डा. गणेशप्रसाद घिमिरे
कविशिरोमणि लेखनाथ पौड्याल पुुराना कविहरूमा सबैभन्दा नयाँ र नयाँ कविहरूमा सबैभन्दा पुराना हुनुहुन्छ । त्यसैले नेपाली कविताको इतिहासमा कविशिरोमणिको स्थान कविता र सम्मानका दृष्टिमा सबल रहेको पाइन्छ । उहाँले नेपाली कवितामा फुुटकर कवितादेखि नव्यकाव्यसम्मको यात्रालाई पार गर्नुभएको छ । महाकाव्यको उचाइ भएको ‘तरुण तपसी’ लेख्नुभयो तर महाकाव्य भन्न सक्नुभएन । प्राच्य परम्पराबाट सदा अनुुप्राणित रहनुभएका र प्राच्य मान्यतामा सदा क्रियाशील रहनुभएका पौड्यालले उक्त काव्यलाई महाकाव्यको नामकरणबाट सम्मान दिन सक्नुभएन । उहाँका फुुटकर रचना पनि रचनाका रूपमा मात्र नभएर सन्देशका रूपमा आएका छन् । उहाँले आफ्ना धारणा र भावनालाई ‘सत्य सन्देश’का रूपमा अभिव्यक्त गर्नुभएको छ । शारदा पत्रिकामा विसं १९९५ देखि २००० सम्म प्रकाशित भएका चारहरफे श्लोक नै ‘सत्य सन्देश’का रूपमा सङ्गृहीत छन् । यी पद्यहरू उहाँको हृदयबाट बाहिर आएर मानिसका लागि शिक्षा बनेका छन् आज पनि । यही हो कवि र कविताको जीवन्तता ।
पौड्यालको जन्म १९४१ साल पुस १५ गते भएको थियो । उहाँले नेपाली कवितालाई जे दिनुभयो ती नेपाली साहित्यको इतिहासमा स्वर्ण अक्षरले लेखिएका छन् । नेपाली कवितामा २०११ सालमा शिरोमणि उपाधिबाट उहाँ सम्मानित हुनुभएको थियो ।
जीवनमा अँध्यारो
शारदा पत्रिकाको १९९५ साल सङ्ख्या ३ मा प्रकाशित भएको ‘सत्य सन्देश’को स्वरूपलाई यहाँ यसरी भनिएको छ–
कालो मन्दाकिनीको जल, जलनिधिको मोतिको ज्योति कालो ।
कालो सौदामिनीको चहक, सब शरच्चन्द्रको कान्ति कालो ।।
कैलाश श्रेणी कालो, झलमल गरने सूूर्यको विम्ब कालो ।
यो सारा सृष्टि कालो, मनबिच छ भने दम्भ दुुर्भाव कालो ।।
यो पद्यमा कविशिरोमणिको मानवीय दृष्टिप्रतिको अवस्था अभिव्यक्त भएको छ । मानिसको दृष्टि सकारात्मक रहे सबै वस्तुु सुुन्दर, भव्य र सभ्य देखिन्छन् तर दृष्टि कालो भए संसार नै कालो हुुन्छ भन्ने सन्देशलाई यहाँ कविले गतिलो तरिकाले अभिव्यक्त गर्नुभएको छ । कविताका माध्यमबाट सत्य कुरा बाहिर ल्याउन उहाँको दृष्टि मानव भावना र सभ्यताका लागि सबल बनेको छ ।
उज्यालोको सङ्केत
कविशिरोमणिले जीवनमा अँध्यारो मात्र होइन, उज्यालो पनि देख्नुहुन्छ । उज्यालो देख्ने दृष्टि अन्धकाररहित हुनुुपर्दछ भन्ने भावलाई ‘सत्य सन्देश’को अर्को पद्यमा उहाँले यसरी उल्लेख गर्नुभएको छ–
थोत्रो पाटी उज्यालो, मलिन तृणकुुटी, कन्दरा झन् उज्यालो ।
भिक्षा भारी उज्यालो, अझ वन वनको सागसिस्नूू उज्यालो ।।
फ्याङ्लो गुुन्द्री उज्यालो, वरपर घुुमदा जीर्ण कन्था उज्यालो ।
तृष्णाको तुुच्छ जालो मनबिच नभए जो मिल्यो सो उज्यालो ।।
