logo
२०८१ मंसिर ७ शुक्रवार



जस पाउन गाह्रो आख्यान

शनिवार |


जस पाउन गाह्रो आख्यान


लव गाउँले


साहित्यिक पत्रकार राजकुमार बानियाँले एउटा उपन्यास दिनुभयो–टेकनाथ दहालको ‘विवर्तन’ । यो उपन्यास महाभारतको कथानकमा आधारित रहेछ । पुस्तक पल्टाएँ । सुरुवातीमै बीस–बाइस वर्ष अध्यापन गरिसक्नुभएका अनुभवी गुरु डा. नवराज कट्टेलको पुस्तकमाथिको भूमिका मलाई आश्चर्य लाग्यो । पुस्तक पढ्ने कौतूहल पनि बढ्यो । कट्टेल लेख्नुहुन्छ– ‘एउटै कक्षामा पढेका विद्यार्थीहरूको प्रवृत्ति, रुचि, गन्तव्य र उद्देश्य फरक फरक हुन सक्छन् !’

अचम्म ! संसार गोलो छ । एक र अर्को विद्यार्थी होस् वा मान्छे, तिनका प्रवृत्ति, रुचि, गन्तव्य, उद्देश्य फरक नहुँदो हो त मान्छेहरू पनि संसारजस्तो डल्लो र गोलो हुँदा हुन् ! बुझ्नै नपर्ने, चिन्नै नपर्ने ! समरो ! एकसरो मान्छे !
अर्को ठूलो आश्चर्य उहाँले ‘महाभारतमा पुत्रोत्पादनमा सक्रिय देखिएका पाण्डु उपन्यासमा निरालम्ब र निष्क्रिय छन् । महाभारतमा निरालम्ब निष्क्रिय पृथा र माद्री उपन्यासमा सक्रिय छन् । यही नै उपन्यासकारले आफ्नो कल्पनालाई विस्तार गरेर आख्यानसूत्रलाई नवीनता प्रदान गरेका छन्’ लेखिदिएर उपन्यासको मूल विषयवस्तुलाई नै झुठो बनाइदिनुभएको छ ।

महाभारत : १/११९/२७ मा भएको संस्कृत श्लोकअनुसार सन्तान उत्पादन पुरुषार्थ गुमाइसकेका पाण्डुले कुन्तीलाई ‘तिमी कुनै श्रेष्ठ ब्राह्मणका साथ समागम गरेर सन्तानोत्पादन गर’ भन्छन् भने डा. कट्टेलले महाभारतमा पुत्रोत्पादन ? मा पाण्डुलाई कसरी सक्रिय देख्न सके ?

यदि पृथा अर्थात् कुन्तीले युधिष्ठिर, भीमसेन, अर्जुन र माद्रीले नहकुल र सहदेव उपन्यासमा मात्र जन्माएका भए र महाभारतमा पाण्डु पुत्र–उत्पादनमा सक्रिय (सिकारमा जाँदा सन्तान उत्पादन क्षमताबाट विमुख तथा सम्भवतः लिङ्ग नै क्षिण हुनेगरी कुन्दम ऋषिका श्राप परेका उनी) भएको भए कुन्तीले धर्म, वायु र इन्द्र अनि माद्रीले अश्विनीबाट किन गर्भधारण गर्नुपथ्र्यो ? विद्यार्थीहरूले कट्टेल गुरुको यो बीस वर्षको अनुभवलाई कसरी ग्रहण गर्ने ?
समग्रमा यही प्रतिच्छाया र विश्वासको कारणले होला उपन्यास पढ्नमा रोचक हुँदाहुँदै पनि लेखन र छपाइमा असङ्ख्य त्रुटि देखिएका छन् । उपन्यास सोह्र खण्डमा विभाजित छ । खण्ड तीनदेखि नौसम्म धर्मलाई पृथाले पूर्वस्मृति सुनाइरहेकी छिन् भने दशबाट अन्तसम्म उपन्यास यथास्थितिबाट बढ्दै गएको छ ।

