केशव अधिकारी
हाम्रै धरामा खडा उभिएका
मोती रजतका ताज पहिरिएका ।
हाँस्थे गिरिराज बिहानी घाममा
हेरी खुसी मनले म लाग्थेँ काममा ।
तिनको फुकाली हिमछत्र जसले
लगेछ तिनलाई डढाइ कसले ?
त्यस दिनदेखि त ती विरूप भई
आकर्षणै विहिन रूप भई ।
रहे यतिन्जेल कति वर्षदेखि
यो हेमन्तले नगरेर सेखी ।
भरिदिए त हुन्थ्यो हिमछत्र बाक्लो
देखिन्थे कि सुन्दर रूप चाक्लो ।
हेमन्तले लौ सकेन रे छर्न
शिशिर सिङ्गै छ मुकुट भर्न ।
मेरो सदीक्षा पूरा भई जावस्
मुकुट हिमालको पुनः फर्की आओस् ।