मानिसको भावना र उसको हेराइमा स्वच्छता र पवित्रता रहेमा संसारका सबै कुुरा उज्यालो बनेर आउँछन् भन्ने भावलाई यहाँ कविले कति सरल तरिकाले अभिव्यक्त गर्नुभएको छ । यही हो मानिसको भाव र उसले जीवनमा जिउने सन्दर्भ । मानिसका सबै कुरा र भाव उज्याला हुन्छन् । यदि दृष्टि गतिशील र पवित्रताको भावनाले भरिएको भए तर जीवनका हरेक पल उज्याला हुन उसको दृष्टिमा तृष्णाको आगो सल्केर आउनुु हुुँदैन । तृष्णाले अन्धकारलाई जन्म दिन्छ भन्ने सन्देश कविको छ ।
कर्मप्रतिको विश्वास
कर्म गर फलको आशा नगर । यो गीताको वाक्य हो । कर्मप्रतिको विश्वास र आस्था मानिसका चेतना हुन् । यही चेतनाले मानिसलाई सम्पन्न र गतिशील बनाएको छ । कर्मप्रतिको विश्वासलाई पनि कविले मिठो तरिकाले अभिव्यक्त गर्नुभएको छ ।
भर्दा भर्दै हजारौँ विषय सुुख घडा देह लम्तन्न पर्दा ।
झर्दा सम्पूूर्ण सेखी, तुुजुुक, पवनले निस्कने जोड गर्दा ।।
सर्दा आपस्त डर्दै पर पर, धमिलो नाचको अन्त्य पर्दा ।
गिर्दामा साथ जाने कुन कुुन चिज हुुन् ? सम्झ ती काम गर्दा ।।
मृत्युु सत्य हो । यो सत्यलाई सम्झ र संसारमा कर्म गर । यही सन्देश हो यो पद्यको । जीवनप्रतिको मोहले कहिले पनि मानिसलाई सम्पन्न र धनाढ्य बनाउन सक्दैन भन्ने सन्देशलाई कविले कति सरल तरिकाबाट व्याख्या गर्नुभएको छ । यही हो कवि शिरोमणिको जीवनप्रतिको आस्था र विश्वास । यही विश्वासमा संसार अडेको छ भन्ने सन्देशलाई यहाँ कविले उल्लेख गर्नुभएको छ । जीवनप्रतिको आस्था कविमा देखिए पनि मोह भने आएन । मोहले जीवनलाई समाप्त पार्ने हुुनाले कवि मोहप्रति आफू मात्र होइन, सबैलाई सचेत गराउन प्रयासरत हुनुहुन्छ ।
घमण्ड नगर्नु
जीवन नाशवान् छ । यो जीवनका सबै कुरा नाशवान् छन् । नष्ट हुनुु जीवन हो । जीवनका सबै कुरा नष्ट हुने हुनाले मानिसले घमण्डलाई कहिल्यै पनि प्रश्रय दिनु हुँदैन । संसारमा सत्यभन्दा अरू स्थायी केही पनि छैन । यही कुरालाई कविले कति सहज र सरल तरिकाले व्यक्त गर्नुभएको छ । जीवनमा गरेका सबै कर्मलाई ईश्वरमा समर्पण गर्ने हो भने ईश्वरको वास पृथ्वी र देवताको वास मानिसको घरमा हुने थियो भन्ने सन्देशलाई कविले यसरी उल्लेख गर्नुभएको छ–
विद्याको, वयको र बुुद्धि, बलको, सौन्दर्यको मानको ।
प्रज्ञाको, कुल जातिको, इलमको ऐश्वर्यको ज्ञानको ।।
तातो ग्यास मनुुष्यका मगजको सम्पूूर्ण उत्री दिए ।
पृथ्वीमा सब देवता घरघरै आएर खेल्ने थिए ।।
यदि मानिसमा घमण्ड नभएको भए शायद ईश्वरको खोज गर्नुपर्ने थिएन । ईश्वरको वास पृथ्वी हुने थियो । मानिस भावनाको कदरमा डुुबेर भगवान्लाई सदा आफ्नो बनाउन सक्ने थियो भन्ने सन्दर्भलाई कविले गतिलो तरिकाले राख्नुभएको छ । ईश्वरप्रतिको आस्थाभन्दा पनि मानवीय भावनाले भरिएको मानिस नै संसारको सबैभन्दा उच्च दर्जाको प्राणी हो भन्ने सन्दर्भलाई यहाँ उल्लेख गरिएको छ ।
जीवन हलुुङ्गो