उपन्यासमा प्रणय, प्रकृति, जप, ध्यानको व्याख्या मजासित खुलेर गरिएको छ । यति हुँदै गर्दा लेखकले ‘घना जङ्गलको बीचमा ठडिएका स्थिर रूखहरू शान्त थिए । उनीहरूले कहिल्यै आफ्नो फाइदाका लागि अर्कासँग झगडा गरेनन् । खै ! मानिस मात्रै आफ्नो फाइदाका लागि किन झगडा गर्छन् होला’ भनेर झगडाको मामलामा संसारमा कतै तालमेल नराख्ने रूख र मानिसको तुलना गरिदिनु भएको छ । त्यस्तै पृष्ठ १६ मा राति सपनामा कुनै युवतीको सामीप्य पाउँदा शुक्रपात भएर ओडारको भित्तामा फ्याँकेको कौपिन (ठाडो धोती÷लगौँटी, पुस्तकमा दिइएको विशिष्ट शब्दावली र अर्थ (ग्लोसरी) मा यो छैन र उपन्यासकै मूल शीर्षक विवर्तन (विवर्त हुने प्रक्रिया, चक्कर घुमाई वा परिवर्तन) शब्दावली पनि उल्लेख छैन) एकछिनपछि चिसचिसै लाएर धर्म बाहिरिएपछि पृष्ठ १८ मा फर्किंदा उनले ओडारको भित्तामा कौपिन असरल्ल छरिएको देख्नु पाठकले कुन हदसम्म पचाउन सक्ने दृश्य हो यो ?
लेखकको आफ्नै कथा पढ्दा लाग्छ महाभारतको यो कथालाई उपन्यासको रोचक कथानक निर्माण गर्नमा उहाँले धेरै समय खर्च गर्नुभएको छ । दुःख पाउनु भएको छ । तपस्या गर्नुभएको छ । पढ्नमा उपन्यास रोचक छ भन्नमा कुनै कञ्जुस्याइँ गर्नुपर्दैन तर लेख्नमा उहाँले जति दुःख गरे छपाइमा अलिकति दुःख गरिदिएको भए उपन्यास अझ सुन्दर बन्नसक्थ्यो ।

पुस्तकमा मिठास र रोचक सन्दर्भ आइरहे पनि बीचबीचमा दाँतमा ढुङ्गा लागेजस्तो, तरकारीमा नुन बढ्ता भएजस्तो भइरहन्छ । जस्तो लेखकले दिएको शब्दावली र अर्थमा शाटक र प्रावरलाई महिलाले लगाउने एक प्रकारको लुगा भनिएको छ भने कथानकमा यी दुई शब्द प्रयोग गर्दा दृश्यमा पाठकले के परिवर्तन देख्ने त ? पृष्ठ ११८ मा वाक्य दोहरिएको छ भने सिरेटो हावा र चिसो सिरेटो पनि लेखिएको देखिन्छ । सिरेटो भनेकै चिसो बतास वा स्याँठ बुझिन्छ भने सिरेटो हावा र चिसो सिरेटोलाई थप के बुझ्ने पाठकले ?

महाभारतको कथामा मैले फेला पार्न नसकेको वा पढ्न छुटाएको कुन्तीको सुरुकै पूर्वस्मृति खण्ड ३ मा असाध्य रिसाहा भनेर सुनेको ऋषि दुर्वासाको प्रवेशले मलाई कथानक नौलो लाग्यो । अरू पाठकलाई कस्तो लाग्छ वा लाग्ला कुन्नि ! उनले कुन्तीलाई कामशास्त्र पढाए । एघार वर्षमै अस्वाभाविक शारीरिक गठन र रजस्वला भएकी उनी कामशास्त्र पढ्दा पढ्दै स्खलित पनि भइन् । जसको प्रतिफल उनी सूर्यसँग समागम गरेर जन्मिएको पुत्र सुसारेले राजकुमार अधिरथको जिम्मा दिइन् उपन्यासमा तर महर्षि योगी दुर्वासाको उपस्थिति फरक छ कृष्णकृपाश्रीमूर्तिको महारानी कुन्तीको शिक्षा पुस्तकमा । भूमिका खण्डमा लेखिएको छ– दरबारमा कुन्तीको निस्वार्थ सेवाबाट प्रसन्न भएपछि उनलाई पुत्र प्राप्त हुने कठिनाइ देखेर दुर्वासाले देवतालाई आह्वान गरी सन्तान उत्पादन गर्न सक्ने वर दिनुभयो ।

त्यस्तै गन्धमादन वानप्रस्थबाट मकर स्नान गर्न हिँडेका पाण्डु तिन दिनसम्म नफर्केपछि एक महिनाकी सुत्केरी माद्री पाण्डुलाई खोज्न जान्छिन् । दुवैजना मकरको चिप्लेटी पहरोबाट खसेर मृत्युवरण गरेको भेटिन्छन् उपन्यासमा तर कृष्णकृपाश्रीमूर्ति लिखित पुस्तक प्रकाशक भक्तिवेदान्त बुक ट्रस्ट लेख्छ– पाण्डुको श्रापको कारणले मृत्यु भयो । माद्री सती गएर उनको चितामा भस्म भइन् । पाण्डव कुन्तीको संरक्षणमा बाँचे । इन्डिगो इन्क प्रा.लि. काठमाडौँले प्रकाशन गरेको उपन्यासको मूल्य भने ३९९ रुपियाँ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?