logo
२०८१ मंसिर ७ शुक्रवार



नेपाल आमाका सपुत

शनिवार |


नेपाल आमाका सपुत


शीतल गिरी

एक शताब्दी लामो जहानियाँ व्यवस्थाको थालनीदेखि नै त्यसप्रति असन्तोषका क्रियाकलाप हुन गएका थिए । १०४ वर्षे राणाशासन कालमा नेपालको राजनीतिक रङ्मञ्चमा देखा परेका प्रमुख षड्यन्त्र, हत्या एवं शासनविरोधी गतिविधि दुई प्रकृतिका थिए । पहिलो, व्यक्तिगत रीसइवी, प्रतिशोध वा सत्ता प्राप्तिको उद्देश्यबाट गरिएका क्रियाकलाप थिए । दोस्रो, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली जनताको सामूहिक स्वार्थका निम्ति चालिएका कदम पर्थे । राणा प्रधानमन्त्री रणोद्दीप सिंहको हत्या, देवशमशेरको पदच्यूत, जुद्धशमशेर तथा पद्मशमशेरका गद्दी त्यागजस्ता पहिलो प्रकृतिका घटनाका अन्त्यतिर १९३२–३३ सालमा गोरखाका लखन थापाले राणाशासनविरुद्ध कदम चालेका थिए ।

गोरखाका लखन थापा, शुकदेव, सुपति गुरुङहरूले १९३३ सालको घटना सम्भवतः राणाशासनविरुद्ध गरिएका प्राथमिक प्रयास थिए । यस्ता क्रियाकलापबाहेक नेपालमा राणाशासनविरोधी चेतनाको निर्माण एवं विस्तारको पूर्वपरम्परालाई हेर्ने हो भने १९७० को दशक विशेष उल्लेख्य देखिन्छ । यस दशकमा आशुकवि शम्भुप्रसाद ढुङ्गेलको ‘चन्द्रवदनी’ (कविता, १९७१ साल), ‘चन्द्रोदय दर्शन’ (निबन्ध, १९७१ साल), लेखनाथ पौड्यालको ‘पिजराको सुगा’ (कविता, १९७४ साल)जस्ता रचनाद्वारा राणाशासनप्रतिको असहमतिलाई प्रत्यक्ष रूपमा अभिव्यक्त गर्ने कार्यको थालनी भएका थिए ।
राणाशासनविरोधी भावनालाई अझ सुस्पष्ट ढङ्गबाट कलात्मक शैलीमा सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ नामक पुस्तक लेखेका थिए । मुलुकको राजनीतिक इतिहासमा सर्वप्रथम कृष्णलाल अधिकारीले राणाको अङ्ग्रेज समर्थक नीतिको विरोध गरेका थिए । कलमका माध्यमबाट विद्यमान शासन व्यवस्थाको विरोध गरिएको थियो । यही कारण कृष्णलाल अधिकारीलाई कठोर सजाय दिइयो । यो घटनाले नेपाली बौद्धिक जगत्मा राणाविरोधी चेतनाको निर्माण र विस्तारमा मद्दत पु¥यायो ।

बिसौँ शताब्दीको छैटौँ दशकदेखि भारतबाट शिक्षा आर्जन गरेर स्वदेश फर्किएका केही उत्साही युवाले विभिन्न सामाजिक एवं राजनीतिक सङ्गठनका माध्यमबाट नेपालमा राणाशासनविरोधी चेतना फैलाउन प्रयास गरेका थिए । राजधानी काठमाडौँमा माधवराज जोशीले सामाजिक विषमतालाई हटाउने उद्देश्यले १९५८ सालमा सञ्चालनमा ल्याएको आर्य समाजद्वारा आयोजना हुने दैनिक ‘सत्यार्थ प्रकाश’ निकै लोकप्रिय भएकाले राजधानीबाहिर पहिलोपल्ट पोखरामा पनि ‘आर्यसमाज मन्दिर’ खोलिएको थियो । पुरातनवादी र रूढीवादी सामाजिक संरचनाका आडमा हुने गरेको शोषणको खुलासा यस संस्थाले गरेबाट पुरातनवादी पण्डित समाजमा ठूलो हलचल मच्चिन गयो । माधवराज जोशीलाई अपमानपूर्वक बन्दी बनाई प्रधानमन्त्री चन्द्रशमशेरले आर्यसमाजलाई पूर्णतः समाप्त पार्न खोजे तर उनीहरूले जनसाधारणमा फैलाएको सामाजिक चेतनालाई भने मेट्न सकेनन् ।