जीवनका सबै यात्रा सरल र सहज छैनन् । जीवनयात्रा गतिशील छ । गतिशील जीवनमा स्थिर केही पनि छैन । जीवनमा स्थिरता खोज्नुु मानिसको पागलपन हो । जीवनका हरेक तह र भाव उसका कर्मले दिने आधार हुुन् । यही आधार कविले मानिसको जीवनमा निरन्तर रहने तिर्सनाबाट हेर्नुभएको छ ।
मत्ता हात्ती हलुुङ्गो, वितत जलधिको ह्वेल माछो हलुुङ्गो ।
जङ्गी बेडा हलुुङ्गो, विकट कटकटे रेलगाडी हलुुङ्गो ।।
शैलश्रेणी हलुुङ्गो, पृथुुुतम पृथिवी गोल सारा हलुुङ्गो ।
यो ब्रह्माण्डै हलुुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुुङ्गो ।।
जीवनमा तिर्सना र तृष्णालाई कम गर । सबै कुरा हलुुङ्गो भएर आउनेछन् किनकी यही तिर्सनाले नै मानिसका सबै कुरालाई कमजोर बनाएको छ । यदि मानिसका मनका सबै कुरा आवश्यकताभन्दा बढी भएमा जीवनका हरेक पल बलवान् हुन सक्दैनन् । ती मनका भावलाई कम गर । जीवनका हरेक पल सुुमधुुर र व्यवस्थित हुन्छन् भन्ने सन्दर्भलाई कविले बुुझिने र विश्वासपूूर्ण तरिकाबाट व्यक्त गर्नुभएको छ । मानिसभित्र रहेको तृष्णाले उसको मनका भावलाई कमजोर बनाउँछ र मानवीय क्षमताको विकास गतिशील हुुन सक्दैन ।
दृष्टि दोष
‘फूूलको आँखामा फूूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने गीतमा देखिएको भाव दृष्टि हो । ‘म त के राम्रो छुु र है ? मायाको हेराइ पो राम्रो’, यो लोकभाकामा पनि कति गम्भीरता छ । यी गीतमा देखिने चेतना दृष्टि हो भने यी गीतका भावमा अभिव्यक्त हुने सन्दर्भ हेराइ हो । यही हेराइका बिचमा मानिसका सबै कुुरा सक्रिय भएर रहेका हुन्छन् । कवि शारदा पत्रिकाको २००० सालमा प्रकाशित सत्य सन्देशमा भन्नुहुन्छ–
दोषी माता पिताका वचन, गुरुजना देश निःशेष दोषी ।
सत्यात्मा मित्र दोषी, गृह परिजनको चाल देखिन्छ दोषी ।।
पत्नीको प्रेम दोषी, अमृतमय मीठा वेदका वाक्य दोषी ।
यो सारा सृष्टि दोषी, विधिवश छ भने आफनु दृष्टि दोषी ।।
यहाँ दृष्टि वा हेराई सन्दर्भ बनेर आएको छ । यही हेराइका कारण संसारका सबै कुुरा दोषी र मानव जीवनका सन्दर्भमा देखिएका आधारहरू हुुन् । यही आधारमा जीवनका हरेक पल गतिशील हुने कुराको सङ्केत कविले यहाँ व्यक्त गर्नुभएको छ ।
आज पनि सान्दर्भिक
कविका यी ‘सत्य सन्देश’ आज पनि मानिसका लागि सदा मननीय बनेका छन् । जीवनमा यी सबै कुरा ख्याल गरेमा जीवनरथ सदा असल तरिकाले गतिशील हुने कुराको सङ्केत कविका यी सन्देशहरूले दिएका छन् । जीवनलाई सुुधार्न आफ्नो कर्ममा विश्वास गर । कर्मप्रतिको विश्वास र जीवनप्रतिको आस्थाले नै मानिसलाई गतिशील बनाउने कुरा ‘सत्य सन्देश’बाट आएका छन् । कविशिरोमणिको १३८औँ जन्मजयन्तीका अवसरमा उहाँका ‘सत्य सन्देश’ले दिएका सन्दर्भहरू आज पनि उपयोगी रहेको तथ्यलाई सहर्ष स्वीकार्नु पर्ने देखिन्छ ।