logo
२०८१ मंसिर ७ शुक्रवार



विश्वशान्तिको प्रतीक

शनिवार |


विश्वशान्तिको प्रतीक


 मुनीन्द्ररत्न वज्राचार्य

झण्डा भनेको आफ्नो देश र जातिको पहिचानसँग जोडिएको चिनारी हुन्छ । संसारमा जति पनि देश छन् ती सबैका आ–आफ्नो विशेषता बोकेका झण्डा छन् । आफ्नो देशको स्वाभिमान, स्वायत्तताको जानकारी राख्न तथा जाति, धर्मको अनन्यता देखाउनका लागि पनि विशिष्ट झण्डा निर्माण गरिएको हुन्छ ।
यस्तै संसारमा रहेका विभिन्न धर्मावलम्बीले आ–आनो धर्मको चिह्नका रूपमा झण्डा निर्माण गरेका छन् । झण्डाको महत्त्व परापूर्वकालदेखि नै रहेको देखिन्छ । अथर्ववेदमा सूर्यकेतु नामले सूर्यको झण्डाको विषयमा उल्लेख छ । महाभारत काव्यमा पनि वानर केतन, वृषभ केतन, मकर केतन नामले तीनवटा झण्डाको परिचय दिइएको छ । बौद्ध साहित्यमा पनि झण्डालाई केतुका रूपमा ‘धज पताका’ भनी उल्लेख गरिएको छ ।

विश्वमा बौद्ध झण्डाको निर्माण कसरी भयो भन्ने विषय पनि जिज्ञासापूर्ण छ । बुद्धले बोधिवृक्षमा तपस्यामा रहँदा उनको शरीरबाट पञ्चरश्मि निस्की लोकान्तसम्म फैलिएको कुरा बौद्धग्रन्थमा उल्लेख छ । पञ्चरश्मि भन्नाले पाँचवटा रङ नीलो, पहेँलो, रातो, सेतो, कलेजी हुन् । ती सबै रङको सम्मिश्रण गरी छवटा रङको छ वर्णको झण्डालाई अपनाइयो ।

सर्वप्रथम श्रीलङ्कामा छ रङ्गी बौद्ध झण्डाको परिकल्पना गरियो । यसलाई सन् १८८५ मा हेनरी स्टिल ओलकटको संयोजकत्वमा हिकादुवे श्री सुमङ्गलमहतथेराद्वारा डिजाइन गरिएको थियो र छ वर्णको बुद्धरश्मिको प्रतीक झण्डालाई वैशाख पूर्णिमाका दिन बसेको बैठकले अपनाउने सहमति गरेको थियो । बौद्ध झण्डामा रहेका रङको अर्थ यस प्रकार छ :

(१) नीलो रङ भनेको आकाश वा बुद्धको कपालबाट निस्केको निर्मल केशको तेज हो । यसलाई संसारमा भएका सबै प्राणीलाई करुणाका रूपमा हेर्ने प्रतीकका रूपमा लिएको छ ।
(२) पहेँलो रङ बुद्धको छालाबाट निस्केको तेज हो । यसलाई मध्यम मार्गको प्रतीकका रूपमा लिएको छ । मध्यम मार्ग भन्नाले सबैलाई बराबरी र मुक्ति मार्ग देखाउँछ ।
(३) रातो रङलाई बुद्धको रगतको तेजका रूपमा लिएको छ । यसलाई बुद्धको शिक्षाबाट पाउने आशिर्वादको प्रतीक मानिएको छ ।
(४) सेतो रङ बुद्धको दाँतको तेज हो । यसलाई शुद्धता र मुक्तिको प्रतीकका रूपमा लिएको छ ।
(५) कलेजी रङलाई बुद्धको कलेजो र ओँठको तेजका रूपमा लिएको छ । यसलाई बुद्धको शिक्षाबाट पाउने प्रज्ञाको प्रतीक मानिएको छ ।
(६) बुद्धको झण्डामा पाँचै रङलाई समावेश गरी झण्डाको छेउमा गाँसिएको हुन्छ । यसलाई बुद्धको शिक्षा सार्वलौकिक सत्य हो भन्ने प्रतीकका रूपमा लिएको छ ।

श्रीलङ्काको कोलम्बोमा प्रथम बृहत् बौद्ध समुदायको सम्मेलन आयोजना गरी २७ राष्ट्रका प्रतिनिधिको भेलाले दोस्रो विश्वयुद्ध तत्पश्चात् बुद्धको शान्ति सन्देश व्यापक रूपमा प्रचारप्रसार गर्न ‘विश्वबौद्ध भ्रातृìव सङ्घ’ स्थापना गरी वैशाख पूर्णिमा भव्य रूपमा मनाउँदै छ वर्णे बौद्ध झण्डा विश्वभर फहराउने निर्णय गरेको थियो । त्यसअनुसार झण्डा फराइएको थियो ।

यस कार्यमा श्रीलङ्काका प्राध्यापक गुणपाल मललसेकर महासयको महत्त्वपूर्ण योगदान रहेको छ । यस महत्त्वपूर्ण सम्मेलनमा नेपालका तर्फबाट भिक्षु अमृतानन्द महास्थविर र साहु मणिहर्षज्योति कंसाकारले प्रतिनिधित्व गरेका थिए । त्यस सम्मेलनपछि नेपालमा पनि वैशाख पूर्णिमा र अन्य बौद्ध समारोहमा विशिष्ट बौद्ध झण्डा बौद्धहरूले राख्न थाले । बुद्धको झण्डालाई आज विश्वमा शान्तिको प्रतीकका रूपमा लिइन्छ ।

विश्वमा बौद्ध झण्डाको आफ्नै विशेषता छ । नेपालमा बौद्ध वज्रयानीहरू बौद्ध झण्डामा रहेका पाँचवटा रङलाई पाँचवटा पञ्चबुद्धको प्रतीक मान्दछन् । जसमा सेतो रङ वैरोचन बुद्ध, नीलो रङ अक्षोभ्य बुद्ध, पहेँलो रङ रत्नसम्भव बुद्ध, रातो रङ अमिताभ बुद्ध र हरियो रङ अमोघसिद्धि बुद्धसँग सम्बन्धित छ ।
पछि विभिन्न समुदायले बौद्ध झण्डाको रङमा विविधता ल्याउन थाले । बौद्ध झण्डामा बर्माका थेरवादी र जापानका जोडो सिन्सु समुदायले गुलाबी, तिब्बती वज्रयानीहरूले खैरो र नेपालका वज्रयानीहरूले हरियो रङ प्रयोग गरेका छन् । थाइल्यान्डका थेरवादीहरूले पहेँलो रङको धर्मचक्र चिह्न प्रयोग गरेका छन् । विश्व शान्तिको प्रतीक मानिएको बौद्ध झण्डामा यस एक रूपता ल्याउन सकिएमा त्यसको व्यापकतामा सहयोग पुग्ने छ । 

(लेखक सहप्राध्यापक हुनुहुन्छ)

युवामञ्च, माघ २०७८

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?