङ, दृश्यसज्जा आदिमाथि भएको ज्ञान प्रवाहित हुने गरेको थियो । त्यो अनुभवलाई बुझेका विभिन्न सिनेकर्मीले उहाँबाट आआफ्ना सिनेमा निर्माण प्रक्रियामा आवश्यक सल्लाह र सुझाव लिने गरेका थिए ।
एकेडेमीमा नाटक विशेषज्ञका रूपमा कार्यरत रहँदै समपछि नयाँ कलाकारलाई अभिनयको प्रशिक्षण दिने कार्यलाई उहाँले निरन्तरता दिनुभयो । उहाँले एकेडेमीमै जागिरे भएर त्यहाँ प्रदर्शन भएका नाटकको निर्देशन गर्नुभयो । नेपाली कला मण्डलको आयोजनामा समद्वारा लिखित र निर्देशित ‘अमरसिंह’ नाटकमा उहाँले सिपाहीको भूमिकामा अभिनय गरेर आफूलाई अभिनेताका रूपमा उभ्याउनुभएको थियो । त्यस्तै ‘भीमसेनको अन्त्य’, ‘राजेन्द्रलक्ष्मी’ आदिमा पनि अभिनय गर्नुभयो ।
ज्ञानेश्वरमा भएको समको घरको बयान उहाँ बडो चित्रात्मक शैलीमा गर्नुहुन्थ्यो । उहाँले अभिनय र निर्देशनको प्रारम्भिक ज्ञान बालकृष्ण समबाट लिनुभयो । यसका लागि उहाँ आफ्नो घर ब्रह्मटोलदेखि समको घर ज्ञानेश्वरसम्म पुग्नुहुन्थ्यो । अभिनय र निर्देशनको प्रारम्भिक ज्ञान लिएर उहाँले रङ्गकर्मीय यात्रालाई नथाकीकन अविरल बढाइरहनुभयो । पछिल्लो समय उहाँ नेपाल सङ्गीत नाट्य एकेडेमीका संस्थापक उपकुलपति पनि बन्नुभयो । प्रचण्ड मल्लले प्रज्ञा प्रतिष्ठानमा ४० वर्ष बिताउनुभयो । उहाँ नेपाली रङ्गकर्मका प्रतिनिधि पात्र र निर्देशक हुनुहुन्छ । उहाँसँग सहयात्रा गर्न पाउँदा रङ्गकर्मका युवापुस्ताले एउटा गतिलो अभिभावकत्व र प्रेरणा महसुस गर्ने गरेको थियो । यसको उदाहरणका रूपमा पछिल्लो समयमा विभिन्न नाटकघरमा हुने उहाँको उपस्थितिलाई लिन सकिन्छ । उहाँ नयाँ पुस्ताले मञ्चन गरेका नाटक हेर्ने, अनि आवश्यक सल्लाह र सुझाव दिने गर्नुहुन्थ्यो । काठमाडौँका प्रायःजसो नाटक घर, प्रेक्षालय उहाँको परिकल्पनामा निर्माण भएका छन् । पुरानो राष्ट्रिय नाचघर, महेन्द्र पुलिस क्लब, आर्मी हेडक्वाटरको नाट्यशाला निर्माणमा उहाँले सल्लाह दिनुभएको थियो । सर्वनामको प्रेक्षालय निर्माणमा पनि उहाँको सहयोग रह्यो ।
२०३३ सालमा धनकुटाबाट काठमाडाैँमा मञ्चनका लागि ल्याइएको ‘तुवाँलोले ढाकेको वस्ती’ नाटकको प्रस्तुतिमा उहाँले सहयोग गरेको कुरा नाटककार अशेष मल्ल बारम्बार सम्झनुहुन्छ । धनकुटाबाट आएका रङ्गकर्मीले नाट्य प्रस्तुतिमा कुनै पनि प्रविधिको प्रयोग भएको देखेका थिएनन् । उनीहरूलाई एकेडेमीको सुसज्जित रङ्गमञ्च र प्रेक्षालयले चकित पारेको