तराईतर्फ विभिन्न विभागको जिम्मा दिएर पठाइएका हाकिमलाई प्रायः आफ्नो कर्तव्य पूरा नगरेको अभियोग लगाएर सदरखोरमा थुन्ने अमानवीय व्यवहारबाट बच्नका निम्ति चन्द्रशमशेरको शासनकालमा कृष्णलाल अधिकारी, ऋषिभक्त उपाध्यायलगायत सरकारी अधिकारीले ‘एकादशी सभा’ नामक एउटा गुप्त संस्था गठन पनि गरेका थिए तर ‘मकै पर्व’का कारण कृष्णलालहरूमाथि कारबाही गरिएपछि ‘एकादशी सभा’ स्वतः बन्द हुन पुग्यो । त्यति मात्र नभएर मुलुकको आर्थिक उन्नतिका लागि काम गर्ने व्यक्तिलाई पनि राणा शासकले छाड्दैनथे । यस क्रममा १९८३ साल वैशाख १ गतेका दिन तुलसीमेहरले थालनी गरेको चर्खा प्रचार कार्यक्रम अत्यन्त लोकप्रिय बन्यो । पढेलेखेका युवाले आधुनिक शैलीको शिक्षाका निमित्त १९९३ सालमा स्थापना गरी सञ्चालनमा ल्याएको ‘महावीर स्कुल’ सरकारले बन्द गरेबाट युवामा जनतालाई सामान्य शिक्षा दिन पनि तयार नहुने राणाशासनविरुद्ध आक्रोशको भावना फैलिनु स्वाभाविकै थियो । धार्मिक गतिविधिबाट समाजमा शिक्षाको प्रचार गर्दै चेतना फैलाउन शुक्रराज शास्त्री, केदारमान व्यथित, गङ्गालाल श्रेष्ठलगायतले १९९४ सालमा ‘नेपाल नागरिक अधिकार समिति’ गठन गरे । शुक्रराज शास्त्रीलगायत संलग्न समिति गठन हुनासाथ नै प्रशासनबाट यसलाई आशङ्काका दृष्टिले हेरियो । जनतालाई विद्यमान शासनविरुद्ध कसरी आन्दोलनमा उतार्न सकिन्छ भन्ने विषयमा समितिमा रहेकाहरू चिन्तनशील रहन्थे तर यसले ठोस कार्य गर्नुभन्दा अघि नै यो सङ्गठनका नेता तथा सहयोगीलाई गिरफ्तार गरियो । चौबिस जनाजति युवा संलग्न भएको नागरिक अधिकार समितिका अध्यक्ष शुक्रराज शास्त्री, सङ्गठनमन्त्री केदारमान व्यथित, प्रचारमन्त्री शङ्करप्रसाद नेपाल, सदस्यमा राजलाल कलवार, आनन्दराम श्रेष्ठ, गङ्गालाल श्रेष्ठ, मुरलीधर भट्टराई आदि थिए । राजधानीमा धार्मिक प्रवचन निकै लोकप्रिय रहेकाले समितिले ब्राह्मणबाहेक अन्य युवाबाट व्याख्यान दिने कार्यको थालनी गर्ने योजना पनि बनाएको थियो ।

‘नेपाल नागरिक अधिकार समिति’ले वि.सं. १९९५ मङ्सिर १३ गते काठमाडौँको इन्द्रचोकमा आमसभाको आयोजना गरेको थियो । समितिका अध्यक्ष शुक्रराज शास्त्रीको भाषण समाप्त भएपछि आमा तुलसीकुमारीको बर्खी बारेर सेतो कपडा लगाएका गङ्गालालले केदारमानको हातबाट पानसुपारी मुखमा राखी मञ्चबाट निकै प्रभावकारी रूपमा नेपाली जनताको दयनीय अवस्थाको चर्चा गर्नुका साथै राणा सरकारको नीतिको भण्डाफोर गर्दै जनतालाई सरकारको शोषण र दमनविरुद्ध सङ्घर्ष गर्न प्रेरित गरे । इन्द्रचोकमा जम्मा भएका अपार भीडले उनको भाषणलाई ताली बजाएर समर्थन ग¥यो । यो व्याख्यानको भोलिपल्ट शुक्रराज शास्त्रीलाई उनको घर खिंल्हटोलबाट गिरफ्तार गरी बन्दी बनायो । गिरफ्तार गर्न प्रहरीहरू त्रिचन्द्र कलेज परिसरभित्र प्रवेश गरेको थाहा पाएर गङ्गालाल भने उम्कन सफल भए ।
गङ्गालालको बुवा भक्तलाल श्रेष्ठ खरिदार थिए । काठमाडौँमा आफ्नै घर थिएन । कहिले कता, कहिले कता डेरा सर्दै बस्नु परेको अवस्था थियो । यस्तो अवस्थामा गङ्गालाललाई बुवाको कुरा मान्न बाध्य बनाइयो । बुवाले भनेअनुसार माफी मागेको बिन्तिपत्रका साथ गङ्गालाललाई प्रधानमन्त्री जुद्धशमशेरसमक्ष उपस्थित गराइयो, जहाँ उनलाई माफी दिइयो ।

