logo
२०८१ मंसिर ८ शनिवार



संसार बचाउने ‘सुपर हिरो’

शनिवार |


संसार बचाउने ‘सुपर हिरो’


सुकृत नेपाल

स्पाइडर–म्यान : होम कमिङ (२०१७) र स्पाइडर–म्यान : फार फ्रम द होम (२०१९)को सिक्वेल हो– स्पाइडर–म्यान ः नो वे होम । ‘स्पाइडर–म्यान : फार फ्रम होम’ जहाँ गएर सकिन्छ, त्यहीँबाट ‘स्पाइडर–म्यान : नो वे होम’ सुरु हुन्छ ।
विश्वलाई थाहा छ, पिटर पार्कर नै स्पाइडर–म्यान हुन् । केहीले उनलाई सही तरिकाले चित्रण गरेका छन् भने केहीले खराब पात्रका रूपमा । उनीमाथि हत्याहिंसाको आरोप लागेको छ । त्यसैले प्रहरी उनको पछि लागेका छन् । अर्कोतिर उनको निजी जीवन पनि उथलपुथल भएको छ । पिटर अचानक सर्वत्र चर्चाको पात्र बनेका छन् । उनी आफ्नो जीवनको यो दशा उल्टाउन चाहन्छन् तर कसरी ? त्यसैले पनि उनी डा. स्ट्रेन्जकहाँ पुग्छन् । डाक्टर स्ट्रेन्जसँग यस्तो सूत्र छ, जसको माध्यमबाट पिटर नै स्पाइडर–म्यान हुन् भन्ने कुराबाट विश्वलाई विस्मृत गराइन्छ । स्पाइडर–म्यानका पाँच पुराना खलनायक पनि पिटरलाई सिध्याउने खेलमा मैदानमा उत्रेका हुन्छन् । त्यसपछि कथामा धेरै यस्ता उतारचढाव आउँछन्, जसले दर्शकको मनमा फिल्मको अवधिभर कौतुहल पैदा गरिरहन्छ ।

फिल्मको सुरुवात पिटर पार्कर, उनकी प्रेमिका एमजे, साथी र स्ट्रेन्जमा फोकस गरिएको छ । यी सबै पात्रले आफ्ना समस्याको हल गर्न के–कस्तो तिकडम अपनाउँछन् भन्ने कुरा फिल्ममा देखाइन्छ तर जब उनीहरूको काम बिग्रन्छ तब मात्र फिल्मको कथाले अर्को मोड लिन्छ । यसपछि भने कथा केही तीव्र रूपमा अगाडि बढ्छ । भरपुर द्वन्द्वसँगै एकमाथि अर्को दृश्यले दर्शकलाई रोमाञ्चित बनाइरहन्छ ।

संसारलाई पृथ्वी र ब्रह्माण्डका अन्य ग्रहका दुश्मनबाट जोगाउँदै आएका पिटरलाई नै दुश्मनको सङ्ज्ञा दिइन्छ । एउटा सामान्य कलेज पढ्ने ठिटोमा संसारको ध्यान केन्द्रित हुन्छ । यसले पिटरका समस्या झन्झन् बढ्दै जान्छ र उनका कैयौँ दुश्मन बन्छन् । उनी स्पाइडर–म्यान हुन् भन्ने पहिला नै थाहा पाएका उनका मिल्ने साथी नेड लिड्स र प्रेमिका एमजेको सुरक्षाको विषयलाई लिएर उनलाई धेरै नै तनाव भइरहेको पनि हुन्छ तर उनको चिन्ता भने अरू नै चिजमा पनि परिरहेको हुन्छ । यस्तै थप अध्ययनका लागि नेड र एमजे कलेजमा भर्ना हुन्छन् । पिटरले भने यो अवसर पाउँदैनन् । स्पाइडर–म्यानका रूपमा सार्वजनिक भएर दुश्मन मात्र कमाएका उनलाई सामान्य जीवनमा फर्किन खासै सहज हुँदैन ।

उनी संसार बचाउने सुपर हिरो त हुन्छन् तर उनलाई सामान्य जीवन जिउन मन हुँदाहुँदै पनि धेरै कुराले तनाव दिइरहेको हुन्छ । उनी आफ्नो पहिचान सार्वजनिक भएको क्षण संसारलाई भुलाइदिन सकिन्छ कि भनेर केही उपाय लगाउन पनि खोज्छन् तर उनी एक्लैले यो सक्दैनन् र उनी अर्का सुपर हिरो डक्टर स्ट्रेन्जकहाँ पुग्छन् । डाक्टर स्ट्रेन्ज समय फर्काउने (टाइम ट्राभल) कला भएको सुपर हिरो भएकाले पिटरले उनीसँग मद्दत माग्छन् । डक्टर स्ट्रेन्जले पिटरलाई स्पाइडर–म्यानका रूपमा भुलाइदिने मन्त्र त फुक्छन् तर बीचमा गडबड हुन्छ । उनको मन्त्रबाट समयले विभिन्न स्वरूप फेर्छ । पिटरको समस्या सुल्झिनुको साटो झन् उल्झन्छ । पिटर आफूमाथि केन्द्रित भएको पृथ्वीको ध्यान हटाउन चाहन्थे तर त्यसको उल्टो ब्रह्माण्डकै ध्यान उनमा आइलाग्छ ।