थियो । त्यो अवस्थामा आफ्नो प्रस्तुतिलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा सोच्न पनि सकिरहेका थिएनन् । दर्शकबाट अत्यधिक मन पराइएको दार्जिलिङबाट आएका मनबहादुर मुखियाको ‘अनि द्यौराली रुन्छ’ नाटकको सफल मञ्चन भर्खरै सकिएको थियो । त्यसपछि अशेष मल्लको ‘तुवाँलोले ढाकेको वस्ती’ नाटकको मञ्चन गर्ने पालो आएको थियो । नाटकका लागि के गर्ने, के नगर्ने भन्दै असमञ्जस्यमा परेको बेला थियो त्यो । नाटकको अन्तिम दृश्यमा वस्तीलाई तुवाँलोले छोपेको दृश्य देखाउनु थियो । नाटकका निर्देशक उपेन्द्र दुःखी कसरी त्यो दृश्य देखाउने होला भनी अन्योलमा पर्नुभएको थियो । त्यतिबेला नेपथ्यमा अनवरत् सक्रिय रहनुभएका प्रचण्ड मल्लले बाहिरबाट आएका रङ्गकर्मीलाई हार्दिकतापूर्वक सहयोग गर्नुभएको थियो । उहाँले त्यसका लागि ठूलो पङ्खामा पीठो खन्याएर रङ्गमञ्चमा उडाएर पठाउनुभएको थियो । त्यसको प्रभावले रङ्गमञ्चको वस्ती पूरै तुवाँलोले ढाकेकोजस्तो देखियो ।
यसैगरी बालकृष्ण समले सिंहदरबारमा नाटक प्रस्तुत गर्दा चट्याङ परेको दृश्य देखाउँदा ध्वनिप्रभावका लागि नेपथ्यमा फलामका डल्लाहरू भ¥याङजस्तो ठाउँबाट खन्याएर मल्लले चट्याङको ध्वनि निकाल्नुहुन्थ्या रे । नेपालमा टेपरेकर्डरको पनि सुविधा नभएको बेला रङ्गकर्मको यात्रामा यस्ता विविध उपाय अपनाइने गरिएको थियो । नाटकका यस्ता धेरै कुरा मल्लले समबाट सिक्नुभएको थियो । रङ्गकर्मीलाई ऐनमौकामा परेको अप्ठ्यारो स्थितिमा त्यस्तै वैकल्पिक बाटो अपनाएर प्रस्तुतिलाई जीवन्त र प्रभावकारी बनाउन सहृदयतापूर्वक सहयोग गर्न उहाँ सधैँ अघि सर्नुहुन्थ्यो र रङ्गकर्मलाई सफल बनाउन पहल गर्नुहुन्थ्यो । टेपरेकर्डर भित्रिएपछि मात्र यस्ता कार्यमा सहजता आउन थालेको हो ।
नेपाली रङ्गकर्मका धरोहर मल्ल नाट्य लेखन र निर्देशनमा आजीवन संलग्न त रहनुभयो नै । उहाँले नेपाली रङ्गकर्मलाई आधिकारिकताका साथ अभिलेखीकरण गरी पुस्तक प्रकाशन पनि गर्नुभयो । आफूले पाएको ज्ञान र आफूमा भएको सीपलाई रङ्गकर्ममा प्रयोग गरी प्राप्त गरेको अनुभव र अनुभूतिले पुस्तक भरिएका छन् । प्रायः रङ्गकर्मी आफ्नो कलाकारितालाई रङ्गमञ्चमा प्रस्तुत मात्र गर्छन् । कलाकारिताको यात्रा र अनुभवलाई आफैँले लेख्ने काम कमैले गरेका छन् । मल्लले नेपाली नाटक र रङ्गकर्मको क्षेत्रमा निकै अभाव रहेको रङ्गकर्मसम्बन्धी पुस्तक तथ्यका साथ लेख्नुभएको छ ।