शुक्रराज शास्त्री गिरफ्तारीमा परेपछि नागरिक अधिकार समितिको ठहरअनुसार आमसभा सञ्चालनको काम अगाडि बढेन भने समिति पनि त्यसपछि स्वतः निष्क्रिय भयो । इन्द्रचोकमा गरिएको भाषणकै फलस्वरूप युवामा राजनीतिक चेतना जागृत हुन गयो, जसमा नौजवान गङ्गालालले आफूलाई राणशासनविरुद्ध पूर्णतः होमिदिएका हुन् ।
राणाशासनको अन्त्यतिरसम्म आइपुग्दा शासकको निरङ्कुशता तथा अत्याचारको सीमा नाघिसकेको थियो भने छिमेक भारतमा स्वतन्त्रता सङ्ग्रामले अन्तिम रूप लिन थालेको थियो । मुलुकमा प्रत्येक नागरिकलाई स्वतन्त्रता, मौलिक हक एवं मानवाधिकार उपलब्ध गराउने किसिमको संवैधानिक सरकारको स्थापना हुनुपर्छ भन्ने राजनीतिक उद्देश्य लिएर सरकारको स्थापना हुनुपर्छ भनेर गुप्त रूपमा काठमाडौँमा ‘नेपाल प्रजा परिषद्’को गठन भएको थियो । टङ्कप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको परिषद्लाई राजा त्रिभुवनबाट समेत शुभेच्छा तथा आर्थिक सहायता प्राप्त भएको थियो । धेरै पटक भेट भएर पनि नेपाल प्रजा परिषद्का बारेमा जानकारी राख्दा बेवास्ता गर्ने धर्मभक्तले गङ्गालाल श्रेष्ठसमेत आफूलाई रातको समयमा विजेश्वरीमा देवी भगवतीलाई साक्षी राखेर प्रतिज्ञा गराएर परिषद्को सदस्य बनाएको कुरा गणेशमान सिंहले ‘गणेशमान सिंह ः मेरा कथाका पानाहरू’मा उल्लेख गरेका छन् । सोही समयमा एकैसाथ गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठलाई पनि यो सङ्गठनमा समावेश गरिएको थियो ।

सर्वप्रथम परिषद्ले राणाशासनविरुद्ध जनचेतना निर्माण र विस्तारका लागि उपत्यकाबाट परिषद्को पर्चा छर्ने, भारतीय अखबारका माध्यमबाट परिषद्को परिचय दिने र राणाशासनका अत्याचारको भण्डाफोर गर्नेजस्ता कार्य गरेको थियो । परिषद्मा रहेको एउटा समूहले हिंसाद्वारा राणाशासनको अन्त्य गर्न चाहेकोले दशरथ चन्द र धर्मभक्तले भारतीय क्रान्तिकारीसँगको सम्पर्कबाट नेपालमा ठूलो परिमाणमा विस्फोटक पदार्थ ल्याएका थिए । राजधानीमा जनचेतना फैलाउनका लागि १९९७ सालमा नेपाल प्रजा परिषद्ले राणाशासनविरुद्ध पर्चा छर्ने काम गरेको थियो ।

राजधानीको मुटु अर्थात् काठमाडौँ सहरभित्र पर्चा छर्ने कामको जिम्मा धर्मभक्तका अतिरिक्त गङ्गालाल, गणेशमान र हरिकृष्ण श्रेष्ठलाई दिइएको थियो तर परिषद्ले राणाशासनविरुद्ध निर्णायक कदम चाल्नुअगावै यसको रहस्य खोलिएकाले १९९७ साल कात्तिक २ गते गङ्गालाल, धर्मभक्त, दशरथ चन्दलगायतलाई गिरफ्तार गरियो । परिषद्को सदस्य भएको आरोपमा विभिन्न स्कुलका शिक्षक एवं अन्य सामाजिक कार्यकर्तासमेत गरी तीन सय जनालाई गिरफ्तार गरी मुद्दाको फैसला गर्दा राजा त्रिभुवन तथा युवराज महेन्द्रलाई पनि अदालतमा उपस्थित गराइएको थियो ।
यसै क्रममा गङ्गालाललाई मृत्युदण्ड दिनुभन्दा पहिला १९९७ साल माघ १३ गते आइतबार अपराह्न ४ बजेतिर परिवारका सदस्य बुवा भक्तलाल, भाइहरू पुष्पलाल, गौरीलाल, देवीलाल, विजयलगायतसँग भेट गराउन कारागारको ढोका बाहिरसम्म ल्याइयो । गङ्गालाललाई पहिले गोली हानियो तर त्यो गोली तिघ्रामा हानियो । तिघ्रामा हान्नुको कारण नरशमशेरले उनलाई माफी माग्न लगाउन जानाजान गरिएको हो कि भन्ने भनाइ छ किनभने दोस्रो गोली पनि कोखामुनि छुँदै गयो । तेस्रो गोली उनको छातीमा नै परेकाले गङ्गालाललाई शहीदको गति मिल्यो ।