यसपछिको कथा ब्रह्माण्डसँग गर्ने लडाइँमा केन्द्रित भएर देखाइएको छ । बीचबीचमा पिटरको निजी जीवनको कथा पनि जोडिन्छ तर ब्रह्माण्ड र उनको जीवनसँगको द्वन्द्वका बारेमा थाहा पाउन दर्शकले एक पटक फिल्म हेर्नैपर्ने हुन्छ ।
फिल्मको पटकथा बेजोड छ । रोमान्स र एक्सनलाई एकदमै गहकिलो ढङ्गले प्रस्तुत गरिएको छ । फिल्मको स्पेसल इफेक्ट्सले दर्शकलाई धेरै नै आकर्षित बनाउँछ । दर्शक फिल्ममा यति तल्लीन हुन्छन् कि फिल्मको कथा कहाँबाट कहाँ जाँदै छ, दर्शकले पत्तै पाउँदैनन् ।
फिल्ममा हरेक पात्रको अभिनयलाई जोडदार ढङ्गबाट प्रस्तुत गरिएको छ । पिटर पार्करको भूमिकाको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । सत्यको पक्षमा लाग्नु नै मुख्य कलाकारको चरित्र हो भन्ने कुरा फिल्ममा देखाउन खोजिएको छ । फिल्म एक भावुक दृश्यसँगै सकिन्छ, जसले यो पनि सङ्केत गर्छ कि फिल्मका निर्देशकले अर्को भागका लागि पनि फिल्मको कथा सोचिसकेका छन् ।

निर्देशक जोन वाट्सले हरेक कलाकारको अभिनयलाई भिन्न ढङ्गले फिल्ममा देखाउन खोज्नुभएको छ । उहाँले सबै कुराको सन्तुलन फिल्ममा मिलाउनुभएको छ । कुनैकुनै दृश्यमा हास्य संवाद राखेर निर्देशकले फिल्मलाई झन् मनोरञ्जनात्मक बनाउन खोज्नुभएको छ । यस्तै फिल्मको भीएफएक्स उत्कृष्ट छ भन्दा फरक पर्दैन । फिल्मलाई थ्रीडीमा हेर्दा झन् आकर्षक देखिन्छ ।
कोरोना महामारीको समयमा यो फिल्म विश्वव्यापी बक्स अफिसमा एक अर्ब (एक बिलियन) डलरभन्दा बढी कमाउने पहिलो फिल्मसमेत बनेको छ । योसँगै कमाइको हिसाबले सन् २०२१ को सबभन्दा ठूलो फिल्म पनि बनेको छ । फिल्मले चीनको कोरियाली युद्ध फिल्म ‘द ब्याटल अफ लेक चाङ्जिन’लाई उछिनेको छ, जसले विश्वभर नब्बे करोड पचास लाख डलरभन्दा बढी कमाएको थियो ।

सोनी र डिज्नीको सह–निर्माणमा बनेको यो फिल्मले प्रिमियर भएको दुई साताभन्दा कम समयमा आफ्नो लगानी उठाएको थियो । कोरोना सङ्क्रमणले विश्वलाई आक्रान्त पारेको बेला यो फिल्मले कस्तो व्यापार गर्ला भन्ने चासो सबैमा थियो तर कोरोना कालमा चलचित्र बजार फस्टाउनलाई यसले सघाएको छ । यतिखेर ओमिक्रोन भेरियन्ट तीव्र गतिमा संसारभरि फैलिरहँदा फिल्मको सफलताका बारेमा खबर आए । विश्वमा फिल्मको सबैभन्दा ठूलो बजार मानिने चीनमा यसको प्रदर्शन अझै हुन सकेको छैन । यसअघि पनि सन् २०१९ को ‘स्पाइडर म्यान ः फार फ्रम होम’ले पहिलो पटक उक्त फिल्मबाट बक्स अफिसमा एक अर्ब डलरभन्दा बढी कमाएको थियो ।

दुई सय मिलियन डलर लगानीमा बनेको यस फिल्ममा टम हल्यान्ड, बेनिडिक्ट कम्बरब्याच, ज्याकोब बटालोन, जोन फेभरोलगायतको अभिनय रहेको छ । यस फिल्मले आईएमडीबीमा अहिले ९.१ रेटिङ पाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?