हुन त दशरथ चन्द र गङ्गालाललाई पनि धर्मभक्त र शुक्रराजलाई जस्तै झुण्ड्याएरै मृत्युदण्ड दिने निर्णय गरिएको थियो । दशरथ र गङ्गालालको अणग्रहअनुसार एकै ठाउँ र एकै पटक मार्न गोली हान्नुपर्ने तय हुन गएको थियो । अन्तिम समयसम्म पनि गङ्गालालले माफी मागेका खण्डमा नमारी आजीवन कारागारका लागि दण्ड परिवर्तन गर्ने निर्णयसमेत भएको थियो । तत्कालीन जनरल नरशमशेरको शब्दमा– “उनलाई फकाइ–फुल्याई माफी मगाउला भनेरै अर्को जिद्दीवाल ठकुरी दशरथ चन्दले एकैसाथ एकै ठाउँमा मर्न पाऊँ भनी सर्त राख्नुको कारण नै त्यही थियो ... ।”

शोभा भगवती मन्दिर परिक्रमा गरेपछि दुवैलाई विष्णुमती नदीको बगरमा लगी त्यहाँ गाडिराखेको बाँसको खाबाहरूमा बाँधियो । पहिले नै त्यहाँ तालिमप्राप्त दुई जना व्यवस्था गरिएको थियो । गङ्गालाललाई मार्न जिम्मा दिएको एक जना ठिटो बन्दुक फाली भाग्यो । अनेक प्रलोभन दिँदा पनि ठिटोले “बरु मलाई मारे हुन्छ, म त सक्तिनँ” भन्दै हतासमा रुँदै भुइँमा लडीबुडी गर्न थाल्यो । अन्त्यमा रक्सीले मातेको अनुभवी अर्कोले तेस्रो गोली हान्दा छातीमा लाग्नाले गङ्गालाल शहीद बने । धर्मभक्त, शुक्रराज, दशरथ र गङ्गालाललाई मृत्युदण्ड दिने कार्यमा नरशरमशेर खटिएका थिए ।
माघ १६ गते बिहान काठमाडौँका पढेलेखेका केही युवाले शोभा भगवतीको पूर्वतिर बलौटे फाँटमा ज्यान सजाय दिई प्रदर्शनका निमित्त राखिएका दशरथ चन्द र गङ्गालाललाई देखे । गएका युवाले दुवैको शरीरमा दुई–दुई गोली दागेको निशान देखेको चर्चा गरेको पाइन्छ । शहीदको दर्शन गर्न आउने व्यक्तिको हुल निकै ठूलो थियो । हेर्न आउने प्रायःका आँखामा आँसु टल्पलाएको थियो कतिपय भने रोइरहेका थिए ।

मुलुकमा भएका षड्यन्त्रका साथै शैक्षिक, बौद्धिक, सामाजिक, धार्मिक तथा राजनीतिक गतिविधिको परिवेशले विशेषतः युवालाई राणाशासनविरुद्ध उद्वेलित बनाएको थियो । उद्वेलित हुने युवामध्येका एक गङ्गालाल श्रेष्ठ हुन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेका गङ्गालाललाई आफ्नो बुवालगायत श्रीमती एवं नवजात छोराको माया र ममताले झन् निःस्वार्थ एवं मुलुकका लागि जीवन उत्सर्ग गर्ने प्रेरणा प्राप्त भयो ।

निरङ्कुशताविरुद्ध गङ्गालालको लगनशीलताकै कारण अग्रजद्वय दशरथ चन्द र धर्मभक्तले आफ्नै भाइलाई जस्तै व्यवहार गरेको पाइन्छ । भक्तलाल श्रेष्ठका जेठा छोराका रूपमा जन्म लिए तापनि गङ्गालाल एक युवक, व्यक्ति, छोरा, दाजु, पति वा वुवाका रूपमा नभएर त्यस युगको प्रतिनिधित्व गर्ने नेपाल आमाका एक सपूत थिए । नेपाली जनतालाई प्रजातान्त्रिक अधिकार दिनुपर्छ, त्यसका लागि जीवनको पर्वाह नगरी राणाशासकहरूसँग लड्नुपर्छ भन्ने सन्देश दिन उनी सफल भए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?